१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
फिल्म–अनुभूति

चराहरूलाई मोज छ

काठमाडौं डाकिनीहरूको सहर हो । गुरु खिन्से नोर्बु रिम्पोछेको फिल्म ‘डाकिनी’ हेरेपछि मलाई एउटा अप्रतिम आशा जागेको छ– यस पटक पक्कै म मेरो जिन्दगीको डाकिनी भेट्नेछु !
गनेस पौडेल

प्रिय विपश्वी,
गुरु खिन्से नोर्बु रिम्पोछेको फिल्म ‘डाकिनी’ हेरेपछि यो पत्र लेख्दै छु । यति लामो अन्तरालपछि लेख्दै छु कि नेपाली ‘फन्ट’ मा लेख्दा निश्चित अक्षर र चिह्नका लागि कम्युटरमा राखेका ‘सर्टकट की’ के–के थिए भन्ने बिर्सिसकेको रहेछु । मलाई घरी ‘ङ’ ले अड्काउँथ्यो घरी ‘विष्मयाधिबोधक’ ले । घरी आधी ‘र’ ले रन्थन्याउँथ्यो घरी पूरै ‘फ’ ले फसाउँथ्यो । ‘फन्ट’ सँग अड्किरहनुपरेपछि सोचेँ– लुते कुरामा अड्केर बस्नुभन्दा नयाँ बनाउनु ठीक ।

चराहरूलाई मोज छ

लगत्तै अप्राप्य अक्षर र चिह्नका लागि नयाँ ‘की’ ‘असाइन’ गरेँ र लेख्न बसेँ । सुरुमा सोचेको थिएँ, मलाई नयाँ ‘की’ हरूमा बानी पर्न समय लाग्नेछ । तर, अनजानवश नै सही मैले तिनै ‘की’ लाई ‘असाइन’ गर्न पुगेको रहेछु, जसलाई मैले पहिल्यैदेखि राख्दथेँ, जान्दथेँ । चित्तको निरन्तरता सायद यस्तै केही हुनुपर्छ । सिनेमाको अन्तिम दृश्यमा कुन्सेलले भनेको संवादजस्तो सायद म मेरा अक्षरका साँचाहरूलाई हजारौं वर्षदेखि जान्दछु ।

हुन पनि म मेरै चित्तको सन्तान हुँ । म मेरै अतीतको वर्तमान हुँ । म मेरै आगोको प्रकाश हुँ । म मेरै पैतालाको पदचाप हुँ । तर, पनि म केही होइन, कोही होइन । तिमीजस्तै म पनि ‘हेमा हेमा’ को १२ बर्षे फरेस्ट क्याम्पमा मुकुन्डो लगाएर रहस्यमयी अभ्यास गरिरहेको एक आम मनुवा हुँ । यो सायद कुनै ‘रिडल’ जस्तो कुरा भयो, भुलभुलैया कुरा । भुलभुलैयालाई सुल्झाउनजस्तै अस्तित्वलाई महसुस गर्न पनि एकमुस्ट हुनुपर्दो रहेछ । टुक्राटुक्रामा बाँडिएको चपल बचाइले अस्तित्व अनुभूत नहुने रहेछ, जसरी कोठाकोठाको अलगअलग अवलोकनले भुलभुलैयाको बाटो नपहिलिने रहेछ ।

सम्भवतः डोल्पाको फोक्सुन्डो ताल पुगेर ‘कान्तिपुर’ मा लेखेपछि मैले अर्को केही लेखेको छैन । तिमीलाई थाहै छ, फोक्सुन्डो पारिपट्टिको थासुङछोलिङ गुम्बाको गर्भगृहभित्रका प्राचीन बुद्धमूर्तिहरू देखेपछि मलाई अनौठो स्मृतिझैं भएको थियो । यस्तो लागेको थियो, मलाई यहाँका हरेक कुराहरू पहिल्यैदेखि थाहा छ । यहाँको हावाको सुगन्ध, बतासको स्पर्श, पानीको स्वाद सबै थाहा छ । म यहाँका बूढा रूखहरूमुन्तिर पहिल्यै छहारी बसिसकेको छु । सयौं वर्ष पहिल्यै यहाँका सुकिला चट्टानमा लमतन्न सुतेर मध्यदिनको घाम तापेको छु । मलाई पुनर्जन्मको फिल्मी यादजस्तो भएको थियो । मलाई यस्तो लागेको थियो, म अघिल्लो कुनै जन्ममा कठोर नाउर सिकारी थिएँ, तर अचानक तिमीसँगको संसर्गको संयोगले भिक्षु भएको थिएँ । डोल्पा गएपछि मलाई यस्तो महसुस भएको थियो– म हजारौं वर्षदेखि बौद्धमार्गी थिएँ । र, घर फर्केर मैले ‘वोन्पो थलोको यादमा’ लेखेको थिएँ ।


मलाई यस्ता अनर्गल र अनकन्टार स्मृतिहरू भइरहन्छन् । थाहा छैन त्यो खासमा कुनै स्मृति थियो, या फगत मेरो दिवासपना । अथवा कुनै कल्पना पो थियो कि ! तर, डोल्पा गएर फर्केपछि म अर्को कुनै पहाड चढ्न नसक्ने गरी थन्किएँ । मेरो दुवै घुँडाको ‘मिनिस्कस’ च्यात्तियो र जटिल शल्यक्रिया नै गर्नुपर्यो । विजयपुर र सेतीका भीर, गल्छेडाहरूमा फड्को मारिरहने मान्छे, फेवा र वेगनासमा आरपार पौडेर पनि नथाक्ने मान्छे, हरेक वर्ष २–३ पटक ‘ट्रेकिङ’ जाने मान्छे, ब्याडमिन्टन भनेपछि हिरिक्क हुने मान्छे, अब मेरो चहलपहलमा ब्रेक लागेको थियो । आजकल सामान्य गतिमा हिँड्नबाहेक अरू केही गर्न हुँदैन, दौडिन हुँदैन, उफ्रिन हुँदैन । एक घण्टाभन्दा धेरै उकालो चढ्न या ओरालो झर्न हुँदैन ।

आफ्नै खुट्टामा उभिनु र आफ्नै खुट्टाले यात्रा गर्नु अगल विषय रहेछन्, मानिस ! आजकाल म उभिन सक्छु, तर पदयात्रा गर्न सक्दिनँ ।

म मेरै चित्तको सन्तान, मेरै अतीतको वर्तमान, मेरै आगोको प्रकाश, मेरै पैतालाको पदचाप हुँ ।

सुरुमा त मलाई खासै वास्ता भएन । सोचें, आफ्नो भागको ब्याडमिन्टन खेलेँ । आफ्नो भागमा परेका पहाडहरूलाई पैतालाले नापेँ । आफ्नो बुताको उच्चतम गतिमा दौडिएँ । आफ्नो लचकताको ‘लङ्जम्प’ देखाएर विजयपुर खोलाको फड्के फड्किँए ।

आफ्नो कर्मले नापेको फेवा र वेगनासमा पौडिएँ । सायद अस्तित्वले मेरो भागमा छुट्याएको ‘एडभेन्चर’ यत्ति थियो । चित्त बुझाएँ । तर, बुझाएर मात्रै चित्त नबुझ्ने रहेछ, मानिस । चित्त बुझाउनु र चित्त शान्त हुनु अगल परीक्षण रहेछन् । म बिस्तारै मानसिक रूपमा कुँजिन थालेँ । मलाई नजानिँदो डिप्रेसनले सुम्सुम्याउन थाल्यो । घुँडाको शल्यक्रियापछि शारीरिक पीडाबाट मुक्त भएको भन्ठानेको मलाई मानसिक पीडाले झन्झन् थिच्न थाल्यो । मलाई आफ्नै रुचिहरूमा रुचि हुन छोड्यो । पोखरामा हुने लगभग सबै खाले साहित्य–कलाका कार्यक्रममा शनैशनै अनुपस्थित हुन थालेँ । अत्यन्त सीमित मित्रहरू थिए मेरा, तिनै मित्रहरूसँगको भेटघाट पनि पातलिँदै गयो । किताब किन्नै छोडेँ, किनेकालाई पढ्न । सिनेमाघर नपुगेको वषौं भयो । नेटफ्ल्क्सि र अमेजनका ‘आइडी’ हरू नवीकरण नै भएनन् । फेसबुक, ट्वीटरलगायतका सबै सामाजिक सञ्जालका पोस्टहरू सिनित्तै डिलिट गरिदिएँ । सायद मलाई लोकसँग कुनै संवाद गर्नै थिएन ।


डिप्रेसनले गाँजेका बेला अरूलाई दोष थोपर्ने स्वभाव हुँदोरहेछ, मानिस । मान्छेले आफूलाई बुझेनन् भन्ने पिरलो हुँदो रहेछ । देश खत्तम भयो भन्ने आक्रोश अझ बढ्ने रहेछ । त्यही आक्रोशको झोंकमा मैले अनेकानेक राष्ट्रवादी ‘पोस्ट’ गरेँ र तु–का–तु ‘डिलिट’ गरेँ । अनेकानेकलाई अनुमानबेगरका अनलाइन ‘म्यासेज’ पठाएँ र उत्तिन्खेरै ‘अनसेन्ड’ गरेँ । सात जन्मको सम्बन्ध नभएका अनजान मान्छेलाई फेसबुके साथी बनाएँ र अकारण ‘अन्फ्रेन्ड’ गरेँ ।

बैचैनीको यो हद सायद ७ दिनपछि मर्छौ भनिएको तेन्जिङलाई मात्रै थाहा छ ।

...

‘मोह’ बडो ताज्जुबको विषय हुँदो रहेछ, मानिस ।

जस्तो कि मैले भनेकै यो वाक्यलाई हेर– ‘मलाई आफ्नै रुचिहरूमा रुचि हुन छाडेको थियो ।’ तर, के आफ्नै अभिरुचिमाथिको अरुचि पनि एक त्याग हो ? के जन्मजात भेजिटेरियनहरूले मासु ‘छोडेका’ हुन्छन् ? के जिब्रोमै रक्सी नपरेकाहरूले रक्सी ‘त्याग’ गरेका हुन्छन् ? कुनै एक छाकमा घिरौंला असाध्यै मन परेपछि त्यसपछिका हरेक छाकमा घिरौंला खाँदाखाँदा घिरौंलाले उल्टै नाक लागेर जिन्दगीभर घिरौंला खान छोडेका मान्छेहरू के घिरौंलाभन्दा माथि उठेका हुन्छन् ?

‘उठेकै’ भए पनि त्यस्तो घिरौंले निर्वाणको मूल्य के ? अनुरागको असीम अनुभवबिना, भोगको सीमाहिन स्वादबिना त्यागको कुनै घनत्व नहुने रहेछ, मानिस ।


तर, कतिपय मान्छेहरू मुक्तिनाथ पुगेर पनि त्यही खानेकुरा छोड्ने वाचा गर्छन्, जो उनीहरूलाई मनै पर्दैन । कत्तिले त कहिल्यै जिब्रोमा नपरेको खानेकुरालाई समेत ‘छोडेर’ आउँछन् । यो कस्तो छोडाइ हो, मानिस ? कस्तो त्याग हो ?

विश्वास मान, मैले त्यस्ता धेरै बगरेहरू देखेको छु, जो आफैंले मासु खाँदैनन् । प्राणीप्रतिको अप्रतिम करुणाबिना ‘भेजिटेरियन’ हुनुको कुनै अर्थ हुन्छ त ?

...

जिन्दगीका आ(–आफ्ना लय हुन्छन् । सफलताका आ–आफ्ना सहायक र बाधक हुन्छन् । कसैलाई कफीको एक सर्को स्वाद अथवा एक हरक बास्ना मात्रैले निर्वाणको आनन्द प्राप्त हुन सक्छ । कसैलाई ‘डाकिनी’ को एक धर्को अँगालो मात्रैले समेत बुद्ध बनाइदिन सक्छ । शीलका पनि आ–आफ्नै स्वरूप हुन्छन् । जसरी त्यागका आफ्ना ‘विषय’ हुन्छन् ।

गुरुहरू भन्छन्– एउटालाई दिएको शिक्षा अर्कोलाई काम लाग्दैन । एउटालाई सुनाएको मन्त्र अर्कोलाई अर्थ हुँदैन । एउटाले हिँडेको बाटोले अर्कोलाई पार लाग्दैन ।


टुल्कु कुङ्जागले भनेकै छन् सिनेमामा, ‘सिरियल्स खाएरै मेरो बाल्यकाल बित्यो । मेरो निर्वाणमा सायद यही अन्नको पिठो अन्तिम बाधक हुनेछ ।’

‘जाबो सर्वोत्तम पिठोप्रतिको आसक्ति कोही कसैको निर्वाणमा बाधक कसरी हुन सक्छ ?’, तिमीले सम्भवतः यस्तै केही सोचेका हुन सक्छौ । प्रिय विपश्वी, तर आशक्तिको कुनै स्वरूप नहुँदो रहेछ । मोहको कुनै निश्चित वस्तु र विषय नहुँदो रहेछ ।

...

मैले कतै पढेको एउटा कथामा एक जना बुद्धपुरुष प्रवचनमा भन्दै थिए– ‘तिमीले जे काम गरिरहेका छौ, त्यही कामलाई सचेततापूर्वक गर । होसपूर्वक गर । होसपूर्वक गरिएको तिम्रै कामले तिम्रो निर्वाण हुनेछ ।’

तर, त्यही सभामा एउटा चोर पनि थियो । उसले डराईडराई बुद्धलाई सोध्यो, ‘भगवान्, म त चोर हुँ । चोरी नगरी मेरो गुजारा चल्दैन । के चोरी गरेरै पनि मेरो निर्वाण हुन सक्छ ?’

बुद्धले भने, ‘सक्छौ । तर, अबको पटक चोरी गर्दा होसपूर्वक गर्नू । काम गर्दाका बखत त्यही कामलाई मनमनै कथ्नू कि म चाबी फोर्दै छु । म बाकसको ढोका खोल्दै छु । म गहना–पैसा निकाल्दै छु... । एवम्रीतले तिमीले गर्ने सानाभन्दा साना कामलाई होसपूर्वक मनन गर्दै गर्नू ! तिमी पनि एक दिन बुद्ध हुनेछौ ।’

सही र गलत भन्ने शब्द आफैंमा सांस्कृतिक भ्रमहरू हुन् । मान्छेका रचना मात्रै हुन् । वर्तमानको मूल्यमा न कुनै चीज सही छ, न गलत । विराट अस्तित्वको अघिल्तिर हाम्रा सहीहरूको, हाम्रा गलतहरूको कुनै मूल्य छैन । देखेकै छौ, कसरी वामाचारीहरू पञ्च मकारकै प्रयोगले सिद्धिको बाटो खोज्छन् । मैथुन, मद, माँस, मत्य, मुद्राको प्रयोगलाई वर्जित गर्दैनन् बरु प्रोत्साहित गर्छन् । सोच त, बृद्ध वामाचार्यले सिनेमाको तेन्जिङलाई कुनै स्त्रीको समान चोर्ने उपाय किन दिए ? अनजान स्त्रीलाई उटपट्याङ उपहार दिन किन उक्साए ?


प्रिय मानिस, चाबी फोर्नू, सेफको ढोका उघार्नू, गहना निकाल्नू, झोलामा हाल्नू, बिस्तारै बाहिर निस्कनू... वर्तमानको बगलमा न गलत काम हो न सही । यो त साधना मात्रै हो । जागरणको यात्राविन्दु हो । विपश्यना हो ।

कहिलेकाहीं संस्कृति बडो खतरनाक वाधा भइदिन्छ अध्यात्मको । संस्कृति खासमा त्यस्तो भर्‍याङ हो, जसले तिमीलाई अध्यात्मको खुड्किलो टेकाएर निर्वाणको तलोमा पुर्‍याउँछ । तर, अधिकांश मान्छेले संस्कृतिको भर्‍याङ त हाल्छन्, तर तलो उक्लिन बिर्सिन्छन् । कतिले भर्‍याङ पनि चढ्छन्, तर तलामा उत्रिन बिर्सिन्छन् । पूजा–पाठ गर्छन, दान–धर्म गर्छन्, धूप–दीप जलाउँछन्, ध्यान–तप गर्छन् । मन्दिर र गुम्बा बनाउँछन् । मूर्ति कुँद्छन् । चाडबाड मनाउँछन् र बिस्तारै त्यसैमा भुल्छन् । यसरी संस्कृतिका उपासकका लागि बुद्ध भनेको एउटा काँशको मूर्ति मात्रै भइदिन्छ । धर्म भनेको विश्वास र कतिपय सन्दर्भमा त अन्धविश्वास मात्रै भइदिन्छ । परम्परा भनेको रीतिरिवाज मात्रै भइदिन्छ । संस्कार र चाडबाडमै मान्छेको धर्म सिनित्त भएर रित्तिन्छ ।

तिमीले हेरेकै हुनुपर्छ रिम्पोछेकै अर्को ‘मास्टरपिस’– ‘यात्री अनि जादुगरहरू’ (ट्राभरलर्स एन्ड मजिसियन्स) । आफ्नै तानाले बुनिएका सपनाको संसारमा बाँच्दाको दुःखान्तको यात्राकथा । कथा भन्छ, गन्तव्यको बोधजस्तै महत्त्वपूर्ण छ यात्राको सचेतता । संस्कृति भनेको यात्रा मात्रै रहेछ, मानिस । यात्राको सचेतताबिना गरिने हिँडाइले कतै नपुगिने रहेछ । वामाचारीहरू भन्छन्– सचेततासहित गरिएको चोरीले पनि मान्छेलाई बुद्ध बनाइदिन सक्छ । उसो त आम मान्छेहरू त्यतिबेला मात्रै सबैभन्दा सचेत, सबैभन्दा ध्यानी, सबैभन्दा सम्पूर्ण हुन्छन्, जतिबेला उनीहरू ‘चोरी’ गरिरहेका हुन्छन् ।

प्रिय मानिस, तिमीले पनि त धेरै कुरा चोरेको हुनुपर्छ जिन्दगीमा । सम्झना गर त । कसैले देखिहाल्ला कि भनेर कसरी छिमेकीको करेसाबाट काँक्रा टिपेकी थियौ ? अम्बा या सुन्तलाका रूख चढेकी थियौ ? कसरी खुसुरखुसुर खोस्रेर बारीको बदाम उखेलेकी थियौ ? उखुको लाँक्रा भाँचेकी थियौ ? अथवा आमाको गोप्य तखताबाट पीपलगेडी खाने पैसा निकालेकी थियौ ? अथवा आफ्नो प्रेमीको स्कुल ब्यागमा सुटुक्क प्रेमपत्र खसालेकी थियौ ?

चोरी एक कला मात्रै होइन चित्त वृत्तिको एक उपकरण पनि हुन सक्ने रहेछ, मानिस ।

...

जसरी तिम्रो जिन्दगी अरू कसैले बाँचिदिन सक्दैन उसैगरी तिम्रो सफलतालाई अर्कोले दिलाउन सक्दैन । कुनै जादुगर आएर तिम्रा समस्याहरूको हल गरिदेला भन्नु बेक्कारको आशा मात्रै हो । तिमीलाई कसैले तार्न सक्दैन । अध्यात्मको यात्रामा कुनै वैतरणी नदी हुँदैन, जसलाई कुनै कामधेनुको पुच्छर समातेर तर्न सकियोस् ।

‘अरूले के भन्लान् ?’ दुनियाँको यस्तो दकस हो, जसले मान्छेलाई कहिल्यै स्वतन्त्र हुन दिँदैन । विचार, व्यवहार र सम्बन्धको एउटा यस्तो बन्धन हो, जसलाई तोडिहिँड्न हतपति कसैले सक्दैन । हरेक मान्छे कुनै न कुनै स्वरूपको ‘सङ्क कस्ट फ्यालेसी’ ले ग्रस्त हुन्छ ।

सधैँ टाई–सर्टमा सुकिलो देखिने कथाको तेन्जिङ नगरकोटीको जस्तो फ्याङ्ले पाइजामा लगाएर आउँदा, कथाकै रवीन्द्रले सोध्छ– के पोसाक लगाएको यस्तो ?

मनको दकसबाट मुक्त नभइकन मान्छे उन्मुक्त हुन सक्दैन । उन्मुक्त नभएको मान्छे मुक्त हुन सक्दैन ।


तिमीलाई घरीघरी झोंक चल्ला कि म पनि भिक्षुणी भैदिऊँ र अनकन्टार पहाडको कुनै गुफामा गुमनाम बाँचिदिऊँ । तर, मनमा सदैव एउटा सुषुप्त दकस छ, जसले तिमीलाई टाउको मुडुल्याउन दिँदैन । सुविधाको भूगोल र सम्बन्धबाट भाग्न दिँदैन । कहिलेकाहीँ तिम्रो मनमा पनि आउला, मेयर बालेनले सुकिला बनाएका नयाँ सडकका पेटीमा मदमस्त नाचिदिऊँ र अस्तित्वको उत्सव मनाऊँ ! तर, दुनियाँले के भन्ला भन्ने निन्याउरो धक छ । आफ्नो पहिचान नै नष्ट भइजाला कि भन्ने भय छ । कहिलेकाहीँ लाग्ला, जिन्दगीको चिस्यानबाट जुरुक्क उठूँ, लेकसाइड या ठमेलतिर प्रेमीसँग बरालिऊँ अनि जुनेली रातलाई साक्षी थापेर आवेगका पसिना काढूँ । तर, त्यस्तो गरे त नैतिकता नष्ट हुन्छ भन्ने पीर छ । जतनले जोगाएको संयम भङ्ग भइजाला कि भन्ने त्रास छ ।

भ्रमको अर्को नाम डर पनि हो, मानिस । त्यस्तै अनेकन् रहर र पीर कुनै बेला मलाई पनि थियो । यस्तै अनेकानेक रहर र डर मलाई अझै भइरहन्छ ।


खै किन हो एकथान मलमलको जुत्ता मात्रै बोकेर अनजान महिलालाई ‘मेरो कोसेली लिइदेऊ न !’ भन्दै हिँड्न सिनेमाको तेन्जिङले कसरी सक्यो ? शंख बाजालाई हत्केलामा राखेर कपडा धोइरहेकी गृहिणीलाई टक्र्याउने हिम्मत कसरी देखायो ? एउटी जानअनजान महिलालाई अर्थै थाहा नभएको मुद्राको भाषामा संकेत गर्ने तडी कताबाट आयो ? के म पनि त्यस्तो उटपट्याङ गर्ने हिम्मत गर्न सक्छु ? सायद सक्दिनँ । यसो गर्ने हिम्मत जुटाउन मलाई थाहा हुनुपर्छ कि म अबका ७ दिनभित्र मर्दै छु । टुल्कु खुङजाङले त्यसै त भनेनन्, ‘तिमीलाई जस्तै सबैलाई अबका ७ दिनभित्र मर्दै छु भन्ने थाहा भइदिने भए संसार कति सुन्दर हुन्थ्यो होला ?’ संसारलाई कुरूप बनाउनुमा मेरो पनि हात छ, मानिस ।

...

लेखेर यहाँसम्म आइपुग्दा लेखक कुमार नगरकोटीको फोन आइपुगेको छ । एकाबिहानै आएको उनको फोनमा प्रायः कविता सुन्न पाइन्छ । यसपटकको कविता ‘यादहरूमाथि’ थियो । कुनै अनलाइन मिडियामा उनको भिडियो अवश्य आउला । सुन्नू !

कुमार दाइको कविता सुनेपछि लेखिरहन मन भएन । घरबाट निस्केँ । उसै पनि मेरो मर्निङ वाक सधैं ढिला हुन्छ, आज त ९ बजिसक्यो ।

चैते धान बयेँली परेका गाउँलेका खेतको बीचोबीच हिँडिरहँदा आकाशमा ‘डाकिनी’ को अन्तिम दृश्यमा जस्तै बकुल्लाहरू उडिरहेका थिए । तिनीहरू सोझै रूपाताल पुग्नेछन् । के थाहा ? मैदी या गुँदे पो जान्छन् कि ! चराहरूलाई पनि मोज छ ।


बौद्धमार्गीहरू मान्छन्, काठमाडौं डाकिनीहरूको रजगजको सहर हो । जब(–जब त्रिभुवन विमानस्थलको परिसरबाट लखरलखर बाहिर निस्कन्छु, आँखामा मर्करी–काँचले मोरिएको अग्लो न अग्लो एकसरो घर दृश्यमा आउँछ । बगलको कफी दुकान र भान्छाघर दृश्यमा आउँछन् । त्यो सम्झनाको गर्भगृहमा तेन्जिङले छोडेका केही शंखहरू छन्, झुम्काहरू छन् । रातो रंगले पोतिएको देब्रे ‘पैताला’ का दुई थान चित्र छन् । टेबलमा देव्रे पैतालाका लागि मात्रै टक्र्याइएको एकथान मलमलको जुत्ता छ । ‘तेन्जिङ’ ले चोरेर लुकाएका अनि निःसर्त फिर्ता गरेका यादहरू कोचिएको झोला पनि छ ।

मार्क ली पिङ बिङले खिचेको धुमिलो, कुहिरिलो, लामो निकै लामो यादको मौन दृश्य छ । तर्क र तथ्यभन्दा परको अदृश्य सत्य छ, सम्बन्ध छ ।

प्रिय विपश्वी, हरेक पटक काठमाडौं ओर्लंदा मलाई एउटा अप्रतिम आशा हुन्छ– यस पटक म पक्कै मेरो जिन्दगीको डाकिनी भेट्नेछु । तिमीलाई भेट्नेछु !

प्रकाशित : जेष्ठ २०, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?