कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
क्यानभास

नाकाबन्दीमा महिला

एरिना ताम्राकार

हो तिनै महिलाहरु हुन् । नाकाबन्दीका ती कैयन महिलाको कथा–व्यथामा म अहिले प्रवेश गरिरहेको छु, ऊबेला मैले बनाएका चित्रहरुमार्फत् । म स्वयंले भोगेका, सुनेका, देखेका र सहनै नसकिनेगरि दुखेका ती क्षण आज फेरि बल्झेका छन् आलो घाउ बनेर । 

नाकाबन्दीमा महिला

त्यतिबेला प्रत्येक महिलका फरकफरक कथा थिए । त्यतिबेला नै त हो भूकम्पले सबैको घाँटी अठ्याँएको । त्यही समय नेपालमा फेरि नाकाबन्दी भएको थियो । भूकम्पको कठोर कहरमा अर्को भयानक दुःख थपिएको थियो नेपालीलाई । त्यो ५ महिना १५ दिनमा हामी सबैको हालत बेहाल थियो । मैले पूरै ३ महिनासम्म कुनै काम गर्न सकेको थिइनँ । हरेक दिनलाई सम्हाल्न सकस भइरहेको थियो । दैनिक सुनिन्थ्यो दुःखद घटनाका समाचार । धेरैको दुःख नजिकैबाट देखेकी थिएँ ।

ती दिनहरुमा सबैको जस्तै हाम्रो घरमा पनि एउटा अत्यास फैलिएको थियो– अब कसरी बाँच्ने होला ? जीवनप्रति निरास भावना पलाएको थियो । अरुको जस्तो हाम्रो घरमा पनि न ग्यास थियो, न मट्टीतेल, न दाउरा । त्यो थियो हाहाकारको समय । यतिसम्म कि बारीका झारपात बटुलेर, माटोको चुलो बनाएर बारीमै खाना पकाउनुपरेको थियो ।


हामी खुमलटार घरबाट कुपन्डोलको स्टुडियोसम्म प्रायः हिँडेरै जानुपर्‍यो । कहिलेकाहीँ साह्रै गाह्रो भएपछि ब्ल्याकमा पेट्रोल किनेका थियौं । नाकाबन्दीले अनाहकमा धेरै खर्च बढाएको थियो । पहिलेका दिनको दाँजोमा घरायसी खर्चमा निकै बढोत्तरी भएको थियो ।


सोच्थें– गाह्रोसाह्रो हामी जनतालाई त हुने हो नि ! ठूलाबडाहरुलाई त के छ र ? धेरै आमाहरुका कथाव्यथा, बालबच्चा खाली पेटै स्कुल जानुपर्ने बाध्यता, ग्यास पनि ब्ल्याकमा किन्नुपर्ने तनाव सबै सम्झेर मैले क्यानभासमा चित्र बनाउन थालें । अफिस नगई, स्कुल नगई मान्छेहरु मट्टीतेलका लाइनमा दिनैभरि कुर्थे । मट्टीतेलका लागि लामा लाइनहरु देखेपछि नौनाडि फतक्कै गलेर आउँथ्यो । मस्तिस्कमा एकप्रकारको तनाव गजधम्म बसेको थियो ।


बिहान उठेदेखि सुत्नेबेलासम्मै ग्यास, मट्टीतेल, पेट्रोलकै मात्र कुरा हुन्थ्यो । बाध्यताका मनोभावनासँगै फेरि नैराश्यताका रेखा सलबलाउन थालेका थिए दिमागमा । अभावले उमारेका आक्रोशका रंगहरु मेरा क्यानभासमा पनि पोतिन थाले । ग्यासबिनाको खोक्रो घर, खाली पेट हिँडिरहेका मान्छेहरुको कथामाथि पेन्टिङ गर्न थालें । यसरी नाकाबन्दीले जन्मायो यी चित्रहरु– कालो, सेतो, रातो, नीलो रंगमा । आक्रोश र क्रोध पोखिएर बनेका मेरा यी चित्रहरु नाकाबन्दीका महिलाहरुमा समर्पित छन् ।








प्रकाशित : जेष्ठ ६, २०८० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?