२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सहरका प्रत्येक मान्छे ‘सेल्सम्यान’

वीरेन प्रताप वृद्ध भएको छ । उसको पुरानो साख खस्केको छ । मानौं, ऊ एउटा बूढो रूख हो र उसको साख भुइँमा झरेर बिलाइजाने सुक्खा पात ।
प्रभाकर गौतम

‘थिंक बिग, अचिभ बिग !’
आफ्नो सेल्सम्यानसिपमा विश्वस्त वीरेन प्रताप कार्की जीवनभर यही कुरा दोहोर्‍याइरहन्थ्यो । ऊ जब जवान थियो, कमाउँथ्यो । घरमा छोराहरू बुबा भनेपछि हुरुक्कै हुन्थे । उसका ग्राहक, अफिसका मालिक र अन्य कर्मचारी पनि उसलाई मन पराउँथे । माया र इज्जत दर्साउँथे । अहिले वीरेन प्रताप वृद्ध भएको छ र उसको पुरानो साख खस्केको छ ।
मानौं, वीरेन प्रताप कुनै बुढो रुख हो र उसको साख भुइँमा झरेर बिलाइजाने सुख्खा पात ।

सहरका प्रत्येक मान्छे ‘सेल्सम्यान’

वीरेन प्रताप हाल मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘यौटा सपनाको अवसान’ को मुख्य पात्र हो । नाटकमा वीरेन प्रताप र उसको परिवारको कथा छ, जसमा उसको जीवनको अन्तिम २४ घण्टालाई समेटिएको छ । तर, २४ घण्टाभित्र दशकौं परका घटनाक्रमसमेत अटाएका छन् ।

जीवनमा लगनका साथ दुःख गर्‍यो भने एक न एक दिन सफलता र सुख हात लाग्छ भन्ने वीरेन प्रतापको विश्वास थियो । यही विश्वासका साथ ऊ सफल र सुखी जीवनको सपना देख्छ । यसका लागि निरन्तर परिश्रम पनि गरिरहन्छ । तर, आफ्नो सपना पछ्याउँदा पछ्याउँदै उसका हातगोडा लुला हुन्छन् । कपाल फुल्छ, छाला चाउरिन्छ । उसको स्मृतिसमेत क्रमशः विस्मृतिमा पुग्न थाल्छ । जुन अफिसका लागि झन्डै चार दशक पसिना बगाउँछ, त्यहीँबाट निकालिनुको अपमान सहनसमेत बाध्य हुन्छ । ईश्वर वल्लभको गीत ‘हजार सपनाहरूको माया लागेर आउँछ’ ले भनेजस्तै शृंखलाबद्ध अप्रिय घटनाहरूपछि वीरेन प्रतापलाई आफ्ना प्रिय सपनाहरूको झन् बढी माया लाग्न थाल्छ । आफ्ना सपनाहरूप्रति आशक्त ऊ यथार्थको सामना गर्न हिचकिचाउँछ । यो हिचकिचाहटबाट उम्कन ऊ घरी आफ्नै आफ्नो विगतको स्मृतिमा लुटुपुटु हुन्छ । घरी, भ्रमको घर नयाँ बनाउँछ ।

वीरेन प्रतापको परिवारमा उसकी श्रीमती लीला, छोराहरू सनुप र सगुन छन् । हरियाली, खुला फाँट र चराचुरुंगी मन पराउने वीरेन प्रतापको घर भने अग्ला भवन र अपार्टमेन्टहरूको छायामा ओझेल परेको छ । उसको करेसामा घामसमेत लाग्दैन ।

यो घर उसले जेठो छोरा सनुप नौ वर्षको हुँदा किनेको हो, जसको किस्ता तिर्दै आएको छ, पच्चीस वर्षदेखि । अझै ६८ हजार रुपैयाँ तिरेपछि बल्ल घर उनीहरूको नाममा नामसारी हुनेछ । घरभित्र मध्यमवर्गीय परिवारले उपभोग गर्ने गाडी, फ्रिज, भ्याकुम क्लिनरजस्ता मालसामान छन्, तर ती सबै किस्तामा जोडिएका हुन् । तिनीहरूको हाल कस्तो छ भने, अन्तिम किस्ता तिरिसक्दा माल पनि पत्रु भइसक्ने ।

उसका छोराहरू बढिसके पनि आत्मनिर्भर छैनन् । अविवाहित दुवै छोरामध्ये ठूलो छोरा एकपछि अर्को काम गर्दै भड्किएर हिँडेको अवस्था छ । सानो छोरा काम त गर्छ, तर केटीहरूसँग रत्तिएर अलमलिइरहेको छ । जागिरविहीन बनेपछि वीरेन प्रताप किस्ता र बिमा प्रिमियम तिर्ने पैसा कसरी जुटाउने भन्ने दबाबमा पर्छ । उसकी जीवनसँगी लीलाले अटुट साथ त दिन्छिन्, तर त्यतिले उसको हौसला टिकिरहन सक्दैन । अन्ततः ऊ आत्महत्या गर्ने कदम चाल्न उद्यत हुन्छ ।

वीरेनको आत्महत्यातर्फ उन्मुख सोच श्रीमती लीला र छोराहरूले समेत चाल पाउँछन् । यस्तो संकट टार्ने यो परिवारसँग अब एउटै मात्र विकल्प बाँकी छ । त्यो हो, सनुपले वैकुण्ठ साहुसँग १२/१५ लाख कर्जा मागेर नयाँ काम सुरु गर्ने । के वीरेन प्रताप र उसको परिवारको यो संकट टर्ला ? नाटकको घटनाक्रम यही संकटवरिपरि घुम्छ । यस दौरान परिवारका सदस्यबीचको माया–घृणा, द्वन्द्व–समर्पण, छल–त्यागका अनेक दृश्य मञ्चमा देख्न पाइन्छ ।

‘यौटा सपनाको अवसान’ निर्देशक अनुप बरालको परिकल्पना/निर्देशनमा तयार भएको हो । ठूलो क्यानभासमा भव्य सेट डिजाइनसहित सामाजिक सरोकारका विषय उठान गर्नु अनुप बरालको विशेषता हो । ‘यौटा सपनाको अवसान’ मा पनि यो विशेषता कायम राखेका छन् ।

सेटमा वीरेन प्रतापको घरको छतको पछिल्लो भागमा फ्रेमैफ्रैमहरू देखिन्छन्, जसले तीव्र सहरीकरणको चित्रण गर्छ । यहीँ प्रतीकात्मक रूपमा माहुरीको घार पनि बनाइएको छ, जसले नाटकको विषयसँग तादात्म्य राख्छ । नाटकको एक ठाउँ वीरेन सानो छोरालाई भन्छ् पनि, ‘संसार भनेको माहुरीको घार हो, मात्र मह काढ्न जान्नुपर्छ, बुझिस् ।’

वीरेन प्रताप कल्पना, स्मृति र भ्रममा विचरण गर्ने पात्र हो । वीरेनको वर्तमानमा तिक्तता र असफलताको भावना तीव्र छ । यस क्रममा ऊ यथार्थ र भ्रमबीचको भेद नै खुट्याउन सक्दैन । तीतो यथार्थ आत्मसात् गर्न नसकेर अत्तालिने ऊ भाग्दैभाग्दै पुरानो समयमा फर्कन खोज्छ । मुख्य चरित्रको यस्तो जटिल मनोदशा अभिव्यक्त गर्न निर्देशकले पनि यथार्थवादी शैलीको सीमा मिच्दै पात्रको आन्तरिक संसारमा प्रवेश गर्ने प्रयास गरेका छन् । यसक्रममा नाटकको विधा भञ्जन भई यथार्थ, कल्पना र स्वैरकल्पनाको मिश्रण हुन पुग्छ । यो नाटकको रोचक पक्ष हो । वीरेन प्रतापका दाइ बन्धु यस्तै पात्र हो, जो रहस्यमयी ढंगले अप्रत्याशित रूपमा मञ्चमा उपस्थित हुन्छ । ऊ जबजब आउँछ, दाहिने कुनामा अवस्थित झ्यालकै बाटो भएर आउँछ, हरेक पटक मञ्चमा एकर्डियन बाजाको धुन दोहोरिन्छ ।

फ्ल्यासब्याक र वर्तमानका कथा सँगैसँगै हिँड्ने यो नाटकमा पात्रहरू वास्तविक समयमा हुँदा जहिले पनि ढोकाबाट प्रवेश गर्छन्, जुन स्टेजको देब्रेतिर छ । अरुबेला पात्रहरू मञ्चको अलगअलग भागबाट आउँछन् । एउटै घरभित्रका अलग स्पेसहरू स्थापित गर्नदेखि वर्तमान र फ्ल्यासब्याकका फरक समयमा आउन–जान लाइटको विशेष प्रयोग भएको छ नाटकमा । थ्रिएक्ट संरचनाको यो नाटक दुई घण्टाभन्दा लामो छ । रंगमञ्चमा नाटक जति लामो भयो, टाइम–प्लेस–एक्सनबीचको एकरूपता भंग हुने जोखिम हुन्छ । सँगै लामो नाटक हेर्दा दर्शकलाई पट्यार लाग्ने डर पनि उत्तिकै हुन्छ । त्यसैले होला, नाटकमा दस मिनेटको मध्यान्तर पनि हुन्छ । सिनेमामा जस्तै मध्यान्तर हुने नाटकमा सिनेमाका केही प्रभाव पनि भेटिन्छन् । खासगरी सनुप र सगुन सानो छँदाका सन्दर्भहरू फ्ल्यासब्याकमा देखाइँदा सिनेमा हेरेको आभास हुन्छ । नाटकभित्रका बटुवाबाहेकका गीतहरू भने औसत छन् । विगत र वर्तमानका दृश्यबीचको अन्तर्सम्बन्धलाई प्रप्स र साउन्डको माध्यमले जोड्ने शैली आकर्षक छ ।

कलाकार छनोटमा निर्देशक बरालको विशेष दखल छ । यौटा सपनाको अवसानमा फेरि उनले यो कुरा सिद्ध गरेका छन् । रोयदीप श्रेष्ठले वीरेन प्रतापको जटिल चरित्रलाई पनि सहज ढंगले निर्वाह गरेका छन् । प्रोटेक्टिभ श्रीमती लीलाको भूमिकामा दिया मास्केले फेरि एक पटक आफ्नो दमदार अभिनय क्षमता प्रदर्शन गरेकी छन् । नाटकमा रोयदीप र दिया जवान र वृद्धावस्था दुवै हुलियामा देखिन्छन् ।

छोराहरूको भूमिकामा फ्ल्यासब्याक र वर्तमान देखाउन चार जना कलाकार मञ्चमा देखिन्छन्– दिव्यदेव, जीवन गौतम, विकास जोशी र अभिषेक खड्का । फ्ल्यासब्याकमा देखिने जीवन र अभिषेकको केमेस्ट्र्री र उर्जाले विशेष प्रभाव पार्छ । यही लय पछि दिव्यदेव र विकासबीच पनि कायम छ । यीमध्ये दिव्यदेव र वीरेन प्रतापबीचको द्वन्द्व नाटकलाई गति दिने तत्त्व हो । दुवै पात्रमा ग्लानिभाव तीव्र छ र मञ्चमा त्यसको टकराव देख्न पाइन्छ । आक्रोशित भई बुबासँग झगडा गर्ने छोराको भूमिकामा दिव्यदेवले मन जित्छ । छिमेकी चन्द्रवीरको भूमिकामा सन्देश शाक्य र दाइ बन्धुको भूमिकामा शेखर चापागाईं उसैगरी जमेका छन् । पारुको छोटो भूमिकामा पनि मेनुका प्रधान आफ्नो प्रभाव छोड्न सफल छिन् ।

‘यौटा सपनाको अवसान’ अमेरिकी लेखक आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ को अनुवाद हो । मिलरको यो नाटक कवि विप्लव प्रतीकले अनुवाद गरेका हुन् । नाटकमा संवाद बढी छन्, तर अनुवाद गरिएका अन्य थुप्रै नाटकमा जस्तो भाषिक क्लिष्टता यसमा झेल्नुपर्दैन । सन् १९४९ मा मञ्चन भएको ‘डेथ अफ अ सेल्सम्यान’ लाई नेपाली सन्दर्भमा ढाल्न झापा विद्रोह, सञ्जयको पडकास्टदेखि पछिल्लो एक नम्बर प्रदेशमा भइरहेको नामकरण विवादको प्रसंगसमेत जोडिएको छ ।

नाटक सहरी मध्यमवर्गीय परिवारको कथा हो । वीरेन प्रताप सेल्समेन भए पनि उसले कुन सामान बेच्छ भनेर खुलाइएको छैन । यसले पात्रलाई रिलेट गर्ने दायरा फराकिलो बनाएको छ । नाटकमा डुब्दै जाँदा यस्तो लाग्छ, सहरमा बस्ने हरेक मान्छे एउटा सेल्सम्यान हो । वीरेन प्रताप अलिकति तपाईं हो, अलिकति म ।

मिलरले आफ्नै नाटकबारे भनेका छन्, ‘डेथ अफ अ सेल्सम्यान आममान्छेको त्रासदी हो ।’ राजा, महाराजा, सेनापति र कुलीन मान्छेका त्रासदीको भीडमा आममान्छेको त्रासदीले रंगमञ्चमा संसारमा समेत तरंग ल्यायो । अर्को शब्दमा यो अर्थ राजनीतिक त्रासदी हो । दुई ठूला विश्वयुद्धबाट सिर्जित अर्थ–राजनीतिक संकटका कारण अमेरिकी समाज ग्रेट डिप्रेसनदेखि नयाँ आर्थिक बन्दोबस्तको चरणसम्म पुग्यो । यही सन्दर्भमा अमेरिकी सपनाको सूत्रपात भयो, जसले भन्यो– जीवनमा कडा परिश्रम गर्‍यो भने हरेक व्यक्ति सफल र खुसी हुन्छ ।

समृद्धि र सफलताको सपना फ्याक्ट होइन, फिक्सन हो । भर्खरै आत्मदाह गरेका प्रेमप्रसाद र नाटकका यी वीरेन प्रतापको सपना–नियति एउटै हो ।

त्यो सपनाले मान्छेहरूमा आफ्नो एउटा बस्नलायक सुन्दर घर, नगद, गाडी लगायत न्यूनतम आवश्यकता मात्र नभएर विलासीका मापदण्ड पनि पूरा हुनुपर्छ भन्ने धारणा बलियो बनायो । धान्नै नसक्ने ऋण लिएर भए पनि त्यो सपना पूरा गर्ने प्रतिस्पर्धा सुरु भयो । त्यसले आर्थिक संकट बढायो, नैतिक मूल्य मान्यतामा ह्रास ल्यायो । अमेरिकी समाजको तत्कालीन संकट अहिले विश्वव्यापी भइसकेको छ । हरेक देशका फरक नामका सपना होलान्, तर तिनको मापदण्ड उही हो– सुखी र सम्पन्न जीवन अर्थात् भौतिक समृद्धि र विलासिता ।

नेपालका मान्छेमात्र नभई सिंगो राष्ट्र नै पुँजीवादले बढावा दिएको उपभोक्तावादी प्रतिस्पर्धामा होमिइसकेको छ । हामी भौतिक सुख उपभोग गर्ने कुरामा यति मग्न भइरहेका छौं कि हाम्रो जीविकाका मौलिक र स्थायी आधारहरू भत्किइरहेका छन् । विश्व व्यवस्था र शक्ति संरचनाले उपलब्ध गराएको विकल्प पछ्याउँदा कफन फर्किने कुरा सामान्य बनिरहेको छ । त्यसको विकल्पबारे सोच्ने मौका अवसर र वातावरण छैन ।

यो सन्दर्भमा नाटक ‘यौटा सपनाको अवसान’ हामी बाँचिरहेको जीवन नियाल्ने ऐनाझ्याल हो ।

समृद्धि र सफलताको सपना फ्याक्ट होइन, फिक्सन हो । वीरेन प्रताप त्यही फिक्सनको सिकार हुने पात्र हो । जुन बेला ‘यौटा सपनाको अवसान’ को रिहर्सल चलिरहेको थियो, त्यही बेला नयाँ बानेश्वरस्थित संघीय संसद्भवनअघि प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । प्रेमप्रसादको सपनाको अवसान थियो त्यो । ती प्रेमप्रसाद र यी वीरेन प्रतापको भलै अनुहार नमिल्ला, सपना र नियति एउटै हो ।

प्रकाशित : चैत्र १८, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?