विगत भर्सेस वर्तमान, प्रेम भर्सेस यौन !- कोसेली - कान्तिपुर समाचार
नाटक

विगत भर्सेस वर्तमान, प्रेम भर्सेस यौन !

डार्क कथा हो ‘विमोक्ष’ । यसका पात्र ग्रे–जोनमा बाँचेका छन् । तिनका जीवनमा भरमार दुःख र अँध्यारो छ, तर ती रंगहीन छैनन् । प्रेममा चुर्लुम्म डुबेका मानिस आखिर बेरंगी कसरी हुन सक्छन् ?
प्रभाकर गौतम

दीप दर्नाल : प्रेम ? के त्यो साँच्चै प्रेम थियो ?
मुमा हजुर : त्यो प्रेम नभए के थियो त ?

प्रेमप्रति सशंकित छ पुरुष । प्रेममा समर्पित छिन् महिला । यस्तो फरक अवस्थितिमा दुई पात्रबीच अन्तर्द्वन्द्व हुने नै भयो । जातीय र वर्गीय बेमेल भएपछि यो अन्तर्द्वन्द्व झनै पेचिलो बन्ने नै भयो । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’ यस्तै अन्तर्द्वन्द्वको पेचिलो कथा हो ।

अधबैंसे दीप र वृद्धावस्थामा पुगिसकेकी मुमाहजुरको वर्षौंपछिको भेटबाट यो कथा आरम्भ हुन्छ । तर, यी पात्रको एकअर्कासँग पुरानो सम्बन्ध छ । त्यतिबेला मुमाहजुर अधबैंसे रश्मिदेवी थिइन् । रश्मिदेवीभन्दा २५ वर्ष कान्छा दीप त झन् भर्भराउँदा किशोर थिए । उसबेला उनी दीप थिएनन्, कमल घिमिरे थिए ।

नाटकमा एकै पात्रका दुई अलग नाम र रूप छन् । युवाकालीन कमल नै अधबैंसे दीप हुन् । अधबैंसे रश्मिदेवी नै वृद्धावस्थाकी मुमाहजुर हुन् । दीपको भूमिकामा घिमिरे युवराज र मुमाहजुरको भूमिकामा सगुना शाह देखिन्छिन् । कमलको भूमिका सागर खाती कामी र रश्मिदेवीको चरित्र पवित्रा खड्काले निभाएका छन् ।

के दीप दर्नालले कमल घिमिरे नबनेको भए रश्मिदेवीको घरमा डेरा पाउँथ्यो ? अनि उसले रश्मिदेवीको मनमा बास पाउँथ्यो ?

वर्षौंपछि मुमाहजुरको अपार्टमेन्टमा भेट्न आउँदा सुरुमै दीपलाई रश्मिदेवीको झल्को आउँछ । तर, त्यहाँ उनी पहिलेकी अधबैंसे रश्मिदेवी पाउँदैनन् । रश्मिदेवीको ठाउँमा चाउरी परेको अनुहारकी मुमाहजुर देख्छन् र झस्किन्छन् । दीपलाई मुमाहजुरले आफूलाई कमलबाबु भनेकोमा पनि आपत्ति हुन्छ । मुमाहजुर दीपसँगका हरेक स्मृतिलाई न्यानो स्पर्शले सुमसुम्याइरहन चाहन्छिन् । तर, दीप त्यो स्मृति नै मेटाउन चाहन्छन् ।

आफ्नै अतीतप्रति दीप यति निर्मम किन ? यही जिज्ञासासँगै ‘विमोक्ष’ अघि बढ्छ । यी दुई (चार) पात्रको वर्तमान र अतीतका सन्दर्भ पत्रपत्रमा खुल्न थाल्छन् । संवाद जति अघि बढ्यो नाटक उति रोचक–घोचक बन्दै जान्छ । दुई विपरीत ध्रुवका पात्रको अन्तर्द्वन्द्व, यी पात्रको अतीत र वर्तमानको अन्तर्संघर्ष हो नाटक । यो संघर्षमा उनीहरूको वर्तमानलाई अतीतले जित्छ वा अतीतलाई वर्तमानले ? यो जिज्ञासा नाटकको अन्त्यसम्म कायम रहन्छ ।

एक ठाउँमा दीप मुमाहजुरलाई भन्छन्, ‘कर्नेल्नी साहेब ऊ हजुरलाई हैन रश्मिदेवीको शरीरलाई प्रेम गर्थ्यो ।’ विगत भर्सेस वर्तमानजस्तै प्रेम भर्सेस यौन पनि नाटकको केन्द्रीय विषय हो । यही कारण निर्देशक प्रवीण खतिवडाले मञ्चको संरचना नै महिला योनिजस्तै देखिने गरी तयार पारेका छन् ।

नाटकमा विगत फ्ल्यासब्याकको सन्दर्भ बनेर दृश्यमा आएको छ । फ्ल्यासब्याकका केही दृश्य मल्टिमिडियाका माध्यमबाट पनि दर्शकसामु आउँछ । दीप तथाकथित दलित पात्र हुन् । जातकै कारण सहरमा डेरा पाउन उनी आफ्नो नाम, थर बदल्न बाध्य हुन्छन् । कमल घिमिरे बनेपछि बल्ल उनले काठमाडौंको सम्भ्रान्त परिवार कर्णेल श्यामकुमार बस्नेत र रश्मिदेवीको घरमा डेरा पाउँछन् ।

रश्मिदेवी कर्नेलकी श्रीमती भएर भौतिक सुविधा प्राप्त गरे पनि मानसिक–शारीरिक सुखबाट वञ्चित छिन् । विद्रोहीद्वारा अपहरणमा परी मारिएको १३ औं दिनमा उनले आफ्ना श्रीमान्‌को अर्की श्रीमती र सन्तानसमेत भएको खबर सुन्नुपर्छ । कर्णेल बस्नेतको मृत्युपछि उनी श्रीमान्को मृत्युमै आफ्नो मुक्ति लुकेको महसुस गर्छिन् । यही पृष्ठभूमिमा रश्मिदेवी र कमलको तनमन जोडिन्छ ।

आफ्नो परिचय–पहिचान स्विकार्ने अवस्थामा पुगेपछि दीपलाई आफ्नै अतीतले पिरोल्न थाल्छ । उनी अनेकन् प्रश्न गर्न थाल्छन्– ‘के दीप दर्नालले कमल घिमिरे नबनेको भए रश्मिदेवीको घरमा डेरा पाउँथ्यो ? अनि उसले रश्मिदेवीको मनमा बास पाउँथ्यो ?’

यो प्रश्नले रूपा सुनार, दीपा नेपाली, अजित मिजारजस्ता समाजका वास्तविक पात्रको स्मरण गराउँछ । दीपले यो प्रश्न मुमाहजुरलाई सोधेका हुन् कि हामी दर्शकलाई ?

नाटकले कथित उच्चजातकी सम्भ्रान्त महिला र कथित तल्लो जात भनिएका पुरुषको भोगाइलाई एउटै कथामा समेटेको छ । भोगाइ अलग भए पनि दीपजस्तै रश्मिदेवी पनि उत्पीडनमा परेकी पात्र हुन् । जो दीपलाई भन्छिन्– यो समाजमा स्वास्नीमान्छेको जीवन र दलितको जीवन उस्तै पीडादायी छ ।

उत्पीडनका फरक आयाम उजागर गर्ने यो नाटक घिमिरे युवराजले लेखेका हुन् । सांस्कृतिक–राजनीतिक विषमतामाथि नाटकमार्फत आफ्नो असन्तुष्टि पोख्दै आएका उनले ‘विमोक्ष’ मा पनि यही काम गरेका छन् । नाटकमा हाम्रो समाजको जल्दोबल्दो समस्या जातीय र लैंगिक उत्पीडनबारे एक कदम अघि बढेर सोच्नुपर्ने आग्रह भेटिन्छ । उनको दाबी छ, ‘नाटकमा यी विषय त्यसै आएका होइनन् । म बाँचिरहेको समाजमा यी विषय भयानक समस्याका रुपमा चलायमान छन् । म व्यक्तिगत रूपमा नाट्य समूहमार्फत सामाजिक आन्दोलनहरूमा सरिक भइरहँदा झन् महसुस भएर यी विषयलाई समाएको हुँ ।’

विषय र मुद्दाबारे यस्तै पृष्ठभूमिका कारण उनी नाटकमा केही जबर्जस्त पन्च लाइनहरू रच्न सफल पनि छन् । जस्तै, ‘घर त पूजा लगाएर चोख्याइबक्सिन्छ, शरीर कसरी चोख्याइबक्सिन्छ कर्नेलनी साप ?’, ‘प्रेम हाम्रा लागि अझै वर्जित छ कर्णेलनी साहेब । प्रेमलाई हिंसाले मारेको छ ।’ यसका बावजुद दीपका कतिपय संवाद ‘लाउड’ पनि लाग्छन् । दीपको संवादमा कथाभित्रै विशिष्ट सन्दर्भ भोगेको खास पात्रको छनकभन्दा बढी हामीले पढ्दै, सुन्दै आएका कुरा हावी भएको छ । दीपको चरित्र निर्माणक्रममा लेखक थप गहिराइमा पस्न सकेको भए एउटा सशक्त दलित पात्र जन्मन्थ्यो, तर उनले यो अवसर गुमाएका छन् । बरु, तुलनात्मक रूपमा दीपको भन्दा रश्मिदेवी/मुमाहजुरको चरित्र गठन बलियो लाग्छ ।

घिमिरे युवराजको कथालाई मञ्चमा उतार्ने काम सिर्जनशील निर्देशक प्रवीण खतिवडाले गरेका छन् । उनको सिर्जनशीलता मञ्चको संरचना डिजाइनदेखि लाइटसम्म देख्न पाइन्छ । ‘विमोक्ष’ का पात्रहरूको विगत र वर्तमान छुट्याउन मञ्चको सेटअपलाई दुई तहमा डिजाइन गरिएको छ । वर्तमानका गतिविधि मञ्चको तल्लो भाग र विगतका गतिविधि मञ्चको माथिल्लो भागमा देखाइएको छ । पात्रहरूको मनोदशामा वर्तमानभन्दा उनीहरूको विगत हावी छ । मञ्चको तहगत डिजाइनले पात्रहरूको मनोदशासँग यस्तै प्रतीकात्मक तादात्मय राख्नु अर्थपूर्ण छ ।

‘विमोक्ष’ डार्क कथा हो, जसका पात्रहरू ग्रे–जोनमा बाँचेका छन् । उनीहरूको जीवनमा भरमार दुःख र अँध्यारो छ, तर ती रंगहीन छैनन् । प्रेममा चुर्लुम्म डुबेका मानिसहरू आखिर बेरंगी कसरी हुन सक्छन् ? सायद त्यसैले, मञ्चमा भरपूर तिक्खर रंग प्रयोग भएको छ । दीप र मुमाहजुरबीचका संवादमा सादा लाइटको प्रयोग बढी छ । रश्मिदेवी र कमलसँगका चञ्चल दृश्य भएको माथिल्लो स्टेजमा रातो, नीलो, पहेँलो लाइट धेरै खेलाइएको छ । रातो लाइटको प्रयोग नाटकको प्रधान विषय प्रेम र विद्रोहसँग मेल खान्छ ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

‘विमोक्ष’ चार कलाकारले धानेको नाटक हो । चारै कलाकारका फरक विशेषता छन् । मुमाहजुरको बोल्ड अवतार रश्मिदेवीको भूमिकामा पवित्रा खड्का विशेष खुलेकी छन् । उनीसँग कमलको भूमिकामा सागर खाती कामीको केमेस्ट्री जमेको छ । मुमाहजुर अर्थात् सगुना शाहको अभिनयमा चरित्रअनुसारको उमेरजन्य कोमलता र शिथिलता महसुस हुन्छ । घिमिरे युवराजले दीपको आफ्नो अन्योल, आक्रोश र छटपटीलाई कायम राखेका छन् । नाटकमा एक–दुई यस्ता पात्र पनि छन्, जो देखिँदैनन्, तर उनीहरूको उपस्थितिको आभास भने हुन्छ । तीमध्ये रश्मिदेवीका श्रीमान् कर्नेल श्यामकुमार बस्नेतको प्रसंग महत्त्वपूर्ण छ ।

‘विमोक्ष’ लाई कविता–गीतको प्रयोगले पनि रोचक बनाएको छ । कथाको अन्त्यतिर माथिल्लो स्टेज र तल्लो स्टेजका पात्रहरू दीप, मुमाहजुर, रश्मिदेवी र कमलबीच संवादसमेत हुन्छ । यस्तै माहोलमा कमल कवितावाचन गर्छन्,

कसरी भन्ने माया थियो कि थिएन भन्ने ?

भ्रम नै सही, महसुस थियो उनी मेरी हुन् भन्ने...

यही कवितालाई दीप यसरी पूरा गर्छन्,

प्रेम गर्छु तिमीलाई

तर, धेरै जसो घृणा गर्छु तिमीलाई ।

विगत र वर्तमानको यो छेडखानी, कल्पना र यथार्थको यस्तो मिसमास रुचिकर लाग्छ । यसले विषयगत रूपमा मात्रै नभई प्रस्तुतिका हिसाबले पनि नाटकलाई विशेष बनाएको छ ।

दीपलाई आफ्नै अतीतले लखेटेजस्तै ‘विमोक्ष’ नाटक हेरुन्जेल मलाई पनि यी प्रश्नले लखेटिरह्यो– के मान्छेले चाहँदैमा आफ्नो विगत बदल्न सक्छ ? विगतलाई बदल्ने प्रयासले मान्छेलाई खुसी मिल्छ वा फगत छटपटी मात्रै ? ‘विमोक्ष’ मा यस्ता अरू पनि धेरै प्रश्न छन्, जसले दर्शकलाई नाटकघरबाट बाहिरिएको लामो समयसम्मै पछ्याइरहन सक्छ । यसर्थमा ‘विमोक्ष’ सामाजिक बेथितिमाथि प्रश्न गर्ने नाटक हो ।

‘विमोक्ष’ नाटक पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । मैले सुरुमा नाटक पढेँ, अनि मञ्चमा हेरेँ । पढ्दा मस्तिष्कमा बनेका मेरा कैयौं कल्पना नाटक हेर्दा भताभुङ्ग भए । कल्पना भत्किँदा पनि रमाइलो लाग्यो । नाटक हेरिसकेपछि फेरि ‘विमोक्ष’ पढेँ । यो पठनमा मञ्चका पात्र अक्षरमा सजीव भएर आए, झनै रोमाञ्चक अनुभूति भयो ।

‘विमोक्ष’ पढेर हेर्ने वा हेरेपछि पढ्ने, रोजाइ तपाईंकै !

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

मिसन मसला : पृथ्वीलाई एक फन्को

पूर्वको रैथाने मसलाले मध्यकालीन युरोपको भान्सा मोहित भयो । मसला फल्ने भूगोलसम्म पुग्न थुप्रै साहसी/दुस्साहसी यात्रा भए । तर, भूगोलबारे तथ्य कम र मिथक ज्यादा प्रचलनमा रहेको त्यस युगमा पृथ्वीलाई एक फन्को लगाउने फर्डिनान्ड मेगलनको यात्रा अभूतपूर्व थियो । विश्व आर्थिक, राजनीतिक र सांस्कृतिक इतिहासमा त्यो यात्रा एक महत्त्वपूर्ण मोड थियो ।
विकास बस्नेत

एक मुट्ठी ल्वाङयुफ्रेटस नदीतटको सानो सहरमा आगलागी भयो इसापूर्व १७२१ तिर । पुजुरुम भनिने एक व्यक्तिको घर जल्यो (पहिलो पटक मान्छेले यही भूगोलमा क्युनिफर्म/स्फान लिपिमा लिखित अभिलेख राख्न आरम्भ गरेको समय थियो त्यो) । घर जलेपछिको खरानीको थुप्रोमा पुरातत्त्वविद्हरूले माटाको भाँडामा दुरुस्तै जोगिएको एक मुट्ठी ल्वाङ फेला पारे ।

त्यो एक आश्चर्य थियो । इन्डोनेसियाको मोलुका द्वीप समूहमा मात्रै पाइने रैथाने ल्वाङलाई सिरियाको मरुभूमिमा कसले र कसरी पुर्‍यायो ? यो झनै आश्चर्य थियो । पुजुरुमको भान्सामा पुगेको ल्वाङको कथा त इतिहासको गर्तमा बिलायो । तर, करिब ३२ सय वर्षपछि स्पेनबाट मसलाको खोजमा विश्व–यात्रामा निस्केका फर्डिनान्ड मेगलन र उनको टोलीले फर्किंदा ल्याएको २६ टन ल्वाङको अभूतपूर्व यात्रा–कथा रोचक र सम्झनलायक छ । यो कथाले मसलाको इतिहासको परिभ्रमण गराउँछ ।

सेप्टेम्बर ६, १५२२ । स्पेनको सानलुकार दे बारमादा बन्दरगाहको क्षितिजमा एक जीर्ण पानीजहाज देखापर्‍यो । जहाजको पाल झुत्रो भएको थियो । पाटपुर्जा खियाले खाएर खङ्ग्रङ्ग देखिन्थ्यो । वास्तवमा जहाजको नाममा त्यो अस्थिपञ्जर थियो । जहाजभित्रको दृश्य झन् कारुणिक थियो । त्यहाँ थिए कुपोषणले हाड–छाला मात्रै बाँकी भएका नाविकदलका १८ जना सदस्य । तिनीहरूसँग बोल्ने सामर्थ्य पनि बाँकी थिएन, जिब्रो सुन्निएको थियो, ठेउला र पानीफोकाले जिलजिल भएको थियो शरीर । जहाजका कप्तान र अधिकांश सदस्य बाटैमा मरिसकेका थिए ।

तीन वर्षमा ६० हजार माइल दूरी यात्रा गरेको जहाजले सर्वस्व गुमाएर पनि अति जतनले बोकी ल्याएको एक मात्रै त्यो वस्तु थियो– ल्वाङ । र, इतिहासमै पहिलोपटक पृथ्वीको एक फन्को परिक्रमा गरेको थियो त्यस जहाजले । हिउँदे ठिहीमा ज्यानको परवाह नगरी आफ्नो लुगाफाटोसमेत बेचेर इन्डोनेसियाको मोलुका द्वीपमा किनिएको थियो त्यो ल्वाङ । यात्राका कप्तान जनरल थिए– फर्डिनान्ड मेगलन । ‘अन्वेषण युग’ को त्यो अभूतपूर्व यात्रालाई मसलाको महकले नै ऊर्जा दिएको थियो (ओभर द एज अफ द वर्ल्ड, लरेन्स बरग्रिन) ।

मसलाको महक

त्यसबेला ल्वाङ, दालचिनी, मरिच, जाइफल, अदुवाजस्ता मरमसलाको महकले युरोपको भान्सा मोहित भइसकेको थियो । १३ औं शताब्दीको एउटा रेसिपीले बंगुरको मासुमा पर्याप्त अदुवा, दालचिनी, मरिच, ल्वाङ र जाईफल हाल्न सुझाएको छ । सन् १४२४ मा एक मध्यमवर्गीय परिवारले औसत १७ पाउण्ड मरिच, १४ पाउण्ड अदुवा र १७ पाउण्ड ल्वाङ–दालचिनि उपभोग गर्थ्यो । पाहुना सत्कारमा समेत यी मसला प्रयोग हुन्थे । सन् ११९४ मा रिचार्ड प्रथमको पाहुना बनेर बेलायत पुगेका स्कटल्याण्डका महाराजलाई प्रत्येक दिन दुइ पाउण्ड मरिच र चार पाउण्ड दालचिनी टक्र्याइएको थियो (टेस्ट अफ प्याराडाईज, वुल्फग्याङ्ग चिभेलबुस) ।

अमेरिकी महादेशको पूर्वीतटीय क्षेत्र मात्रै युरोपको सामान्य जानकारीमा आएको समय थियो त्यो । त्यसैले त्यहाँको रैथाने आलु, टमाटर तथा मकै युरोपको भान्सामा पुगिसकेको थिएन । त्यहाँ अमिलो कागती, गुलियो चिनी, तातो चिया र कफी थिएन । यस्तोमा युरोपेली परिकारमा स्वादको विविधताका लागि ल्वाङ, मरीच, जाइफल, दालचिनी र अदुवा बिस्तारै अनिवार्य बन्यो । सबैलाई थाहा थियो– यी मरमसला पूर्वका रहस्यमयी भूगोलबाट आउँथे । इडेनको बगैंचा यही धरतीमा कतै रहेको बुझाइ थियो इसाईहरूको । उनीहरूको विश्वास थियो– जेरुसेलमभन्दा पूर्वपट्टि छ त्यो बगैंचा । इसाई मानचित्रकारले पनि सुदूरपूर्वतिर स्थापित गरेका थिए– स्वर्गको ठेगाना । कट्टर इसाई समाजका लागि स्वर्ग र मसला दुवै पूर्वमा हुनु एक संयोग मात्रै थिएन । र, मसलाको महक सिधै स्वर्गको महक हो भन्ने ठानियो । त्यसबेला यही मान्यता निकै गहिरोसँग स्थापित भयो । आम जिब्रो अनि मनोविज्ञानमा मसला स्वाद, सुवास, ओखती र प्रसाद बनेर छाएपछि युरोपमा यसको मागले आकाश छोयो । साहुहरूले मसलाको व्यापारमा अथाह पैसा देखे । नदेखून् कसरी ? मेगलनको त्यो जीर्ण जहाजमा आइपुगेको ल्वाङले मात्रै यात्राको सबै खर्च कटाएर नाफा कमाएको थियो । मसलाको व्यापारमा अथाह पैसा थियो, अर्थात् तिनका लागि पनि पूर्वको भूगोल एक स्वर्ग थियो । तर ‘स्वर्ग’ पुग्ने बाटो सहज थिएन (आउट अफ द इस्ट, पाउल फ्रिडम्यान) ।

अड्चन

रोमन साम्राज्यको पतनसँगै युरोप र भारतबीच स्थापित प्राचीन सोझो व्यापारिक सम्पर्क टुटेको थियो । इजिप्टमा मुसलमान र भूमध्यसागर क्षेत्रमा अरबीहरूले युरोपलाई भारततर्फ ढिम्किनै दिएका थिएनन् । युरोपेली जहाज लालसागर पार गरेर हिन्द महासागरमा छिर्न पनि पाउँदैनथ्यो भने स्थलमार्ग हुँदै भारत पुग्न अरबीहरूको चर्को अड्चन थियो । भारतको मालबार तटको मरीच, श्रीलंकाको दालचिनी, अम्बोनियाको ल्वाङदेखि बान्दाद्वीपको जाइफलले लुटपाट, आँधीहुरी र घामपानी छल्दै युरोपसम्म आइपुग्न महिनौं लामो यात्रा गर्नुपर्थ्यो । दर्जनौं बिचौलियाको हात फेर्दै युरोपको भान्सासम्म पुग्दा मरमसालाको भाउ हजार गुणा बढिसकेको हुन्थ्यो । सबैभन्दा सस्तो मानिने एक पाउन्ड मरीच किन्ने पैसाले एउटा सग्लो सुंगुर नै किन्न पाइन्थ्यो । इस्लाम र अरबी अवरोध तोड्न सम्भव नभएपछि भारतलगायत पूर्वी क्षेत्र पुग्ने नयाँ बाटाको खोजीमा व्यापक बेचैनी थियो स्पेनमा ।

मेगलन सूत्र

त्यसै बेला जन्म/कर्मभूमि पोर्चुगलमा नपत्याइएका मेगलन मसला द्वीपसम्म पुग्ने छोटो बाटाको योजना लिएर स्पेन आइपुगे । मेगलनको प्रस्ताव ‘र्‍याडिकल’ थियो– ‘पूर्वको मालवस्तु पूर्वी दिशाबाटै आउनुपर्छ भन्ने जरुरी छैन । यदि पृथ्वी गोलो छ भने पश्चिम हुँदै पनि पूर्व पुग्न सकिन्छ ।’ मेगलनको त्यो प्रस्ताव नवीन भने थिएन । सन् १४९८ मा कोलम्बसले यस्तै असफल प्रयास गरिसकेका थिए । दक्षिण अमेरिकाको क्यारेबियन तट टेकेका उनले भारत पुगेको प्रमाणस्वरूप ‘दालचिनी’ ल्याएका थिए । तर, त्यो रुखको बोक्रा दालचिनी भन्ने पुष्टि भएन । मरीच भेटिने कुरै थिएन । बरु साथै ल्याएको ‘अजी’ भनिने अत्यन्तै पिरो फल केही दशकमै खुर्सानीका नाममा दुनियाँभरि तीव्र गतिमा फैलियो ।

मेगलनको सामुद्रिक यात्रापछि युरोपको मेनुमा थपिए नयाँ मसला । त्यो यात्रापछि फोरियो मान्छेको रुचि र स्वाद । मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

मेगलनलाई थाहा थियो– प्रशान्त महासागर र आन्ध्र महासागरको बीचमा अमेरिकी भूगोलको अवरोध छ । साथै दक्षिण अमेरिकी महादेशको दक्षिणी पुछारतिर कतै न कतै प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने गल्छी वा कोरिडोर छ भन्ने दृढ विश्वास थियो उनमा । त्यही कोरिडोरबाट प्रशान्त महासागर प्रवेश गरी उनी एसिया पुग्न चाहन्थे । पृथ्वीको फैलावट र भूगोलबारे मेगलनको अज्ञानता नै उनको विश्वासको आधार थियो ।

अधुरो/अपुरो ज्ञान

पृथ्वीको फैलावट र यसको भूगोलबारे विज्ञहरू कुहिरोको कागझैं थिए । ग्रीक खगोलविद् तथा गणितज्ञ टोलेमीले बनाएको पृथ्वीको मानचित्रमा प्रशान्त महासागरै थिएन । पछिल्ला मानिचत्र पनि तथ्य र मिथकको मिश्रण थिए । त्यसबेलाको सबैभन्दा चर्चित मार्टिन बाहिमको ‘नरेम्बर्ग ग्लोब’ ले समेत दक्षिण–अमेरिकी भूगोललाई समेटेको थिएन । कोलम्बसले युरोपको क्यानरी द्वीपबाट जापानसम्मको दूरी कुल २४ सय माइल भएको अनुमान गरेका थिए । यसलाई नकार्ने तथ्य भेला भइरहँदा पनि मेगलनले कोलम्बसलाई नै सही ठानिरहे । यिनै प्रमाणका आधारमा मेगलनले स्पेनका राजा चार्ल्ससामु एसिया पुग्ने नयाँ मार्गको प्रस्ताव गरे ।

अन्ततः सन् १५१८, मार्च २२ मा मेगलनले यात्राको अनुमति पाए । राजा चार्ल्सले यात्राका लागि पाँच पानीजहाज, २६० नाविक–दल र रसदपानी उपलब्ध गराए । ऋणमा डुबेका चार्ल्सले ‘हाउस अफ फ्युजर’ बैंकका बैंकरमार्फत १४ प्रतिशत ब्याजमा ऋण काढेर त्यो खर्च जोहो गरेका थिए ।

यात्रा आरम्भ

सन् १५१९, सेप्टेम्बर २० का दिन बन्दरगाहमा आतशबाजी भयो । सलामी अर्पण गरियो । इतिहासकै अभूतपूर्व मानिएको एक महायात्राको धुमधामसँग आरम्भ भयो । ‘अर्माडा डे मोलुका’ नाम दिइएको बेडाका पाँच पानीजहाज आन्ध्र महासागरमा हेलिए । सन लुकारबाट हिँडेको एक सातामा पाँचै जहाज क्यानरी टापुमा रोकियो– रसदपानी भर्न । त्यहाँ रहँदा स्पेनबाट हान्निएर आएका मेगलनका ससुराले एक खुफिया सूचना दिए– अन्य जहाजका स्पेनी कप्तानहरू मौका पाउनेबित्तिकै विद्रोह गर्नेछन् । सान एन्टोनियोको कप्तान जुवान डे कार्टागेनासँग सतर्क रहन उनले मेगलनलाई सुझाव दिए । पोर्चुगलले पनि जन्मभूमिविरुद्ध गद्दारी गरेको भन्दै आफूलाई पक्रन खुफिया जहाज पठाएको खबर पाए मेगलनले । र, हतारहतार यात्रा अघि बढाए ।

पोर्चुगाली खतरा टार्न मेगलनले जहाजलाई नियमित पश्चिम रुटतर्फ लगेनन्, बरु अफ्रिकी महादेशको तट–छेउ भएर दक्षिणतर्फ हिँडाए । एकाएक जहाज आँधीमा फस्यो । भरपर्दो नक्सा थिएन, अगाडिको बाटो पनि थाहा थिएन । पानीको छाल ओइरिएर आगो बाल्न दिएन, कोही पनि सदस्य राम्ररी सुत्न पाएनन् । ६० दिनसम्म निरन्तर आँधीमा लपेटिएको जहाजको खाद्यान्नमा क्षति भयो । मेगलनले नाविक–दलको खाना कटौती गरे । त्यो कटौतीले जहाजमा असन्तुष्टि पैदा गर्‍यो । र, यही मौकामा अन्य जहाजका कप्तानले विद्रोहको तयारी गरे ।

त्यो असफल विद्रोह

कार्टागेनाले मेगलनलाई जासुसको आरोप लगँउँदै जहाजलाई गलत बाटोतिर हिँडाएर सबै यात्रुको ज्यान जोखिममा पारेको आरोप लगाए । एकबाहेक बाँकी जहाजका कप्तानहरू मेगलनविरुद्ध षड्यन्त्रमा सामेल भएको पत्तो लाग्यो । यही मौकामा मेगलनले सहयोगीमार्फत कार्टागेनालाई नियन्त्रणमा लिएर बन्दी बनाए । अरू विद्रोही डरले चुप बसे । त्यसको तीन हप्तासम्म जहाज अझै उपयुक्त मौसमको पर्खाइमा दक्षिणतर्फै बढिरह्यो । अन्त्यमा हावाको बहाव अनुकूल हुन थालेपछि मेगलनले जहाजलाई ब्राजिलतर्फ पश्चिम मोडे । र, यसको दुई सातापछि टोली सन् १५१९ डिसेम्बर १३ मा रियो द जेनेरियो पुग्यो ।

तर, मेगलनको समूह पुगेकै दिन दुई महिनाको खडेरी तोडिएर ठूलो पानी पर्‍यो । यो संयोगलाई ‘अलौकिक’ ठान्दै त्यहाँका आदिवासीले हर्षोल्लास मनाए । र, स्वागत गरे । वरपरबाट नग्न/अर्धनग्न भेला भएका महिलाले कुखुरा, हाँस, फलफूल ल्याइदिए । १५ दिनसम्म बन्दरगाहको जुनेली रातमा आदीवासी महिला र मेगलनका नाविकहरू नाचगान र मस्तिमा रमाए । एक थान काइँयोसँग एक अँगालो हाँस, सानो चक्कुको बदलामा सातवटा कुखुरा, एक थान ऐना र कैंचीको बदलामा दस जनालाई पुग्ने दरले खाना साटियो । दुई हप्तापछि जहाज ब्राजिलको तटीय किनार हुँदै दक्षिणतर्फ हान्नियो ।

घर छाडेको पाँच महिना भइसकेको थियो । नाविक–दलका सदस्यलाई घरको न्यास्रो, एक्लोपन, विमार र तनावले छोप्न थाल्यो । माछाको सिद्रा र मासु कुहिएर दुर्गन्धले जहाजमा बसिनसक्नु हुन थाल्यो । मुसा र छुचुन्द्रो जहाजभर रगरग गर्न थालिसकेका थिए । जुम्रा, उडुस र उपियाँ नभएको लुगाफाटो कुनै थिएन । ब्राजिलबाट दक्षिण लाग्दै गर्दा कुनै पनि गल्छेडो, पानीको निकास, नदीको मुख, खाडी वा इनलेट नछुटोस् भन्नेमा विशेष ध्यान दिइयो । प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने पानीको त्यस्तो कोरिडोर दक्षिणतर्फै छ भन्ने विश्वास थियो मेगलनको । तर, ब्राजिल छोडेको तीन महिना बितिसक्दा पनि त्यस्तो च्यानल वा गल्छी कतै फेला परेन । दक्षिणी ध्रुवमा हिउँद सुरु भएकाले चार घण्टाको मात्रै हुन थालिसकेको थियो दिन । अत्यधिक ठन्डा मौसम सुरु भएकाले मेगलनले थप अघि बढ्ने जोखिम मोल्न चाहेनन् । हिउँदभरि सुरक्षित ओत लाग्न मेगलनले सेन्ट जुलियान बन्दरगाहलाई मुकाम बनाए ।

विद्रोह

मेगलनले मोलेको जोखिमप्रति असन्तुष्ट स्पेनी कप्तानहरूले उनलाई मार्ने योजना बनाए । अप्रिल १, इस्टरका दिन साँझपख तीनवटा जहाज विद्रोहीको नियन्त्रणमा पुग्यो । भोलिपल्टै नाटकीय रूपमा मेगलनले विद्रोह दबाउन सफल भए । विद्रोहीमध्ये भिक्टोरियाका कप्तानको टाउको काटियो । मृतकको हात–खुट्टा गिँडेर चेतावनीस्वरूप सबैले देख्ने स्थानमा टाँगियो । अर्का विद्रोही ग्यास्पर दे कुसादालाई सबैका अगाडि आफ्नै भाइद्वारा टाउको काट्न लगाइयो । जुवान डे कार्टागेना र मतियार पुष्टि भएका पादरीलाई निर्जन टापुमा मर्नका लागि छाडियो । विद्रोहमा संलग्न चालीस जनालाई क्रूर र यातनापूर्ण तरिकाले मारे मेगलनले । थप चालीसलाई साङ्लोमा बाँधियो र जाडोभरि जहाज मर्मत तथा अन्य श्रममा जोतियो ।

मेगलन स्ट्रेट

दुई महासागर जोड्ने जलसन्धि/कोरिडोर फेला पार्नु मेगलनको एक मात्रै ध्याउन्न थियो । जुलियान बन्दरगाहमै रहँदा अप्रिलको अन्त्यतिर यसैको खोजीमा सान्टियागो जहाजलाई पठाइयो । सान्ता क्रुज नदीको मुखलाई सम्भावित प्यासेज ठानेर अघि बढ्दा जहाज डुब्यो । जहाजमा रहेका ३७ जना पौडेर किनारमा आइपुगे । दुई जना दिन–रात हिँडेर ११ दिनमा जुलियान बन्दरगाह पुगे । र, मात्रै बाँकी सदस्यको सहज उद्धार हुन सक्यो । सान्टियागोमा रहेको खाद्यान्नमा ठूलो क्षति भयो । नाविक–दलको आत्मविश्वासमा र आफ्ना कप्तानमाथिको उनीहरूको भरोसामा सबैभन्दा ठूलो क्षति भयो ।

जुलियान बन्दरगाहमा पाँच महिनाको सकसपूर्ण बसाइपछि अगस्ट २४ मा अर्माडा डे मोलुकाले फेरि यात्रा सुचारु गर्‍यो । बाटामा देखिने साना–ठूला कुनै पनि गल्छी, खाडी वा नदीको मुखको निरीक्षण गर्न छाडिएन । अन्त्यमा एक दिन ३५ डिग्री दक्षिणमा फराकिलो किनारसहितको नदीको मुखजस्तो प्रवेश–मार्ग फेला पर्‍यो । मेगलनले जहाज अघि बढाउन आदेश दिए । नभन्दै त्यो प्यासेज कुनै नदीको मुख थिएन, आन्ध्र र प्रशान्त जोड्ने कोरिडोर थियो । वास्तवमा यसैको खोजीमा मेगलनको टोली भौंतारिएको थियो लामो यात्रामा । यसैबीच सान आन्तोनियो जहाज बीचैमा भागेर स्पेनको बाटो लाग्यो । मेगलनलाई अर्को झड्का लाग्यो । यात्राको एकछेउ नसकिँदै मेगलनले दुई जहाज र साठी जना सहयात्री गुमाइसकेका थिए ।

अन्ततः ३५० माइल लामो र साँघुरो गल्छी ३७ दिनमा छिचोलेर नोबेम्बर २८ मा अर्कोपट्टि आइपुग्दा मेगलनको अघि विशाल महासागरको नीलो पानी लमतन्न फैलिएको थियो । आन्ध्र महासागरको ठीकविपरीत त्यो महासागर भव्य, सौम्य र शान्त थियो । त्यसैले त्यसलाई प्रशान्त महासागर भनियो । त्यसको फैलावट मेगलनको कल्पनाभन्दा बाहिर थियो । पृथ्वीको एकतिहाइ भूभाग ओगट्ने त्यो महासागर आन्ध्रभन्दा दुई गुणा ठूलो छ । यही विशाल जलखण्डको अर्को किनारमा मेगलनको मसला द्वीप थियो । तर, मेगलनसँग त्यहाँ पुग्ने न कुनै नक्सा थियो, न कुनै ठोस योजना, न कोही मार्गनिर्देशक (राउण्ड एबाउट द अर्थ, जोयस इ च्याप्लिन) ।

प्रशान्त कहर

प्रशान्त महासागरमा निस्किएर उत्तरतर्फ मोडिँदै गएपछि बिस्तारै जमिन क्षितिजमा धूमिल भयो । मेगलनको समूह विशाल नीलो शून्यमा कतै बिलायो । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, तर एक टुक्रो जमिन पनि कतै देखिएन । प्रत्येक दिन चारैतिरको समुद्रको त्यही नीलो रंगले आँखा बिझायो । प्रत्येक रात अत्यासलाग्दो चकमन्नताले तर्सायो । चारैतिर हर क्षण आँखामा उही दृश्य ! सपना र विपना छुट्टिएन । भ्रम र यथार्थ फरक भएन ।

बिस्तारै खाना सकिन थाल्यो । भाँडाको पानी पहेँलो भएर गन्हाउन थाल्यो । माछा–मासु कुहिएर जहाजमा बसिनसक्नु भयो । बिस्कुट कुहिएर धूलाम्य भयो । मुसाको लिँड र पिसाबले नछोएको कुनै खानेकुरा भएन । भोक र तिर्खाले सबै सदस्य छटपटाउन थाले । ताजा खाना र पानी नपाएको तीन महिना बीस दिन भइसकेको थियो । भिटामिन सीको कमीले नाविक–दलका तल्ला दर्जाका सदस्यमा स्कर्भी फैलियो । दाँतका गिँजा सुन्निन थाले । रोगले भयंकर च्याप्दै जाँदा दाँतहरू झर्न थाले । मृत्यु भएका २९ जनालाई समुद्रमा फालियो (मेगलन्स भोएज, एन्टोनियो पिगाफेटा) ।

दयालुको द्वीप

प्रशान्त महासागर प्रवेश गरेको ९८ औं दिनमा क्षितिजमा बल्ल जमिन देखियो । बल्ल बाँच्ने आशा जाग्यो । जमिन देख्ने पहिलो व्यक्तिलाई मेगलनले पुरस्कारसमेत दिए । त्यो टापुलाई अहिले मारियाना द्वीप समूहको गुआम द्वीप भनी चिनिन्छ । मेगलन स्ट्रेटबाट त्यहाँसम्म आइपुग्दा मेगलनले सात हजार माइलभन्दा ज्यादा दूरी तय गरिसकेका थिए । यो दूरीको समुद्री–यात्रा मात्रै पनि अभूतपूर्व थियो ।

गुआमका चामोरो आदिवासी र युरोपेली समाज त्यहाँ पहिलो पटक भेटिँदै थिए । तर, दुई पृथक् संसारको त्यो पहिलो भेट सुखद भएन । अनौठो जहाजमा नौला मानिस देख्नेबित्तिकै आदिवासीको सानो समूह डुंगा चढेर जहाजसम्म पुग्यो र जहाजका मालसामान उठाउन थाल्यो । यही निहुँमा भएको विवादले लडाइँ मच्चायो । चामोरोसँग सामान्य लौरो र टुप्पोमा हड्डी जोडिएको भालाबाहेक हतियारको नाममा अरू केही थिएन । रमाइलो त के भने यता लडाइँ चल्दै गर्दा अर्को समूहले भने नाविक–दललाई फलफूल र खाना खुवाउन थाल्यो । खानपिन गराइसकेपछि फेरि उनीहरू लडाइँ खेल्न उत्रिए । खासमा जहाजको सामान टिपेर लैजानुलाई चोरी/डकैती भन्छन् भन्ने ती आदिवासीलाई थाहै थिएन । नाफा र निजी सम्पत्तिको युरोपेली अवधारणाबारे उनीहरू बेखबर थिए । त्यसैले पाहुनाले ल्याएको नौलो सामान आफ्नो ठानेर लिए र आफूसँग भएको खानेकुरा पाहुनालाई खुवाए । यही कुरो मेगलनको समूहले बुझ्न सकेन । मेगलनले भोलिपल्ट बस्तीमा आगो लगाइदिए । चामोरोले प्रतिकारसमेत गरेनन् । सात जना आदिवासीको मृत्यु भयो । उनले यो द्वीपको नामै राखे–चोरहरूको द्वीप । खासमा त्यो द्वीपको नाम राखिनुपर्थ्यो– दयालुहरूको द्वीप ।

को पहिलो ?

गुआम छाडेर हिँडेका मेगलनको समूह मार्च १६ मा फिलिपिन्सको होमोनोन द्वीप पुग्यो । चिनियाँ र अरब व्यापारीबीच परिचित फिलिपिन्स द्वीप समूह युरोपेली नक्सामा जोडिएकै थिएन । मेगलनले साथै ल्याएको मसलासँग स्थानीय पनि परिचित भएको देखेपछि आफू मलाका द्वीप वा मसला द्वीप छेउछाउ आइपुगेको विश्वास भयो उनलाई ।

लिमासावा टापुमा मेगलनका दास एनरिकले स्थानीयसँग मले भाषामा संवाद गरेको देखेर सबै चकित परे । मलाका द्वीपमा काम गर्दा मेगलनले एनरिकलाई १० वर्षअघि त्यहाँको कमैया बजारबाट किनेर लगेका थिए वा त्यही लिमासावा टापुबाट कामको खोजीमा वा अन्य दलालको हात हुँदै मलाका पुगेको पनि हुन सक्छ एनरिक, यो प्रस्ट छैन । यदि त्यसो हो भने पृथ्वी परिक्रमा गर्ने पहिलो व्यक्तिको ‘क्रेडिट’ एनरिकलाई नै जान्छ ।

मुर्ख्याइँ र मृत्यु

थप रसदपानी भर्न र व्यापार गर्न सेवु द्वीप पुगेका मेगलनको दोस्ती त्यहाँका राजा हुमाबोनसँग भयो । तोप र बन्दुकसहितको सैनिक प्रदर्शनी देखेर तर्सिएका हुमाबोनले स्पेनको मुकुट र इसाई धर्मलाई स्वीकार गरे । मेगलनले द्वीपका अन्य मुखियालाई समेत इसाई धर्म मान्न र स्पेनी मुकुटको अधीन स्विकार्न चेतावनी दिए । तर, केही द्वीपका मुखियाले उनको उर्दी इन्कार गरे । तीमध्ये मकतान द्वीपका राजा सिलापुलापु एक थिए । रिसले आगो भएका मेगलन मध्यरातमा ६० जना लडाकुलाई डुंगामा हालेर सिलापुलापुसँग लड्न भनी पुगे । मेलगनको अनुमानविपरीत १५ सयभन्दा ज्यादा गाउँले धनुकाँड र भालासहित निस्किए । मेगलनको लडाकु दस्ता आच्छुआच्छु भयो, सात जनाको मृत्यु भयो । आदिवासी लडाकुको विषालु भाला लागेर मेगलन पनि ढले । आफूविरुद्धको षड्यन्त्र, विद्रोह र सबैखाले प्रतिकूलता जितेर आएका मेगलनले आफ्नो अहंकार र मुर्ख्याइँलाई जित्न सकेनन् । मसला द्वीपको खोजीमा त्यत्रो कष्ट झेलेका र पृथ्वी परिक्रमा गरेका मेगलनले गन्तव्यछेवै पुगेर अनाहकमै ज्यान फाले ।

एनरिकको विद्रोह

मालिकको मृत्युपछि एनरिकले आफू मुक्त भएको घोषणा गरे । साथै राजा हुमाबोनसँग मिलेर मेगलनका बाँकी सदस्यविरुद्ध षड्यन्त्रसमेत रचे । उनीहरूलाई एउटा भोजमा निम्त्याइयो । भोजमा आएकामध्ये २७ जनाको हत्या गरियो । मेगलनको समूह छिन्नभिन्न भयो । बाँकी रहेका ११५ जनाले ३ वटा जहाज सम्हाल्न नसक्ने भएपछि कन्सेप्सन नामको एक जहाजमा आगो लगाइयो । बाँकी दुई जहाज मसला द्वीपको खोजीमा ६ महिनासम्म यताउता भड्किरह्यो । अन्ततः नोबेम्बर ८ मा टोली मोलुका द्वीपमध्येको टिडोरे द्वीपमा पुग्यो । आफ्ना लुगाफाटोदेखि जहाजमा भएका सबै सामग्री बेचियो । सबैभन्दा महँगो ल्वाङ किनियो र भिक्टोरिया जहाजमा भरियो ।

घर फिर्ती

मेगलन चढेको मूल जहाज चुहिएर अघि बढ्न नसक्ने भयो । त्यसैले जुवान सेबास्टियन एलकानोको कप्तानीमा भिक्टोरिया मात्रै स्पेन फर्कने तय भयो । घर फर्किन अझै पृथ्वीको आधा गोलार्द्ध दूरी बाँकी थियो । तर, हिन्द महासागर निस्केर अफ्रिकी महादेशको केप अफ गुड होपलाई फन्को मारेर युरोप पुग्ने बाटो व्यस्त र परिचित मार्ग थियो । यही बाटो हुँदै भास्को डी गामा सन् १४९८ मै भारत आइपुगेका थिए ।

मे ६ मा केप अफ गुड होप आइपुगेको भिक्टोरिया जहाजमा भोकमरी फैलिसकेको थियो । थप २२ जनाको बाटैमा मृत्यु भयो । रसदपानी लिन लुकेर केप भर्डे द्वीपमा पुगेकामध्ये १२ जना त्यहीँ पोर्चुगालीको नियन्त्रणमा परे । जसोतसो ज्यान जोगाएर कप्तान एल्कानोको समूह स्पेनको सानलुकार बन्दरगाह पुग्यो । ३ वर्षअघि मसलाको खोजीमा पश्चिम दिशा हुँदै पूर्व हिँडेका थुप्रै यात्रुमध्ये १८ जना यात्रु मात्रै आफ्नो भूमि फर्किए– पृथ्वीलाई एक फन्को घुमेर ।

एक पानोरोमिक दुनियाँ

मसलाको महकले तानेको यो अद्वितीय यात्राले पृथ्वी गोलाकार छ भन्ने पहिलो पटक प्रत्यक्ष प्रमाणित मात्रै गराएन, यसको अनुभूति नै गरायो । छुट्टै महादेशको रूपमा अमेरिका विश्वमानचित्रमा जोडियो । प्रशान्त महासागरको आकार र फैलावट बल्ल बुझियो । पृथ्वी अखण्ड रूपमा पानी र जमिनले जोडिएको एउटै सग्लो ढिक्का हो भन्ने पुष्टि भयो । दुनियाँबारे युरोपेली ज्ञान मिथकबाट इतिहासमा प्रवेश गर्‍यो । सबैभन्दा ठूलो विषय त मान्छेको आँखामा दुनियाँको ‘पानोरोमिक’ तस्बिर खिपिने क्रमको आरम्भ भयो । पृथ्वीको विशालताको सापेक्षमा मान्छेले आफ्नो स्थान/हैसियत थाहा पायो । विश्व रंगमञ्चमा पूर्वीय दबदबाको पटाक्षेप भयो । मसला व्यापारको तागतमा युरोप उदायो । विश्वको ४ कुना जोडियो र विश्वव्यापीकरणको आरम्भ भयो । साथमा युरोपेली उपनिवेश, रंगभेद र मानवीय उत्पीडनको कहालीलाग्दो शृंखलासमेत शुरु भयो ।

१७ औं शताब्दीको छेकोमै युरोपमा मरीचबाहेक अन्य मसालाको क्रेज उस्तै रहेन । नयाँ दुनियाँबाट नयाँ अन्नपात र फलफूल पनि भित्रियो । युरोपेली भान्साको मेनुमा नयाँ परिकार थपिए । मान्छेको स्वादको परख उस्तै रहेन । खासमा मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×