१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बहुरूपी शिव

शिवजीको स्वरुप र लीलामा अनेक परस्परविरोधी, विवादास्पद पक्ष छन् । शिवजीका मूर्ति–कलाको इतिहास हेर्दा होस् वा बेग्लाबेग्लै पुराणमा तुलना गर्दा, उनको स्वरुप र चरित्र निर्विवाद छैन । अझ यजुर्वेदको रुद्राध्यायका शिवजीको स्वरुप झन् उदेकलाग्दो छ ।
माधवप्रसाद पोखरेल

नेपाल–भारतका कुनाकाप्चामा व्यापक रूपले मानिने शिवजी शिवरात्रिको दिन जन्मेको र अक्षय तृतीयामा उनको पार्वतीसँग बिहे भएको मानिन्छ । आज शिवजीको जस्तो स्वरूप सर्वमान्य छ, त्यस्तो मात्रै स्वरूप चाहिँ छैन । शिवजीको स्वरूप र लीलामा अनेक किसिमका परस्परविरोधी र विवादास्पद पक्ष देखिन्छन् ।

बहुरूपी शिव

शिवजीका मूर्ति–कलाको इतिहास हेर्दा होस् कि बेग्ला–बेग्लै पुराणहरूमा तुलना गर्दा होस् उनको स्वरूप र चरित्र निर्विवाद छैन । अझ यजुर्वेदको रुद्राध्याय (१६) का शिवजीको स्वरूप त झन् उदेकलाग्दो छ । ऋग्वेदमा शैवहरूप्रति जस्तो दृष्टि छ, त्यो भन्दा पुराणहरूमा शिवजीको स्वरूप र दृष्टिमा आमूल परिवर्तन देखिन्छ । अझ ठाउँ ठाउँका जातिहरूका शिवपार्वती सम्बद्ध मिथकहरूले हामीलाई अच्चम्ममै पार्छन् । त्यसैले ‘शिव–महिम्न–स्तोत्र’ मा भनिएको छ, ‘शिवजी, तिमी जस्तासुकै हौ, त्यस्तैलाई हाम्रो ढोग छ’ (यादृशोऽसि महादेव, तादृशाय नमो नमः) । झन् पुरातत्वले त शिवजीको इतिहासलाई हडप्पासँग मात्र होइन, मध्य एसिया, इरान, बहराइन, मेसोपोटामिया र इजिप्टसम्मै जोड्छ ।

धेरैजसो भक्तले चिनेको आजका शिवजीको स्वरूप पुराणहरूले परिभाषित गरेको हो, जहाँ उनको शिरमा गंगा नदी उम्रेको छ । अरू देउतालाई भन्दा शिवजीलाई चाहिँ जटामुकुट भएका (‘कपर्दी’) देउता मानिन्छ । शिवजीलाई विशेषतः पुराणमा ‘चन्द्रशेखर’ (चन्द्रमाको मुकुट लगाउने) र ‘त्रिनेत्र’ (तिन आँखा भएका) भनेर चिनिन्छ । अरू देउताका तिनवटा आँखा छैनन् । शिवजी मात्रै रुद्राक्ष र सर्पको माला, चुरा लगाउँछन्, जिउमा खरानी धस्छन्, हात्तीको छाला ओढ्छन्, बाघको छालाको पेटानी लगाउँछन्, डमरु बजाउँछन्, त्रिशूल बोक्छन्, गोरुमा चढ्छन्, मागेर खान्छन् र धेरैजसो नांग्र–भुतुंङ्गै हिँड्छन् । विष, भाङ, धतुरो खाने र बेलपत्रले छोपिने पनि शिवजीको चिनारी हो । शिवजी भूतप्रेतसँगै हिँड्छन्, मसान घाटमा बस्छन्, मान्छेका खप्परको माला लगाउँछन्, जेसुकै फत्फताउँदै हिँड्छन् र अरूले जेसुकै भनोस्, केही वास्ता गर्दैनन् । त्यति मात्रै होइन, अरूको मन बिच्क्याउन जानी–जानी लाज, डर, घिन र आतेसलाग्दा असामाजिक आचरण पनि गर्छन् ।

छिटो खुसी हुने (आशुतोष) पनि उनै, डरलाग्दा (भैरव) पनि उनै, कालका पनि काल महाकाल उनै र संहारकर्ता पनि उनै ! शिव–पार्वतीलाई जगत्पिता र जगन्माता मानेर भक्तहरू शिवलिंग, योनिपीठ र योनिर्लिंगहरूमा पनि पूजा गरेर श्रद्धा र भक्तिपूर्वक ढोग्छन् । शिव–पार्वतीका कति तान्त्रिक भक्तहरू त आफैँलाई साक्षात् शिवजी, पत्नी अथवा कामिनीलाई साक्षात् पार्वती र दाम्पत्य प्रेमलीलालाई शिव–पार्वतीकै पूजा ठान्छन् । शिवजी जस्ता छन्, त्यस्तै खानपान, वेशभूषा र आचरण भएको अर्को कुनै पौराणिक देउतै छैन ।

शिवजीमा यस्ता विरोधाभास देखेर कुनै कविले यस्तो हँस्यौली गरेको छ, ‘गणेशजीको वाहनलाई शिवजीको सर्पले खान खोज्छ ! शिवजीको सर्पलाई कार्तिकेयको मुजुरले खान खोज्छ ! पार्वतीको सिंहले चाहिँ गणेशजीकै टाउको ताक्छ ! पार्वती कान्छी स्वास्नी (गंगा) लाई टाउकोमा टेकाएको भनेर गंगाको डाड गर्छिन् ! शिवजीको टाउकोको चन्द्रमालाई निधारको आगोले पिर्न खोज्छ ! घरपरिवारको यस्तो झगडा देखेर नै होला शिवजीले हलाहल बिख पिएका’ (अत्तुं वाञ्छति वाहनं गणपतेराखुं क्षुधार्तः फणीः, तञ्च क्रौञ्चपतेः शिखी र गिरिजासिंहोऽपि नागाननम् । गौरी जहृनुसुतामसूयति कलानाथं कपालानलो, निर्विण्णः स पपौ कुटुम्बकलहादीशोऽपि हालाहलम्) !

पुराणहरूमा शिवजी (बासम, १९७५ इ, ‘पुराणिक इन्साइक्लोपिडिया’) लाई ‘त्रिदेव’ (बह्मा, विष्णु र महेश) मध्ये एक मानिएको छ । ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताका रूपमा चिनाइएको छ । पहिले विष्णु, उनका नाइटोबाट ब्रह्मा र उनका तिघ्राबाट शिव प्रकट भएको चित्रण छ । पुराणहरूमा विष्णु ठुला कि शिव ठुला भन्ने होड देखिन्छ, जसमध्ये शैव पुराणमा विष्णुभन्दा शिव ठुला देखाइएको छ भने वैष्णव पुराणमा शिवभन्दा विष्णु ठुला देखाइएको छ । यसको नमुना तलका उपाख्यानमा देखिन्छ :

सतीको शोकमा विन्ध्याचलमा भौँतारिएका शिवजीलाई कामदेवले लुकेर आक्रमण गर्न पछ्यायो । शिवजी दारुकावनमा सप्तर्षिको आश्रममा भिक्षा माग्न पुगे । आफ्ना पत्नीहरूले शिवजीलाई पछ्याउलान् भनेर ऋषिहरूले उनको वास्ता गरेनन्, तर अरुन्धती र अनसूया बाहेक सबै ऋषि पत्नीहरू त शिवजीको पछि पो लागेछन् । त्यो देखेर ऋषिहरूले शिवजीलाई लिंग पतनको सराप दिए । शिवलिंग खसेर पृथ्वी छेडेर पाताल पुगेछ । ब्रह्मा र विष्णुले त्यसको छेउटुप्पै भेटेनन् रे ! अन्तमा उनीहरूले ‘लिंग उठाउनु होस्’ भनेर शिवजीको स्तुति गरे रे ! ‘तिमीहरू लिंग पूजा गर्छौ भने मात्रै म लिंग सम्हाल्छु’ भनेर शिवजीले भनेको ब्रह्मा–विष्णुले माने रे (वामन पुराण, ६) !

पहिले ब्रह्माजीले शिवजीलाई सृष्टि गर्ने जिम्मा दिएका थिए । त्यसका लागि शक्ति आर्जन गर्न शिवजी पानीमुनि गए, तपस्या गर्न । शिवजी धेरै समय नफर्केपछि ब्रह्माजीले सृष्टि गर्ने जिम्मा प्रजापतिलाई दिए । शिवजी शक्ति आर्जन गरेर फर्कंदा त ब्रह्माले सृष्टि गर्ने जिम्मा अर्कैलाई दिएकाले शिवजीले रिसका झ्वाँकले ‘अब यो लिंगको केही काम छैन’ भनेर लिंग हुर्‍याईदिए रे ! त्यसरी फालीदिएको लिंग भुइँमा ट्वाक्राक्क ठडियो रे ! देउताहरूका अगाडि शिवजी त भैरव नृत्य गर्न थाले रे ! देउताहरू डराएर शिवजीलाई शान्त हुन प्रार्थना गर्दा उनले रिसको आगो पानीमा हाली दिए । त्यसरी शान्त भएका शिवजीको लिंगको त्यसपछि देउताहरूले पूजा गर्न थाले (महाभारत, सौप्तिक पर्व) ।

वैदिक साहित्यमा भएको इन्द्र र ब्रह्माको सर्वोच्च आसनबाट पौराणिक साहित्यमा उनीहरूलाई खँदारिएको छ र शिव र विष्णुको पुच्छर–पुच्छर हिँड्ने लुते बनाइएको छ । पुराणहरूमा विष्णु चाहिँ सधैं देउताकै पक्षमा देखिन्छन् भने शिवजी चाहिँ प्रायः राक्षस, असुर र दानवहरूका पक्षमा देखिन्छन् । यसरी शिवको वरदान पाउनेहरूमा रुक्मि, वाणासुर, वृकासुर, इन्द्रजित, जरासन्ध, जयद्रथ आदि खलनायक देखिन्छन् ।

मूर्तिहरूमा (गोपीनाथ राव, ‘हिन्दु आइकोनोग्रफी’) शिवजीको जस्तो स्वरूप देखिन्छ, त्यो स्वरूप आधारभूत रूपमा पुराणहरूले परिभाषित (बासम, १९७५, ‘पुरानिक इन्साइक्लोपिडिया’) गरेको हो । वैदिक साहित्यमा देखिने शिवजीको स्वरूप चाहिँ पौराणिक स्वरूप भन्दा धेरै फरक छ । प्रायः हिन्दुहरूले चिनेका शिवजी वेदमा छैनन् ।

साँच्चै भन्ने हो भने शिवजी वैदिक देउता नभएर अवैदिक देउता हुन् । यजुर्वेदका ‘रुद्र’ को स्वरूप (ज्वालाप्रसाद मिश्र, सं. १९६९, ‘वाजसनेयि–श्रीशुक्ल–यजुर्वेद–संहिता’, षोडशोध्याय/रुद्राध्याय, ६५५–६९४) हेर्दा पनि त्यस्तै लाग्छ ।

यजुर्वेदमा शिवजीलाई यसरी सम्बोधन गरिएको छ, ‘पहाडमै रमाउने ए रुद्र, तिम्रा हातमा भएका घातक वाणहरूले हाम्रा युवा र छोरानाति नमारुन् (३) ! तिम्रो धनुषको ताँदो दुवैतिर फुस्काउ अनि तिम्रा हातमा भएका वाणहरू पनि पर मिल्काईदेउ (९) ! धनु ताँदो विनाको होस् ! ठोक्रो वाण विनाको होस् ! वाणहरू कतै नदेखिउन् अनि हतियार थन्क्याउने भाँडो रित्तो होस् (१०) ! तिमीसँग भएका हतियार र हातको धनुषले हामीलाई कतै चोट नपुर्‍याओस् (११) ! तिम्रा धनुषका हतियारले कतैतिरबाट पनि हामीलाई नताकुन् ! तिम्रो ठोक्रो हाम्रो नजिक नहोस् (१२) ! तिमी आफ्नो धनुषको ताँदो फुस्काएर अनि वाणहरूको टुँडो पनि फुकालेर हामीसँग भलो मन राख (१३) ! ‘तिम्रा नअत्याउने हतियारलाई नमस्कार (१४) ! हाम्रा मान्य जनलाई नमार ! बालखलाई नमार ! तरुनालाई नमार ! हाम्रा गर्भस्थलाई नमार ! बाबुआमा, प्रियजन, हाम्रा सन्तान र हामीलाई नमार (१५) ! हाम्रा छोरानाति नमार ! हाम्रो आयु, हाम्रा गाईवस्तु र घोडा नमार ! हाम्रा रिसाहा वीरहरूलाई नमार ! हामी तिमीलाई निरन्तर यज्ञको हविका लागि निम्त्याउँछौँ (१६) ! आततायी रुद्रलाई नमस्कार (१८) ! हाम्रा छोरानातिलाई र वस्तुभाउलाई नतर्साउ (मा भेः)

(४७) ! तिम्रा (रुद्रस्य) हतियार (हेतिः) हाम्रा लागि (नः) त्यागीदेउ (परिवृणक्तु) ! रिस (त्वेषस्य) लाई र दण्ड दिन मन लाग्ने दुर्मति सबै त्यागीदेउ (मीढ्व) ! जजमानको डर हटाउन धनुषबाट ताँदो फुकाल (अवतनुष्व) (मीडः) (५०) ! शान्त मनका भई देउ ! परको रुखमा आफ्नो हतियार राखेर मृगचर्म लगाएर हाम्रो छेउमा आउ ! ताँदो फुकालेको पिनाक धनुष बोकेर मात्र हाम्रा सामु आउ (५१) ! तिमी आफ्ना हजारौँ हातहतियार हामीभन्दा पर पुग्ने गरी फ्याँकीदेउ (५२–६२) ! यो धर्तीमा भएका हजारौँ रुद्रका धनुषहरू हजारौं कोस पर हुत्याईदेउ (५४–६३) !

‘खुत्रुक्क पार्नेहरूका नाइकेलाई, चोरहरूका सरदारलाई, लुटेरालाई, बगलीमाराहरूका अन्तर्यामीलाई र वनका रक्षकलाई नमस्कार (२०) ! ठगलाई, धोका दिनेलाई, खड्गधारीलाई, वाणधारीलाई, तस्करहरूका नाइकेलाई, वज्र लिएर हिँड्नेलाई, हत्याराहरूका नाइकेलाई, खेतीपातीमा लुटपाट गर्नेका नाइकेलाई, हतियारधारीलाई, निशाचरहरूलाई, मान्छे काटेर पराईको धन लुट्नेहरूका नाइकेलाई नमस्कार (२१) ! छल गरेर फाइदा लिनेहरूका नाइकेलाई नमस्कार (२२) !’

यजुर्वेदका उल्लिखित मन्त्रको अर्थ हेर्दा शिवजी मन्त्र रच्ने ऋषि/कविकै पुर्खाले मान्ने कुलदेउता भएका भए त, आफ्ना देउताले बोकेका घातक हतियारहरू आफुलाई ताकेर हान्लान् भन्ने डरै हुँदैन । ती हतियारले आफ्नै रक्खे हुन्छ भन्ने भर र विश्वास भक्तलाई हुनुपर्थ्यो । अर्कातिर शिवजीका लागि रचिएका विशेषणहरू (२०–२२) हेर्दा पनि कविको आत्मीयता भगवान्प्रति देखिँदैन ।

शैव मूर्तिहरूको ऐतिहासिक विकासक्रम (गोपीनाथ राव, १९१६ इ, ‘एलिमेन्ट्स अफ हिन्दु आइकोनोग्रफी’ २.१) हेर्दा शिवजीको पूजा धेरैजसो मूर्तिमा भन्दा शिवलिंगमा हुन्छ । स्थिरताका दृष्टिले शिवलिंग पनि चल, अचल र क्षणिक गरी तीन किसिमको हुन्छ । शिवजीका स्थिर (स्थावर) लिंग पनि आधारभूत रूपमा मुखलिंग (पशुपतिनाथको जस्तो मुख पनि देखिने लिंग) र साधारण गरी दुई किसिमका हुन्छन् । मुखलिंहरू थोरै ठाउँमा मात्र छन् भने सामान्य लिंग नै व्यापक रूपमा पाइन्छन् । सामान्य शिवलिंग पनि अनेक किसिमका हुन्छन् । र, अनेक किसिमका लिंग र पिण्डिका बनाउने पदार्थ, बान्की, नाप समेतको फरकले लिंगहरूको वर्गीकरण गरिएको पाइन्छ ।

पशुपतिका जस्ता मुखलिंगहरू एकटाउके, दुईटाउके, तिनटाउके, चारटाउके र पाँचटाउके समेत हुन्छन् भने सामान्य लिंग पनि दुई किसिमका पाइएका छन्– गुडिमल्लम (आन्ध्रप्रदेश) को परशुरामेश्वरको जस्तो साक्षात् पुरुषको जस्तो लिंग र ब्रह्मसूत्र नदेखिने सामान्य गोलाकार अथवा वर्तुलाकार लिंग । मलाई जनकलाल शर्माले मृगस्थलीमा पनि ब्रह्मसूत्र भएका लिंग देखाएका थिए भने सामान्य शिवलिंग त छाप्छाप्ती पाइन्छन् । पशुपतिकै लिंग पनि पहिले सामान्य लिंगबाट क्रमशः टाउका थपिँदै अहिलेको मुखलिंगको अवस्थामा आएको हो (डा. वीणा पौड्याल र डा. सोमप्रसाद खतिवडा) ।

गोपीनाथ राव (१९१६ इ, ‘एलिमेन्ट्स अफ हिन्दु आइकोनोग्रफी’, २.१) अनुसार, शैव (शिव भक्त) हरू चार श्रेणीका हुन्छन्– शैव, पाशुपत, सोमसिद्धान्ती र लाकुल (शैवागम) । तिनीहरू मध्ये पशुपतिनाथलाई मान्ने (पाशुपत) सम्प्रदाय सबैभन्दा पुरानो हो । शैवहरू वैदिक (वेदलाई मान्ने) र अवैदिक गरी दुई किसिमका हुन्छन् । अवैदिक शैवहरूलाई शिवजीले मासु र रक्सी खाँदै भक्ति गर्न हुने पाशुपत शास्त्र दिए (३) । उनीहरू अद्वैत वेदान्ती र मीमांसकलाई पशुवत् ठान्छन् भने वेदान्तीहरू चाहिँ आगमान्ती (पाशुपत, पाञ्चरात्र र अरू तान्त्रिक) लाई शूद्रवत् ठान्छन् ।

पाशुपत (कालामुख कापाल र आगमान्त) शैवहरू दिनको ३ पल्ट खरानी धस्ने, खरानीमै लट्पटिने, अहा, अहा भनेर हल्ला गरीरहने, चर्को स्वरले शिवस्तुति पाठ गर्ने, छन्द मिले पनि–नमिले पनि नाचीरहने, जिब्रो बटारेर गोरुजस्तै हुडु हुडु गरेर डुक्रिने (हुडुक्कार) गर्छन्, किनभने पाशुपतहरूलाई बौलाहाजस्तै आचरण गर्ने गुरुको उपदेश थियो । निद्रा नलागे पनि निदाएजस्तो देखिनु, मागेर खानु, छारे रोग भएको बिरामीले जस्तै लडिबडी खेलेर भर्‍याक भर्‍याक गर्नु, गोडा दुखेर गाह्रो भएजस्तो गरी खोच्याएर हिँड्नु, लंगडोजस्तो देखिनु, अर्थ–न–बर्थको बोल्दै फत्फताउँदै हल्ला गर्नु, मागेर खानु, भेटे अर्काको जुठै पनि खानु आदि असामाजिक लाग्ने आचरण देखाउनु (२३) । पाशुपत दर्शनको यस्तै विधिले गर्दा शिव, शैव र शाक्त मन्दिरहरूमा अनेक किसिमका अश्लील मूर्तिहरू देखिन्छन् ।

कौलहरूले आधारचक्र (योनि) को पूजा गर्छन्, क्षपणकहरूले साक्षात् योनि र त्रिकोण यन्त्रको पूजा गर्छन् भने कापालिक र दिगम्बरहरूले ती दुवैको पूजा गर्छन् (२४) । जसरी एकै किसिमका दुइटा जन्तुमा केही फरक हुँदैन, त्यसैगरी शैव दीक्षा पाउनका लागि मान्छेका जुनसुकै जात, जाति र लिंगमा केही पनि फरक मान्नु हुँदैन (२४) ।

कालामुख शैवहरू चाहिँ कालै लगाउँछन् र तिनीहरू मान्छे र राक्षसका सन्तान मानिन्छन् (२५) । कालामुखहरू के भन्छन् भने यो लोक र परलोकका सबै इच्छा पुरा गर्न मान्छेको खप्परलाई खानपिन गर्ने भाँडो बनाउनुपर्छ, मसानघाटको खरानी जिउमा घस्नुपर्छ, लासकै मासु खानुपर्छ, गरुंङ्गो लौरो/लाठो बोक्नुपर्छ, रक्सीको भाँडो थाप्नुपर्छ र त्यसै भाँडामा देउतालाई चढाउनुपर्छ (२६) ।

रुद्राक्षका माला र चुरा लगाउनु, कपालका लट्टा पाल्नु, जिउमा खरानी धस्नु र खप्पर बोकेर हिँड्नु कापालिकहरूका आचरण हुन् (२६) । कापालिकहरू कालामुख भन्दा उग्र आचरण गर्छन् । आनन्द प्राप्ति र मोक्षका लागि तिनीहरू ६ वटा म्द्रुाहरू आवश्यक ठान्छन् (२५) । भगासनमै बसेर निर्वाण (मोक्ष) पाउन सकिन्छ भन्ने उनीहरूको धारणा छ । उनीहरूमा केही औपचारिकता पुरा गरेर दीक्षा लिएपछि जुनसुकै जातका मान्छे पनि बाहुन हुन सक्छन् । कापालिक भएपछि जुनसुकै मान्छे साधु बन्छन् । कापालिकहरू मान्छेको हड्डीको माला लगाउँछन्, मसानको खरानी जिउमा घस्छन् र खप्परमा हालेर खाने कुरा खान्छन् (२७) । कापालिकहरू स्फटिकका माला लगाउने, अर्धचन्द्र लगाउने, मुण्डमाला लगाउने, डमरु बोक्ने, कल्ली लगाउने, लगौंटी र कन्धनी लगाउने अनि भैरव र भैरवी मान्ने हुन्छन् । शिवजीले जे–जे गर्छन्, कापालिकहरूले त्यसैको सिको गर्छन् । कापालिकहरू बिहे पनि गर्छन् । उनीहरू पहिले नरवलि पनि गर्थे (२९) ।

वैदिकहरू पहिले मन्दिर बनाउँदैनथे । तिनीहरू घरमै इष्टदेवता अथवा कुलदेवता थाप्थे र तिनै देउतामा मनमनै ब्रह्मस्वरूप मानेर ध्यान गर्थे, तर जब अवैदिकहरूले ठुल्ठुला मन्दिर (र मठ) बनाएर व्यापकता लिए अनि त बाध्य भएर अनार्य शिवलाई पनि ऋग्वेदकै रुद्र र अग्निमा जोडीदिएर उनीहरू पनि शिवजीको उपासना गर्न थाले, पहिले (ऋग्वेदमा) विरोध गरेको लिंगपूजा बिर्सेर शिवलिंगको पूजा पनि गर्न थाले । र, पूजामा हुडुक्कार पनि गर्न थाले । यो सबै पाशुपत धर्मको प्रभाव हो (३१–३२) ।

कापालिक, कालामुख र वामाचारी शैवहरू नंगैभुतुंगै महिला, केटाकेटीका अगाडि नै पर्नेगरी पनि गाउँ पस्थे र महिलाहरूलाई उत्तेजित पनि बनाउँथे । यसरी यसै लोकमा मोक्ष र आनन्द पाइन्छ भन्ने शैव धर्म धेरै पुरानो र आदिम हो । जब बौद्ध, जैन र वैदिकहरू त्यागको मार्ग लिईरहेका थिए, त्यतिवेलै कति वैदिकहरू चाहिँ शिवमार्गी भएछन्, तर कालान्तरमा उनीहरूको यस्तो आचरण अरू शैवहरूले नै पनि पचाउन सकेनछन् । परिणामस्वरूप शुद्ध शैव धर्मको उदय भयो र वामाचारीहरू लोप हुँदै गए (गोपीनाथ, ३०) । पछि वैदिक र तान्त्रिकबिच केही मात्रामा मेल भयो । यो पश्चिमतिर सरेको पौरस्त्य ज्ञान/धर्म हो ।

शैवहरू ऋाफ्ना दुवै काँधमा लिंगको चिन्ह लगाउँछन्, रौद्रहरू निधारमा त्रिशूलको टिको लगाउँछन्, उग्रहरू उनीहरूका काँधमा डमरुको चिन्ह लगाउँछन्, भट्टहरू निधारमा लिंगको चिन्ह लगाउँछन्, जंगमहरू छातीमा त्रिशूलको चिन्ह लगाउँछन् र त्यसमाथि लिंगको माला लगाउँछन् भने पाशुपतहरू चाहिँ निधार, काँध, छाती र नाइटामा लिंगको चिन्ह लगाउँछन् रे (३५) !

पछि शैव सम्प्रदायमा पनि परिवर्तन भयो : दक्षिणमा वीरशैव (लिंगायत) र काश्मीरमा प्रत्यभिज्ञ शैव सम्प्रदाय बने । अभिनव गुप्त प्रत्यभिज्ञ शैव नै थिए । लिंगायत सम्प्रदायका बाहुन व्रतबन्ध गर्दैनथे, गलामा अथवा दाहिने हातमा जीवनभर एउटा शिवलिंग झुन्ड्याएर हिँड्थे । तिनीहरू जातभात मान्दैनथे, विधवा विवाह गर्थे, तर बाल विवाह गर्दैनथे (३२–३३) ।

गोपीनाथको अनुसन्धानबाट पहिलो शिवलिंग भिटानाथ (इपू. पहिलो श.) को शिवलिंग (बरेली, उप्र.) हो, जो पाँचवटा मुख (ईशान, सद्योजात, वामदेव, तत्पुरुष, अघोर) भएको मुखलिंग हो भने दोस्रो सबभन्दा पुरानो शिवलिंग हो गुडिमल्लमको परशुरामेश्वर लिंग । त्यो लिंग भुईँमै ठडिएको छ । पिण्डिका चाहिँ चारपाटे टंकीजस्तो लिंगको अघि त्यसभन्दा पाँच फुट जति गहिरो ठाउँमा खनेर बनाइएको छ, अन्यत्रको जलहरी जस्तो छैन । शिवजीको मूर्ति उन्मत्त पुरुष लिंगको अग्रभागमा बनाइएको छ । शिवजीका दुइटा मात्रै हात छन् । दाहिने हातले एउटा भेडो उँधोमुन्टो पारेर पछाडिका खुट्टा समाएको छ । देब्रे हातले चाहिँ कमण्डलु समाएजस्तो छ । देब्रे हातले नै मास्तिर पछिल्तिर धार पर्नेगरी बन्चरो काँधमा काखी च्यापेको छ । शिवजीको कपालमा लट्टा छैनन् । कपाल बाटेजस्तो छ र बाटेको कपाल अघिल्तिर अलिकति देखिने गरी टाउकामा फेटा गुथेको छ । मूर्तिको नाक थ्याप्चो छ । गालाका हाड अग्ला छन् । निधार सानो छ र भोट–चिनियाँ जातिका जस्ता नेप्टा चिम्सा छड्के आँखा छन् । यस्ता आँखा भएकैले यस्ता शिवजीलाई ‘विरूपाक्ष’ (आँखा छड्के भएका) भनिएको होला । किरातकालीन नेपालका विरूपाक्षको अनुहार पनि त्यस्तै छ । कानमा कुण्डल तुर्लुङ्ग झुन्डिएर काँधसम्म पुगेका छन् । दुवै पाखुरामा बाजु लगाइएको छ अनि दुवै नारीमा बेग्ला बेग्लै खालका पाँच पाँचवटा बाजु छन् । गलामा पनि धातुको हार छ । मूर्तिले जनई लगाएको छैन । मूर्तिले लिंगसमेत छ्याङ्छ्याङ्ती देखिने गरी तिघ्रा छोपिने धोतीजस्तो लुगा लगाएको छ । कन्धनी हो कि पटुका चाहिँ सर्पको जस्तो छ । मूर्तिले जटामुकुट र रुद्राक्षको जस्तो माला लगाएकै राक्षस/यक्षको काँधमा टेकेको छ । जिउ कुप्र्‍याएको त्यस वाहनको कान चाहिँ गोरु (नन्दी ?) को जस्तो चुच्चो छ (६५) । भीतलिंग र गुडिमल्लम लिंगले शैव धर्मको आदिमताको चिनारी दिन्छन् ।

लिंगपूजा, नाचगान र हल्ला गरेर धार्मिक चाड मनाउने अनि मनपरी यौन गतिविधि गर्ने चलन नेपालमा मात्र होइन, हाम्रो उपमहाद्वीप भरि छाप्छाप्ती छ । तान्त्रिक पूजाका अनेक प्रकारमा पनि त्यस्तो गतिविधि अथवा वाममार्ग वा वामाचार आजसम्म पनि चलीरहेकै छ । शैव र शाक्त मन्दिरका टुँडालमा, भित्तामा र थानथानका मूलपूजाकै रूपमा पनि त्यस्ता तान्त्रिक मूर्ति र चित्र जताततै देख्न सकिन्छ । नेपाल उपत्यकाका जात्राहरूकै रूपमा पनि त्यस्तो धार्मिक गतिविधि कुनै न कुनै रूपमा चलीरहेकै छ । वैदिकहरू त्यस्ता गतिविधिलाई अमर्यादित मानेर घृणा पनि गर्छन् ।

जोन मार्सल (१९३१ इ.) ले मोहन्जोदडोमा भेटिएको पुरुष मूर्तिमा सिङ नदेखेर त्यो देउताको मूर्ति होइन ‘राजर्षि’ (‘प्रिस्ट–किङ’) अथवा पुरेत–राजाको हो भन्ने ठहराएका थिए, तर मूर्तिका दुवै कानमुनि सिङ ज्ड्न सजिलो हुने खोबिल्टा भेटेर मूर्तिमा राँगाका सिङको मुकुट लगाउन र फुकाल्न मिल्ने अड्कल गर्दै त्यसलाई पर्पोलाले शिवजीको मूर्ति ठहर्‍याएका छन् (अस्को पर्पोला, १९९४ इ., ‘डिसाइफरिङ द इन्डस स्क्रिप्ट’, अध्याय १२ः२११) । मोहेन्जोदडोमा भेटिएको अर्को शिवजीको सिङ भएको मूर्तिमा योगासनमा पलेँटी कसेको त्यस्तै मूर्तिको एउटा हात घुँडा माथि राखिएको छ । सिंहासनको एउटा खुट्टो डमरु आकारको छ ।

घोडा, गाई र भेडा पाल्ने वैदिक आर्यहरूका संस्कृतिमा राँगो र भैँसी छैनन्, हडप्पा र मेसोपोटामियामा मात्रै छन् । भगवतीको महिषासुरसँगको युद्ध हडप्पालीसँगको युद्ध रहेछ । नेपालमा एउटै राँगाको टाउको पशुपतिनाथ (अथवा डोलेश्वर) र ढाड केदारनाथ भन्ने लोककथा छ । भर्खरै महेश्वर जोशीहरू (प्रकाशोन्मुख, ‘लर्ड अफ केदार ः अ युनिक कल्चर फ्रम उत्तराखण्ड हिमालय’) ले गढवालको एउटा ओढारमा राँगाको टाउको भएका सर्पको माला र चुरा लगाएका उर्ध्वरेता शिवजीको मूर्ति फेला पारेका छन् । त्यसको नाम उनले ‘केदारेश्वर’ राखेका छन्, तर हाम्रो लोककथाले त शिवजीको डँडाल्नो मात्र केदार, टाउको त पशुपति भनेर चिन्छ । यस आधारमा सिन्धु बेँसीमा राँगाको मुकुट लगाउने शिवजी खसान क्षेत्रमा राँगाको टाउकै भएका भेटिएका हुनाले हाम्रो मिथक निकै प्राचीन भएको प्रमाणित हुन्छ ।

देवी भागवत (पाँचौँ स्कन्ध) मा महिष नाम भएको असुरले दुर्गालाई ‘मसँग बिहे गर’ भन्ने प्रस्ताव राखेको र भगवतीले महिषासुरलाई मारेको कथा छ । राँगोकै टाउको भएका शिवजीको मूर्ति गढवालमा भेटिनु र राँगाकै सिङको मुकुट लगाउने तपस्वी शिवको मूर्ति हडप्पामा भेटिनुबाट त महिषासुर नै शिवजी पो रहेछन् भन्ने बुझिन्छ । दक्षिण भारतको एउटा गाउँको धर्ममा महिषासुरसँग भगवतीको बिहे गर्ने चलन रहेछ (पर्पोला, १९९५ इ, १४.२, २२०) ।

दामोदर कोसाम्बी (१९६२ इ. ‘मिथ एन्ड रियालिटी ः स्टडिज इन द फर्मेसन अफ इन्डियन कल्चर’, १९६४ इ, ‘द कल्चर एन्ड सिभिलिजेसन अफ एन्सिएन्ट इन्डिया इन हिस्टोरिकल आउटलाइन’) ले महाराष्ट्रका ठाउँ ठाउँमा आदिवासीहरूका समुदायमा भगवती र राँगो रूपका शिवजी (महिषासुर . म्हसोबा) ले एकअर्कासँग लडाइँ र बिहे गरेका मिथक, उत्सव तथा जात्रा पनि गर्ने चलन भएको सूचना दिएका छन् । दक्षिण भारतको कण्णपुरमा चाहिँ वलि दिउन्जेल लिंगो ठड्याइन्छ रे अनि भगवती विवाहको वार्षिक पूजा सकिएपछि लिंगो पनि ढालिन्छ रे अनि भगवती विधवा भएको मानेर शृंगार उतारिन्छ रे (पर्पोला, १९९४ इ, २२०) !

आफ्नो संस्कृतिमा राँगो र भैँसी नभई नहुने नेपालमा दुइटा जाति छन् : नेवार र यादव । दुइटै जातिको इतिहास र संस्कृति मिथिलासँग जोडिएको छ । यादवहरू श्रीकृष्णको द्वारकासँग सम्बद्ध छन् अनि द्वारका चाहिँ हडप्पाको सांस्कृतिक केन्द्रमै पर्छ । यसबाट नेपालमा हडप्पाको सांस्कृतिक प्रभाव लामै देखिन्छ ।

प्रकाशित : फाल्गुन ६, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?