आमाहरूका कथा खजाना- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाहरूका कथा खजाना

छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं ।
यशोदा तिम्सिना

नेपाली समाजमा अझै छोराछोरीबीच विभेद छ । छोरा जन्मिए ‘परत्र तर्न सकिन्छ’ भन्ने सोच छ । यद्यपि आमाले जन्माउँदा ती छोरा या छोरी हुँदैनन्, केवल सन्तान हुन्छन् । लैङ्गिकताका आधारमा हामी तिनलाई छोरा या छोरी भन्छौं ।
हाम्रो कानुन र नियमले आमालाई बहुत उपेक्षा गरेको छ ।

आमाका नाममा नागरिकता दिन र अधिकार प्रत्यायोजन गर्न कन्जुस्याइँ गरेको छ । तर, के छोरीहरू आफ्नो कर्तव्य–पथबाट च्युत भएका छन् ? के आमालाई दिनुपर्ने सम्मान र आफू आमा हुँदाको समयलाई नजरअन्दाज गरिरहेका छन् ? के समाजले आमाको काम, कर्तव्य र अधिकारमा ओठेभक्ति प्रदर्शन गरे पनि व्यवहारमा कम आकलन गरेको तथ्य भुलेका छन् ? अनेक प्रश्नका सांगोपांग जवाफ लिएर दर्जन छोरी मैदानमा उत्रिएका छन्– ‘छोरीले जन्माएका आमाहरू’ किताबमार्फत । आमाहरूका भोगाइलाई एक विशिष्ट पुस्तकको रूप दिन मिहिनेत गरेका छन्– पुस्तकका संयोजक मञ्जु थापा र प्रकाशक अर्चना थापाले ।

लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, कल्पना तामाङ, डा. कविता घिमिरे, जानु ओझा, तनुजा पोखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य, सञ्जीता बराइलीहरूले आफ्ना आमामाथि बुझेको, जानेको र सुनेको अनुभव–कथा किताबको विषय हो ।

पछिल्लो समय दूर–देश पुगेर जीवनप्रतिको आफ्नो दृष्टिकोण बनाउने छोरीको संख्या बढिरहेको छ । झट्ट सुन्दा प्रश्न उठ्छ– छोरीले पनि कतै आमा जन्माउँछन् ? गुमनाम आमाहरूलाई पहिचानसहित पाठकसामु पस्किन सक्ने छोरीहरूको सम्मानका खातिर किताबको नाम ‘छोरीले जन्माएका आमाहरू’ जुराइएको होला भन्ने अड्कल काट्न सकिन्छ । तर, यो तर्कमाथि विवाद हुन सक्ला । पुस्तकको शीर्षकचाहिँ अलि अमिल्दो नै भयो ।

आमाका भोगाइ

‘बड्की मास्टर्नी’ शीर्षकबाट सुरु हुन्छ ‘छोरीले जन्माएका आमाहरू’ को कथा । नवलपरासीको रैथाने चौधरी समुदायकी शान्तिदेवी गुरौको जीवन–संघर्ष पढ्दा कुनै सिनेमाको रिल घुमेझैँ लाग्छ । कसैले अपहत्ते गरेर मन पराएपछि नबुझे, नजानेको मान्छेलाई ज्यान सुम्पेर अघि बढेकी रहिछन् शान्तिदेवी १६ वर्षकै उमेरमा । त्यसरी चलायमान बनेको शान्तिदेवीको जीवनमा सुखान्त सिनेमाको कथाजस्तो सुखभोग लेखिएको रहेछ ।

शान्तिदेवी कमलरीको जीवन लिएर जन्मेकी हुन्छिन् । छोराछोरीसँग अनुभव साट्दा भनेकी छन्, ‘जमिनदारकोमा बस्दा कुनै दुर्व्यवहार हुन्थेन, खान पनि तीन छाक नै पाइन्थ्यो । यो त्यसबेलाको समयको कुरा हो । पेटभरि खान पाउनु र गाली नखानुपरेपछि जीवन दौलत भो ।’ समय र खसमको साथले उनले ठूलो तरक्की गरिन् । छोराछोरी बढाइन्, पढाइन् । र, शान्तिदेवीकी छोरी इन्द्र अमेरिका पुगिन् । शान्तिदेवीलाई तीनपटक घुम्न बोलाइन् । अन्तिमपटक उनी ७४ वर्षको उमेरमा अमेरिका पुगिन् । शान्तिदेवीले समुद्र देखेपछि भनिन्, ‘एक बोतल पानी नेपाल लैजान्छु ।’

अर्की आमा हुन्– राधा कँडेल (रमा मिश्र) । लमजुङमा जन्मेकी राधाको १४ वर्षको उमेरमै बिहे भयो । १७ वर्षमा घर बुहार्तन सम्हालेर आमा भइसकेकी उनको कथा छोरी उमा शर्माले लेखेकी छन् । उमा दुई वर्षकी छँदा आमा फेरि गर्भवती भइन् । सुत्केरी व्यथाले रातभर छटपटाइन् । तर, छेउमा सुतिरहेका श्रीमान्ले त्यो थाहा पाएनन् । उज्यालो हुने बेला रमाले छोरो जन्माइन् । उमा लेख्छिन्, ‘अहिले सम्झिँदा पनि मलाई अचम्म लाग्छ, पेटमा सन्तान भएर आज हो कि भोलि भन्ने अवस्थामा रहेकी श्रीमती रातभर व्यथा लागेर छटपटिरहँदासमेत सँगै सुतिरहेको बुबाले कसरी केही पत्तो पाउनुभएन होला ?’

उमा अमेरिका पुगिन् । नाम चलेको विश्वविद्यालयमा जागिर खाइन् । आमालाई पनि अमेरिका बोलाइन् घुम्न । ‘दुःख नदेखाउने संस्कारबाट आएका कारण जसरी आमाले दुःख लुकाउनुहुन्थ्यो, त्यो मैले सिकें । आमाले हजुरआमाबाट,’ उमाको अनुभव छ ।

किताबकी अर्की पात्र हुन्– राधा पौडेल । ‘मेरी आमा : छोटो जीवन, लामो सम्झना’ लेखमा छोरी कमला न्यौपानेले ३७ वर्षकै उमेरमा बितेकी आमा सम्झेकी छन् । आमा बाँचेकी भए अहिले ७६ वर्ष भइसक्ने थिइन् भन्ने परिकल्पनाबाट लेखनीको सुरुआत गर्छिन् उनी । कमलाले चार पुस्तामा समेटिएका महिला सम्झँदा मात्रै आमाबारेको लेखोट तयार हुने पृष्ठभूमि बताएकी छन् । कमलाको बुझाइमा हजुरआमाले देखाएको मार्ग, आमाले हिँडेको बाटो, आफूले लिएको मोड र आफ्नी छोरीले अघि बढाएका पाइला समेटेपछि मात्रै आलेख तयार हुन्छ ।

आमा कृष्ण–भक्त थिइन्, त्यसैले नाम पाइन्– राधा । केही समुदायमा बारहरूका आधारमा नाम राख्ने चलन थियो उबेला । केहीलाई नामै दिइँदैनथ्यो । बिहेपछि श्रीमान्को नाम या पेसासँग जोडेर महिलाले नाम पाउँथे । कमलाकी आमाको स्वभाव कठोर र दिल नरम थियो । एकल आमाले हुर्काएकी परिवारकी जेठी छोरी हुन् राधा । दार्जिलिडमा जन्मेकी राधा श्रीमान्को जागिरका कारण धेरै ठाउँतिर घुमिरहिन् । पाँच सन्तानकी आमा उनले जीवनको अन्तिम सास भैरहवामा फेरिन् ।

अर्की आमा पात्र हुन्, सरिता तामाङ । उनी ठाँटीभञ्ज्याङ रामेछापमा जन्मिएकी हुन् ६१ वर्षअघि । विविध रोग–व्याधिले भएका सन्तान बित्दै गएकाले र छोरा–मोहले डोरिएर सरिताकी आमाले झन्डै दर्जन सन्तान जन्माइन् । त्यसमा सरिता र उनका एक भाइ भने सकुशल रहे ।

गाउँको हुनेखानेकी छोरी सरिताका बुबाले छोरा नजन्मिएपछि सम्पत्तिको के काम भन्दै त्यो सक्ने प्रयास गरे । सम्पत्ति सकिएन । छोरा नभएको पीरमा अत्यधिक मदिरापान गरे र उनको असमयमै मृत्यु भयो । सम्पत्तिवाल युवा विधवामाथि गाउँकै ठूलाबडाको आँखा पर्‍यो । सम्पत्ति लुटपाटै भयो । यो लेख तयार गर्ने जेठी छोरी कल्पनालगायत सात सन्तानको जायजन्म र लालनपालन गरिन् सरिताले । छोरी कल्पनाले राम्रो पढिन् । जागिर खाइन् । आफ्नो खुट्टामा उभिइन् । तीन वर्षअघि अमेरिका आइपुगिन् ।

‘आमाले बाँचेको संघर्षपूर्ण जीवन’ शीर्षकमा छोरी मञ्जु थापाले गुल्मीमा जन्मिएकी आमा ईश्वरादेवी थापाको कथा लेखेकी छन् । आमा बाँचेकी भए अहिले ९० वर्षमा हिँड्दै हुन्थिन् । अहिलेको अर्घाखाँची जिल्लाका नामी पण्डित खलकमा पर्ने पन्थीकी छोरी थिइन् ईश्वरा । उनको विवाह ११ वर्षको उमेरमा ३५ वर्षीय ज्ञवाली ब्राह्मणसँग भयो । विवाहको एक वर्षपछि नै ती ब्राह्मणको मृत्यु भयो र ईश्वरा बालविधवा बनिन् । ११ वर्षीया बालिका, जसलाई पतिको अनुहारसमेत याद थिएन, उनै पतिका लागि ४५ दिन सेतो धोतीमा लपेटिएर बरखी बारिन् ।

छोरी मञ्जुको लेखाइमा ईश्वरा जब वर्षदिनको कामपछि माइत गइन्, माइतीले विधवा भन्दै घरभित्र सुत्न दिएनन् । अनि क्षुब्ध भएकी उनले २४ वर्ष तिनै बितेका ब्राह्मणको थातथलो मानकोटमा बिताइन् । फराकिलो सोच र पीडितका पक्षमा बोल्ने ईश्वराले राजनीतिमा चासो दिइन् । समय–परिस्थितिले ईश्वरालाई नेता बनायो ।

बाल विधवा हुनु । एक्लो जीवन जिउनु । जवान हुनु र समाजमा चेतना छर्न अघि सर्नु । अहिलेका महिलालाई त सहज छैन भने उबेला के भन्थे होलान् समाज, छिमेकी, आफन्त र चिनेजानेकाहरूले ? ईश्वराले कुनै कुराको पर्वाह गरिनन् । परिणामस्वरूप, विसं २०१८ मा उनलाई राजनीतिमा लागेबापत पाल्पा कारागारमा ६ महिना थुनियो ।

३५ वर्षे ईश्वराको हात थाप्न आइपुगे आफ्नो घरबार बिग्रिएका केशरबहादुर थापा । ईश्वराका ६ सन्तान जन्मिए । लगातार महिला संगठनमा काम गरेकी ईश्वराले ४१ वर्षको उमेरमा प्राइभेट विद्यार्थीका रूपमा प्रवेशिका परीक्षा दिइन् ।

किताबकी अर्की आमा हुन्, याममाया विश्वकर्मा । ‘कार्यबोझ र विभेदमा खारिएकी मेरी आमा’ शीर्षकमा सञ्जिता बराइलीले आमामाथि लेखेकी छन् । समाजले ठानेको ‘सो कल्ड’ दलित समुदायमा हुर्केकी याममायाले जन्मेदेखि नै विभेद सामना गरिन् । २०११ सालमा रामेछापमा जन्मेकी उनको १४ वर्ष लाग्दै गर्दा २३ वर्षीय युवासँग विवाह भएको थियो । याममायाले निकै विभेद भोगिन् । याममायाका सात छोराछोरी भए । तिनिहरू बढे, पढे । छोरा पूर्ण बराइली अमेरिका पुगे । छोरी सञ्जितालाई डीभी पर्‍यो । करिब ६ वर्षअघि याममाया र उनका श्रीमान् पहिलोपटक अमेरिका आए, छोराछोरीको निमन्त्रणामा । त्यसयता तीनपटक अमेरिका ओहोरदोहोर गरिसकेका छन् । ६८ वर्षीया याममाया अहिले सपरिवार काठमाडौं बस्छिन् ।

...

हरेक मानिससँग भनिन, सुनिनलायक कथा, व्यथा र घटना छन् । तिनलाई ध्यानसँग सुनिएको, लेखिएको छैन । अझ महिलाको जीवनी कमै लेखिएको छ । यस पुस्तकमा समेटिएका १२ आमाका प्रत्येक जीवनकहानी एक पूर्ण पुस्तक बन्नलायक छ ।

महिलासँग भनिनुपर्ने, लेखिनुपर्ने धेरै कथा छन् । तर, पद र प्रतिष्ठा नभएकाहरूको जीवनी लेख्ने चलन छैन । इतिहासै पनि जित्नेहरूको लेखिन्छ । जितमा पनि पुरुषहरूकै नाम आउँछ । यसै पनि पद, प्रतिष्ठामा पुग्ने महिला अत्यन्तै कम छन् । अब वैकल्पिक इतिहास लेखिनुपर्छ । त्यो इतिहास महिलाहरूको हुनेछ जसले घर, समाज र राष्ट्र बनाउन योगदान दिएका थिए ।

आमाहरूको यो संघर्ष–कथाले नेपाली महिलाहरूको जीवन पढ्न सघाउँछ । यी कथा–खजानाका आमाहरू समावेशी तवरबाट जुटाइएका छन् । पुस्तकले तत्कालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ, शिक्षा लगायत तमाम विषयमा बोलेको छ । पुस्तकमा सुधार्नुपर्ने केही विषय छन् । जस्तो– जन्ममिति राखेपछि निधन भएकाहरूको मिति पनि सँगै राखिएको भए पाठकलाई सजिलो हुने थियो । कल्पना तामाङले लेखेको आलेखलाई लेखक–परिचयमा ‘आमा कल्पना तामाड’ भएको छ (पृष्ठ. १७९) । यो ठूलो गल्ती होइन, तर नामै गल्ती भएकाले अन्योल हुन सक्छ । सञ्जिताले लेखेको लेखमा ‘...मेरी आमा हर रात एक घण्टा पनि सुत्न पाउनुहुन्थेन...’ भन्ने वाक्य विश्वासयोग्य लाग्दैन ।

पत्रकार जयदेव गौतमले सम्पादन गरेको यो किताबलाई महिलाका दृष्टिकोणबाट समाज चियाउने एक आँखिझ्याल मान्न सकिन्छ । किताब अक्षर क्रिएसन्सले प्रकाशन गरेको हो ।

प्रकाशित : माघ ७, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

लिखित देवनागरीको अलिखित इतिहास

देवनागरी लिपि ब्राह्मीबाटै विकसित भए पनि पाँचौँ शताब्दीदेखि मात्रै अचेलको बान्कीसँग मिल्ने हुँदै आयो। अक्षर कलात्मक बनाएर घुमाउने, सिँगार्ने त्यो लिपिको चलन सातौँ शताब्दीपछि आजको बान्कीसँग झन्‌झन् नजिक भयो ।
माधवप्रसाद पोखरेल

आज देवनागरी लिपि नेपालमा मात्र होइन, भारतमै पनि सबभन्दा प्रचलित लिपि हो । यस लिपिमा नेपाली, हिन्दी, मराठी, कोंकणी र डोगरी जस्ता आर्य भाषा मात्र होइन, अन्य परिवारका भाषा पनि लेखिन्छन् । हाम्रो उपमहाद्वीपमा सबभन्दा धेरै मानिसले यस लिपिमा लेखेको कुरो सजिलै पढ्न सक्छन् ।

नेपालमा मात्र होइन, भारतमा पनि अलिखित भाषाहरू लेख्न थाल्दा देवनागरीमा लेख्ने चलन छ, खालि विदेशीहरूले चाहिँ रोमन लिपि चलाएको देखिन्छ । आफ्नो छुट्टै लिपि नभएका मातृभाषा लेख्न मात्र होइन, आफ्नो छुट्टै लिपि भएका मैथिली (मिथिलाक्षर), भोजपुरी (कैथी), नेवार (रञ्जना, भुजिमोल, पाचुमोल, गोलमोल, आदि अनेक लेखन शैली), लिम्बु (सिरिजङ्गा, लिपि), गुरुङ, तामाङ र मगर भाषा लेख्न पनि देवनागरी नै बढ्ता चलेको देखिन्छ र ती मातृभाषीहरूमा आफ्नो भनिने लिपि पढ्न सक्ने एक प्रतिशत सख्या पनि पाइँदैन । तिनीहरूमध्ये पनि देवनागरी लिपि मात्र पढ्न सक्ने साक्षरकै बहुमत छ ।

नेपाल–भारतमा सबभन्दा प्रचलित देवनागरी लिपि आठौँ शताब्दीतिर महाराष्ट्र (कोल्हापुर, ७५४ इ) मा केही फरक शैलीमा लेखिन्थ्यो अनि त्यसलाई ‘नन्दीनागरी’ भन्ने चलन थियो । यसैले गर्दा यी दुइटै नाउँबाट अघिल्लो शब्द झिकेर भारतमा यसलाई ‘नागरी’ लिपि मात्रै भन्ने पनि चलन छ । लिपिका अनुसन्धाताहरू (ओझा, बुह्लर) ले पनि नागरी लिपि मात्र भनेको पाइन्छ । दुइटै नाउँ दशौँ शताब्दी पछि मात्र भेटिन्छन् ।

मैले मातृभाषीहरूसँग सामूहिक अन्तरक्रिया गरेर नेपालका ६९ ओटा अलिखित भाषाहरूको वर्णमाला बनाएको छु । वर्ण वैज्ञानिक विश्लेषण गरेर मातृभाषीहरूले दिएका अर्थमा फरक पार्ने उच्चारण भेद छुट्याउने लघुतम युग्म (एक जोडा शब्द) का आधारमा मैले बनाइदिएका मातृभाषाहरूका ती वर्णमालाहरूमा नेपाली उच्चारणसँग मिल्ने वर्णलाई नेपाली जस्तै गरी लेख्ने र नेपाली उच्चारणसँग नमिल्ने उनीहरूको मातृभाषाका वर्णलाई प्राय नजिकको देवनागरी संकेतमा ‘तल्थोप्ली’ राखेर अथवा सकेसम्म थोरै उपचिन्ह थपेर लेख्ने अनुशासन बनाएको छु । संसारभरका लिपिमा पनि थोप्लो सबभन्दा पहिले रोजिने उपचिन्ह हो (ज्वायस र बोर्ग्वाल्ट, २०१३ इ, ‘टाइपोलोजी अफ राइटिङ सिस्टम्ज’) । अहिले ‘गोरखापत्र’ को ‘नयाँ नेपाल’ स्तम्भमा ठाउँ पाएका झन्डै ४० ओटा मातृभाषामध्ये धेरैजसो मैले वर्ण निर्धारण गरीदिएका भाषाहरू छन् । मैले पुणें विद्यापीठबाट ध्वनि विज्ञान र वर्ण विज्ञानमा विद्यावाचस्पति गरेर (२०४६) फर्केपछि लिम्बु भाषादेखि थालेर आजसम्म ६९ भाषाको वर्णमाला पुर्‍याएको हुँ ।

हाम्रो उपमहाद्वीपका लिपिको ऐतिहासिक विकास क्रमबारे पहिलो पुस्तक (१८९४ इ, ‘भारतीय लिपिमाला’) लेख्ने गौरीशङ्कर ओझा (१९१८ इ, ‘प्राचीन भारतीय लिपिमाला’) अनुसार, यहाँको पहिलो लिपि त सिन्धु सभ्यताको लिपि (इपू २६००–१९००) नै हो, तर देवनागरी लगायत उपमहाद्वीपका सबै विकसित लिपि चाहिँ ब्राह्मृी लिपिकै बचरा हुन् । उपमहाद्वीपको वायव्य कोणमा अशोककै शिलालेख पनि ब्राह्मी लिपिमा मात्र नभएर खरोष्ठी लिपिमा पाइएका छन् । खरोष्ठी लिपि उर्दू र अरबी जस्तो दाहिनेबाट देब्रे तिर पढिन्थ्यो, तर ब्राह्मी चाहिँ प्राय देवनागरी जस्तै देब्रेबाट दाहिने तिर पढिने भए पनि केही अभिलेख चाहिँ दाहिनेबाट देब्रे तिर पढिने पनि भेटिएका छन् । बुह्लर (१८९८ इ, ‘अन द ओरिजिन अफ द इन्डियन ब्राह्म अल्फाबेट’) ले ब्राह्मी लिपि इपू. आठौँ–सातौँ शताब्दी तिर मेसोपोटामियामा सिरियादेखि प्यालेस्टाइन सम्म चल्ने सेमेटिक आरामाइक लिपि (होल्जर जेला, २०२१ इ, ‘आरामाइक’) बाट विकसित भएको प्रमाणित गरेका छन् भने, ओझा चाहिँ त्यो मान्न तयार छैनन् ।

मेसोपोटामियाको छिमेकका इरानी शासक (मिड, अखामनी, पारसी, पार्थ, सासानी) हरू आरामाइक लिपि नै चलाउँथे । सबभन्दा पहिलो पुरातात्त्विक उल्लेख भएको इरानी जाति चाहिँ ‘मिड’ हो (इपू ८८१, असिरियाली अभिलेख, रिचार्ड फोल्ज, २०१६ इ, ‘इरानियन वर्ल्ड हिस्ट्री’) । इपू ६७८–५४९ मा बलियो मिड गणराज्य नै थियो । इपू आठौँ–सातौँ शताब्दीमा मिडहरूले असिरिया नै कब्जा गरे । कसैकसैले इपू १५००–१४०० छेक थोरै समयसम्म कश्यप सागरदेखि भूमध्य सागरसम्म माथिल्लो मेसोपोटामियामा शासन गर्ने घोडा सधाउन सिपालु मितन्नीहरू (चार्ल्स रिभर, सं, ‘द किङ्डम अफ मितन्नी’) पनि मिडहरू नै हुन् भन्ने ठानेका छन् । मितन्नीहरूले भूमध्य सागरको छेवैछेउ इजिप्ट सम्म पनि आफ्नो प्रभाव जमाएका थिए । उनीहरूका अभिलेखमा मित्र, वरुण, नासत्य र इन्द्र जस्ता चार ओटा वैदिक देउताहरूका नाम पनि पाइन्छन् । ऋग्वेद भन्दा पुरानो संस्कृत भाषाको नमुना (इपू १४००) पनि उनीहरूकै लेखोटमा पाइन्छ ।

इपू ५५० मा ती मिडहरूलाई अखामनी सम्राट् साइरसले हराए । त्यसपछि इरानी शासकहरूको शासन मेसोपोटामिया, इरान, आर्मेनिया, मध्य एसिया, अफगानिस्तान र वर्तमान पाकिस्तानको सिन्ध (हिन्द) प्रान्तसम्म झन्डै सातौँ शताब्दी (६५१ इ) सम्म चल्यो । युरेसियाका विस्तृत फाँटमा इरानीहरूका बगालहरू जताततै छाप्छाप्ती थिए (कुज्मिना, ‘द ओरिजिन्ज अफ इन्डो–इरानियन्ज’) । छापामार युद्ध गर्न सिपालु ती इरानी बगालहरू आपसमै एकअर्कालाई सिध्याउने होडमा थिए, त्यसैले गर्दा अखामनी सम्राट् साइरस र दारिउसकै अस्तित्वका लागि युक्रेनका शकहरू नै खतरा थिए । ती इरानीहरूको आपसी वैमनस्यले गर्दा नै अलेक्जान्डरलाई इरानीहरूकै माटो जित्न सजिलो भयो अनि ७५१ इ. मा अरबहरूलाई इरान कब्जा गर्न र धेरैजसो इरानीलाई मुसलमान बनाउन पनि सजिलो भयो । आफु मुसलमान भएपछि त अरुलाई व्यापक रूपमा मुसलमान बनाउन इरानीहरू नै लागे ।

इरानीहरूका माटामा अलेक्जान्डर (इपू चौथो शताब्दी) को दिग्विजयपछि निकै समय ग्रिसेलीहरूको प्रभुत्व रह्यो (कुहुर्त, २००७ इ, ‘द पर्सियन एम्पायर’) । इरानी शासनमा आरामाइक लिपिकै प्रयोग हुन्थ्यो । पहिले त शासनको भाषा पनि आरामाइक थियो, तर पछि इरानी भाषा लेख्न नै आरामाइक लिपि चलाइयो । अशोक (इपू २७५) का पालादेखि मात्र उपमहाद्वीपमा ब्राह्मी लिपि व्यापक भयो । समयक्रममा कलम नउचाली लेख्नाले (अटुट लेखन) ब्राह्मी (इपू ५००–३०० इ) बाटै क्रमशः गुप्त लिपि (चौथो–पाँचौँ शताब्दी) र कुटिल लिपि (छैटौँ–नवौँ) हुँदै नागरी लिपि बनेको हो । नेपालमा गुप्त लिपिलाई लिच्छवि लिपि भन्ने चलन छ (हेमराज शाक्य, २०२६, ‘अभिलेख प्रकाश’, २०३०, ‘नेपाल लिपि प्रकाश’) । कुटिल लिपिलाई नै पूर्वी भारत र पूर्वी एसियामा संभवतः तान्त्रिक प्रभावले गर्दा सिद्धमातृका अथवा सिद्धम् लिपि भनिन्छ ।

सिंह (१९९० इ, ‘डिभेलप्मेन्ट अफ नागरी स्क्रिप्ट’) अनुसार, कुटिल लिपिबाटै तिब्बती लिपि, काश्मीरतिर प्रचलित शारदा लिपि, पूर्वी भारतमा प्रचलित गौडी लिपि र नागरी लिपि विकसित भएका हुन् । शारदा लिपिबाटै गुरुमुखी (पंजाबी) विकसित भएको हो भने गौडी लिपिबाट उडिया, बंगाली, असमिया, नेवारी र मैथिली लिपि विकसित भएका हुन् ।

ओझा अनुसार देवनागरी लिपिको बान्की सबभन्दा पहिले छैटौँ शताब्दीका गुप्त राजा यशोवर्मनको ‘मन्दसोर अभिलेख’ (मध्य प्रदेश, ५२० इ) मा देखापरेको हो । ओझाका लिपिपत्र (२४–२७) अनुसार, देवनागरी लिपि दशौँ शताब्दीदेखि गुजरात (जाइंकदेव, ९०४ इ), राजस्थान (प्रतिहार राजा, ९५९ इ) र नेपालमा प्रचलित रहेछ । प्रतिहार राजाहरू नागभट (बुचकला, ८१५ इ), बाउक (जोधपुर, ८३७ इ) र कक्कुक (घटियाला, ८६१) का अभिलेखमा यशोवर्मनको अभिलेख (छैटौँ शताब्दी) र दशौँ शताब्दीको देवनागरी बिचको स्वरूप पाइन्छ ।

सिंह (तेस्रो अध्याय) लेख्छन्, देवनागरी लिपि क्रमशः ब्राह्मीबाटै विकसित भए पनि पाँचौँ शताब्दी (गुप्त काल) देखि अलिक बढ्ता अचेलको बान्की मिल्ने हुँदै आयो । छैटौँ शताब्दीदेखि मन्दसोर (५२० इ, मध्यप्रदेश) देखि बोधगया (५८८ इ, बिहार) मा कुटिल लिपिको बान्की थालियो (ओझा) । अक्षरलाई कलात्मक बनाएर घुमाउने र सिँगार्ने त्यो लिपिको चलन सातौँ शताब्दी पछि झन्झन् आजको बान्कीको नजिक हुँदै आयो । नागरी लिपि आधारभूत रूपमा गुजरात र महाराष्ट्रदेखि उत्तरतिर विकसित भयो र नवौँ शताब्दीको प्रारम्भदेखि यसलाई आजको रूपमा ल्याउन महाराष्ट्र, गुजरात र मालवाका राष्ट्रकूट (राठौड) हरू, बंगालका पालहरू (पूर्व) अनि कन्नौज र उत्तर भारतका प्रतिहारहरू (पश्चिम) को मुख्य भूमिका छ । सामनगढ (महाराष्ट्र) को अभिलेख (दन्तिदुर्ग, कोल्हापुर, ७५४ इ) नै नागरी लिपिको सबभन्दा पुरानो रूप हो (बुह्लर) ।

नवौँ शताब्दीको प्रारम्भदेखि नै राठौडहरूले चाहिँ सबैभन्दा पहिले र पछिसम्म अरूलाई जितेर देवनागरीको प्रचारमा मुख्य भूमिका खेले । बंगालका पालहरूले यसलाई पूर्वतिर (बिहार, बंगाल, ओडिसा र असम) फैलाए र प्रतिहारहरूले अलिक व्यापक (उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात, उत्तराखण्ड र पन्जाब) बनाए । उत्तराखण्ड, पश्चिम नेपाल र कैलास मानसरोवर क्षेत्रको इतिहासमा पनि दशौँ–एघारौँ शताब्दी तिरयिनै राजाहरूको चक्चकी थियो । कर्नाली प्रदेश नै पुर्ख्यौली हुने पानी पोखरेल लगायत सबै आत्रेय र अत्रि गोत्र हुने छेत्रीबाहुन र चौँतिस ओटा चन्द्रवंशी बाइसी चौबिसी राजाहरूको पुर्ख्यौली पनि कन्नौजका तिनै शासक (राठौड, पाल र प्रतिहार) सँग जोडिएको वंशावली इटालीका पुरातत्त्वविद् टुची (१९५६ इ, ‘प्रिलिमिनरी रिपोर्ट अन टु सायन्टिफिक एक्स्पेडिसन्ज अफ नेपाल’) ले प्रकाशित गरेका छन् । ती राजाहरूले जारी गरेका अभिलेखहरू मूलतः देवनागरी लिपिमै छन् । टुची (१९६२ इ, ‘नेपाल : द डिस्कभरी अफ द मल्ल’) ले नै एघारौँदेखि चौधौँ शताब्दीसम्म पश्चिम तिब्बतको मानसरोवर क्षेत्रको ताक्लाकोटमा गर्मीको राजधानी र नेपालको सिँजामा जाडाको राजधानी बनाएर राज्य गर्ने काश्मीरदेखि कर्नाली प्रदेश र तिब्बत सम्म (हिमाचल प्रदेश, गढवाल, कुमाउँ हुँदै) खस मल्ल राजाहरूको पुरातात्त्विक इतिहास फेला पारे ।

नेपालमा मल्ल थर भएका राजनीतिक शक्तिहरू इतिहासका तीन चरणमा देखिन्छन् : बुद्धकालमा कुसिनारामा मल्ल गणराज्य, बाह्रौँ शताब्दीमा कर्नाली प्रदेशमा नागवंशी खस राजाहरू र तेह्रौँ शताब्दीदेखि नेपाल उपत्यकामा मिथिलासँग निकट साइनो भएका नेवार राजाहरू, तर तिनीहरू बिचमा कुनै पारिवारिक साइनो पाइँदैन । यिनीहरूमध्ये देवनागरी लिपि पहिले चलाउने चाहिँ कर्नालीका खस मल्लहरू हुन् ।

काश्मीरको इतिहास (स्टेइन, १९०० इ. ‘कल्हणज रागतरङ्गिणी’) मा नाग, मल्ल र खसहरू एउटै वंशमा जोडिन्छन् । त्यहाँ शक सम्राट् कनिष्कलाई पनि एकैचोटि नाग, तुरुष्क (तुखार/तुषार/तोखार) र कुषाणवंशी भनेर चिनाइएको छ । सिजाको इतिहासमा घरज्वाइँ भएर पुण्य पाल पुण्य मल्ल भएजस्तै जयापीडका बाजे ललितादित्य पनि घरज्वाइँ भएर नागवंशी भएका थिए । खस राजा अशोकचल्लसँग अनुप्रास मिल्ने लल्ल, टुल्ल, भुल्ल, सुल्ल र राजल्ल आदि अनेक नाउँ त्यहाँ पाइन्छन् । ‘राजतरङ्गिणी’ मा खसहरूले अफगानिस्तानदेखि काश्मीर (हुँदै सम्भवतः कालीगण्डकी) सम्मको ठाउँ ओगटेको उल्लेख छ । आठौँ शताब्दीमा कन्नौजदेखि बंगालसम्म जित्ने काश्मीरका राजा जयापीडलाई कालीगण्डकी तिरमा नेपालका राजा अरमुडि (मगर कि खस) ले हराएर बन्दी बनाएका थिए, पछि मन्त्रीले भगाए । अर्थात्, कर्नाली प्रदेशका खस मल्ल राजाहरू चाहिँ कन्नौजबाट खसान छिरेका राठौड र गुर्जर–प्रतिहारवंशी होइन रहेछन् ।

योगी नरहरिनाथ (२०१३, ‘इतिहासप्रकाश’) ले पहिले नै दुल्लुमा भेटेर प्रकाशित गरेको देवनागरी लिपिकै एउटा अभिलेखलाई पूर्णप्रकाश नेपाल यात्री (२०३९, ‘राजा गगनिराजको यात्रा’) ले नेपाली भाषाको सबभन्दा पुरानो अभिलेख (‘दामुपालको शिलालेख’, सं १०३८) भन्ने दाबी गरेर प्रकाशित गरे । त्यस अभिलेखको ऐतिहासिक, भाषा वैज्ञानिक र लिपि वैज्ञानिक समीक्षा (२०५६, ‘दामुपालको शिलालेखको कालनिर्णय’) गरेर मैले त्यो अभिलेख १३ औँ शताब्दीको ठहराएको छु । देवनागरी लिपिमा अक्षर माथि डिको तान्ने चलन चाहिँ दशौँ शताब्दी पछाडि मात्र थालिन्छ । त्यसमा पनि ‘प, म, य, ष, स’ का दुइटै घोचा जोड्ने चलन त ११ औँ शताब्दी पछि मात्र थालियो (ओझा, ६८–७०) । दामुपालका शिलालेखमा दुइटै घोचा जोडिएकाले त्यो ११ औँ शताब्दी भन्दा अगाडिको हुनै सक्तैन । कान्नानी, लक्कानो र उकार पनि एघारौँ शताब्दी भन्दा अगाडिको जस्तो छैन (बापुराओ नाइक, १९७१ इ, ‘टाइपोग्राफी अफ देवनागरी’) । भकार र मकारको बान्की चाहिँ १२ औँ शताब्दी भन्दा अगाडिको होइन (ओझा, नाइक) । खस राजा अक्षय मल्ल (१२७० इ) का शिलालेखदेखि मात्र नेपाली अभिलेखमा क्रिया भेटिन्छ । दामुपालको शिलालेखमा चाहिँ ‘रेष भइ’ भन्ने क्रिया भएकाले यो अभिलेख १३ औँ शताब्दी भन्दा अगाडिको होइन । यस हिसाबले दुल्लुमै भेटिएको बामु खँड्काको ११ औँ शताब्दीको अभिलेख (मोहन प्रसाद खनाल, २०६७, ‘नेपाली भाषाका हजार वर्ष’) नै अहिलेसम्म फेला परेको नेपाली भाषाको सबभन्दा पुरानो अभिलेख हो र त्यो देवनागरी लिपिमै लेखिएको छ ।

हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो लिपि त सिन्धु र सरस्वती नदीको बेँसीको लिपि हो । त्यस लिपिलाई पढ्न सकेको दाबी धेरैले गरेका भए पनि भारतीय विद्या शिरोमणि फिनल्यान्डका प्राध्यापक अस्को पर्पोला (१९९४ इ, ‘डिसाइफरिङ द इन्डस स्क्रिप्ट’) को विश्लेषण, व्याख्या र पठन सबभन्दा पत्यारिलो छ । प्राचीन ग्रिसेली अभिलेख (लिनियर ए र बी) पढ्न माइकल भेन्ट्रिस (१९५१ इ, ‘अ प्रिलिमिनरी एनालिसिस अफ लेङ्गवेज कन्टेन्ड इन द माइसेनियन आर्काइभ्ज फ्रम पाइलोस इन मेस्सेनिया’) ले अनि मेसोपोटामियाको लिपि र इजिप्टको लिपि पढ्न गेल्ब (१९५२ इ, ‘फन्डामेन्टल्ज अफ राइटिङ : द फाउन्डेसन्ज अफ ग्रम्याटोलोजी’, ‍१९७५ इ, ‘मेथड्ज अफ डिसाइफर्मेन्ट’) ले जुन विधि (रिबस प्रिन्सिपुल) को आविष्कार गरे, त्यही विधि अपनाएर पर्पोलाले हडप्पाको लिपि पढ्न प्रयोग गरेका छन् । पर्पोलाको विश्लेषणमा त्यहाँ द्रविड भाषा प्रयोग भएको छ ।

श्रीनिवास कल्याणरमण (२०१५ इ, ‘सरस्वती–सिन्धु सिभिलिजेसन एन्ड इन्टर्‍याक्सन्ज इन एन्सिएन्ट नियर इस्ट, युरेसिया एन्ड एन्सिएन्ट फार इस्ट’) ले चाहिँ ‘सरस्वती सभ्यता’ भन्ने एउटा परियोजनाको नेतृत्व गरी रहेका छन् । त्यस परियोजनामा पुरातत्त्वविद्, इतिहासकार, भाषा वैज्ञानिक, वैदिक र पौराणिक साहित्यका पण्डितहरू, संस्कृत, द्रविड र आग्नेय भाषाका पण्डित, मानव शास्त्री, समाजशास्त्री र लोकविद्याका विद्वान्हरू सबै संयुक्त रूपमा मिलेर काम गरिरहेका छन् । पर्पोलाले सिन्धु–सरस्वती बेँसीमा पाइएको भाषालाई द्रविड मात्र ठहराएका छन् भने, ‘सरस्वती सभ्यता’ परियोजनाले ‘रिबस सिद्धान्त’ कै आधारमा आएका निष्कर्षमा चाहिँ सिन्धु–सरस्वती सभ्यताले चलाएको लिपिमा अङ्कित भाषा विश्लेषणका आधारमा यस उपमहाद्वीपका आग्नेय, द्रविड र संस्कृत भाषा बोल्ने कलाकार र शिल्पकारहरूको साझे सम्पर्क भाषा भन्ने निकालेको छ । परियोजना अझै चालु छ, तर जे भए पनि सिन्धु–सरस्वती लिपिको देवनागरीको माउ लिपि ब्राह्मीसँग कुनै साइनो गाँसिएको छैन ।

लिपिको आविष्कार संसारमा सबभन्दा पहिले मेसोपोटामियामै भयो । पर्पोला (१९९४ इ, पृ. १८) ले संसारका प्राचीन लिपिको तुलनात्मक काल प्रकाशित गरेका छन्, जस अनुसार सुमेरियाली चित्राक्षर (इपू ३३००), इलामे चित्राक्षर (इपू ३१००), इजिप्टेली चित्राक्षर (इपू ३०००), हडप्पा लिपि (इपू २५००), सेमेटिक कखरा (इपू १६००), ग्रिसेली कखरा (इपू ९००) र ब्राह्मी अक्षर (इपू ३००) को क्रम देखिन्छ ।

पहिले पहिले युरोपेलीहरूले उनीहरूको जस्तो कखरात्मक लिपिलाई सबभन्दा विकसित लिपि ठहराएका थिए, तर आज वर्ण विज्ञान र स्नायु विज्ञानले चाहिँ अक्षरलाई जुनसुकै भाषाका व्याकरणको आधारभूत एकाइ ठहराएकाले चिनियाँ, जापानी र देवनागरी जस्ता एक मुल्को सासमा एउटा अक्षर उच्चारण गर्न सकिने लिपि नै कखरात्मकभन्दा आदर्श र मौलिक मानिएको छ ।

मेसोपोटामियामा सार्गोन (इपू २३००–२२००) ले शासन गरेका बेलामा सिन्धु बेँसी र मेसोपोटामियाका बीचमा सामुद्रिक र स्थल व्यापार भएको पुरातात्त्विक प्रमाण फेला परेको छ, जसमा हडप्पाका केही सर्दाम खाडीदेश र मेसोपोटामियामा र मेसोपोटामियाका सर्दाम सिन्धु बेँसीमा भेटिएका छन् । भगवान् शिव र सिंहवाहिनी भगवतीको साइनो पनि मेसोपोटामियासितै गाँसिने देखिन्छ (ब्ल्याक र ग्रिन, १९९८ इ, ‘डिक्सनरी अफ गड्ज, डेमोन्ज एन्ड सिम्बोल्ज अफ मेसोपोटामिया’) । मेसोपोटामियामा हडप्पाका मान्छेलाई ‘मेलुह्हा’ (म्लेच्छ ?) भन्दा रहेछन् । यसरी हडप्पाको लिपि पनि मेसोपोटामियाको लिपिको प्रभावमा विकसित भएको हो कि भन्ने अड्कल गर्न सकिने पनि ठाउँ छ ।

प्रकाशित : माघ ७, २०७९ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×