कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्यान्सर रोगबारे अनुसन्धान गर्दै काठमाडौं विश्वविद्यालय 

काभ्रे — काठमाडौं विश्वविद्यालयले क्यान्सर सम्बन्धी विशेष अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालयमा अवस्थित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी)ले क्यान्सर रोग समयमै पहिचान, उपचार  तथा अनुसन्धान गर्ने गरी विशिष्टकृत सेवा सुरु गर्ने कार्ययोजना अगाडि बढाएको हो ।

क्यान्सर रोगबारे अनुसन्धान गर्दै काठमाडौं विश्वविद्यालय 

वरिष्ठ रक्त रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई अंको हेमाटोलोजीको अध्यक्षको जिम्मेवारी प्रदान गरी विश्वविद्यालयले अनुसन्धान कार्य अघि बढाएको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा काठमाडौं विश्वविद्यालयमा स्थापित केन्द्रको स्वास्थ्य प्रयोगशालाबाट सुरुमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने विश्वविद्यालयले जनाएको छ । ‘अब समुदायसम्म कसरी क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने विषयमा बृहत् अध्ययन गरिनेछ,’ डा. झाले भने, ‘क्यान्सर पत्ता लगाउने सबै खाले जाँचहरु नेपालमै गर्न सक्ने गरी एनटीआईसीले आधुनिक प्रविधि ल्याइसकेको छ ।’

उनका अनुसार, नेपालबाट अधिकांश क्यान्सरका नमुनाहरू अन्य मुलुकमा रोग पहिचानका लागि विदेश पठाइँदै आइएको छ । ‘विदेश पठाइएका नमुनाको परीक्षण भएर रिपोर्ट आउन तीन/चार हप्ता लाग्ने गरेको छ,’ उनले भने, ‘परीक्षणका लागि पठाइएका नमुनाको रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा पार गर्ने खतरा हुने भएकाले विदेश पठाउने क्यान्सर परीक्षण नेपालमा नै गर्ने उद्देश्यले क्यान्सर रोग अनुसन्धान केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

भौतिक संरचना पूर्ण भए तापनि केही प्रक्रियागत व्यवस्थापश्चात् स्वास्थ्य सेवा सुरु गर्ने योजना बनाइएको एनटीआईसीका निमित्त निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले बताए । अब समुदायलाई आवश्यक यस्ता गम्भीर रोगका सेवाहरु प्रदान गर्न विश्वविद्यालय तत्पर रहेको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बताए ।


प्रकाशित : असार २५, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×