कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागु गर्न स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

भाद्र १३, २०८१

कान्तिपुर संवाददाता

Recommendation of the Task Force to the Minister of Health to implement a performance based incentive system

काठमाडौँ — संघीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गरेका थिए ।

सोही घोषणाको व्यवहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो ।

प्राध्यापक डा लोचन कार्की संयोजकत्वको पाँच सदस्यीय कार्यदलले बिहीबार मन्त्री पौडेललाई सुझाव प्रतिवेदन बुझाएको हो । प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता, लागू गर्न सकिने आधार, कारण र सम्भावित प्रतिफल तथा कार्यान्वयनका लागि विधि र मापदण्डसहित प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन ग्रहण गरेपछि मन्त्री पौडेलले अध्ययनपश्चात प्रतिवेदन कार्यान्वयनमा लैजाने घोषणा गरे । सामाजिक सञ्जालमा मन्त्री पौडेलले लेखेका छन्, ‘अस्पतालहरूमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने हाम्रो योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको छ । थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ 

प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने आवश्यकता, लागू गर्न सकिने आधार, लागू गर्नु पर्ने कारण, लागू भएमा प्राप्त हुने प्रतिफल तथा कार्यान्यवनका लागि आवश्यक विधि र मापदण्ड लगायत विषय वस्तु समेटेर प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

अहिले अस्पतालहरुमा जनशक्ति अभावका कारण सेवाको चाप बढिरहेका बेला मन्त्री पौडेलले स्वास्थ्य कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त सुविधा दिएर दुई सिफ्टमा सेवा सञ्चालन साथै थप सेवा विस्तार गर्ने लक्ष्य राखेका छन् ।

कान्तिपुर

Link copied successfully