कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० जनालाई संक्रमण

भाद्र १७, २०८१
डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० जनालाई संक्रमण

काठमाडौँ — देशभरि डेंगीका बिरामीको सङ्ख्या छ हजारभन्दा  बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको छ । 

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । यस्तै तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगी रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेंगी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना संक्रमण देखिएको छन् ।

उपत्यकामा छ सय ८०

काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेंगी संक्रमण देखिएको छ । जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगी संक्रमण देखिएको छ ।

वर्षाका बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ७५ जनामा

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

प्रकाशित : भाद्र १७, २०८१ २०:२९
x
×