कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एचआईभी जोखिममा रहेकालाई सुनसरी र पाल्पामा ‘प्रेप सेवा’

भाद्र २७, २०८१
एचआईभी जोखिममा रहेकालाई सुनसरी र पाल्पामा ‘प्रेप सेवा’

सुनसरी — एचआईभी संक्रमणको जोखिममा भएकालाई लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा सुनसरीमा पनि सुरु भएको छ । गत साता नेपालमै पहिलो पटक यो सेवा पाल्पामा पनि सुरु भएको थियो । नेपाल परिवार नियोजन संघहरुको अन्तराष्ट्रिय संगठन (आईपीपीएफ) को परियोजना अन्तर्गत पाल्पा र सुनसरी गरी नेपालका दुई जिल्लामा लागु गरिएको हो ।

नेपाल परिवार नियोजन संघको जिल्ला शाखा मार्फत यो परियोजना सुरु गरिएको हो । यहाँ संघको इटहरीस्थित कार्यालयको क्लिनिक मार्फत् सेवा सुरु भएको हो । सुनसरीलगायत छिमेकी जिल्लाका बासिन्दाले यो सेवाबाट लाभ पाउने संघकी इटहरी प्रमुख रानु राउतले बताइन् । राउतका अनुसार एचआईभी सक्रमण भई नसकेका तर उच्च जोखिम भएका व्यक्तिलाई लक्षित यो उपचार सेवाले फाइदा पुग्नेछ ।

विश्व स्वास्थ्य संगठनले प्रयोगमा ल्याएको यो सेवाले बैदेशिक रोजगारीमा गएर फर्किने जोखिममा परेका श्रमिकलाई समेत फाइदा पुग्ने राउतले बताइन् । एचआईभी सक्रमण भई एआरटी सेवा लिइरहेका व्यक्तिको यौन साथीलाई सबैभन्दा बढी फाइदा पुग्ने राउतको भनाई छ ।

यीबाहेक समलिंगी महिला तथा पुरुषले पनि लाभ पाउनेछन् । यौनकर्मी महिला वा पुरुषलाई पनि प्रेप सेवा दिन सकिनेछ । समाजमा कतिपय सुईबाट नशालु पदार्थ लिनेहरू तथा यौन रोगीलाई केन्द्रीत गरेर एचआईभी संक्रमणबाट बचाउन सुरु भएको यो सेवा प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।

यो सेवा प्रदान गर्नका लागि १० जना मेडिकल अधिकृत साथै सामुदायिक स्वयंसेवक नियुक्त भइसकेको परिवार नियोजन संघ इटहरीले जनाएको छ । प्रेप उपचार सेवा रोग लाग्नुभन्दा अगाडि नै लक्षणको आधारमा गरिने उपचार विधि हो । दैनिकरुपमा हुने यो सेवा पूर्ण गोपनीयताका साथ गरिने जनाइएको छ ।

प्रेप मुखबाट खाने औषधि भएकाले दैनिक रुपमा एक गोली सेवन गर्नुपर्ने र एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्नका लागि कण्डम भने प्रयोग गर्नुपर्ने कार्यलय प्रमुख राउतले बताइन् ।

प्रकाशित : भाद्र २७, २०८१ १९:२४
×