बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर...- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकेश्‍वरबाट यमलोक हुँदै नेवारबहादुर र बाहुनबहादुर...

मित्रता भर हो, घर हो, डर हो : मदनकृष्ण श्रेष्ठ
रीना मोक्तान, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — सहकार्य र सहयात्राको ४१ औं वर्ष । यो जोडीले पञ्चायत, बहुदल र गणतन्त्र देख्यो । रंगमञ्चमा जन्मिएका यी दुईले एकअर्काका हात समाएर यात्रा सुरु गरे । उनीहरुको सहकार्य साथ, भरोसा र विश्वासबाट सुरु भयो । उदाहरण बने असल मितत्राको, अनि बलियो साथको । यी दुई परिवर्तनका वाहकमात्र बनेनन् हास्यव्यंग्यको नबिर्सने इतिहास बने । दर्शकको ताली र हाँसोमा जन्मिएको यो जोडी हो 'मह' । 

सहयात्राको ४१ वर्षलाई फर्केर हेर्दा हरिवंश अचम्म मान्छन् । '४१ वर्ष भयो र ! भर्खर १० वर्ष भएजस्तो लाग्छ । ४१ वर्ष सहयात्रा गर्न सकेको हुनाले दर्शकले ठूलो इज्जतको दृष्टिले हेर्छन् । मायाको दृष्टिले हेर्छन् । जातीय सद्भा‌वको दृष्टिले हेर्छन् । ४१ वर्षभित्र हामीले जीवनको ४१ अर्ब स्याबासी पाएका छौं,' महको 'ह' सुनाउँछन् ।

शरीरले साथ दिउन्जेल सहयात्रामा रोकिन चाहँदैनन् उनीहरु । यी दुई मित्रताको 'लोगो' बन्न चाहन्छन् । चार दशक लामो यात्राले उनीहरुलाई आफू राजनीतिभन्दा माथि रहेको आभास गराएको छ । नेपालको राजनीतिमा सहयात्राको संस्कार बसेन । २ तिहाई बहुमत जनताले दिँदाखेरी पनि मिलेर बस्न सकेनन् । तर यी दुईले ४० वर्ष एकसाथ बिताइसके । कति यात्रा त बिर्सिसके, कति मानसपटलमा धमिला याद बनेर बसेका छन् ।

सहयात्राको सुरुवातका वर्ष सम्झँदा मदनकृष्णलाई भने कति काम पूर्वजन्ममा गरेझैं लाग्न थालेको छ । जन्मनु अगाडि नै हरिवंशसँग चिनाजानी भएर कार्यक्रम गर्दै हिँडेको कल्पन्छन् उनी हिजोआज । 'आफूले आफैंलाई हेर्दै गर्दा सानो-सानो देख्छु । धन्य भगवान् ! हामी दुईले सहयात्रा गर्न पायौं । दुवैजना कला क्षेत्रमा समर्पित, यही लगावले यत्तिका वर्ष सँगै हिँडिरहेका छौं,' ७१ वर्षीया मदनकृष्ण सुनाउँछन् ।

कतिपय सहयात्राहरु आम्दानीमा अडिएका हुन्छन् । तर 'मह'को सहयात्रा आम्दानीभन्दा माथि बन्यो । मदनकृष्ण भन्छन्, 'पार्टनरहरु सुरुमा आम्दानी नभएसम्म खुब दु:ख गर्छन् । एकले अर्कालाई माया गर्ने, एक कप चियासँगै खानलाई कुर्ने गर्छन् । तर जब आम्दानी हुन थाल्छ । तब मनमा कुरा खेल्छ, उसले भन्दा मैले बढी पाउनुपर्छ, ऊ भन्दा म राम्रो । अनि झगडा सुरु हुन्छ । त्यस्तो दिनहरु हाम्रो यात्रामा आएन । मैले हरिवंशलाई एक पैसा पनि गद्दारी गरेको छैन । हरिवंशले पनि मलाई कहिल्यै गद्दारी गरेन ।'

एकअर्कासँग इमान्दार भएरै अगाडि बढ्यो 'मह' । पञ्चायत व्यवस्थाको व्यंग्य गर्दै बहुदलको पक्षमा उभियो । बहुदलीय व्यवस्थामा नेताहरु गाली गर्दै चिच्याएर भाषण गर्थे । महको लागि हास्यव्यंग्य भाषणको माध्यम बन्यो । गणतन्त्रमा देखिएका उच्छृंखल तत्व र नकारात्मक क्रियाकलापविरुद्ध महको व्यंग्य रोकिएको छैन । 'विपक्षी दलले संसद्‌मा गर्ने भूमिका हामीले बाहिर बसेर गर्‍यौं । हास्यव्यंग्य भनेको बाहिरको विपक्षी संसद् हो । हामीले त्यो पुस्तादेखि अहिलेसम्म व्यंग्यलाई निरन्तरता दिइरहेका छौं । त्यो हाम्रो उपलब्धि हो,' हरिवंशले भने ।

'मह'भन्दा अगाडिको जोडी 'हाडापाल'को हास्यव्यंग्यको अवशेष भेटिन गाह्रो पर्छ । 'मह'ले भने क्यासेट, रेडियो, टेलिभिजन, युट्युबमा आफ्नो व्यंग्यको रेकर्ड राख्न पाए । यसमा आफूलाई भाग्यमानी ठान्छन् उनीहरु । 'हामीभन्दा पहिलाको पुस्ताले पनि व्यंग्य गर्नुहुन्थ्यो । उहाँहरुले गरेको हास्यव्यंग्य रेकर्ड भएन । बिलाएर गए । तर हामी यति भाग्यमानी भयौं कि हामीले हाम्रो हास्यव्यंग्य रेकर्ड गर्न पायौं,' हरिवंशले भने, '४० वर्ष अगाडि हामीले गरेको हास्यव्यंग्यलाई अहिलेका बालबालिकाले हेर्न पाएका छन् । हामीले गरेको हास्यव्यंग्यले दर्शकलाई आकर्षित गर्नसक्यो । त्यो बेलाको पुस्तादेखि अहिलेका बालबालिकासम्मले हामीलाई चिन्छन् । यो हाम्रो उपलब्धि हो ।'

यात्राका दौरान मदनलाई पार्किनसन्सले छोयो । हरिवंशको साथकै कारण उनी शरीरलाई चुनौती दिँदै कर्ममा डटेर लागिरहेका छन् । यो ४१ वर्ष कसरी बित्यो उनलाई पत्तो छैन । 'एक्लै हिँडेको भएँ सेलाइसक्थें, थाकिसक्थें । एकजना साथीको सहयोग पाएकोले म अझै पनि हिँड्न सक्दै छु,' उनले मुसुक्क हाँस्दै सुनाए ।

कलाकारिताले नै उनी दुईलाई एक बनायो । मन मिल्ने मित्र बनायो । त्यो मित्रतामा कहिल्यै 'अहंकार' दुस्मन बनेन । 'अहंकार' पन्छाएर हिँडेपछि मित्रता र सहयात्रा दीगो बनेको उनी दुईको विश्लेषण छ । 'मैले मदन दाइलाई जानेर बुझेर केही कुरामा बेइमानी गरिनँ । उहाँले पनि मसँग बेइमानी गर्नुभएन । काँचको भाँडा जस्तै हामीले सम्बन्धलाई ख्याल गरेर बोकेर हिँड्यौं । खसालेनौं । खस्यो भने फुट्छ भन्ने कुरा मनमा रहेकाले यो यात्रा निरन्तरता हुनसकेको हो,' हरिवंश सुनाउँछन् ।

'त्यो ९० मिनेटको कार्यक्रम'

त्यतिबेला मदनकृष्ण नेवारी समुदायमा चर्चित बनिसकेका थिए । उनी 'दबु प्याखँ'मा गीत गाउँथे, जोक सुनाउँथे । 'मदनकृष्णले हँसाउँछ, मीठो गीत गाउँछ' भन्ने तारिफ सुनेका थिए हरिवंशले । उनलाई पनि हास्यव्यंग्यमा रुची । हास्यव्यंग्य सिक्दै थिए त्यतिबेला । 'दबु प्याखँ'मा मौका पाइएला कि ? भन्दै उनी कार्यक्रम हेर्न जान्थे । 'दबु प्याखँ'मा मदनले जोक सुनाउँदा भीड हाँसिरहेको हुन्थ्यो । उनी नेवारी भाषा आधामात्र बुझ्थे । सबै हाँसेको देखेर उनलाई पनि व्यंग्यमै लाग्ने रहर जाग्यो ।

२०३४ मा प्रज्ञा भवनमा 'गाईजात्रा महोत्सव' हेर्न पुगेका थिए हरिवंश । मञ्चमा 'जागिरदारलाई बाँच्न झन् झन् गाह्रो भयो' भन्ने गीत गाएका थिए मदनकृष्णले । त्यतिबेला उनले निश्चय गरे, 'यस्तो कार्यक्रम म पनि गर्न सक्छु ।' अर्को वर्ष 'गाईजात्रा महोत्सव'मा भाग लिने अवसर जुर्‍यो । त्यतिबेला एउटै मञ्चमा मदनकृष्णले पनि प्रस्तुति दिए । त्यो वर्ष हरिवंशले मेडल जिते । दुईबीच सामान्य चिनाजानी भयो । गोरखापत्रमा नाम निस्कियो भने निकै चर्चा कमाइने बेला थियो त्यो । महोत्सवकै कारण गोरखापत्रमा हरिवंशको फोटो छापियो । लगातार २/३ वर्ष गाईजात्रामा एक्लैले व्यंग्य प्रस्तुत गरे ।

२०३७ मा नेपाल राष्ट्र बैंकको रजतजयन्ती समारोहमा व्यंग्य प्रस्तुत गर्न गायक रुवी जोशीले मदन र हरिलाई छुट्टाछुट्टै बोलाए । राजाले हेर्ने भनेपछि कार्यक्रमको समय छोट्याइयो । रुवीले नै उनी दुईलाई मिलेर एउटै प्रस्तुति दिन लगाए ।

दुईले पहिलोपटक एउटै मञ्चमा 'बैंकेश्वर' शीर्षकमा व्यंग्य प्रस्तुत गरे । बैंकको पैसा सापटी लिएर भैंसी किन्ने तर, पैसा नतिर्ने विषयवस्तुमा व्यंग्य गरे । 'घरचाहिँ कहाँ नि ? बानेश्वर । ससुराली कहाँ नि ? ज्ञानेश्वर । मामाघर कहाँ नि ? त्रिपुरेश्वर' भन्ने संवादहरुले दर्शक हँसाएको सम्झना उनीहरुसँग अझै बाँकी छ ।

उक्त कार्यक्रमलगत्तै 'गाईजात्रा महोत्सव' आयो । 'यसपाली गाईजात्रामा दुईजना मिलेर व्यंग्य गरौं न' भन्ने दुवैबीच सहमति भयो । त्यसपछि दुईले 'यमलोक' भन्ने प्रहसन देखाए । यमलोकलाई क्यासेटमा रेकर्ड गराए । यमलोक ३० मिनेटको भयो । त्यसमा 'प्यारालाइसिस' भन्ने अर्को कार्यक्रम थपे । क्यासेट निकाल्दा नेपालमा यस्तो व्यंग्य हुन्छ भनेर कसैले कल्पना गरेका थिएनन् । क्यासेटले दर्शकमा अत्यधिक प्रभाव छोड्यो । १ लाख ५० हजार क्यासेट उनीहरुले बेचे । त्यही क्यासेटको आम्दानीले घर बनाए । त्यसपछि उनी दुई एक्लिन सकेनन् । दर्शकले उनीहरुलाई एक्ला-एक्लै देख्न रुचाएनन् । आफूहरु बाँधिनुमा उक्त क्यासेटको बिक्रीलाई पनि महत्वपूर्ण ठान्छन् महजोडी ।

'त्यो कार्यक्रम सफल नभएको भए हामी आफ्नो-आफ्नो बाटो लाग्थ्यौं होला । त्योबेला सफलताको उदाहरण बन्यौं हामी । दर्शकले हामीलाई एउटै सोच्न थाल्नुभयो । हामीलाई छुट्टिनुपर्ने आवश्यकता नै भएन,' हरिवंश सुनाउँछन् ।

त्यतिबेला उनी दुई ६ बजे अफिस पुगेर ९ बजेसम्म स्क्रिप्ट लेख्थे । ९ बजेपछि जागिरे हुन्थे । 'एकदम जोकर थियो हरिवंश । बोल्यो कि हँसाउने । मुख नै हाँसोउठ्दो । गोलो गोलो आँखा, सुकेको ज्यान । यसरी भुँडी लागेको पनि थिएन,' मदनले हरिको पेट देखाउँदै सुरुवाती दिनका हरिवंशलाई सम्झे ।

'भुँडी तपाईंले नै लगाइदिनुभएको हो । त्यतिबेला खाना नै पुग्दैन थियो कहाँबाट मोटाउनु,' मदनले पेटको प्रसंग जोड्ने बित्तिकै हरि बोली हाले । सँगै व्यंग्यको यात्रा थालेदेखि उनी दुईले मिहिनेत गर्न थाले । '२ जना भएपछि शक्ति बढ्यो । २ बुद्धिको सदुपयोग गर्न पायौं । काम गर्न सजिलो भयो । म थाक्ने बेलामा हरिवंशले घिसारेर लान्छ मलाई,' मदन सुनाउँछन् ।

त्यतिबेला जिल्ला जिल्लामा कार्यक्रम हुन्थ्यो । उनी दुई स्क्रिप्ट लेख्ने, अभ्यास गर्नेमात्र होइन कार्यक्रम देखाउने समूहलाई पनि सम्पर्क गर्थे । बस रिजर्भ गरेर साउन्ड स्पीकर आफैं लोड गर्थे । कार्यक्रम गर्ने स्थल पुगेर सामान अनलोड गरेर स्टेज आफैँ बनाउँथे । आफैंले गेटअप/मेकअप लगाएर स्टेजमा उत्रन्थे । प्रस्तुति दिइसकेपछि स्टेज भत्काउने काम पनि आफैं गर्थे ।

त्यो बेला स्क्रिप्ट सरकारलाई बुझाउनुपर्थ्यो । सेन्सर कडा हुन्थ्यो । उनी दुईको कार्यक्रम भनेपछि त सीडीओले सोझै कार्यक्रम हेर्थे । व्यवस्थालाई व्यंग्य गर्न पाइँदैन थियो । उनी दुई सरकारलाई एउटा स्क्रिप्ट दिन्थे अर्को स्क्रिप्टमा प्रस्तुति दिन्थे । 'व्यंग्य गर्‍यो कि आउँथ्यो । भाग्नुपर्थ्यो त्यसैले हामी क्यासेटमा त्यसलाई रेकर्ड गरिहाल्थ्यौं । सरकार र हामीबीच टम एन्ड जेरी जस्तो लुकामारी चल्थ्यो,' हरि पूराना दिन सम्झँदै सुनाउँछन् ।

यो लामो यात्रामा ठाक्कठुक्क नपरेको होइन । तर उनी दुईले त्यसलाई सकारात्मक रुपमा लिँदै अगाडि बढे । 'तँ त साह्रै बिग्रिस नि बद्री' फिल्मतिर हरिवंश व्यस्त हुँदा 'मह' फुटेको चर्चा पनि चल्यो । तर मानिसहरुमा 'मह' फुट्ला भन्ने चिन्ताले नै त्यस्तो हल्ला चलेको उनी दुईको ठम्याई छ । 'ठाक्कठुक्क दिनका दिन पर्छ । हरिले एउटा भन्छ, म अर्को भन्छु । सकारात्मक कुराका लागि ठाक्कठुक्क परेको हो । नराम्रो कुरालाई हामीले वास्तै गरेनौं,' मदनले भने, 'मैले हरिवंशबाट राम्रो के पाएँ भनेर सोच्छु । सानो कुराहरु झिनामसिनोमा जान्छ । हामी पनि मानिस हौं । हामीबाट पनि गल्ती हुन्छ । आवेश हुन्छ, सबै गुण हामीसँग । सकारात्मक पक्षलाई हेर्ने आँखा छ हामीसँग, त्यो नै बलियो पक्ष हो ।'

'मह'

'मह' उनी दुईले राखेका नाम होइनन् । एउटा विज्ञापन नाटकको उद्घोष गर्दा हास्य कलाकार राजाराम पौडेलले उनी दुईलाई यो नामले बोलाएका थिए । राजारामले पहिलोपटक उनी दुईलाई 'मह' भनेर सम्बोधन गर्दा मदनलाई त सुरुमा लागेको थियो, 'हामी यहीँ छौं, हाम्रै अगाडि अर्कैको नाम लिइदियो ।' तर राजारामले 'मह'को पूरा नाम सुनाएपछि दर्शक गललल हाँसे । सबैले ताली बजाए । उनी दुईलाई पनि त्यो नाम मनपर्‍यो । त्यसयता उनी दुईलाई मञ्चमा 'मह' भन्दै बोलाउन थाले । उनीहरुले आफ्नो कार्यालयको नाम नै 'मह संचार' राखेपछि यसले छुट्टै पहिचान पायो ।

'मह'ले यो यात्रामा राजनीतिक मात्र होइन हास्यव्यंग्यको परिवर्तनसमेत देख्यो । डबली (दबु प्याखँ) को व्यंग्यदेखि स्टेज, रेडियो, टेलिभिजन हुँदै डिजिटलसम्मको हास्यव्यंग्य देख्यो । टेलिफिल्म बनाउँदाको एउटा क्षण हरिवंश कहिल्यै बिर्सन सक्दैनन् । जब उनीहरुको टेलीफिल्म प्रसारणको समय हुन्थ्यो । हरिवंश डिल्लीबजारको गल्लीगल्ली विस्तारै बाइक लिएर जान्थे । त्यसरी दर्शकको हाँसोले उनीहरुलाई प्रतिक्रिया र उर्जा दिन्थ्यो ।

सरकारको विरुद्धमा बोल्न नपाउने बेलामा 'मह'ले राजनीतिक विषयवस्तुमा व्यंग्य बनायो । अहिलेका नयाँ पुस्ताले भने सोझै व्यंग्य गर्न व्यक्तिको नाम उच्चारण गरिरहेका हुन्छन् । हरिवंश नयाँ पुस्ताले घुमाएर व्यंग्य गर्नुपर्ने धारणा राख्छन्,' पहिले-पहिले हामीले प्रतिकात्मक रुपमा व्यंग्य गर्नुपर्थ्यो । अहिले नामै तोकेरै भन्छन् । नाम चाहिँ नलिइदिए हुन्थ्यो भन्ने लाग्छ । हास्यव्यंग्य भनेको यस्तो होस् कि जसको विषयमा मैले सिम्बोलिक व्यंग्य गरें, त्यो व्यक्तिको पनि इज्जत नजाओस् । नामै तोकेर भनिदिँदा सजिलो माध्यम हो कि मिहिनेत गर्नु नपर्ने हो कि जस्तो लाग्छ ।'

उनी अहिलेको व्यंग्य ५० वर्षपछि पनि बुझ्ने किसिमको हुनुपर्ने बताउँछन् । 'क्षणिक व्यंग्य नहोस् । हामी जन्मनुभन्दा अगाडिको गीत अहिले पनि कर्णप्रिय छ । यस्तो चिज बनोस् कि पछि आउने पुस्ताले त्योबाट सिकुन्, पच्छ्याउन् । त्यस्तो कलात्मक हास्यव्यंग्य सिर्जना गर्नपट्टि नयाँ पुस्ता लाग्नुपर्छ,' उनले भने, 'पहिले पहिलेका घाँसी, मेलापातका गीतमा दुईअर्थी शब्द प्रयोग हुन्थ्यो । हामीले त्यसलाई अनुशरण गरेनौं । हामी त्यसलाई ठ्याक्कै छोडिदियौं । अहिले पनि कतिले व्यंग्यमा त्यसको प्रयोग गर्छन् । क्षणिक चर्चाका लागि त्यस्तो शब्दको गरिरहेका हुन्छन् । त्यस्ता कुरा दीगो हुँदैन ।'

पार्किनसन्सका कारण मदन पहिलाको जस्तो उभिन र उफ्रिन नसक्ने भएका छन् । आत्मबल उच्च भए पनि शरीरमा बलको कमी भएको छ । बोली पनि तिख्खर छैन । तर, उनी दुई अहिले पनि व्यस्त छन् । हरिवंशको साथले नै ७० कटिसके पनि आफूले कामलाई निरन्तरता दिनसकेको मदनकृष्ण सुनाउँछन् ।

तपाईंहरुका लागि मित्रता के हो ?

'मित्रता विश्वास हो । अनुशासन हो । म मदन दाइलाई जहिले पनि तपाईं भनेर आदर गर्छु । उहाँले मलाई तिमी भनेर आदर गर्नुहुन्छ । उहाँले आदर गर्नुभएन भने म भाँडिहाल्छु । अनुसाशसनभित्र हिनामिना, थिचोमिचो हुँदैन,' हरिवंशले जवाफमा भने । उनको उत्तरमा थप्दै मदनकृष्णले भने, 'मित्रता भर हो । घर हो । डर हो ।'

प्रकाशित : भाद्र १८, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

कचौराबाट 'सरगम' का सुर निकाल्ने निरन [भिडियो]

केही नयाँ सिक्ने खुलदुलीले नै निरनलाई जल तरङ्गसँग जोड्यो । अहिले जलतरङ्ग उनको बानी बनिसक्यो । उनी आफ्नो व्यवसायबाट समय निकालेर कचौराको धुनहरुमा मग्न हुन्छन्
रीना मोक्तान, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — सिसा या माटोको भाँडा देख्ने बित्तिकै निरन श्रेष्ठको हात चलमलाई हाल्थ्यो । सानो लठ्ठीले ट्वाङटुङ हान्थे, भाँडोको आवाज सुन्न । एकदिन आफ्नो कपडा पसल छेउको दोकानबाट चिया मगाएर पिउँदै थिए ।

खाली ग्लासतिर निरनको ध्यान मोडियो । सानो लठ्ठीले ग्लासलाई ठटाए । धुन निस्कियो । आफूले लामो समयदेखि खोजिरहेको धुन त्यही चियाको ग्लासमा पाएपछि झट्ट दिमागमा योजना बन्यो, 'अब चिया साहुजीलाई ग्लास फुट्यो भन्दिन्छु । अर्को नयाँ किनेर दिन्छु ।'

निरनले चिया साहुलाई त्यसै भनिदिए । नयाँ ग्लास किने तर त्यसमा पनि खोजेजस्तै धुन भेटियो । त्यसपछि भने अर्को नयाँ ग्लास किनिदिए। बाउल (कचौरा) संगीत सिक्दाको सुरुआती दिन सम्झँदा निरनलाई यही घटनाको खुब याद आउँछ ।

२०७२ सालअघि निरनलाई कचौरा संगीत/जलतरङ्ग भन्ने के हो ? थाहै थिएन । ०७२ को भूकम्पपछि क्लासिक कलेज इन्टरनेस्नलबाट १२ को परीक्षा सके । परीक्षा दिनेबित्तिकै उनलाई संगीत सिक्ने भूत चढ्यो । भ्वाइलेन बजाउन अति नै मनपर्ने । परीक्षा सकिएको भालिपल्टै साधना कला केन्द्रमा भ्वाइलेन सिक्न गए । त्यहाँ भ्वाइलेनको प्रशिक्षक नभएर किबोर्ड सिक्न थाले । पाँच महिना किबोर्ड सिके त्यसपछि बाँसुरी । संगीतप्रेमी साथीहरुसँग घुलमिल बढ्न थाल्यो ।

नाचघरमा ६ महिनाको संगीत कक्षा लिए । भ्वाइलेनको सुरुआती (बिगनर लेसन) कक्षा पनि लिए । त्यही अन्तरालमा एकदिन सामाजिक सञ्जाल चाहर्दै गर्दा चीनका बालबालिकाले कचौराबाट संगीत निकालेको भिडियोले संयोगवश हेर्न पुगे ।

'यो त म पनि बजाउन सक्छु,' भिडियो हेर्ने बित्तिकै उनलाई लाग्यो । त्यसपछि घरको भान्सामा छिरे । बजाउन मिल्ने सबै ग्लास निकाले । ग्लासको आकारअनुसार आवाज फरक-फरक निस्कियो । सानो ग्लासले चर्को अनि ठूलो ग्लासले धोत्रो आवाज दियो । ग्लासहरुमा 'सरगम' निकाल्न खोजे । त्यसपछि सुरु भयो 'सरगम'का लागि ग्लासहरुको खोजी । बजार चहार्न थाले । लामो समय बजार डुलेपछि आफूलाई चाहिने धुन बज्ने ग्लास भेट्टियो ।

एक महिनाको अन्तरालमा चिया पिउने ग्लासहरुबाट संगीतका सुरुहरु निकाल्न थाले निरनले । ग्लासबाट धुनहरु निकाल्न सुरु गरेको लगभग एक वर्षपछि उनले माटोको (सेरामिक्स) कचौरा बजाउन थाले । चित्तबुझ्दो धुन ग्लासमा नभेटिएपछि माटोको भाँडामा धुन खोज्न थाले ।

'कचौराबाट संगीत निकालेको देखेको थिएँ । तर कचौरा कहाँ किन्ने थाहा थिएन । कचौरा कसरी किन्ने भइरहेको थियो । मेरो पसल न्यूरोडमा थियो । त्यहाँ नजिकै सेरामिक्सको भाँडा पसल थियो । त्यसबाट आवाज निकाल्दै सुन्न त मलाई सुनसान पसल चाहिने भयो । त्यसैले धेरै ठाउँमा सेरामिक्सको पसल खोजेँ,' निरन सुनाउँछन् ।

ग्राहक नभएको पसल देख्ने बित्तिकै कचौराबाट आवाज निकाल्दै सुन्थे निरन । कति पसले उनको व्यवहार देखेर छक्क पर्थे । हप्ताको दुई दिन त उनी कचौरा खोज्न बजार पुगिरहेकै हुन्थे । बिस्तारै उनले मोटा कचौराहरु बटुले । साना कचौरा पनि थुपारे । ती कचौरा ट्यून गर्न थाले । त्यसपछि उनले ती कचौरामा 'सरगम'का धुनहरु पाए । लामो समय बजार डुलेर प्रत्येक 'सरगम'का धुनहरु बज्ने कचौरा भेटिएको निरन सुनाउँछन् ।

'सुरुमा मैले ल्याएको कचौरामा भाइब्रेसन थिएन । त्यसपछि म बजार डुल्न थालें । जे होस् मैले राम्रो बुट्टा भएको सेरामिक्सको कचौराहरु पाएँ । त्यसबाट धुन पनि मिठ्ठो बज्न थाल्यो,' २५ वर्षीय निरन सुनाउँछन् ।

आफूले खोजेको जस्तो कचौरा भेट्टाउँदा एकैदिन २५ भन्दा बढी कचौरा किनेका छन् उनले । लामो धैर्यपछि ती धुनहरु बज्ने कचौराहरुको संकलन गरिएको निरनको भनाइ छ । 'मैले धैर्य गरेँ । आफूले सोचेको जस्तो धुनको कचौरा खोज्न हप्ताको २ पटकसम्म बजार धाउन थालें । पाउँछु कि भन्ने आसले सबै पसलहरु चाहर्थें । नयाँ-नयाँ पसलमा जान्थे ।

कहिले त एक महिनासम्म डुल्दा पनि त्यस्तो कचौरा भेटिएन,' निरन सुनाउँछन्, 'एकदिन महाबौद्धमा एकजना बुवाले संगीतकै लागि पहिले उनको पसलमा कचौरा खोज्नेहरु आएको कुरा सुनाउनुभयो । मैले उहाँलाई त्यस्तै कचौरा देखाउनु भने । मैले त्यहाँ खोजेजस्तो धुनहरुको कचौरा पाएँ । त्यो पसल मेरो लागि फाप्यो ।'

निरनले अझै खोजेको जस्तो धुनका कचौराहरु भेटिसकेका छैनन् । त्यसैले अहिले पनि उनी बजार डुलिरहन्छन् । आफूलाई चाहिने धुनहरु उनी कचौरा पानी हालेर निकालिरहेका छन् । पानी हालेर कचौरा बजाउँदा पानी उछिट्टिने हुन्छ । कहिले एउटै एउटै किसिमको कचौराले पनि फरक-फरक धुन दिइरहेको हुन्छ । त्यसैले अझै निरन सेरामिक्सका भाँडा पसलहरु चहारिरहेका हुन्छन् । हिजोआज कति सेरामिक्स पसलका साहुहरुले उनको भिडियो युट्युबमा देखेको प्रतिक्रिया दिन्छन् ।

सुरु-सुरुमा कचौराबाट धुन निकाल्न उनी ड्रम स्टिक(ड्रम बजाउने लठ्ठी)ले कचौराहरु बजाउँथे । त्यसरी बजाउँदा कचौरा चर्किने र फुट्ने हुन्थ्यो । कचौरामा प्रेसर परोस् भनेर सानो लठ्ठीले बजाउन थाले । तर त्यसबाट चाहेजस्तो धुन निस्किएन । नाइलनको रडले कोसिस गरे, आवाज मिठो भएन । त्यसपछि अन्तमा चप स्टिकलाई उल्टो भागमा टेप बाँधेर बजाए । त्यसपछि चित्तबुझ्दो आवाज निस्कियो । अहिले उनी चप स्टिकबाट नै जलतरङ्ग बजाउँछन् ।

केही नयाँ सिक्ने खुलदुलीले नै निरनलाई जलतरङ्गसँग जोड्यो । अहिले जलतरङ्ग उनको बानी बनिसक्यो । उनी आफ्नो व्यवसायबाट समय निकालेर कचौराको धुनहरुमा मग्न हुन्छन् । सेरामिक्सको भाँडामा लेउ लाग्यो अथवा फोहोर लाग्यो भने यसबाट मीठो धुन बज्दैन । त्यसका लागि कचौराहरु सफा गरिरहनुपर्छ । उनलाई कचौरा सफा गर्न भने झन्झट लाग्दोरहेछ । 'फोहोर लागिरहेको हुन्छ । सफा गर्न पनि समय लाग्छ । लेउ लाग्दा आवाज नै आउँदैन । सुरु-सुरुमा कोलिनले सफा गरे । साबुनले पनि धोएँ तर सफा भएन । के-के लगाएर सफा गर्ने कोशिस गरें । अन्तमा हर्पिकले सफा गरेको मज्जाले फोहोर गयो,' हाँस्दै सुनाउँछन् ।

निरन आफैंले यो कचौरा संगीत बजाउन सिकेका हुन् । नेपालमा माइला डंगोल, नवीन जोशी, मिलन तन्डुकारले जलतरङ्ग बजाउँछन् भन्ने सुनेका थिए । तर उनले कतैबाट यो संगीत सिकेनन् । यसका लागि अन्य बाजाबाट सहयोग लिए । बाँसुरी, किबोर्ड र भ्वाइलेनको धेरथोर सिकाइलाई यसमा प्रयोग गरे । आखिर जुन वाद्यवादन बजाए पनि संगीतको ज्ञान त एउटै हो । उनले आफूसँग भएको संगीतको ज्ञानको आधारमा कचौराबाट धुनहरु निकाले ।

अहिलेसम्म तीन कार्यक्रममा निरनले कचौरा संगीतको प्रस्तुति दिएका छन् । धादिङ महोत्सवमा उनले आफ्नो पहिलो प्रस्तुति दिएका थिए । त्यहाँ मानिसहरुको भीड ठूलो थियो । भीडमा कचौराको धुन हराइरहेको थियो । उनले बेस्सरी आवाज निकाल्न कचौरा बजाउँदा तीन कचौरा फुटे । त्यहाँ उनले गीतहरुमाथि धुन बजाउन सकेनन् ।

आफैंले केही धुनहरु निकाले । भ्रमण वर्ष २०२० को बौद्धको कार्यक्रममा भने त्यस्तो समस्या झेल्नु परेन । महामारीबीच नै एउटा अविरल समूहको अनुरोधमा भर्चुअल रुपमा उनले आफ्नो कचौरा संगीतको प्रस्तुति दिए ।

पुरानो नैकाप खड्गा गाउँका निरन कचौरा संगीतलाई 'प्यासन'को रुपमा बजाउँदै आएका छन् । 'जतिले यो संगीत गर्नुहुन्थ्यो उहाँहरु यसमा सक्रिय देख्दिन । तर म त युवा हुँ, हामीजस्ता युवालाई निरन्तरता दिइरहन मनलाग्छ नि ।

मैले यसैलाई व्यावसायिक बनाउने सोचेको छैन । तर प्यासनको रुपमा बजाउँदै आएको छु । त्यसरी नै अगाडि बढाउन चाहन्छु, 'निरनले भने, 'भोलि यही बाजाले साथ धेरै दियो भने यसमै व्यावसायी बन्न सकिन्छ । अहिले आफ्नो मनोरञ्जनका लागि बजाइरहेको हुन्छु ।' भविष्यमा उनलाई कचौराबाट आफ्नै संगीतहरु कम्पोज गर्ने मन छ ।

अहिले निरन हप्ताको एउटा नेपाली गीतमाथि कभर बनाएर भिडियो राख्छन् । पहिला गीतका स्केल रोज्छन्, नोटहरु खोज्छन् । रेकर्ड गरेर युट्युबमा राख्छन् ।

अरु बाजा र जलतरङ्गमा के फरक छ ?

'यो संगीत पानीबिना बज्दैन अरु त पानीबिना बज्ने भयो,' उनले जवाफमा भने, 'गीतार त धेरैले बजाउने भए । बाँसुरी पनि धेरैले बजाउँछन् । तर कचौरा बजाउने त छैनन् । आफैंले धुन निकालेर यो संगीत बजाउन झन्झट हुन्छ । यो त छैटौं सातौं सताब्दीतिर सुरु भएको हो । इलेक्ट्रोनिक बाजा आएसँगै यो बाजा लोप भएको हो । अहिले यसको संरक्षण नै प्रमुख कुरा हो,' उनले भने ।

'पागल भन्छन्'

सुरुआतमा ग्लासहरु बजाएको देख्दा निरनका छिमेकी छक्क पर्थे । अहिले भने उनीहरुले निरनको प्यासनलाई बुझेका छन् । हिजोआज कहिलेकाहीँ टिकटक भिडियो राखिरहेका हुन्छन् ।

तर धेरैले उनलाई 'नाटक' गरेको भन्दै कमेन्ट गर्छन् । 'कतिले त्यसलाई नक्कली हो भनिदिन्छन् । यो नाटक हो भन्छन् । कचौरा वरपर फैलाएर अरु नै धुन बजाउँछन् पनि भन्नेहरु छन् । कतिले यो पागल हो । पागलहरुले यस्तो गर्छ भन्छन्,' निरनले सुनाए ।

प्रकाशित : भाद्र २, २०७८ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×