कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्छीमायाको भान्सा

सरिता श्रेष्ठ

धादिङ — कोरोना संक्रमणको पहिलो लहरका बेला जतासुकै त्रास थियो । नीलकण्ठ–१२ सांकोसकी कान्छीमाया भण्डारी पनि डरै–डरमा थिइन् । ट्रेकिङ गाइडको काम गर्ने उनका २९ वर्षीय छोरा प्रकाश कामविहीन भएपछि घरै आएका थिए । बेरोजगार भएर घर बस्नुपर्दाको छटपटीले उनी दिक्क मान्थे । तीन वर्षअघि भएको बाबुको मृत्युको शोक आमाको अनुहारमा देखिन्थ्यो ।

कान्छीमायाको भान्सा

एक दिन कुराकुरैमा उनले आमासँग युट्युब च्यानल चलाउने सुनाए । २०७२ वैशाखको भूकम्पअघि चार वर्षसम्म मिडिया क्षेत्रमै काम गरेका उनीसँग क्यामरा साथै थियो । ५० वर्षीया कान्छीमायालाई छोराको कुरामा कुनै आपत्ति थिएन । तर, छोराले भनेजसरी क्यामराअघि उभिएर बोल्ने आँट उनमा थिएन । प्रकाशले आमाले सधैंझैं घरमा पकाइतुल्याई गरेकै कुरालाई थोरै फरक तरिकाले भिडियो बनाएर युट्युबमा हाल्ने सोच बनाएका थिए ।

एक दिन ‘माछा...माछा’ भन्दै एक जना व्यापारी आइपुगे । प्रकाशले हत्तपत्त माछा किने र आमालाई भने, ‘आज तपाईंले माछा र ढिँडो बनाउनुपर्‍यो । म भिडियो खिच्छु ।’

भूकम्पले भत्काएको घरको भुइँतलाको भान्सामा कान्छीमाया अप्ठ्यारो मान्दै पसिन् । ढिँडो र माछाको तरकारी बनाउन थालिन् । प्रकाशले सबै खिच्दै गए । कान्छीमायाका लागि न खान्की नौलो थियो, न त पकाउने काम । तर, क्यामराले खिचिरहेको देखेपछि भने कता कता डर लागेजस्तो भयो । उनले भनिन्, ‘तर आफ्नै छोराले त खिचेको त हो नि भनेर डरलाई थामथुम पारें ।’

भिडियो खिचेपछि प्रकाश युट्युब च्यानलको नाम के राख्ने भनेर घोत्लिए । गाउँघरको मौलिक नाम र खाना दुवै भाव झल्किने नामको खाँचो थियो । आमाको नामै कान्छी, अनि उनले पकाएका खानेकुरा राख्ने च्यानलको नाम ‘कान्छी किचन’ राखे ।

क्यामरा पछि लागेको त्यो पहिलो दिन कान्छीमायाले दाउरा जोरिन् । ढुंग्रोले फुफु गरिन् । ढलोटको अम्खोराबाट पानी हालेर डेक्चीमा माछा सफा गरिन्, चुलेसीले काटिन् । सिलौटोमा लसुन, अदुवा र खुर्सानी लसलस पिसिन् । कसौडी बाहिर खरानीको लेप लगाइन् । पानी उमालिन् । अनि थोरै थोरै गरेर कोदोको पिठो हाल्दै मसक्क ढिँडो मस्काइन् । भुंग्रोमा पोलेको टमाटर लसलस थिचेर धनियाँ हालेर चट्ट चटनी बनाइन् । सबै दृश्य प्रकाशले धैर्यपूर्वक खिचे । ‘कसरी पकाउने कोदोको ढिँडो र माछा गाउँघरको जस्तै’ शीर्षक राखेर १३ मिनेट २७ सेकेन्डको भिडियो पोस्ट गरे । उक्त भिडियो केही दिनमै हजारौंले हेरे । सयौं कमेन्ट आए । कान्छीले बनाएको परिकार प्रत्यक्ष चाख्न नपाए पनि बनाएको मन पराउने धेरै भए । जब छोराले उनलाई त्यो देखाए, कान्छीमाया छक्कै परिन् । त्यसपछि फरकफरक परिकार बनाउने, खिच्ने र ती भिडियो अपलोडको सिलसिलाले गति लियो । उनलाई क्यामराको डर हराएजस्तो भयो । ठ्याक्कै एक वर्षअघि पोस्ट गरिएको पहिलो भिडियोको भ्युज १ लाख ३ हजारभन्दा बढी पुगिसकेको छ ।

पहिलो भिडियो पोस्ट गरेपछि आएका प्रतिक्रियाले आमाछोरालाई हौसला दियो । त्यसपछि प्रकाश अझै राम्रो भिडियो कसरी खिच्न सकिएला, धेरैले मन पराउने पाककलाको भिडियो के होला भनेर सोच्न थाले । गाउँघरमा वनभात खाने चलन सम्झिए । आमाहरू घाँस काट्न जाँदा जंगलमै पकाएर खाएको सम्झे । दोस्रो भिडियोमा उनले घाँस काट्न जाँदाको रमाइलो वनभात राखे ।

हिजोआज कान्छीमाया छरछिमेकी र पाका पुरानासँग गाउँले खान्की र त्यसको पकाउने तरिका सोध्छिन् । सर्दम सबै खोजी गर्छिन् । छिमेकीले उनलाई हौसला दिन्छन् । भिडियो बनाएपछि छरछिमेकीलाई बोलाएर खुवाउँछिन् । कान्छीलाई श्रीमान्को मृत्युपछि एक्लै भएको पीडा युट्युबले हटाइदिएजस्तो लाग्छ ।

क्यामरासँग आमाको लगाब देखेर प्रकाश पनि पुलकित छन् । क्यामराअघि सोझै देखिन नखोज्ने आमा पछि–पछि आफ्नो परिचय दिँदै पकाउने विधिबारे बताउन सक्ने भइन् । उनले भने, ‘क्यामराअघि उभिँदा–उभिँदा आमाको मुहारमा पनि खुसी देखिन थाल्यो ।’ हिजोआज आमाछोरा नयाँ भिडियोमा कुन परिकार बनाएको राख्ने सल्लाह गर्छन् । के बनाउने, कसरी नयाँ तरिकाले पकाउने भनेर कुरा गर्छन् । सकभर गाउँघरमै पाइने स्रोतसाधन प्रयोग गर्ने उनीहरू पकाउने मौलिकता झल्कियोस् भनेर ख्याल गर्छन् । एक वर्षको अवधिमा कान्छीमायाका आमाछोराले १ सय ३ वटा भिडियो बनाइसके । सबै भिडियोको कुल भ्युअर्ससिप ३ करोड ९८ लाखभन्दा बढी पुगेको छ । कान्छीमायाले लोकल कुखुराको मासु पकाउने तरिकादेखि कर्कलो गाभाको तरकारी र च्याख्ला कसरी मिठो पकाउनेसम्मको भिडियो युट्युबमा हालिसकेकी छन् । मकैको रोटी, ताउलोभरी खिर, बाँसका टुसा र कटहरको बियाँको तरकारी पकाउने तरिका पनि युट्युबमार्फत नै सिकाइसकेकी छन् । कोइरालोको अचारदेखि पिँडालुको तरकारीसम्म उनले बनाइसकेकी छन् ।

एउटा भिडियो बनाउन कान्छीमायालाई ५ सयदेखि बढीमा १५ हजारसम्म खर्च भएको अनुभव छ । कहिलेकाहीं गाउँको भोजभतेरकै शैलीमा पकाएर खुवाउँदा भने अलिक बढी खर्च हुन्छ । औसतमा प्रकाशले १ देखि दुई घण्टाभित्र भिडियो खिचिसक्छन् । अनि घरमै बसेर ल्यापटपमा सम्पादन गर्छन् । धेरैजसो सुटिङ आउटडोर हुने भएकाले उनलाई बेला बखत भिडियोमा आएका अनावश्यक आवाज हटाउन केही बढी समय लाग्छ । घरमै इन्टरनेट जोडेकाले उनी युट्युबको आफ्नो च्यानलमा सजिलै भिडियो अपलोड गर्छन् ।

आमाछोराले बनाएका सबैजसो भिडियो कम्तीमा एक लाखको हाराहारीमा हेरिएका छन् । भ्युज बढ्दै जाँदा युट्युब च्यानलले घरखर्च धान्न सकिने आम्दानी दिन थालेको छ । ‘जापानमा हुर्किएकी नातिनीलाई नेपाली खानाको स्वाद चखाउँदै’ भन्ने भिडियो भने झन्डै १९ लाखले हेरेका छन् । प्रकाश आफ्नो ज्ञानसीपको क्षमतालाई देखाउन सकेकामा खुसी छन् । कान्छीमायालाई नौलो के पकाएर देखाउने भन्ने नै ध्यान हुन थालेको छ । आमाको भान्सालाई भिडियो बनाएर नयाँ खुराक आफ्नो च्यानलमा पस्कनेमै छोराको पनि ध्यान छ । ‘कोरोनाले रोजगारी गुमेपछि म जस्ता धेरै युवा मानसिक तनावमा परेको देख्थें,’ प्रकाशले भने, ‘आफ्नो क्षमता छ भने आफ्नो गाउँठाउँमै बसेर पनि खान पुग्ने आम्दानी गर्न सकिने रहेछ ।’

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?