तारा एयर दुर्घटना

'नातिनीले हजुरआमा भनेर बोलाउँछे झैं लाउँछ'

बहिनी शर्मिला भन्छिन् : ‘तिम्रो हातको खाना खान आउँछु, पकाएर राख भन्नुभएको थियो । आउनु न दिदी । मेरो प्राणभन्दा प्यारो दिदीलाई कसरी बिर्सिम् ?’
दीपक परियार

पोखरा — ‘सम्झनाहरु सँगै लिएर मर्ने लक्ष्य छ, सपनाहरू होइन...(द गोल इज टु डाई विथ मेमोरिज, नट ड्रिम्स...) ।  एक वर्षअघि गोसाइँकुण्ड पुग्दाको फोटो फेसबुकमा राखेर यी हरफ लेखेकी एयर होस्टेस किस्मी थापा आइतबार मुस्ताङमा अस्ताइन् । थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परिवारको एक भरोसा ढल्यो । 

उमासरा किस्मीकी सबैथोक थिइन् । उमासरा रणपाल (परियार), किस्मीकी हजुरआमा । स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटकी विष्णुदेवी रणपालले गाउँमै अन्तरजातीय विवाह गरिन् । थापा मगर थरका श्रीमानको परिवारले उनलाई दलित भन्दै स्वीकारेको थिएन । छोरी जन्मिएपछि श्रीमानले पनि हेलाहोँचो गर्न थाले । विष्णुदेवी किस्मीलाई च्यापेर माइत फर्किइन् । छोरी र नातिनी पाल्ने जिम्मा उमासराको काँधमा आयो ।

नातिनी नजन्मिँदै उमासराले भारतीय सेनामा कार्यरत श्रीमान् गुमाइएकी थिइन् । पेन्सन बुझेर जीविका चलाइन् । छोरी र नातिनीलाई आफ्नै भरमा राखिन् । किस्मी पढाईमा सानैबाट तेज थिइन् । पेन्सन बुझेको पैसाले उमासराले नातिनी पढाइन् । विष्णुदेवीले अर्को बिहे गरेपछि झन् नातिनीभन्दा बढी छोरीकै रूपमा किस्मीलाई उनले अपनाइन् ।

किस्मीले गाउँकै विद्यालयबाट एसईई र वालिङबाट १२ कक्षा उत्तीर्ण गरिन् । विद्यालय हुँदैदेखि उनको लक्ष्य थियो, एयर होस्टेस बन्ने । उनका मामाका छोरा अमर परियारका अनुसार हजुरआमा र मामाहरूले उनलाई एयर होस्टेस नबन्न भनेका थिए । किस्मीले मानिनन् । आफ्नो ‘सपना’ पूरा गरेरै छाडिन् । पोखरामा एयर होस्टेसको कक्षा लिइन् । ‘उहाँको पहिलेदेखि यही बन्छु भन्ने सपना थियो,’ पोखरा विमानस्थलमा सोमबार उनले भने, ‘पछि पनि सबैले सकेसम्म यो काम छोडिदिए हुन्थ्यो भन्नुभएको थियो ।’

उमासरा हक्की स्वभावकी थिइन् । अनुभव र व्यवहारले खारिएर अनेक दु:ख अड्चनलाई पार लगाउँदै आएकी उनी समाजसेवामा पनि सक्रिय थिइन् । गाउँ, टोल, छरछिमेकले उनको कुरा खान्थे । किस्मीमा ठयाक्कै उनकै गुण सरेको अमर बताउँछन् । ‘हजुरआमा कसैसँग नडराउने, आँटिलो, मिहिनेती हुनुहुन्छ,’ उनले भने, ‘दिदीको स्वभाव पनि त्यस्तै थियो ।’ किस्मीको प्रेरणाको स्रोत नै उनको हजुरआमा थिइन् ।

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेस किस्मी थापा । तस्बिर : किस्मीको फेसबुक

२७ वर्षीया किस्मी घुम्न खुब रुचि राख्थिन् । नयाँ ठाउँ घुम्ने, साहसिक गतिविधिमा रमाउने साेख थियो । गत साता काठमाडौंमा बलात्कार तथा यौन हिंसाविरुद्धको प्रदर्शनमा उनी सहभागी भएकी थिइन् । टिकटकमा भिडियो राख्दै उनले महिला सशक्तीकरणका लागि आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकी छन् । बुबाले आफ्नो नामबाट नागरिकता बनाइदिन नमान्दा उनले लडेरै लिएकी थिइन् । सबैले मनीषा भनेर बोलाउने उनले किस्मी थापाको नामबाट नागरिकताको प्रमाणपत्र बनाइन् ।

पाँच वर्षअघि उनले यती एयरलाइन्समा जागिर सुरु गरिन् । यतीले उनलाई भगिनी संस्था तारा एयरमा पठायो । उनले एयर होस्टेसका रूपमा काठमाडौं–लुक्ला, पोखरा–जोमसोम, नेपालगञ्ज–रारालगायत रुटमा धेरै उडान भरिन् । केही समयअघि उनले आमा र हजुरआमालाई डोल्पा घुमाउन लगेकी थिइन् ।

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेस किस्मी थापाकी आमा विष्णुदेवी रणपाल सोमबार पोखरा विमानस्थलमा भावविह्वल अवस्थामा । तस्बिर : दीपक परियार/कान्तिपुर

मावली घरमा हुर्किएर पढेकाले मामाको छोराछोरीलाई पढाउने जिम्मा आफ्नो पनि भएको उनले महसुस गरिन् । बहिनी शर्मिला र भाइहरू आरजु र दिवसको पढाइ खर्च बेहोरिन् । शर्मिलाले पोखराबाटै १२ कक्षा उत्तीर्ण गरिन् । दिवसले काठमाडौंमा १२ को परीक्षा दिएर बसेका थिए भने आरजुले १२ को परीक्षा दिइरहेका छन् । किस्मीले कमाइरहेकी थिइन् । उनकी आमा गएको चुनावमा दलित महिला वडा सदस्यमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । सबैतिर राम्रो भइरहेको थियो । आइतबार जहाज दुर्घटनाको खबर सञ्चारमाध्यमबाट सुन्दा मल्याङकोटमा सन्नाटा छायो । सबै खुसी क्षणभरमै ढल्यो ।

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकी एयर होस्टेस किस्मी थापाकी आमा विष्णुदेवी रणपाल सोमबार पोखरा विमानस्थलमा अचेत अवस्थामा । साथमा हजुरआमा उमासरा र आफन्त । तस्बिर : दीपक परियार/कान्तिपुर

जहाज दुर्घटनाको खबरपछि आइतबार दिनभर किस्मीका आफन्त र साथी पोखरा विमानस्थलमा जम्मा भए । केही खबर आइहाल्ने आशमा साँझसम्म विमानस्थल छाडेनन् । ‘विमानमा रहेका २२ जना सकुशल’ भन्ने खबर कतैबाट आइहाल्छ कि भन्ने पर्खाइमा थिइन्, शर्मिला । उनका आँखा ओभानो थिएनन् । त्यस दिन मौसमको खराबीले जहाजको खोजी कार्य रोकियो । सोमबार स्याङ्जाबाट हजुरआमा, आमा, मामा, आफन्त, छिमेकीको टोली पोखरा विमानस्थल आइपुग्यो । उनका बुबा आएनन् ।

बिहान साढे सात बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर आयो । २२ जनाकै शव संकलन गर्दा दिउँसोको ३ बजिसकेको थियो । विमानस्थलमा भने आफन्तको रुवाबासीको कारुणिक दृश्य देखिन्थ्यो । ‘तिम्रो हातको खाना खान आउँछु, पकाएर राख भन्नुभएको थियो,’ डाँको छाड्दै शर्मिलाले भनिन्, ‘आउनु न दिदी । मेरो प्राणभन्दा प्यारो दिदीलाई कसरी बिर्सिम् ?’

किस्मीकी आमा विष्णुदेवी अचेत थिइन् । जब बिउँझिन्थिन्, छोरीको खोजी गरिहाल्थिन् । ‘मेरो छोरी भएको ठाउँमा लैदेऊ’ भन्थिन् । उनलाई उमासराले सम्हालिरहेकी थिइन् । बालखैबाट पालेकी नातिनी गुमाएकी छन्, छोरी अर्धचेत छिन्, उनको बोलीमा भने उस्तै हक्कीपन थियो । सबैलाई नरुन सम्झाइरहन्थिन् । सबै शव काठमाडौं लैजाने भएकोले यती एयरले परिवारलाई जहाजमा पठाउने व्यवस्था गरेको थियो । विष्णुदेवीले ‘त्यही जहाजमा छोरीको त्यस्तो भयो, म जान्नँ’ भनिन्।

उमासराले छोरीलाई सम्झाइन् । ‘अहिलेसम्म आँखाले देखेको छैन,’ लौरो टेकेर विमानस्थलको टर्मिनल भवनभित्र पाइला बढाउँदै उनले भनिन्, ‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ ।’

प्रकाशित : जेष्ठ १६, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

बजेट सकारात्मक, कार्यान्वयनमा चुनौती : चेम्बर 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले समग्रमा बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको औंल्याएको छ । आइतबार मात्रै सरकारले आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको थियो । सो बजेटमा समीक्षा गर्दै चेम्बरले  भनेको छ ‘अर्थतन्त्रका विद्यमान समस्या, ह्रास हुँदै गएको विदेशी मुद्राको सञ्चिति र तरलता समस्याका कारण बजेटको कार्यान्वयन पक्ष अत्यन्त चुनौतीपूर्ण देखिएको छ । बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फिति दर ७ प्रतिशतमा सीमित गर्न कठिन देखिन्छ ।’ 

कृषिको रुपान्तरण अभियान, उत्पादकत्व वृद्धिको लागि यस क्षेत्रको व्यवसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गर्न आवश्यक पूर्वाधार, तथा खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन ५५ अर्ब ९७ करोड बिनियोजन सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । कृषिलाई प्रवर्द्धन गर्न ५ खर्बको कृषि लघुवित्त कोषको स्थापनालाई पनि चेम्बरले प्रशंसा गरेको छ । ऊर्जा क्षेत्रमा विद्युत चुलो वितरण गर्नेदेखि गार्हस्थ्य र औद्योगिक ग्राहकलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने, प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ४०० किलोवाट घण्टा पुऱ्याउने, प्रसारण लाइन द्रुत गतिले निर्माण गर्ने विषय सही रहेको भन्दै कार्यान्वयनका लागि चेम्बरले जोड दिएको छ ।

विदेशी लगानीको सीमा घटाई २ करोड मात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साहित हुन सक्ने चेम्बरको भनाइ छ । चेम्बरले भनेको छ ‘खेतदेखि कारखाना, एकीकृत नमुना कार्यक्रम, औद्योगिक प्रयोजनको लागि ५० वर्षसम्म लिजमा जग्गा दिने, उद्योगलाई विद्युत महसुल २ देखि १५ प्रतिशत छुट एवम् औद्योगिक प्रयोजनको लागि जग्गाको हदबन्दी हटाउने जस्ता आकर्षक कदमहरु औद्योगिक प्रवर्द्धनको लागि लिइएका छन् ।’ राजस्वको लक्ष्य १२ खर्ब ४० अर्ब अत्यन्त महत्वाकांक्षी देखिएको चेम्बरको बुझाइ छ । ‘राजस्वको महत्वाकांक्षी लक्ष्यले निजी क्षेत्रलाई उत्साहित गर्ने देखिँदैन । प्रारम्भमा ठूलो आकारको बजेट ल्याउने र पछि संशोधन गर्ने परिपाटीले निजी क्षेत्र प्रभावित हुने भएकोले बजेट यथार्थपरक हुनुपर्छ’ चेम्बरले भनेको छ ।

तरलताको समस्या रहेको विद्यमान अर्थतन्त्रमा आन्तरिक ऋणको लक्ष्य २५६ अर्ब राखिनुले थप समस्या आउन सक्ने चेम्बरको ठहर छ । वैदेशिक सहायता तर्फ अनुदान ५५ अर्ब ४५ करोड र वैदेशिक ऋण २ खर्ब ४२ अर्बको लक्ष्य महत्वाकांक्षी रहेको चेम्बरले जनाएको छ । आयकरको सीमा बढाइएको, बीमा महाविपत्ति बोण्ड जारी गरी कोराना बिमाको रकम भुक्तानी गर्ने, एक अर्बभन्दा बढीको पुँजी वा वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीलाई सेयर जारी गर्न लगाइने, वैदेशिक रोजगारीमा गएकालाई धितोपत्रको प्राथमिक निस्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्नेजस्ता व्यवस्थाको चेम्बरले प्रशंसा गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×