२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८
तालिवानदेखि वाग्नरसम्म

काखमा हुर्किएर कोखमा आक्रमण

अमेरिकाले अफगानिस्तान र भारतले श्रीलंकामा  गरेका प्रयोगभन्दा केही फरक छ रुसमा वाग्नर समूहको विद्रोह, तर घटनाले पुटिनलाई जोखिम  बढ्ने संकेत गरेको छ 
आफ्नो प्रभाव कायम राख्न संसारका विभिन्न मुलुकका सत्तालाई चुनौती दिने लडाकु समूहलाई प्रश्रय दिँदा कालान्तरमा आफैंलाई जोखिम 
जगदीश्वर पाण्डे

काठमाडौँ — गत शनिबार रुसमा निजी सुरक्षाकर्मीहरू सम्मिलित वाग्नर समूहले देशभित्र गरेको विद्रोहलाई लिएर राष्ट्रपति भ्लादिमिर पुटिनले भने, ‘जानाजान विश्वासघात र आतंकवादको बाटो हिँड्ने, देशद्रोह गर्ने र ब्ल्याकमेल गर्नेहरूले अनिवार्य अकल्पनीय सजाय भोग्ने छन् ।’

काखमा हुर्किएर कोखमा आक्रमण

आफैंले हुर्काएको वाग्नर समूहले संवेदनशील समयमा आफ्नै २२ वर्षदेखि एकलौटी रुपमा हाँकिरहेको आन्तरिक सत्ताविरुद्ध विद्रोह गरेपछि पुटिनले आक्रोशमा उक्त अभिव्यक्ति सार्वजनिक रूपमै दिए । रुसको यो घटनाले के सन्देश दियो भने जसले गलत काममा अरुलाई सहयोग गर्‍यो, भविष्यमा त्यसैमाथि पनि जाइलाग्छ भन्ने हो । यो घटना विश्वमा पहिलो पटक भएको भने होइन ।

इतिहासलाई कोट्याउने हो भने दक्षिण एसियामै हेर्दा पनि हुन्छ । भारतले सहयोग गरेको तमिल विद्रोही समूहले कालान्तरमा आएर भारतकै पूर्वप्रधानमन्त्री* राजीव गान्धीको हत्या गरिदियो । साथै, अमेरिकाले तत्कालीन सोभियत युनियनविरुद्ध प्रयोग गर्न सहयोग गरेको अफगानिस्तानको मुजाहिद्दिन विद्रोही समूह (अलकायदा जन्मिएको समूह) ले पछि अमेरिकाविरुद्धकै इतिहासमा सबैभन्दा ठूलो आक्रमण गरेर धनजनको क्षति गरिदियो । यसले के स्पष्ट पारेको छ भने गलत मनसुबाले जुन कुनै शक्ति खडा गर्छ, त्यो आफ्नै लागि आत्मघाती हुने जोखिम टर्दैन ।

रुसको अर्द्धसैनिक बल वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिन ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट रुस, अफगानिस्तान र श्रीलंकाका प्रसंगहरू फरक भए पनि राज्यको सेनालाई राज्यले नियन्त्रणमा राख्नुपर्ने बताउँछन् । राज्यमा निजी सेना भएपछि कस्ता समस्या आउँछन् भन्ने विभिन्न घटनाहरूले प्रस्ट पारेको उनले बताए । ‘तमिल विद्रोहमा उनीहरूको आफ्नै सेना भयो, अफगानिस्तानमा पनि राज्यको नभएको कुनै एक पक्षको सेना थियो । र, रुसमा अहिले एउटा निजी सुरक्षा समूह नै भइहाल्यो,’ उनले भने, ‘यी सबै स्थानमा कुनै न कुनै पक्षबाट सहयोग भएको पाइन्छ । तर अन्त्यमा गएर आफैंलाई सहयोग गर्नेविरुद्ध ती समूहहरूले आक्रमण गरेको देखिन्छ ।’

युक्रेनविरुद्धको हमलामा रुसी सेनालाई साथ लिइरहेको रुसको निजी सुरक्षा कम्पनी वाग्नर समूह गत शनिबार एकाएक रुस सरकारविरुद्ध नै विद्रोहमा उत्रिएपछि मस्कोमा संकट आइपर्‍यो । सोभियत युनियनको समयमा नौ वर्ष जेलमा बसिसकेका व्यापारी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर समूहले रुसी सरकारविरुद्ध विद्रोह गरेको थियो । उक्त विद्रोहले रुसी राष्ट्रपति पुटिन पनि हच्किन पुगे । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वविरुद्ध असन्तुष्टि जनाउँदै सैनिक विद्रोह गर्ने अरू कोही नभएर राष्ट्रपति पुटिनका मान्छेको नामले चिनिएका व्यक्ति हुन् ।

प्रिगोजिनले रुसको सुरुआती दिनमा सेन्ट पिटर्सबर्गमा ‘हटडग’ को व्यापार गर्थे । त्यसपछि उनले खाद्य व्यवसायलाई बढाए । त्यसैबीच उनले निजी सैनिक दस्ता वाग्नर समूह खोले । जसमा अहिले २५ हजारभन्दा बढी निजी सैनिक छन् । सुरुआती दिनमा उक्त निजी सैनिकलाई हतियार, ट्यांकलगायत आवश्यक व्यवस्था पुटिन सरकारले नै गरेको थियो । सोहीअनुसार सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पनि वाग्नर समूहले रुसी सरकारलाई सहयोग गर्दै युक्रेनविरुद्ध लडेको थियो । यति मात्र होइन, जतिबेला रुस र पुटिनलाई आवश्यक पर्‍यो, वाग्नर समूह सिरियादेखि अफ्रिकी मुलुकहरूसम्म लड्न पुगेका छन् ।

उक्त समूहलाई आर्थिक, हतियार र आवश्यक सामग्रीहरूको सहयोग रुसी सरकारले गर्दै आइरहेको थियो । तर गत शनिबार रुसी सेनाको सामग्रीहरू राखिएको रोस्तोभ सहरको गल्लीहरूमा वाग्नर समूहले हतियार र ट्यांकसहित पहरा दिन थाले । यस्तै, ट्यांक बोकेका ट्रकहरू रुसको राजधानी मस्कोतर्फ पनि अघि बढे । वाग्नर समूहका लडाकुहरू ११ सय किलोमिटर टाढा मस्कोतर्फ अघि बढ्न थालेका थिए ।

वाग्नर समूहका कमान्डर प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेई सोइगु र जनरल वालेरी गारासिमोवलाई चुनौती दिँदै भिडियो सन्देश बाहिर ल्याए । ‘म तत्काल भेट्न चाहन्छु, अन्यथा हाम्रो समूह मस्को प्रवेश गर्नेछ,’ उनको भनाइ थियो । तर वाग्नर सेनालाई संयमित बनाउन पुटिनको मित्र र पुराना साथी बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्कोले मध्यस्थता गरे । त्योसँगै संवाद सफल भयो र प्रिगोजिन बेलारुसतर्फ लागे । वाग्नर समूहको क्रियाकलापलाई लिएर पुटिनले क्रेमलिनबाट टेलिभिजन सम्बोधन गर्दै भनेका थिए, ‘रुसको अस्तित्वमाथि नै खतरा आइलागेको छ । तर, हामी देश र जनताको जीवन र सुरक्षा, हाम्रो सार्वभौमसत्ता र स्वतन्त्रता तथा हजारौं वर्षको इतिहास भएको रुसको अधिकारका लागि लडिरहेका छौं ।’ उनले जानाजान विश्वासघात र आतंकवादको बाटो हिँड्ने, देशद्रोह गर्ने र ‘ब्ल्याकमेल’ गर्नेहरूले अनिवार्य अकल्पनीय सजाय भोग्ने चेतावनी पनि दिए ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी पूर्ण सिलवाल वाग्नर समूहको विद्रोहले रुसको आन्तरिक शान्ति सुरक्षामा नयाँ खतरा ल्याएको ठान्छन् । ‘वाग्नर समूहको २५ हजार मेसिनरी (भाडाका सैनिक) छन् भन्ने कुरा आएको छ । तर उसको मुख्य नेता नेता बेलारुस गए । सैनिक नेतृत्व गर्ने भागेपछि अब बाँकी फौजलाई कसले नेतृत्व गर्छ भन्ने मुख्य कुरा हो,’ उनले भने,‘उक्त फौजलाई अरू कसैले एक बनाएर राख्न सक्दैन भने त्यो मेसिनरीलाई अरूले प्रयोग गर्न सक्छन् । किनकि उनीहरूसँग तालिम छ, हतियार छ, लडाइँ लडेको अनुभव छ । उनीहरूलाई अब पैसा आवश्यक पर्छ । त्यसैले जहाँबाट फाइदा हुन्छ र पैसा आउँछ, उनीहरू त्यतै जान सक्छन् ।’

सिलवालले उक्त वाग्नर समूहमा अर्को नेता जन्मे वा उक्त समूहलाई रुसी सेनामा समायोजन गरे तत्कालका लागि समस्या समाधान गर्न सहज हुने प्रस्ट पारे । उनले उक्त समूहलाई बेलैमा व्यवस्थापन नगरे पुटिनका लागि टाउको दुखाइ बन्न सक्ने टिप्पणी गरे । उनले वाग्नर समूहले पैसा पाएमा भविष्यमा युक्रेनसँग मिलेर रुसविरुद्ध समेत लड्न सक्ने बताए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधर भने वाग्नर समूहका प्रमुख प्रिगोजिन बेलारुस गएसँगै त्यहाँको अवस्था सामान्य रहेको कान्तिपुरलाई मस्कोबाट जानकारी दिए । ‘शनिबार केही समय के हुन्छ भन्ने अवस्था रहे पनि पछि अवस्था सामान्य भएको छ । मस्कोमा भने अवस्था सधैं सामान्य छ,’ उनको भनाइ थियो ।

रुसका राष्ट्रपति पुटिनले त धेरै क्षति बेहोरिसकेका छैनन् । तर श्रीलंका मामिलामा भने भारतले आफ्नो प्रधानमन्त्री नै गुमाउनुपर्‍यो । श्रीलंकामा सन् १९८३ देखि २००९ सम्म अल्पसंख्यक तमिलहरूले विद्रोह गरे । करिब ७५ प्रतिशत जनसंख्या रहेको सिन्हाली समुदायले सञ्चालन गरेको राज्य सत्ता र तमिलबीच द्वन्द्व चल्यो । युद्धमा करिब ४० हजारभन्दा बढी मारिए । बेपत्ता, क्षति र घाइतेको अझै पूरा रूपमा यकिन हुन सकेको छैन । सुरुआतमा तमिलहरू श्रीलंकामा आक्रमण गरेर त्यहाँबाट भागेर भारत जान्थे । भारतले उनीहरूलाई सहयोग पनि गरेको थियो । तर सन् १९९१ मा भारतका पूर्वप्रधानमन्त्री* राजीव गान्धीको तमिलनाडुमा आत्मघाती बम विस्फोटमा हत्या भएपछि तमिलहरू श्रीलंकाबाट भारत आउन पनि रोकियो । गान्धीको हत्या श्रीलंकाली तमिलले नै गरेको ठहर गरेर भारतमा उनीहरूलाई कडाइ गरियो ।

श्रीलंकाको तमिल विद्रोही लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)का लडाकु । अढाई दशक लामो गृहयुद्धका दौरान श्रीलंकामा करिब एक लाखको मृत्यु भएको थियो ।

श्रीलंकाको तमिल विद्रोही र उसको सर्वोच्च कमान्डर प्रभाकरण भारतको सहयोगकै कारण सुरुआती दिनमा श्रीलंकामा आक्रमण गर्न सफल भयो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८० को दशकको सुरुआतमा तमिल विद्रोहीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग हुने भन्दै आश्वासन मात्र दिइनन्, साथमा आर्थिक सहयोग र हतियार पनि उपलब्ध गराइन् । किनकि आर्थिक, हातहतियार र लुक्नसमेत भारतबाट सहयोग हुन्थ्यो ।

श्रीलंकामा आक्रमण गरेर ढुंगाको प्रयोग गरी नजिकै रहेको तमिलनाडुमा आएर तमिल विद्रोहीहरू लुक्थे । तमिलनाडु सरकारले पनि श्रीलंकाली विद्रोही तमिलका लागि सबैभन्दा ठूलो सहयोग गर्‍यो । किनकि तमिलनाडुमा अधिकांश तमिल समुदाय छन् । उनीहरू वेशभूषा र चालचलन श्रीलंकाली तमिलसँग मिल्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको श्रीलंका र तमिलनाडुका तमिलबीच रगतको नातासमेत छ । ब्रिटिसले भारतमा शासन गर्दा श्रीलंकाको उत्तर–पूर्वी भागमा राम्रो चिया खेती हुन्थ्यो । काम गर्नका लागि ब्रिटिसले भारतबाट केही तमिलहरूलाई उता लगेका थिए ।

सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नो सुरक्षा गार्डबाट हत्या भएपछि प्रधानमन्त्री बनेका छोरा राजीवले भारत सरकारले श्रीलंकाको तमिल विद्रोहीलाई गर्दै आएको सहयोगलाई कम गर्दै लगे र श्रीलंकाली सरकारको साथ दिन थाले । राजीवले सन् १९८७–९० सम्म श्रीलंका सरकारसँग सम्झौता गर्दै शान्ति स्थापना गर्ने भारतीय फोर्स पठाए । जसले तमिल विद्रोहीलाई थप चिढ्यायो । त्यसको बदला लिने क्रममा तमिलनाडुमा एउटा सम्बोधनका क्रममा आत्मघाती बम विस्फोटबाट राजीवको हत्या गरिदिए । उक्त हत्यामा संलग्न तमिलहरू अहिले छुटिसकेका छन् ।* छिमेकी भारतको असहयोगका कारण श्रीलंकामा तमिल विद्रोहीको आन्दोलन तुहियो । सन् २००९ मा श्रीलंकन सरकारले तमिलले कब्जा गरेको सम्पूर्ण उत्तर–पूर्वी क्षेत्र आफ्नो कब्जामा गर्‍यो ।

मद्रास विश्वविद्यालयमा दक्षिणपूर्वी एसियाली केन्द्रको संस्थापक निर्देशक तथा भारतको दक्षिणी क्षेत्रबाट एक पटक राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा सदस्यसमेत भएका प्राध्यापक भी सूर्यनारायणले तत्कालीन प्रधानमन्त्री राजीवकी आमा इन्दिरा गान्धीले श्रीलंकामा तमिल राज्यको माग गर्दै अघि बढेका विद्रोही र उसका मुख्य नाइके प्रभाकरणलाई दिल्लीमै बोलाएर उक्त आन्दोलनमा सहयोग गर्ने बताएको जानकारी दिए । सन् २०१७ मा चेन्नईमा संवाददातासँग कुराकानी गर्दै उनले श्रीलंकाको तमिल विद्रोहको बारेमा भनेका थिए, ‘त्यसको एक दशकअघि इन्दिरा गान्धीकै अग्रसरतामा पाकिस्तानबाट पूर्वी पास्कितानलाई फुटाएर नयाँ मुलुक बंगलादेशलाई जन्मिएको थियो ।

त्यसैगरी सुरुआती दिनमा तमिल विद्रोहीका नाइके प्रभाकरण चेन्नईमै बस्थे र श्रीलंकामा आफ्नो संगठन चलाउँथें । मैले प्रभाकरणलाई यही चेन्नाईको एक कोठामा गएर भेटेको थिएँ । उनले आफ्नो आन्दोलनमा भारत सरकार र तमिलनाडुको सरकार दुवैले साथ दिएको बताएका थिए । तर, राजीवको हत्यासँगै भारत र तमिल विद्रोहीबीचको सम्बन्ध उल्टियो ।’

रुस र श्रीलंकाका आ–आफ्नै कथा भए पनि जसले सहयोग गरेको थियो, पछि हतियारधारी समूह उसैमाथि जाइलागेको प्रस्ट हुन्छ । त्यो अर्को कसैमा लागू भएको छ भने अमेरिकामा हो । अफगानिस्तानमा १९ औं शताब्दीमा ब्रिटिस, २० औं शताब्दीमा सोभियत संघ र २१ औं शताब्दीमा अमेरिकी सैनिक हस्तक्षेप गर्‍यो । तर हरेक पटक विदेशी फौज तहस–नहस भएरै फर्कनुपर्‍यो । हरेक पटक विदेशी फौजसँग लड्ने कुनै अफगान समूह भइरहे ।

काबुल कब्जापछि २०७८ साउन अन्तिम साता अफगानिस्तानमा गस्ती गर्दै तालिवान लडाकु ।

सन् २००१ मा अमेरिकामा अलकायदा समूहले आतंकवादी हमला भएपछि त्यसका नेता ओसामा बिन लादेनलाई खोजी गरी मार्न अमेरिकी फौज अफगानिस्तान छिरेको थियो । अमेरिकी सैनिकले लादेनलाई सन् २०११ को मे २ मा अफगानिस्तानको सीमा जोडिएको क्षेत्र पाकिस्तानको अबोटाबादमा मार्‍यो । तर, अचम्म लाग्न सक्छ, लादेन र उनको समूह अलकायदा जन्माउने र हुर्काउने काम भने अमेरिका स्वयंले गरेको थियो । अमेरिकाको इतिहासमै भएको एउटा ठूलो हमला अरू कोही नभएर आफैंले सहयोग गरिरहेको अलकायदाबाट भएको थियो । अलकायदा त्यो समूह हो, जो २० औं शताब्दीमा अफगानिस्तानमा अमेरिका र सोभियत संघबीच प्रोक्सी वार चल्दा वासिङ्टन डीसीले सहयोग गरेको मुजाहिद्दिनबाट निस्केको थियो ।

अमेरिका सन् २०२१ मा घर फर्कनुअघि अफगानिस्तानमा सोभियत संघको फौज हार खाएर मस्को फर्किएको थियो । १९७८ को अप्रिलमा मोहम्मद दाउद खानको सरकारलाई फालेर नूर मोहम्मद तराकीको नेतृत्वमा कम्युनिस्ट सरकार बनेको थियो । सरकार बनेलगत्तै शक्ति बाँडफाँटलाई लिएर दुई पार्टी (पिपुल्स पार्टी र बनर पार्टी) बीच द्वन्द्व भयो । यी दुवै पार्टीहरू पिपुल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तानबाट टुक्रिएका थिए । जसले गर्दा दुई पार्टीबीचमा सहकार्य टुट्यो ।

र, सोभियत संघसँग नजिक रहेका अफगानिस्तानका कम्युनिस्टहरूले सरकार बनाए । १९७९ डिसेम्बर २४ को क्रिसमस इभमा सोभियत संघको करिब ३० हजार सैन्य फोर्स अफगानिस्तानमा छिर्‍यो । त्यसको तीन दिनपछि जनताका राष्ट्रपतिको नामले चिनिएका हफिजुल्लाह अमिनको हत्या गरियो । लगत्तै देशनिकाला गरिएका माक्सिस पिपुल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तानका नेता (बनर गुटका) बब्राक कर्मललाई सरकार प्रमुखको जिम्मेवारी दिइएको थियो ।

सोभियत संघको समर्थनमा रहेको सरकारले अफगानिस्तानमा गैरकम्युनिस्टलाई रुचाइएन । जसको परिणामस्वरूप गाउँ र सहर दुवै क्षेत्रमा मुस्लिमहरू कडा रूपमा कम्युनिस्टविरुद्ध उत्रिए । कम्युनिस्ट सरकारविरुद्ध लड्नका लागि समूहगत रूपमा अघि बढ्नका लागि मुजाहिद्दिन भन्ने एउटा समूह नै बन्यो । अरबी भाषामा मुजाहिद्दिन भनिए पनि अंग्रेजीमा ‘फ्रिडम फाइटर’ हुन्छ । जुन मुस्लिम धर्मको रक्षाका लागि आएको भन्ने पनि गरिन्छ । सोभियत संघ नेतृत्वमा रहेको सरकार र मुजाहिद्दिनबीचको तनाव धर्मवादी र वर्गवादीबीचको युद्ध भयो ।

मुजाहिद्दिनको विद्रोही सेना निर्माण गर्नका लागि अमेरिकाले पाकिस्तानमार्फत आर्थिक, प्राविधिक र रणनीतिक सहयोग पनि गरेको थियो । साथै, इरान, साउदी अरेबिया र चीनले पनि त्यस बेला मुजाहिद्दिनलाई त्यस बेला सहयोग गरेको थियो । किनकि त्यस बेला इरान, साउदी, चीन र अमेरिकाबीच राम्रो सम्बन्ध थियो । सन् १९८८ को अप्रिलमा सोभियत संघका नेता मिखाइल गोर्बाचेभले उक्त भूमिमा युद्ध जित्न सकिन्न भन्ने थाहा पाएपछि अमेरिका, पाकिस्तान र अफगानिस्तानसँग शान्ति सम्झौता गरे र सन् १९८९ को फेब्रुअरी १५ मा सोभियत संघको सैनिकले अफगानिस्तान छाडे । सोभियत संघले फर्केलगत्तै घरेलु हिंसाको ऊर्जाले अफगानिस्तानमा नयाँ विद्रोही समूहको जन्म गरायो । उक्त समूहको नाम थियो, तालिवान ।

जसले अमेरिकी सैनिक स्वदेश फर्केपछि अहिले काबुलमा दोस्रो पटक सत्ता चलाइरहेको छ । त्यस बेला रुसी सेनालाई घर फर्कन मुजाहिद्दिनलाई सहयोग गरेको अमेरिकामाथि त्यही समूहबाट जन्मिएको अलकायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क वर्ल्ड ट्रेड सेन्टर र वासिङ्टन डीसीको पेन्टागनमा आक्रमण गर्‍यो । जसमा झन्डै ३ सयको ज्यान गर्‍यो भने ६ सय जनाभन्दा बढी मान्छे घाइते भए । कुनै बेला सोभियत संघविरुद्ध प्रयोग गर्न अमेरिकाले सहयोग गरेको समूहले कालान्तरमा अमेरिकामै आक्रमण गर्‍यो ।

अवकाश प्राप्त उपरथी सिलवाल रुस–वाग्नर समूह, भारत–तमिल र अमेरिका–अलकायदाबीच भएको घटनाहरूलाई हेर्दा कसरी स्वार्थ सकेपछि आफैंले हुर्काएको समूहले आफैंलाई आक्रमण गर्न सक्छ भन्ने सन्देश दिएको मान्छन् । ‘भाडाको हतियारधारी भनेको पैसा लिएर काम गर्ने हो । जसले पैसा बढी दियो, यसकै साथमा काम गर्छन्,’ उनले भने, ‘सरकारले भाडाको फौजलाई निजी स्वार्थका लागि लडाउँछ । तर, केही समयपछि त्यो सरकारविरुद्ध नै लाग्छन् । उनीहरू जागिरे होइनन् तर काम सकिएपछि आफैं सहयोगीविरुद्ध लाग्छन् ।’

*सच्याइएको
कान्तिपुर दैनिकको असार १४ बिहीबार प्रकाशित ‘तालिवानदेखि वाग्नरसम्म : काखमा हुर्किएर कोखमा आक्रमण’ शीर्षक समाचार विश्लेषणमा तमिल टाइगरद्वारा मारिएका राजीव गान्धी घटनाको समयमा पनि प्रधानमन्त्री रहेको र हत्याका दोषी अहिले पनि जेलमा रहेको भनेर उल्लेख भएको विवरण गलत भएकाले भूलसुधारसहित सच्याइएको छ । – प्रधान सम्पादक

प्रकाशित : असार १४, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?