कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चिठीबाटै जीवन सिकाउने आमा

भूमिगतकालमा हिसिलाले मानुषीलाई चिठी लेखिरहन्थिन् । एउटा चिठीमा लेखिन्– तिम्रो बुबा मारिन सक्छन् । अर्कोमा फेरि लेखिन्– म पनि मारिन सक्छु, तर तिमीले आफूलाई सही बाटोमा हिँडाउनुपर्छ । तेस्रो चिठीमा लेखिन्– तिमीलाई पनि सुरक्षा–खतरा छ, केही हुन सक्छ है, ख्याल राख्नू । 
दीपक सापकोटा

काठमाडौँ — एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।

चिठीबाटै जीवन सिकाउने आमा

जेल, बर्दिवाला–पुलिस, मसाल जुलुस, आन्दोलन र चर्का नाराहरू– यिनै थिए मानुषीको बाल्यकालीन चित्र, जो उनको मस्तिष्क–कोषागारमा गाढा स्मृति भएर बसेका छन् । मानुषी साक्षी हुन्– ‘संसार बदल्न’ क्रान्तिमा होमिएका बुबा बाबुराम भट्टराई र आमा हिसिलाको आरोह–अवरोहको । तिनका रुमानी सपना, केही दुःख र क्रान्तिमय रात–साँझहरूको । इतिहास–परिवर्तनको प्रत्यक्षदर्शी हुन्– हिसिला, बाबुराम र मानुषी ।

बाबुराम–हिसिलाको ‘क्रान्ति–सपना’ ले छोरी मानुषीको बाल्यकाल एक्लै बित्यो, भौतिक रूपमा साथ थिएन बुबा–आमाको । मानुषीसँग थिए– धमिलोजस्तो केही सम्झना, आमा–बुबाले बेलाबेला पठाउने माया–सुझावले भरिएका लामा–लामा चिठीहरू । ‘तिनै चिठी थिए मलाई जीवन सिकाउने पाठशाला, आधारभूत खम्बा । तिनै चिठीले मलाई मार्गनिर्देश गरे,’ मानुषी भन्छिन् । ऊबेला जीवन कति बहुमुखी थियो ? मानुषी बेलाबेला आफैंलाई प्रश्न गर्छिन् । आफैंलाई उत्तर दिन्छिन्– अरू नानीभन्दा बेग्लै ढंगको भोगाइले जीवनमा धेरै कुरा सिकायो । बाल्यकालीन–डायरीका पानाहरू पल्टाउँदा एउटा विन्दुमा पुगेर टक्क अडिन्छिन् मानुषी, जहाँ थिए ‘निषेध’ लेखिएका कारागारका ठुल्ठुला पर्खाल ।

मानुषीलाई धमिलो–धमिलो स्मरण छ, ४ वर्षे उनी ज्वरोले थलिएकी थिइन् । ०४६ को आन्दोलनमा घरमा पुलिस आए, हिसिलालाई लिन । कसैको हात समाएर उनी आमा भेट्न जेल पुगिन् । जेलरसँग अनुरोध गरेर हिसिलाले मानुषीलाई एकछिन जेल परिक्रमा गराइन् । कारागारका केही नैसर्गिक गन्ध हुन्छन्– डर, निरीहता र निराशाका । सायद मान्छेले आफूलाई असाध्यै निरीह अनुभव गर्छ कारागारमा । ‘आमाले स्विटर बुन्नुभएको रहेछ, सायद त्यो नै पहिलो र अन्तिम स्विटर हो आमाले बुन्नुभएको, मलाई दिनुभयो,’ मानुषी सम्झिन्छिन्, ‘अहिले लाग्छ– त्यसबेला यो सबै जीवनको सामान्य प्रक्रिया हो भनेर बुझाउन खोज्नुभएको रहेछ– आमाले ।’

धर्मरत्न यमीकी छोरी हुन्– हिसिला । जसको जीवनमार्गमा छ– संघर्ष, थकान अनि अनिँदा रातहरूको कथा । युवावयमै ल्हासा पुगेका थिए– धर्मरत्न । त्यो यस्तो समय थियो, नेपालबाट ल्हासा पुगी व्यापार गरिरहेका काठमान्डुका (मूलतः नेवार) युवाहरू उतै प्रेममा पर्थे र घरजम गर्थे । केही युवा तिब्बती श्रीमतीलाई काठमाडौं ल्याउँथे । असफल युवाहरूचाहिँ प्रेम वा विवाह गरेकी युवती तिब्बतमै छाडेर काठमाडौं फिर्थे । तिब्बतबाट काठमाडौं फिरेका धर्मरत्न यमीको खण्डकाव्य छ– ‘सँदेया लिसः’ । त्यसको नेपाली अनुवाद गरेका छन् कवि दुर्गालाल श्रेष्ठले ‘ल्हासा बोल्छे’ शीर्षकमा । २००७ सालअघि लोकतान्त्रिक आन्दोलनमा जेल परेका बेला धर्मरत्नले लेखेको ‘सँदेया लिसः’ की नायिका छिन्– हिसिला ।

नेवारीमा ‘हिसि’ को अर्थ हुन्छ– हिस्सी परेकी । हिसिला केवल नेपाल–भाषाको शब्द होइन, ल्हासामा पनि प्रचलनमा छ । किताब भन्छ– ल्हासामा धर्मरत्न हिसिला नामकी युवतीको प्रेममा परे । उनी हिसिला लिएर काठमाडौं फिर्न चाहन्थे । तर, हिसिलालाई पराइ देश पुग्ने रुचि भएन ।

किताबमा हिसिलामाथिको एक अनुच्छेद यस्तो छ–

यमीले अनि मुहार उसको हेरेर पुलुक्क

नबोलिकनै जवाफ दियो हाँसेर मुसुक्क

हिसिलाले नि पसल खोली सधैंझैं सजाई

हिसिला देखि किन हो यमी लुक्यो है लजाई

किताबमा धर्मरत्नले १४ सय वर्षअघिको ल्हासा र श्रङ्चङ्गम्पोको कथा पनि लेखेका छन् ।

नेपाल फर्किएपछि धर्मरत्नले आफ्नी कान्छी छोरीको नाम राखे, हिसिला । बाबुबाजेको थर ‘तुलाधर’ छाडेर धर्मरत्नले नाम पछाडि ‘यमी’ लेखे, जसको अर्थ हुन्छ– काठमान्डुवासी । धर्मरत्न मातृकाप्रसाद कोइराला (२००८) नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । महापण्डित राहुल साङ्कृत्यायनले आफ्ना यात्रा–साहित्यमा खुब लेखेका छन्, धर्मरत्न यमीमाथि । भुरुङखेलमा थियो धर्मरत्नको घर, श्री ५ त्रिभुवनले किनिदिएको ।

हिसिलाले जिन्दगीको जवानी ‘जनयुद्ध’ का लागि खर्चेर घर फिरिन् । उनको किताब ‘हिसिलाः फ्रम रिभोलुसनरी टु फस्ट लेडी’ ले ‘जनयुद्ध’ को पृष्ठभूमिदेखि शान्ति प्रक्रियासम्मको कथा भन्छ । किताबले हिसिलाको आँखाबाट युद्धको प्रत्यक्ष वर्णन गर्छ । उनको जीवनको आरोह–अवरोह, अनुभूति, दुःख–सुखका कथाकिताबले भन्छ । भुरुङखेलमै जन्मिइन् मानुषी (२०४२), हिसिलाकी कान्छी–आमाको घरको डेरामा । अर्धभूमिगत बुबा बाबुराम पूर्णकालीन राजनीतिमा होमिएका थिए, प्रायः घर आउँदैनथे । आर्किटेक्ट पढेकी हिसिला पुल्चोक क्याम्पस पढाउँथिन्, अनेमसंघको अध्यक्ष थिइन् । हिसिला मानुषीलाई नियमित लैजान्थिन्– मसाल जुलुस र अन्य राजनीतिक कार्यक्रममा ।

एक्लो कमाइबाट कोटेश्वरमा घर बनाइन्, हिसिलाले । बेलायतमा विद्यावारिधिका लागि छात्रवृत्ति पाइन् । तर, बेलायत जाँदा छोरी कसलाई जिम्मा लगाउने ? हिसिला समस्यामा परिन् । प्रावधान कस्तो रहेछ भने पुरुष विद्यार्थी परिवारै लिएर जान पाउँदोरहेछ, महिला विद्यार्थीले परिवार लैजाने अवधारणा रहेनछ । ‘छोरी पनि लैजान्छु’ भनेर उनले दूतावासमा झगडै गरिछन् । मानुषी ७ वर्ष छँदा हिसिला उनलाई लिएर बेलायत गइन् ।

बेलायत पुगेपछि हिसिला डिप्रेसनको सिकार भइन् । पढाइ, थेसिस र बच्चाको तनावले गलिन् । हिसिला ‘मास्टर्स इन आर्किटेक्चर– हाउजिङ’ पढ्दै थिइन् । नियमले वैधानिक रूपमा मानुषी होस्टेल बस्न पाइनन् । हिसिलाको पहिलो समस्या नै हाउजिङ भयो । मानुषीलाई लुकाएर राखिन् हिसिलाले– अवैधानिक तवरमा । ‘हल्ला नगरी बस है तिमी भन्नुहुन्थ्यो । आमाले मलाई केही महिना लन्डन पनि पठाउनुभएको थियो, एउटा इरानीयन परिवारसँग ।’ यसरी मानुषी बेलायतको न्युक्यासलबाट लन्डन पुगिन् । बेलायत छँदा हिसिला मानुषीलाई पुस्तकालय र स्विमिङमा लैजान्थिन् । बाबुराम भट्टराई मानुषीलाई सम्बोधन गरेर चिठी पठाइरहन्थे । जस्तो लेखिएको हुन्थ्यो– ‘आज पारिजात बित्नुभयो’ वा ‘आज मदन भण्डारी बित्नुभयो’ । मानुषीलाई लाग्यो– मदन भण्डारी नदीमा स्विमिङ नआएरै डुबेर बिते । त्यसैले उनले पिता बाबुरामलाई जवाफ लेखिन्– तपाईं पनि स्विमिङ अनिवार्य सिक्नुस् बा ।

तीन दशकअघि बुबाआमा भूमिगत भएको एक साँझको सम्झना बारबार आउँछ मानुषीलाई । बेलायतबाट भर्खरै नेपाल फिरेका थिए– हिसिला र मानुषी, ०५१ मा । एक साँझ बाबुराम भट्टराईले हिसिलासँग भने, ‘अब हामी भूमिगत हुनुपर्ने भयो ।’ ०५२, फागुन १ मा ‘राजतन्त्र समाप्त र जनगणतन्त्र स्थापना’ को उद्देश्यसाथ माओवादी पार्टीले ‘जनयुद्ध’ सुरु गर्‍यो, बाबुराम–हिसिला भूमिगत भए । त्यसपछिका मानुषीका दिनहरू त्यसअघि बाँचिरहेभन्दा नितान्त बेग्लै भए । केही वक्ररेखा र केही सरल–रेखाहरूको मिलनले निर्माण भएकी हुन्– मानुषी यमी भट्टराई ।

कोटेश्वरमै बसिन् मानुषी, पहिले काका–काकी, पछि ठूलीआमासँग । बानेश्वरको होलिल्यान्ड स्कुल पढ्थिन् । घरको–स्कुलको गेटअघि सीआईडी उनको निगरानी गरिरहन्थ्यो । एक साँझ भूमिगत प्रचण्ड मानुषीलाई भेट्न आए कोटेश्वरमै । भने– तिम्रो आमाले चिठी र रुमाल पठाइदिनुभएको छ । चिठीमा लेखिएको थियो– ‘तिमीलाई अब मानुषी भनेर बोलाउन मिल्दैन । तिमीले अर्को नाम छान्नुपर्छ ।’ मानुषीले नयाँ नामरोजिन्– अस्मिता । यसरी १० वर्षको छँदा उनको नयाँ नामकरण भयो– अस्मिता सिंह । सरकारी कागजपत्रमा उनको नाम छ– अस्मिता सिंह (मानुषी यमी भट्टराई) । र, त्यसपछि उनलाई ‘अस्मिता’ कै नाममा चिठी आउन थाल्यो ।

‘मेरो हुर्काइ आमा–बासँग भएन । आमा–बालाई मिस गर्ने भन्ने पनि खासै,’ मानुषी भन्छिन्, ‘मेरो जीवनको धेरै समय परिवारका अरू आफन्तसँग बित्यो ।’ मानुषीलाई बेलाबेला हिसिलाको चिठी आउँथ्यो । ‘कहाँ छु ? के गर्दै छु ?’ लेखिएको हुन्नथ्यो । मात्रै लेखिएको हुन्थ्यो– पढ्नु, आफ्नो ख्याल राख्नु । अरूको आँखामा त्यो मानुषीको ‘सामान्य जिन्दगी’ थिएन, तर बालाखा मानुषीका लागि थियो– सामान्य जीवन र साधारण दैनिकी । उनलाई न सीआईडी, न पुलिसकै ख्याल हुन्थ्यो । बाल–मन त चञ्चल थियो, चोखो थियो । कहाँ बुझ्थ्यो– षड्यन्त्र, राजनीति र तानावाना ?

त्यसपछि केही ठेस, केही उमंगका दिनहरू बाँचिन् मानुषी– भूमिगत भइन्, भारत पुगिन् । नैनीतालको एक स्कुलमा ६ कक्षा पढ्न थालिन्, छात्रावास बस्थिन् ०५५ मा । बा–आमाको कुनै स्थायी ठेगाना थिएन । एक पटक मानुषीको स्कुलको अभिभावक दिवसको मिति सरेको थियो । तर, मिति सरेको सूचना उनका बा–आमालाई थिएन । पहिल्यै कुनै दिन स्कुल आइपुगेका उनीहरू अभिभावक–दिवसमा आएनन्, त्यस दिन मानुषी निराश भएर टोलाइन् । अभिभावक दिवसपछि लामो समयका लागि स्कुल बिदा भयो, साथीहरू घर लागे । त्यो पूरै स्कुलमा मानुषी एक्ली छात्रा भइन्, प्रिन्सिपलले आफूसँगै राखे ।

अन्तर्वार्ताको बीचतिर मानुषी कफी पिउँदै थिइन् । तर, उनका सम्झनाहरू ओहोरदोहोर गर्न थाले– चिसो महिनामा तुषारो वा पानी परिरहेको स्कुले जमिनमा एकसुरले हिँडिरहेको एक्लो मान्छेको चित्र । ओइलाएको अनुहार लिएर होस्टेलतिर डोरिएको बालिकाको चित्र । त्यो कलिलो, न्यास्रो अनुहार अहिले सम्झिन्छिन्, त्यो उनकै थियो । ‘त्यो बेला म एक्लै रोएकी थिएँ । म अन्तर्मुखी थिएँ, अरूलाई आफ्नो र बा–आमाको कुरा भन्न मिल्दैनथ्यो’, मानुषी भन्छिन् ।

दुई वर्ष नैनीताल पढेपछि उनलाई पश्चिम बंगाल पेदुङ पठाइयो, पढ्न । त्यसबेला मानुषीका लागि ‘आमा भनेकै चिठी, चिठी भनेकै आमा’ । उनलाई एउटा लोकेसन दिइएको थियो, आमाको ठेगानाको । त्यो ‘गोप्य ठेगाना’ मा मानुषी पनि चिठी पठाउँथिन् । चिठीमा हिसिला मानुषीलाई जीवन सिकाउँथिन् । लेख्थिन्– जीवनमा बडो दुःख छ, त्यो तिमीले पनि भोग्नुपर्छ । उनी बिस्तारै मानुषीलाई ‘दुःख बुझ्न मनोवैज्ञानिक रूपमा तयार’ बनाउँथिन् । जस्तो एक पटक एउटा चिठीमा लेखिन्– तिम्रो बुबा मारिन सक्छन् । दोस्रो चिठीमा फेरि लेखिन्– म पनि मारिन सक्छु, तर तिमीले आफूलाई सही बाटोमा हिँडाउनुपर्छ । तेस्रो चिठीमा लेखिन्– तिमीलाई पनि सुरक्षा–खतरा छ, केही हुन सक्छ है, ख्याल राख्नू । त्यस्तो चिठी पाउँदा मानुषीको मनस्थिति कस्तो हुन्थ्यो ?

‘त्यो पुस्ता नै निडर थियो, उमेरभन्दा पहिल्यै बूढो भएजस्तो । म अन्तर्मुखी स्वभावकी थिएँ । स्कुलमै मार्क्स, लेनिन, पारिजात पढें । चिठीमै लेखेजस्तो भएछ भने पनि आन्दोलनमा यस्तो भइरहन्छ भन्ने लाग्थ्यो । त्यसैले डर अनुभव भएन,’ मानुषी भन्छिन् ।

रजश्वलाको विषयमा लेखेर हिसिलाले मानुषीलाई पठाएको (अंग्रेजीमा लेखिएको) एउटा चिठीको नेपाली अनुवाद यस्तो छ :

प्रिय अस्मिता,

...तिम्रो शान्त प्रकृतिबारे तिम्रो बुवाले भन्नुभयो– तिमी उहाँको बुवा, तिम्रो हजुरबुवा जस्तै छौ । लाग्छ, उहाँ पनि तिमीजस्तै साधु चरित्रको हुनुहुन्छ, आफ्ना लागि केही माग्नुहुँदैन, शान्त र स्थिर हुनुहुन्छ । मभन्दा ठीक विपरित !

मेरी प्रिय हुर्किंदै गरेकी छोरी, म तिम्रो किशोरावस्थाबारे तिमीलाई केही ज्ञान दिन चाहन्छु । जब तिम्रो रक्तस्राव हुन्छ, तिमीलाई आफ्नो पेट बाउँडिएर दुख्नसक्छ । यो सामान्य हो, पीडा असह्य नहुँदासम्म । तिमीले बुझ्नैपर्छ किन त्यस्तो खप्न सकिने खालको पीडा हुन्छ । तिमीलाई यसको कारण थाहा भएपछि, तिमीले सहजै पीडा सामना गर्न सक्छौ । तिम्रो शरीरको अनिषेचित अन्डासँगै रगत बाहिरिँदा पाठेघर खुम्चिने क्रम हुँदा हल्का पीडा हुन्छ, तर रजस्वला अवधि सकिँदा तिम्रो पाठेघर सफा रहन्छ । हल्का पीडाको सामना कसरी गर्ने ? यहि बेला प्रख्यात आइन्स्टाइनको ‘थ्योरी अफ रिलेटिभिटी’ सम्झ । पीडा कम गर्न तिमीले केही क्रियाकलापमा संलग्न हुनुपर्छ, जसले तिम्रो पीडा थोरै कम गर्छ । यसको अर्थ तिमीले हल्का शारीरिक काम (हुनसक्छ बाहिर हिँडडुल) गर्ने ताकी बाहिरी चालले तिम्रो भित्रि चाल बिर्साउन सकोस् । अनि यो पनि सम्झ कि पीडा भने मनोवैज्ञानिक हो– तिमी जति त्यसबारे सोच्छौ, त्यति त्यसले पेल्छ । जति तिमीले त्यसप्रति आफ्नो ध्यान अलग गर्छौ, त्यति नै तिमी त्यसलाई बिर्सन्छौ । पक्कै पनि, धेरै असह्य पीडा जाओस् भनेर जाँदैन त्यसैले त्यस्तो खपिनसक्ने पीडा हुनु भनेको पाठेघरभित्र समस्या हुनु हो, त्यस्तो अवस्थामा चिकित्सकसँग अनिवार्य परामर्श लिनुपर्छ ।

आफ्नो नारीत्वसँग कहिल्यै लज्जित नहुनु !

म तिमी गर्व गर्न सक्ने महिला भएको देख्न चाहन्छु !!

अर्को एउटा चिठी छ छोरीलाई हिसिलाकै, जहाँ लेखिएको छ– महिलाको दुःख र पीडा । चिठी यस्तो छ :

तिमीलाई मैले आज देखेको एक मर्मस्पर्शी दृश्यबारे बताउँछु ल ! म थुग्गी थोपडी अघि बस कुरेर बसिरहेकी थिएँ । त्यति नै बेला मैले दुई महिलाले टिनको भाँडाभरि पानी टाउकोमा राखी ओसारिरहेको देखेँ, जसको साथमा ३–४ वर्ष जत्तिको बच्ची पनि थिइन् । थाहा छ तिनले के बोकिरहेकी थिइन् ? उनको दुवै पाखुरामा पानी भरिएका प्लास्टिकका झोला झुण्डिएका थिए । पानीको तौलले गर्दा उनको हिँडाई दाँया–बायाँ स्वतः ढल्किरहेको थियो । कमला पाखुरा र खुट्टाहरूले आफ्नो शरीरलाई सन्तुलनमा राख्न कोशिश गर्दै थिइन् सानी बालिका । म यो दृश्य कहिल्यै बिर्सिने छैन अस्मिता । यो संसार गरिब मानिसहरूप्रति निर्दयी छ, गरिब महिलाप्रति झनै बढी निर्दयी । मभित्रबाट अतिरिक्त उर्जा म जेको लागि लड्छु त्यसको साथै म एक महिला हुँ भन्ने तथ्यबाट पनि आउँछ । मैले मेरो लिंगबारे कहिल्यै पछुतो मानेकी छैन, जुन धेरै महिला यस पितृसत्तात्मक समाजमा भोग्नुपर्ने कठिनाइको कारण पछुतो मान्छन् । र, म तिम्रो बुवालाई माया गर्छु किनकि उनी गरिबको दुःख बुझ्छन्, विशेषगरि ति गरिब महिला, जसले अरुको पर्वाह नगरी आफ्नो पीडा आफैं सामना गर्छन् ।

दिल्ली विश्वविद्यालयबाट स्नातक सकेकी मानुषी २०६५ मा स्ववियु निर्वाचनबाट राजनीतिमा उदाइन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा धेरै मतसहित सचिवमा विजयी हुने पहिलो छात्राको नाम उनैले लेखाइन् । केन्द्रीय क्याम्पसबाटै राजनीतिशास्त्रमा स्नातकोत्तर सकेकी उनले पछि जेएनयूबाट राजनीतिशास्त्रमा एमफिल गरिन् । युवा नेतृ मानुषी अब त आफैं आमा बनेकी छन् । ‘आमा हुनु साधनामा बस्नु जत्तिकै विशिष्ट काम रैछ,’ मानुषी भन्छिन्, ‘संसारकै सबैभन्दा ठूलो जिम्मेवारी आमाले लिएकी हुन्छिन् । शारीरिक, मानसिक, सामाजिक रूपले उनले छोराछोरीप्रति जुन जिम्मेवारी निर्वाह गर्छिन्, त्यो विशिष्ट हो । तर, नेपालजस्तो देशमा आमाहरूलाई नै दोस्रो दर्जाको ठानिन्छ ।’

हिसिलाले मानुषीलाई सधैं स्वतन्त्रै छाडिदिइन् । कहिल्यै ‘यसो गर’, ‘तिमी यस्तो बन्नुपर्छ’ भनिनन् । मानुषी दुःख–दर्दमा छिन् भने पनि हिसिला भन्थिन्– ‘दुःख भोग्नैपर्छ, त्यसको अनुभव गर, यो प्रक्रियाबाट तिमी गुज्रिनैपर्छ । किनभने संसारमा दुःखै–दुःख छ ।’ मानुषीलाई लाग्छ, उनले आफ्नो आमाको दुःख देखेर र आफ्नो संघर्ष सम्झेर त्यसो भनिन् । बाल्यकाल सम्झेर मानुषी घोरिन्छिन् बेलाबेला । ‘आमा–बासँग सधैं भौतिक दूरी रह्यो, तर बाल्यकाल सुखैले बित्यो,’ मानुषीको अनुभव छ ।

काठमाडौंमा कन्या मन्दिर पढ्दापढ्दै हिसिलाकी आमा बितिन् । उनकी दिदी तिमिला कानपुरको आईआईटी कलेजमा इन्जिनियरिङ पढ्दै थिइन् । हिसिला पनि कानपुर गइन्, म्याट्रिक्स पास गरिन् । त्यसपछि स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर, दिल्लीबाट सन् १९८२ मा स्नातक पास गरिन् । त्यहीं उनको भेट भयो– बाबुराम भट्टराईसँग । न्युक्यासल युनिभर्सिटी बेलायतबाट सन् १९९५ मा एम. आर्क पढाइ सकिन् । मानुषीको बुझाइमा ‘हिसिला महिलाको मुद्दामा सधैं सचेत’ थिइन् । आफ्नो प्रिय पत्रिका ‘मानुषी’ कै नामबाट प्ररित भएर छोरीको नामकरण गरिन् । हिसिला मानुषीलाई भन्छिन्, ‘पैसा अत्यन्तै फारु गरेर खर्च गर्नुपर्छ ।’ सायद आमाकै बानी सर्‍यो– ‘पैसा जोगाउनुपर्छ’ सोचेर स्कुल बसमा होइन, हिँडेरै स्कुल जान्थिन् मानुषी ।

केही पटक मन्त्री भइसकेकी नेतृ हिसिलामाथि २०७७ सालमा सामाजिक सन्जाल र पत्रपत्रिकामा लेखियो– ‘एसियाकै भ्रष्ट महिला’, ‘दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ’ । त्यो आरोपको प्रतिवादमा हिसिलाले भनिन् पनि– भ्रष्टाचार प्रमाणित भए जेल जान्छु । मानुषीलाई लाग्छ, त्यसबेला उनकी आमा भिक्टिम भइन् । भन्छिन्, ‘बाबुराममाथि प्रहार गर्न नसक्नेले महिलालाई प्रहार गरेका हुन् । कि आरोप पुष्टि हुनुपर्‍यो, कि अथाह सम्पत्ति हुनुपर्‍यो । जीवनमा अभावै अभाव छ, तर, यस्तो सुन्नुपर्छ ।’ र, उनलाई अचम्म पनि लाग्छ, यत्ति ठूलो आरोप पनि सजिलै पचाइन् उनकी आमाले । मानुषी भन्छिन्, ‘यस्तो आरोप सुन्दा रिस उठ्छ, दुःख लाग्छ र झोक चल्छ ।’

मानुषी राजनीतिमा बुबाभन्दा बढी सम्मान आमालाई गर्छिन् । ‘बाभन्दा निकै प्रतिभाशाली हुनुहुन्छ, मेरी आमा । गीत गाउनुहुन्छ, नाच्नुहुन्छ, चित्र पनि बनाउनुहुन्छ । जनयुद्धमा बाभन्दा कठिन निर्णय मेरी आमाले गर्नुभएको छ– बच्चा छोडेर, घर छोडेर । बालाई भूमिगत हुन जति सजिलो थियो, आमालाई थिएन,’ मानुषी भन्छिन् ।’ मानुषीलाई हिसिलाको मन नपर्ने एउटा बानी छ– उनी बोलेपछि सोच्छिन्, बोल्नुअघि सोच्दिनन् । छोरी मानुषीको आमालाई सुझाव छ– बोल्नुअघि सोचेर बोल्नुस् । उनलाई आमाको ‘निर्दोषिता’ असाध्यै प्रिय छ । मानुषीलाई लाग्छ, सानी नानीजस्तै निर्दोष छिन् उनकी आमा । हिसिला–मानुषी नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति सचिवालय सदस्य छन् । हिसिला अहिले गोरखामै बस्छिन्, घरको कोठा थपेकी छन् । मानुषी भने सोचिबस्छिन्, आमाको जीवन र राजनीति– अनुभव, संघर्ष र सिकाइको स्कुल हो ।

प्रकाशित : वैशाख ११, २०८१ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?