कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएको नर्वेजियन जोडी

आँधीखोलाबाट उत्पादित बिजुली तानसेन, सन्धिखर्क, प्यूठान हुँदै दाङसम्म पुर्‍याउन तार तानेको अनुभव मात्रै होइन, ओखलढुंगामा अस्पताल निर्माण गर्दाको सुखानुभूति पनि उनीहरूले सँगालेका छन्, नेपालको विकासक्रमसँग कुनै न कुनै रूपमा आफ्नो परिवार जोडिन पाएकामा भेस्टोल परिवार हर्षित छ
हामी नेपालमा रहँदाभन्दा अहिले धेरै परिवर्तन भइसकेछ । बाटो बन्यो, धेरैतिर बत्ती पुग्यो, सबैका हातहातमा मोबाइल छ । तर मान्छे–मान्छेबीचको सम्बन्ध भने घटेछ : डोरोथिया भेस्टोल

काठमाडौँ — सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएको नर्वेजियन जोडी

चैत अन्तिम साता पिकेको बेस क्याम्पमा उचाइको सिरेटोले हिर्काउन खोज्दै थियो । त्यत्तिकैमा पाका विदेशीले भने, ‘म करिब ४० वर्षअघि नेपाल आएको थिएँ । त्यसबेला झण्डै १५ वर्षजति यहीँ बसें । उनी मेरी छोरी हुन् । यहाँ आउँदा ३ वर्षकी थिइन् । उनले त नेपाली स्कुलमै पनि पढेकी हुन् ।’ पिकेको बेस क्याम्पमा भेटिएको एक नर्वेजियन परिवार थियो त्यो ।

नर्वेका उनै म्याग्ने भेस्टोल र डोरोथिया भेस्टोलको जोडी पहिलोपटक सन् १९७९ मा नेपाल आएको थियो । ३० वर्षका म्याग्ने र २८ वर्षकी डोरोथिया भर्खरै विवाह गरेर नेपाल आएका थिए । नेपालमा दुई महिना बिताएर उनीहरू आफ्नो देश फर्किए । तर, नेपालको छविलाई भने आफ्नो मानसपटलबाट दुवैले निकाल्न सकेनन् । त्यसपछि उनीहरू १९८४ मा ३ वर्ष र डेढ वर्षका दुई छोरीसहित ‘युनाइटेड मिसन टु नेपाल’ (यूएनएम) मा आबद्ध भएर नेपाल फर्किए । पेसाले सिभिल इन्जिनियर रहेका म्याग्नेले स्याङ्जाको गल्याङस्थित आँधीखोला हाइड्रोपावर परियोजनामा काम पाए । उनले त्यतिबेला हाइड्रोपावरको निर्माणसँगै ट्रान्समिसन लाइन तान्ने जिम्मा पाएका थिए ।

ललितपुरको झम्सिखेलस्थित एक गेस्ट हाउसमा भेटेर कुराकानी गरिरहँदा त्यहाँ बाबु, आमा, छोरी तीनै जना सँगै थिए । म्याग्ने सुस्तरी बोल्छन् र कम बोल्छन् भन्ने कुरा पिके बेस क्याम्पमै भएको कुराकानीबाट पनि थाहा भएको थियो । उनकी श्रीमती डोरोथिया भने फरासिली थिइन् । ‘काठमाडौंमा दुई साताजति सामान्य नेपाली भाषा सिकेपछि हामी त्यतिबेला स्याङ्जा पुगेका थियौं । सुरुमा हाम्रो बसाइ ब्राह्मणहरूको समुदायमा रहेको माटोको घरमा थियो,’ उनले भनिन्, ‘हामी साँझ मात्रै पुगेका थियौं । बत्ती थिएन । टुकीकै भर थियो । थकाइले गर्दा त्यत्तिकै सुतियो ।’

बिहान उठेर घरको हालत देख्दा भने आफ्नो आँखाबाट आँसु नै झरेको उनले बताइन् । ‘नेपाल आएपछि पहिलो र अन्तिम पटक त्यही बेला मेरा आँखा रसाएका थिए,’ उनले मुस्कुराउँदै भनिन्, ‘दलिनभरि धूवाँको कालो मुस्लो र माकुराको जालोको फोहोर । भान्छामा सम्याउनै बाँकी माटोको थुप्रो । सुरुमा त कस्तो ठाउँमा आइयो भन्ने लागेको थियो । पछि सबै मिल्दै गयो । मिलाउँदै गइयो ।’

पुराना दिन सम्झिँदै आफ्नो अनुभव बताउँदा म्याग्ने र डोरोथियाको मुखाकृतिमा छुट्टै प्रकारको चमक देखिन्थ्यो । नेपालमा थुप्रै हाइड्रोपावर र अस्पताल बनाएका नर्वेजियन अड हफ्टनको प्रेरणाले नै उनीहरू नेपाल आएका थिए । अड हफ्टन पनि इन्जिनियर थिए । १९५८ मा नेपाल आएका हफ्टनले बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना गर्नुका साथै पाल्पाको तानसेनमा मिसन अस्पताल निर्माण गरेका थिए । उनले देशका विभिन्न भागमा हाइड्रोपावर परियोजना निर्माणका लागि पनि योगदान दिएका थिए । बुटवल पावर कम्पनी उनकै नेतृत्वमा स्थापना भएको थियो । जसले अहिले पनि हाइड्रोपावरको क्षेत्रमा काम गरिरहेको छ ।

नर्वेको विकसित समाजबाट सिधै स्याङ्जाको ब्राह्मण समुदायमा बसाइँ सर्दा त्यतिबेला भेस्टोल परिवारले महसुस गरेको फरकपनलाई शब्दमा बयान गर्न सकिँदैन । तर, नेपालमा नै केही गर्ने भन्ने उद्देश्यका साथ आएको यो जोडीले यहाँको फरकपनलाई बिस्तारै आफूअनुकूल बनाउँदै लग्यो । ‘म्याग्नेले ड्रममा पाइप जोडेर घरनजिकै नुहाउने ठाउँ बनाइदिए । पँधेरोबाट एउटी सहयोगीले पानी ल्याइदिन्थिन् । उनी बोल्न सक्दिन थिइन्,’ उनले भनिन्, ‘म पानी लिन वा नुहाउन धारामा जाँदा सबैले ट्वाल्ट्वाल्ती हेर्थे । त्यतिबेला साह्रै अप्ठेरो लाग्थ्यो ।’

म्याग्नेका अनुसार त्यतिबेला मिसनका मान्छे भनेपछि सबैले धर्मसँग पनि जोडेर हेर्थे । तर, उनको भनाइमा उनीहरूले समुदायभित्र कहिल्यै धर्मको कुरा गरेनन् । त्यसैले पनि साढे दुई वर्ष ब्राह्मण र त्यसपछिको ३ वर्ष मगर समुदायको बाहुल्य रहेको क्षेत्रमा बसेर काम गर्दा कहिल्यै कसैसँग नराम्रो सम्बन्ध भएन ।

कामका सिलसिलामा प्रायः बाहिर रहने म्याग्नेले त्यतिबेलाको ग्रामीण परिवेशको ब्राह्मण समुदायमा रहँदाको धेरै समस्या खासै चाल पाएनन् । तर, डोरोथियाका लागि भने त्यो चुनौतीपूर्ण थियो । ‘बिस्तारै नेपाली बोल्न सक्ने भएसँगै छिमेकी महिलासँग म घुलमिल भएँ । उनीहरू सबैले राम्रो व्यवहार गर्थे । तर, कहिल्यै भान्सामा छिर्न दिँदैन थिए,’ उनले भनिन्, ‘सुरुमा त अजीब नै लाग्यो । तर, पछि यहाँको संस्कार नै यही रहेछ भन्ने थाहा भयो । पछि दुइटा घरले मात्रै मलाई भान्सामा छिराएनन्, अन्य सबैले भान्सासम्म सहजै पहुँच दिए ।’

आँधीखोलाबाट उत्पादित बिजुली त्यस वरपरका ठाउँमा पुर्‍याउनका लागि लाइन तान्न त्यतिबेला विभिन्न स्थानमा पुगेको विगत पनि म्याग्ने सम्झन्छन् । उनले त्यतिबेला तानसेन, सन्धिखर्क, प्यूठान हुँदै दाङसम्म तार तानेको अनुभव सुनाए । ट्रान्समिसन लाइन तान्न कैयौं दिन घरबाहिर रहँदा दुई नाबालक छोरीसँग श्रीमती स्याङ्जामै हुँदा पनि कुनै डर मान्नुपर्ने अवस्था भने नभएको उनले सुनाए । ‘त्यतिबेला फोन थिएन । म सोमबार फर्किन्छु भनेर हिँडें भने फर्किंदा बुधबार, बिहीबार हुन्थ्यो । मैले उनलाई घरबाट निस्कँदा सोमबार फर्किन्छु भने पनि शुक्रबारसम्म आइनँ भने मात्रै चिन्ता गर्नु भन्थें,’ उनले हाँस्दै भने, ‘नेपालको ग्रामीण बाटोमा एक–दुई दिन तलमाथि भनेको कुनै ठूलो कुरै थिएन । पानी परे पनि बास बस्नुपर्ने । खोला बढे पनि बास बस्नुपर्ने स्थिति थियो ।’ उनका अनुसार त्यतिबेला काठमाडौं–स्याङ्जा ओहोरदोहोर गर्न लोकल बसमै यात्रा गर्नुपर्थ्यो । कहिलेकाहीं परियोजनाको गाडी चढ्न पाए पनि त्यो सधैं मिल्दैन्थ्यो । तर, गाउँमा भने उनी मोटरसाइकल चढेर हुइँकिन्थे । ‘म गाउँमा मोटरसाइलक चढ्थें । बच्चाहरू मोटरसाइकल गुडेको हेर्नैका लागि पछिपछि दौड्थे,’ उनले भने, ‘त्यसबेलाको समय फरक थियो । साँचो रूपमा ग्रामीण परिवेश थियो त्यो । अहिले नेपालमा गाउँ नै छैनन् जस्तो लाग्न थालेको छ । विकास भएको देख्दा खुसी लाग्छ । तर, सँगसँगै पर्यावरण विनाश पनि उत्तिकै भएको छ ।’

म्याग्नेका अनुसार उनको परिवार आँधीखोला परियोजनाको ट्रान्समिसन लाइन बनेपछि झिमरुक पुगेको थियो । स्याङ्जामा रहँदा भने जेठी छोरी इंग्भिल्डले त्यहाँको स्थानीय विद्यालयमा कक्षा १ सम्म अध्ययन गरेकी थिइन् । १ कक्षापछि भने उनी ललितपुरमा खुलेको नर्वेजियन विद्यालयमा बोडर्स बसिन् । उनीहरू स्याङ्जामै कार्यरत रहँदा तेस्रो सन्तानका रूपमा कान्छी छोरीको जन्म भएको थियो । ‘कान्छी छोरी तानसेन मिसन अस्पतालमा जन्मिएकी हुन्,’ डोरोथियाले भनिन् ।

नेपाली परिवेशमा हुर्किएकी इंग्भिल्डलाई धेरैपछिसम्म पनि आफू फरक रंगको नेपाली नै भएको भान हुन्थ्यो । ‘मैले आमा–बुबालाई मेरो रंग अरू साथीभन्दा किन फरक छ भनेर सोधिरहन्थें । शिक्षकहरूले विद्यालयमा पढाउँदा मलाई प्राथमिकता दिन्थे । त्यो पनि किन हो जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘नर्वे गएपछि पनि आधा नेपाली, आधा नर्वेजियन भएकाले घुलमिल हुन मलाई धेरै गाह्रो भयो । यहाँ हामीले गरेको केही मिलेन भने हाँसेर सिकाउँथे । तर उता त अजीब रैछ, यो भनेको जस्तो गर्थे ।’

म्याग्नेका अनुसार ब्राह्मण समुदायमा भन्दा उनीहरूलाई मगर बाहुल्य समुदायमा बस्दा निकै रमाइलो भयो । ब्राह्मण समुदायसँग बस्दा धेरै छोइछिटो हुने तर मगर समुदायमा त्यस्तो वास्ता नहुने हुँदा पनि उनीहरूलाई छुट्टै किसिमको सहजता महसुस भएको सुनाए । ‘हामी समुदायमा बसेर कसैलाई चिढाउन चाहँदैन थियौं । त्यसैले जे जस्तो भन्छन्, त्यसै गरिन्थ्यो,’ उनले भने, ‘तर मगर समुदायसँग बस्दा केही मतलब भएन ।’

नेपालमा जातीय व्यवस्थाभन्दा पनि त्यहाँभित्रको तल्लो र माथिल्लो जात भनेर हुने भेदभावले भने आफूलाई निकै दुःखी बनाउने गरेको भेस्टोल दम्पतीले सुनाए । ‘ट्रान्समिसनका लागि पोल गाड्न ठूलो टोली लिएर हिँड्नुपर्थ्यो । हाम्रा भान्से भने प्रायः तल्लो जात भनेर हेपिएका समुदायकै व्यक्ति हुन्थे । त्यसले गर्दा हामीसँग भएका बाहुन समुदायका व्यक्तिलाई खाना खानै मुस्किल हुन्थ्यो,’ उनले हाँस्दै भने, ‘सुरुमा खान्न भनेर आफैं पकाउँथे । तर केही दिन पोल बोकेर हिँडेपछि थकाइको सुरुमा जातपात बिर्सिन्थे । मलाई त्यो दृश्य देख्दा रमाइलो लाग्थ्यो ।’

भेस्टोल परिवार करिब पाँच वर्षजति स्याङ्जा बसेपछि झिमरुकमा सर्‍यो । तर, उनीहरूलाई झिमरुकभन्दा पनि स्याङ्जाकै याद बढी आउँछ । यो पटक नेपाल आउँदा उनीहरू पुनः आफूले आधा दशकसँगै बिताएका छिमेकीहरू भेट्न पुगेका थिए । ‘हामी नेपालमा रहँदाभन्दा अहिले धेरै परिवर्तन भइसक्यो । बाटो बन्यो, बत्ती पुग्यो, सबैका हातहातमा मोबाइल छ । तर मान्छे–मान्छेबीचको सम्बन्ध भने घटेछ,’ डोरोथियाले अमिलो मुख बनाउँदै भनिन्, ‘गाउँका प्राय सबै युवा बाहिर रहेछन् । अहिले सबैको घरमा पैसा रहेछ । तर सन्तुष्टि छैन । त्यतिबेला पैसा थिएन, सन्तुष्टि भने थियो जस्तो लाग्छ ।’

म्याग्नेका अनुसार विश्व हेर्नका लागि विदेश जानु बेठिक होइन । तर, त्यहाँ सिकेको ज्ञान र सीप भने नेपाल भित्रिएजस्तो आफूलाई नलागेको उनले बताए । ‘गाउँ सहर त बन्यो । तर त्यो गाउँलेहरूको जीवनमा भने अझै ठोस परिवर्तन आएजस्तो लागेन,’ उनले भने, ‘त्यतिबेला हामी हुँदा पनि राजनीतिक परिवर्तनको कुरा हुन्थ्यो । त्यसले विकास हुन्छ भन्ने आशा थियो । अहिले पनि त्यही कुरा गर्छन् ।’

म्याग्नेको परिवार १९९७ तिर नर्वे फर्किएको थियो । तर, २०११ मा उनी फेरि ओखलढुंगा अस्पताल निर्माणका लागि नेपाल आए । त्यतिबेला पनि उनकी श्रीमती डोरोथिया सँगै आइन् । करिब डेढ दशकको अन्तरमा पुनः आउँदा भने आफूले त्यतिबेला देखेभोगेको देशमा थुप्रै परिवर्तन भए पनि मान्छेको जीवनमा भने त्यसको छनक नदेखिएको उनीहरू बताउँछन् ।

नेपालको विकासक्रमसँग कुनै न कुनै रूपमा आफ्नो परिवार जोडिन पाएकामा भेस्टोल परिवारलाई अहिले पनि गर्व लाग्छ । ‘हामी विकसित देशबाट यहाँ आएर काम गर्‍यौं । यहीँ बस्यौं । बच्चाहरू यहीं हुर्किए । त्यसैले हामीलाई यो हाम्रो अर्को घर हो जस्तो लाग्छ,’ डोरोथियाले भनिन्, ‘यहाँका मानिसहरूले हामीलाई सहज रूपमा स्वीकार गरे । आफ्नो परिवारको अंग बनाए । कहिल्यै हामी देश बाहिरका छौं जस्तो लागेन ।’ भेस्टोल दम्पतीलाई नेपालमा जातपात र छुवाछूत पहिलेको तुलनामा कम भएजस्तो लागे पनि धनी र गरिबबीचको खाडल भने झनै गहिरिएको भान भएको छ । ‘छुवाछूत त धेरै नै कम भएछ । तर, धनी र गरिबबीचको खाडल बढेछ,’ उनले भनिन्, ‘गरिबहरू ऋणमा डुबेका छन् । धनीहरू ब्याज खाएर झन् धनी बनेछन् । त्यतिबेलाका साथीहरूसँग भेटेर कुराकानी गर्दा त्यही अनुभूति गरें । यो कत्तिको सत्य हो, मलाई थाहा छैन ।’

उनीहरूलाई नेपालमा भौतिक विकाससँगै मानवीय विकास पनि सँगै भइदिएको भए सुनमा सुगन्ध हुने थियो जस्तो लागेको छ । तर, एकमहिने बसाइ र घुमाइमा समाजमा बढ्दै गएको नकारात्मकताले उनीहरूलाई पिरोलेको छ । ‘नेपाल र नेपालीमा पहिला यति धेरै नकारात्मकता थिएन । उनीहरू हँसिला, सहयोगी मन भएका हुन्,’ म्याग्नेले भने, ‘अहिले मानिसको घरघरमा बत्ती त बलेको छ । तर कता कता मनभित्रको बत्ती भने मधुरो हुँदै गएजस्तो लाग्यो ।’

नर्वेको ग्रामीण भेगमा शान्त जीवन बिताइरहेका म्याग्ने केही महिनामा ७० वर्ष पुगेर रिटायर हुँदै छन् । उनकी श्रीमती डोरोथिया पनि ६८ वर्ष लागिसकिन् । आफ्नो युवावस्था बिताएको देश विकसित र खुसी भएको उनीहरू देख्न चाहन्छन् । ‘हामीलाई नेपालको औधि माया लाग्छ । नर्वेमै पनि नेपाली भेट्दा हामी नेपालीमा कुरा गर्न थालिहाल्छौं,’ डोरोथियाले भनिन्, ‘यहाँका मानिसहरू सधैं खुसी रहून् । मेरो शुभकामना ।’

प्रकाशित : वैशाख ७, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?