कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

प्रदीप र अभिलाषा टेनिस च्याम्पियन

काठमाडौँ — प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।

प्रदीप र अभिलाषा टेनिस च्याम्पियन

दुवै डिफेन्डिङ च्याम्पियन हुन् । प्रदीपले पुरुष र अभिलाषाले महिला सिंगल्स उपाधि रक्षा गरे । त्रिपुरेश्वरस्थित राखेप टेनिस कोर्टमा प्रदीपले फाइनलमा प्रणव मानन्धरलाई ६–३, ६–२ को सोझो सेटमा हराए । अभिलाषाले सुनीरा थापालाई ६–०, ६–१ को सेटमा हराइन् ।

दुवैका विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाए । अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक रानासँग मिलेर स्वर्ण जितेकी थिइन् । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते । जितेन्द्रले ३५ वर्षमाथि सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका थिए ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ विजेता भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जितेका थिए ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित विजेतालाई प्रायोजक सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष मनोहरदास मुललगायतले पुरस्कृत गरे । बैंकका अध्यक्ष पाण्डेले आउने संस्करणदेखि प्रायोजन रकममा वृद्धि गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा १ सय ५१ खेलाडीले ११ विधामा प्रतिस्पर्धा गरेका थिए । सबै विधाका शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार पाए । ५ लाख ८२ हजार ५ सय रुपैयाँ पुरस्कार वितरण गरियो ।

प्रकाशित : वैशाख १५, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?