खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री श्रेष्ठ

वैशाख २७, २०८१

कान्तिपुर संवाददाता

The budget is not enough to develop infrastructure in the field of sports: Minister Shrestha

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको पनि बताए । 

मन्त्री श्रेष्ठले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौंको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा निर्माणको गति सुस्त भएको बताए । 

१९ औँ एसियाली खेलकुद प्रगियोगिताका लागि दुई सय ५३ खेलाडीहरूको स्वदेश र विदेशमा प्रशिक्षण सम्पन्न भएको जानकारी पनि मन्त्री श्रेष्ठले दिए । उनले खेलसम्बन्धी कानुन र राष्ट्रिय युवा नीति संशोधनका लागि गृहकार्य भइरहेको बताए । 

बैठकमा सांसदहरूले खेल पूर्वाधार एकै पटक धेरैतिर निर्माण गर्न सम्भव नभए छनोटका आधारमा उपयोगी र कम खर्चका संरचना बनाउन, खेल प्रतिभाको खोजी र संरक्षण गर्न, विदेशमा हुने प्रतियोगीतामा खेलाडीभन्दा अन्य व्यक्तिको भीड नपठाउन, खेल क्षेत्रलाई अनुशासित र भ्रष्टाचाररहित तुल्याउन आग्रह गरेका थिए । 

समिति बैठकमा राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दशरथ रंगशालाको मूल ढोका निर्माण गर्न लागिएको, कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा ‘फ्लड लाइट’ जडानको प्रक्रिया सुरु भएको जानकारी दिए ।

कान्तिपुर

Link copied successfully