निको भएर फेरि हिमाल चढ्न मन छ- फिचर - कान्तिपुर समाचार
एक शेर्पा आरोहीको चाहना

निको भएर फेरि हिमाल चढ्न मन छ

‘मलाई अहिले मेरो, बुढी र जेठो छोरोको भन्दा पनि १९ महिने कान्छोको बढी चिन्ता छ’
‘यो अस्पतालको कोठामा बस्दा-बस्दा कहिले त्यो माथि चुचुराबाट देखिने खुला आकाश देख्न पाउँछु जस्तै भएको छ । निको भएपछि फेरि हिमाल चढ्छु ।’
स्वरूप आचार्य

काठमाडौँ — विश्वले मे २९ तारिखका दिन (आइतबार) ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइरहँदा एकजना शेर्पा भने आफ्नो अनिश्चित भविष्यलाई आत्मसात गर्दै काठमाडौंको बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) को हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को बेडमा पल्टिरहेका थिए ।

पाँच पटक औपचारिक र एकपटक अनौपचारिक रुपमा सगरमाथाको चुचुरोमा पाइला टेकेका सोलुखुम्बु, ग्वारा घर भई हाल बौद्धमा बसोबास गरिरहेका ४५ वर्षीय डेण्डी शेर्पालाई ‘एक्युट ल्युकिमिया’ (एक प्रकारको रगतको क्यान्सर) पुष्टि भएको छ ।

दुई वर्ष कोरोनाका कारण केही काम गर्न नपाएका डेण्डी यसपटक राम्रो कमाइ हुने आशामा फेरि एकपटक सगरमाथाको चुचुरोमा पाइला टेक्न हौसिएका थिए । तर, उनको लेखान्तमा सगरमाथाको शिखरभन्दा अगाडि अस्पतालको बेड रहेछ । लुक्लाबाट आधार शिविरतर्फ पाइला चाल्दै गर्दा उनी पाँच दिनभन्दा बढी हिँड्न सकेनन् र त्याङबोचेबाटै काठमाडौं फर्किएका थिए ।

हरेक सिजनमा भिन्दा–भिन्दै एजेन्सीबाट हिमाल चढ्नका लागि जाने डेण्डी यो सिजनमा भने निर्मल पूर्जा सम्मिलित कम्पनी इलाइट एक्सपिडबाट शेर्पा बनेर सगरमाथा चढ्न निस्किएका थिए । तर बीच बाटोबाटै फर्किएर अस्पताल भर्ना हुन परेपछि भने उनको मनस्थिति नै बदलिएको छ ।

लाम्चो अनुहारमा छुस्स पलाएको दारी, गलामा पहेंलो रंगको धागोमा उनिएको बुटी, छातीमा इलेक्ट्रोड प्याड, दायाँ पाखुरामा बीपी सेट अनि चोर औंलामा अक्सिमिटर । उनको आँखामा आफ्नो, श्रीमती दाची, ११ वर्षीय जेठा छोरा पासाङ र १९ महिने कान्छा छोरा लाक्पाको भविष्यलाई लिएर अनगिन्ती प्रश्नहरु छन् । तर, त्यसको सटिक उत्तर न उनीसँग न हामीसँग छ न त उपचारमा संलग्न चिकित्सकसँग नै । छ त, केवल आशा– सुस्वास्थ्य भविष्यको ।

‘मलाई अहिले मेरो, बुढीको र जेठो छोरोको भन्दा पनि १९ महिने कान्छोको बढी चिन्ता छ,’ रुन्चे हाँसोसहित सडेर कालो भएका माथिल्ला दाँत देखाउँदै उनले भने, ‘यो एक्सपिडिसन सकेर फर्किन पाएको भए पनि हातमा केही पैसा हुन्थ्यो । अहिले तत्काल कसैको आश गरिहाल्न पर्दैन थियो । अब त केही नै बाँकी छैन । त्यसैले कस्तो–कस्तो लाग्छ ।’

डेण्डीले आफ्नो मनोभाव बताउने शब्द नै भेटिरहेका थिएनन् । सायद सगमाथालाई अघिल्तिरबाट मडारिँदै आइपुगेको कालो बादलले छोपे जस्तै भन्न खोजेका थिए होलान् उनले । किनभने उनको अनुहारको गाम्भिर्यतामा सायद त्यो उचाइमा देखिने अनिश्चितता पोतिएको थियो ।

‘म लुक्ला पुगेदेखि नै केही असहज महसुस गरिरहेको थिएँ । विशेष गरेर मेरा खुट्टाहरू हिँड्नै अप्ठेरो हुने गरेर गल्न थालेका थिए,’ उनले लुक्लाबाट अगाडि बढ्दाको अनुभव सुनाउँदै भने, ‘तर, पेरिचे पनि नपुग्दै फर्किने निधो गर्न बाध्य भएँ अनि हेली चढेर काठमाडौं फर्किएँ ।’

पर्वतारोहणमा विश्व ख्याति कमाएका निर्मल पुर्जाको टोलीमा सामले भएर सगमाथाको शिखरमा पर्यटकहरुलाई पुर्‍याउन हिँडेका डेण्डी हेलिकप्टरमा काठमाडौं फर्किएसँगै काठमाडौंको बूढानीलकण्ठस्थित करुणा अस्पतालमा जाँच गराउन पुगे । त्यहाँ करिब ७ दिनको उपचारपछि उनलाई रगतको समस्या भएको निष्कर्षमा सिभिल अस्पतालमा गएर थप जाँच गराउन भन्दै चिकित्सकहरुले डिस्चार्ज गरिदिए ।

करुणा अस्पतालबाट डिस्चार्ज भएपछि डेण्डी सिभिल अस्पताल जानुपर्ने भए पनि त्यहाँ गएनन् । रसिलो–पोसिलो खाएर तंग्रिने आशामा उनी काठमाडौंको बौद्धमा रहेको डेरामै बसे । तर, जब रोगले च्यापेर उनी सिथिल भए तब उनलाई श्रीमती दाची र बहिनी जाङ्बोले मिलेर सिभिल अस्पतालको इमरजेन्सीमा पुर्‍याए ।

सिभिल अस्पतालमा कार्यरत सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीका अनुसार अस्पताल पुग्दा उनको अवस्था नाजुक थियो । रगतमा हेमोग्लोबिनको मात्रा घटेर केवल २ मा झरेको थियो भने रक्तचाप पनि निकै न्यून थियो ।

करुणा अस्पतालमा छँदा नै रगतमा केही समस्या हुनसक्ने निर्क्योल भएका कारण उनी सिभिलमा रगत रोगकै बिरामीका रुपमा आईसीयूमा भर्ना गरिए । केही दिनको आईसीयू बसाईपछि उनी हाल केही सामान्य अवस्थामा फर्किएका छन् । तर, रोग निदानको क्रममा उनलाई रगतको क्यान्सर नै भएको हो भन्ने पुष्टि नै भइसकेको छ ।

‘विभिन्न प्रकारका रगतका क्यान्सरमध्ये कुन हो भन्ने यकिन हुन अझै केही दिन लाग्ने भए पनि क्यान्सर नै हो भन्नेमा कुनै द्विविधा अब रहेन,’ सिभिल अस्पतालका रक्तक्यान्सर रोग विशेषज्ञ डा. विशाल पौडेलले भने । उनका अनुसार डेण्डीको थप उपचार प्रक्रिया कस्तो हुन्छ भन्ने यकिन गर्न फ्लोसाइटोमेट्री परीक्षण रिपोर्टको पर्खाइ छ । ‘एक्युट ल्युकिमिया हो भन्ने निर्क्योल भएको छ । तर, त्यसको पनि कुन प्रकार हो भन्ने थाहा पाउन नमुना परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आएपछि के कस्तो हो भन्न सकिन्छ,’ उनले भने ।

डेण्डीलाई अहिले अस्पतालमा उनकी श्रीमती डाची शेर्पा र केही आफन्तले पालो मिलाएर कुरिरहेका छन् । डेण्डी बिरामी भएपछि ११ वर्षको छोरो पासाङलाई बहिनी जाङ्बोले काठमाडौंको कपन गुम्बाको व्यवस्थापनमा रहेको सोलुखुम्बुको एक गुम्बामा भर्ना गरिदिएकी छिन् । १९ महिने काखे छोरोलाई भने डाचीले अस्पतालमा आफैंसँग राखेकी छिन् ।

अस्पतालको बसाईंले नै कान्छो छोरो बिरामी परेपछि त्यही जाँच गराएर एन्टिबायोटिक खुवाउँदै छिन् । ‘सानै छ, एकछिन चुप लागेर बस्दैन । यहाँ बस्दा चिसो लागेर होला रुघाखोकी लागेको थियो,’ उनले भनिन्, ‘अहिले जँचाएर औषधि खुवाइरहेको छु ।’

श्रीमती दाची शेर्पा डेण्डी शेर्पाले सगरमाथा आरोहण गरेको प्रमाणपत्र देखाउँदै साथमा १९ महिने छाेरा लाक्पा । तस्बिर : कान्तिपुर

डेण्डीलाई अहिले आफूलाई के भएको हो भनेर चिकित्सकले भनिसकेका छैनन् । उनलाई थाहा छ त केवल आफूलाई कडा रोग लागेको र उपचार खर्च धेरै लाग्छ भन्ने ।

४० दिनका लागि गएका श्रीमान् ५ दिनमै फर्किंदा दाचीको मनमा चिसो नपसेको होइन । तर, यति गम्भीर रोग लागेको होला भनेर उनले कल्पनासम्म पनि गरेकी थिइनन् । ‘करुणामा ७ दिन जति भर्ना गरेर घर लाँदा त अब ठीक भयो होला भन्ने नै थियो,’ यति भन्दै गर्दा उनका आँखाहरू छचल्किन खोजेका थिए । तर, सानो छोरालाई काख च्यापिरहेकी उनले गहबाट आँसु झर्न दिइनन् । ‘दुई वर्ष अघि हिमाल चढेर कमाएको पैसा सबै सकियो । कोरोनाले गर्दा दुई वर्ष त चढ्न जानै पाउनुभएन । अहिले डाक्टरहरूले के–के जाँच गर्न भनेर भन्नु हुन्छ त्यो गर्न पनि पैसा छैन,’ उनले भनिन् ।

डेण्डीकी बहिनी जाङ्बोका अनुसार अहिले केही चिनेजानेका आफन्त र साथीभाइले दिएको १०–१५ हजार सहयोग कै भरमा उनको उपचार अघि बढिरहेको छ । चिकित्सकहरुले जुन रोग खुट्याउने छन् त्यसको न उपचार सहज छ न रकम नै सस्तो छ । त्यही पिरलोले अहिले शेर्पा परिवारलाई गाँजेको छ ।

डेण्डीका ज्वाइँ दावा तेन्जिङ शेर्पा पनि केही दिन अघि मात्रै सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन् । उनी यो सिजन गायक राजु लामासहितको टोलीलाई लिएर सगरमाथाको शिखरमा पुगेर फर्किर्एका हुन् । अब डेण्डी उनले नै केही जोरजाम गरिदेलान् भन्ने भरमा छन् ।

‘म भर्खरै सगरमाथाबाट फर्किएको छु । यता आएपछि आफैंलाई पनि सञ्चो भएन । अहिले त फेसबुकमा आफ्नो दुःख पोखेर केही रकम जोहो भइरहेको छ । पछि के हुन्छ हेरौं,’ दावाले फोनमा भने । उनका अनुसार हिमाल चढ्ने शेर्पाहरुको बिमा हुने भए पनि त्यो पर्वतारोहण गर्दा आइपर्ने समस्याका लागि मात्रै काम लाग्छ । डेण्डीलाई जस्तो कडा रोग देखिएमा बीमाले कभर नै गर्दैन ।

यद्यपी डेण्डीलाई त्याङबोचेबाट हेलिकप्टरमा उद्धार गरेर काठमाडौं ल्याएर करुणा अस्पतालमा गरिएको सबै उपचार खर्च भने इलाइट एक्सपिडले नै बेहोरेको थियो । ‘हिमाल चढ्दा केही भयो भने बिमाले बेहोर्ने हो । कम्पनीले पनि सकेको गर्छ । तर, डेण्डी दाइको रोग त अर्कै पर्‍यो,’ ज्वाइँ दावाले भने ।

डेण्डीले सन् २०१४ बाट मात्रै हिमाल चढ्न सुरु गरेका हुन् । उनलाई ज्वाइँ दावाले नै पहिलोपटक आरोहणमा लिएर गएका थिए । त्यसअघि भने डेण्डी सोलु तिरै कुकको काम गर्थे । तर, पछिल्लो समय एकपटक हिमाल चढ्दा सरदर ६–७ लाख रुपैयाँ जोगिने भएपछि उनले पनि हिमाल चढ्ने मनसाय बनाएका थिए ।

‘दाइलाई सुरुमा थोरैमात्र सामान बोकाएर सिकाउँदै–सिकाउँदै मैले पहिलोपटक हिमालमा लगेको हुँ,’ ४ पटक सगरमाथा र एकपटक पाकिस्तानमा रहेको केटु शिखरमा पदचाप छोडेका दावाले भने, ‘हामीले सगरमाथासँगै चढेका छौं । डेण्डी दाइ कुनै पनि कम्पनीसँग जोडिनुभएको छैन । सिजनमा जसले बोलायो त्यही टिममा हिमाल चढ्नुहुन्थ्यो ।’

डेण्डी योपटक हिमाल आरोहण गर्न गएका इलाइट एक्सपिडका निर्देशक मिंग्मा डेभिड शेर्पाका अनुसार सबै आरोहीहरुको १५ लाखको दुर्घटना बीमा, ४ लाखको औषधोपचार बीमा र १० हजार डलर बराबरको उद्धारका लागि खर्च गर्ने ग्यारेन्टी पेस गरेपछि मात्रै हिमाल चढ्ने अनुमति पाइन्छ । यस्तै अनुमति पत्र लिनकै लागि पनि स्वास्थ्य जाँच गरेको हुनुपर्छ ।

‘डेण्डी दाइ हामी कहाँबाट पहिलोपटक एक्सपिडिसनमा जानका लागि जोडिनुभएको हो । तर एक्सपिडिसन सुरु हुनेबित्तिकै उहाँलाई समस्या हुन थाल्यो अनि हामीले ताङबोचेबाट उद्धार गरेका थियौं,’ उनले भने, ‘बिमाले एक्सिपडिसनकै दौरानमा केही स्वास्थ्य समस्या भए मात्रै बेहोर्छ । नभए कम्पनी आफैंले मानवताको आधारमा गर्ने हो । डेण्डी दाइलाई क्यान्सर देखिएको उपचार एक्सपिडिसनमा जाँदा गरिने बीमाले कभर गर्दैन । यो साह्रै दुःख लाग्दो कुरा हो ।’

यस्तै नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार पनि आरोहणको क्रममा दुर्घटनामा परेर मृत्यु नै भए बिमाले १५ लाख उपलब्ध गराउँछ । तर, स्वास्थ्योपचार बिमा भने निकै कम छ । ‘कुनै आरोहीलाई हार्ट अट्याक नै आएको भने ४ लाखको मेडिकल बिमाले मात्रै पुग्दैन । यस्तै केहीलाई लडेर पक्षघात वा कोमामै पनि जान सक्छन्,’ उनले भने, ‘फेरि पर्वतारोहणकै क्रममा देखिन सक्ने स्वास्थ्य समस्याबाहेक अन्य समस्याको लागि पनि बिमाले पैसा दिन आनाकानी गर्छ । त्यसैले धेरै गाह्रो छ । अधिकांश त्यस्तो अवस्थामा कम्पनी र साथीभाइले मानवताको आधारमा नै सहयोग गर्ने हो ।’

उनले डेण्डी शेर्पाको स्वास्थ्य अवस्थाको बारेमा संघलाई औपचारिक जानकारी प्राप्त भएको आफूलाई थाहा नभएको बताए । ‘हामीलाई अहिलेसम्म कसैले केही भनेको छैन । तर, त्यस्तो हो भने हाम्रो तर्फबाट हामीले के कति गर्न सक्छौं त्यो गर्छौं । यो निकै दु:खद अवस्था हो,’ उनले भने, ‘यसमा सरकारले पनि केही व्यवस्था गर्नुपर्छ । शेर्पा क्लाइम्बर र गाइडहरुलाई वास्तवमा धेरै नै गाह्रो छ ।’

डेण्डीको उपचारमा संलग्न डा. विशाल पौडेलका अनुसार उनलाई कुन प्रकारको ल्युकिमिया देखिन्छ त्यसले उपचारमा कति खर्च लाग्छ र उपचारकf क्रममा के कस्तो जोखिम आउनसक्छ भन्ने निर्क्योल हुन्छ । ‘एएलएल आउँछ कि एएमएल आउँछ त्यसमा पनि धेरै कुरा निर्भर रहन्छ । तर, जुन आए पनि उपचार खर्च थोरैमा पनि १५ लाख जति चाहिन्छ,’ उनले भने, ‘तर कति समय उपचारमा बस्नुपर्छ भन्ने जस्तो कुराको निर्क्योल रिपोर्ट आएपछि मात्रै गर्न सकिन्छ ।’

डेण्डीलाई सबै कुरा विस्तृत थाहा छैन । किनभने उनी अहिले पनि २४ घण्टा चिकित्सककै र स्वास्थ्यकर्मीको निगरानीमा छन् । तर, उनलाई फेरि पनि हिमाल चढेर त्यहाँबाट देखिने दृश्यलाई आफ्नो मानसपटलमा कैद गर्न मन छ । ‘यो अस्पतालको कोठामा बस्दा बस्दा कहिले त्यो माथि चुचुराबाट देखिने खुला आकाश देख्न पाउँछु जस्तै भएको छ,’ उनले भने, ‘निको भएपछि फेरि हिमाल चढ्छु ।’

प्रकाशित : जेष्ठ १६, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी बजेट होइन, पुराना कार्यक्रमलाई थोरै तलमाथि गरेको मात्रै हो: अर्थमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभई विगतकै कार्यक्रमको निरन्तरता दिइएको बताएका छन् । केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनको भनाइ छ । 'धेरै कार्यक्रम पुरानैको निरन्तरता हो । केहीमा थोरै यताउता गरेको मात्रै हो' उनले भने । 

आफूले ल्याएको बजेट उत्कृष्ट भनेर दाबी पनि आफूले नगर्ने अर्थमन्त्री शर्माले बताए । 'हामीले यति नै गर्न सक्यौं । सबै गर्न सक्यौं भन्ने होइन, धेरै कुरा छुटेका होलान् । सबैतिर ध्यान नपुग्दो रहेछ । कतै न कतै चिप्लिइँदो रहेछ', उनले भने । त्यस्तै बजेटले आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताए । 'हामीले बजेटमा निश्चित लक्ष्य राखेर जाने भनेका छौं । ती लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन हुन्छ' उनले भने, 'गरिबी अन्त्य गर्ने लक्ष्य तोकिएको छ । मानवपुँजीको विकासलाई आधारभुत ढंगबाटै हेरिनुपर्छ भनेका छौं ।

प्रकाशित : जेष्ठ १६, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×