कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले मरेपछि आफैंलाई राख्‍ने चिहान बनाए

फालेलुङ गाउँपालिका-८ याङनामका मनप्रसाद कुरुम्वाङ र उनकी श्रीमती बुधरानीले १ लाख १२ हजार खर्चेर बनाए चिहान
लक्ष्मी गौतम

पाँचथर — फालेलुङ गाउँपालिका-८ याङनामका ८४ वर्षीय मनप्रसाद कुरुम्वाङ श्रीमती बुधरानीसँग घरनजिकैको चिहानमा पुग्छन् । झट्ट परबाट हेर्दा यो चिहान मन्दिरजस्तो देखिन्छ । काठको दलिन र काठकै बिम हालेर उठाइएको यसको माथिल्लो भाग जस्ता पाताको छानाले यो मन्दिरजस्तै देखिएको हो । जसभित्र दुईवटा पक्की चिहान छन् ।

जसले मरेपछि आफैंलाई राख्‍ने चिहान बनाए

त्यसको छेउछाउमा रोपेका फूल र फलफूलका बिरुवा गोडमेल गर्छन् अनि चिहानको भित्री भागमा थुप्रिएका फोहोर कसिंगर बढारेर घर फर्किन्छन् ।

मनप्रसाद दम्पतीले पाँचवर्ष अघि १ लाख १२ हजार ६३ रुपैयाँ खर्चेर बनाएको यी दुई चिहान अरु कसैको नभएर उनीहरुको आफ्नै हो । आफू मरेपछि छोरा छोरी, नातागोता र इष्टमित्रले कष्ट सहनु नपरोस् भनेर आफ्नो लागि मर्नु अघि आफैंले कमाएको पैसा खर्चेर चिहान बनाएको मनप्रसादले बताए । उनले भने, ‘मृत्यु पछि चिहान खन्न, ढुंगा बोक्न मनग्गे श्रम लाग्छ । श्रमको त्यो भार अरुले बेहोर्न नपरोस् भनेर यसो गरेको हुँ ।’

मृत्युपछि आफैंलाई राख्न जिवित छँदै चिहान बनाउने मनप्रसाद दम्पतीको अनौठो कामबारे छरछिमेकका मान्छे अच्चम पर्छन् । अनि कति त उनीहरुले बनाएको यो चिहान पनि हेर्न पुग्छन् ।


किरात याक्थुङ चुम्लुङका पूर्व जिल्ला अध्यक्ष एवं मनका छिमेकी नरेन्द्रराज केरुङ मनप्रसाद दम्पतीको काम देखेर अनौठो मान्छन् । अरुलाई जस्तै उनलाई पनि मन दम्पतीले जिवितै छँदा चिहान बनाउन थालेको सुनेर नौलो लागेको थियो । उनले भने, ‘यो दम्पतीको उत्सुकता देख्दा मलाई अचम्म लाग्छ । मान्छे मर्न डराउँछन् तर उनीहरुले मत्यु पूर्व नै चिहान बनाइसके ।’

उनीहरुले बनाएका दुवै चिहानमा ढोका पनि छ । उनले सुनाए, ‘हाम्रो मृत्युपछि बाकसमा शव ल्याएर चिहान भित्र राखी ढोका बन्द गरिदिनु भनेर छोरा बुहारीलाई अर्‍हाएका छौं ।’

कुरुम्वाङ दम्पती छोराबुहारीका साथ बस्छन् । दुईमध्ये एक छोराबुहारी नजिकै छुट्टिएर बसेका छन् । छोरीहरु हङकङ र सिंहापुरमा छन् । मनप्रसाद दम्पतीका छोरा यामले भने, ‘घुम्दै जाँदा वा बिरामी भएर उपचारका लागि लैजाँदा जहाँ मरेपनि यहिँ ल्याएर राखिदिनु भनेर अर्‍हाउनु भएको छ ।’ मनप्रसादको अर्को सपना पनि छ, चिहान वरपर आफूले रोपेका फलफूलका बिरुवा फल्न थालून र यो बाटो हुँदै हिँड्ने बटुवाले धित मरुन्जेल खान पाउन् ।

मनप्रसादले मृत्यु अघि नै चिहान बनाउने प्रस्ताव सुरुमा घरका सबै सदस्यलाई सुनाएका थिए । आफू मरेपछि आफ्नो शव कस्तो ठाउँमा राख्ने भन्नेबारे आफूलाई मनले केही कुरा भनेको र आफूले त्यही गर्ने सोच बनाएको कुरा उनले घरमा सबैलाई भने । सुरुमा परिवारका सदस्यहरूले अचम्म माने पछि सबैले उनको प्रस्ताव माने । मनप्रसादले भने, ‘त्यसपछि घर नजिकै रहेको आफ्नै जग्गामा श्रमिकलाई ज्याला दिएर चिहान बनाउन लगाएँ ।’


मनप्रसादले दम्पतीका लागि बनाएको यो चिहानँसगै निधन भएकी जेठी श्रीमती खड्ककुमारीको स्मरणमा कपुरखाना बनाएका छन् । लिम्बू समुदायले मृत्यु भएका मानिसको स्मरणमा बनाउने चिहान जस्तै संरचनालाई कुपरखाना भन्दछन् ।

मनप्रसादलाई आफू र श्रीमती कहिले मर्छौं भन्ने थाहा छैन । तर मृत्यु सास्वत सत्य हो एकदिन अवश्य मर्नुपर्छ र मर्नलाई डराउँनु हुँदैन भनेर चिहानसम्म दम्पतीकै लागि शव बोकेर लैजानका एकजोर काठका कफिन जस्तै बाकस तयार गरेका छन् । स्थानीयकर्मीले नै बनाएका यस्ता बाकस तयार पार्न उनले २० हजार रुपैयाँ खर्चिए ।

मनप्रसाद जीवनको सार खिपेझै गरेर सुनाउँछन्, ‘मान्छेका चोला फेरी पाइला नपाइएला बाॅचुन्जेल हाँसिखुशी छौं, सफा सुग्घर हाँसिखुसी बसेका छौं, त्यसैले मरेपछि बस्ने घर आफ्नै इच्छा अनुसार बनाएको हुँ ।’

प्रकाशित : वैशाख १८, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?