२०७२ को महाभूकम्प

'त्यो क्षण सम्झिँदा अहिले पनि तर्सिन्छु'

काठमाडौँ — भक्तपुरमा एउटा कार्यक्रममा निर्णायक हुने निम्तो थियो, नाजिर हुसेनलाई । प्रदर्शनको अन्तिम संघारमा थियो 'होस्टेल रिटर्न्स' । बल्लबल्ल मिडियामा छाउन थालेका थिए उनी । फिल्मको प्रचारका लागि कतै बोलाइहाले, आफ्नो अनुहार देखाउन पुगिहाल्थे । स्टेजको खोजिमा हुन्थे सधैं ।

'त्यो क्षण सम्झिँदा अहिले पनि तर्सिन्छु'

त्यतिबेला नेदरल्यान्डकी निर्देशक निक्कीले उनको सोलो प्रस्तुतिमा नाटक तयार गर्दै थिइन् । जीवनकै पहिलो अंग्रेजी नाटक । एकान्तकुनामा एउटा भवनको छैठौं तल्लामा नाटकको अन्तिम रिहर्सल सकेर नाजिर सिधै भक्तपुर लागे । साथिसँग मागेको साइकल कुदाउँदै ।

एकान्तकुनाबाट गर्खु पुग्नै लाग्दाको ओरालो । अगाडिबाट ट्रक सिधै आफूतिरै आइरहेको देखेपछि नाजिरले ब्रके लगाए । तर साइकल रोकिएन । ट्रकतिरै साइकल गुडिरहे झैं अनुभव हुन थाल्यो । 'दुर्घट्ना हुँदा यस्तै अनुभव हुन्छ कि !' भन्ने मनमा लाग्यो । ट्रक दायाँतिरको लेनमा उनी बायाँतिर । तर दिमागमा भने 'ट्रक मेरो नजिकै छ, मलाई यसले आज मारेरै जान्छ,' भन्ने सोचे । त्यतिकैमा ट्याम्पुबाट मानिसहरु भगवानको नाम लिँदै चिच्याए । रुखहरु झैं ठूल्ठूला घरहरु हल्लिन थाले । नजिकैको अस्पतालबाट बिरामीहरु सलाइनपानीसहित बाहिर निस्किए। ठूलो त्रास अनुहारमा प्रस्टै देखिन्थ्यो ।

साइकललाई त्यहीँ छोडेर सडकको बीचमा पलेटी कसेर योगासनमा बसे नाजिर । 'थाहा छैन म त्यसरी किन बसें । दिमागले काम नै गरिरहेको थिएन,' उनले भूकम्प २०७२ को त्यो क्षण सम्झँदै सुनाए, 'घरहरु त्यसरी रुख हल्ले झैं हल्लेको त्यसअघि कहिल्यै देखेको थिइन । एकदमै डर लागिरहेको थियो । अस्पतालबाट बिरामीहरु फुत्तफुत्त बाहिर ल्याइरहेका थिए ।'

त्यो भयावह दृश्य, कोलाहलबीच उनको श्रवण शक्ति सुन्य बन्यो । आँखै अगाडि देख्थें मानिसहरु घरभित्रबाट अत्तालिँदै बाहिर निस्केको । रक्ताम्मे भएका हात/गोडामा मानिसहरु सडकतिर आए । त्रासको चिच्याहटबीच ठोक्किने आवाज मधुर थियो । अस्पतालको ठ्याक्कै अगाडि एउटा घरको माथिल्लो तल्लामा मानिसहरु चिच्चाइरहेका देखे । त्यो घरमा आगो लागेको रहेछ । सहयोगका लागि चिच्च्याउँदै थिए । सबैजना प्रहरीलाई सम्पर्क गर्न थाले । नाजिरले पनि सय नम्बर डायल गरे । फोन लागेन । त्यतिमाथि पानी पुर्‍याउने अवस्था थिएन ।

जब भूकम्प थामियो नाजिरले भक्तपुरतिरै पाइडलिङ गर्न थाले । दिमागले कार्यक्रमको समय सुरु हुनै लागिसकेको जनाउ दिइसकेको थियो । त्यतिबेलासम्म भूकम्पले पुर्‍याएको क्षतिबारे उनी अनविज्ञ थिए । जब कोटेश्वर कटे, प्रहरीले भक्तपुरको बाटो चर्केकाले उनलाई घर फर्कन सुझाए ।

'तपाईं कहाँ जान लाग्नु भएको ?' प्रहरीले सोध्यो । उनले कार्यक्रमबारे जानकारी पूरा दिन नपाउँदै प्रहरी कड्कियो,'के को कार्यक्रम । मन्दिर, धरहरा भत्किसक्यो । मानिसहरु मरिरहेका छन् । तपाईं घर जानुस् ।'

त्यसपछि बल्ल उनलाई इमाडोलमा रहेकी सोनी दिदीको याद आयो । सोनी गर्भवति थिइन् । भेना शनिबार कन्सल्टेन्सीमै हुन्थे । दिदी घरमा एक्लै हुनुहुन्छ भन्ने भान भइसकेपछि उनी आत्तिँदै घर फर्के । कोटेश्वरदेखि इमाडोल कसरी पुगे उनलाई अझै याद छैन । दिमाग सुन्य थियो । सुरुमा ठूली दिदीकहाँ पसे । सुनिता र सरु दिदी चौरमा पुगिसक्नु भएको रहेछ । हस्याइफस्याङ गर्दै पुगेका उनले दिदीहरुका अघि लामोलामो सास लिए । भूकम्पअघि ठूली दिदीले घरमा नयाँ टिभी किनेर ल्याएकी थिइन् । दराज राखिएको टिभी भूकम्पले फुटाएछ । दिदीले नाजिरलाई देख्ने बित्तिकै दुखेसो पोखिन्, 'टिभी नि हेर्न पाको छैन, हेर कान्छा । भूकम्पले झरेर फुट्यो ।'

ठूली दिदी सुरक्षित हुनु भएको थाहा पाइसकेपछि सरु दिदीसँगै उनी सोनी दिदी कहाँ गए । उनी दुईलाई देख्ने बित्तिकै सोनी रुन थालिन् । नाजिरको मन अमिलो भयो । नेटवर्क चल्न थाल्यो । भूकम्पले पुर्‍याएको क्षति समाचारमा सुनेपछि फेरि एकपटक दिमाग हल्लिएको अनुभव गरे । 'अहिले पनि टेबल हल्लिँदा ट्रमाटाइज अनुभव हुन्छ,' नाजिर भन्छन्, 'स्कूटर चलाउँदा छेउमा गाडी आयो भने त्यही क्षणमा पुगे झैं हुन्छ । एकदम नोस्टाल्जिक हुन्छु ।'

भूकम्पपछिका समय नाजिरले दिदीहरुसँगै टेन्टमा बिताए । गर्भवति दिदी घरभित्र छिर्न डराउँथिन् । ठूली दिदी मानिसहरुको कुरा सुनेर आउनुहुन्थ्यो । अनि सुनाउनुहुन्थ्यो, 'अब त धर्ती सबै भासिन्छ रे, हेर कान्छा अब हामी पनि भित्र जान्छ रे ।'

इमाडोलको चौरमा टेन्ट बनाएर उनीहरुसँगै बस्ने थुप्रै परिवार थिए । मध्यरातमा परकम्प जाँदा सबै चिच्याउँदा डरले मन कहालिन्थ्यो । फेरि केही होला कि भन्ने ! डरले मुटु काँप्थ्यो । निद्रा पर्थेन । दिदीसँग मोबाइलमा फिल्म हेर्दै भूकम्पका ती क्षण बिताएको नाजिरले बिर्सेका छैनन् ।

भूकम्पपछि लामो समय उनी बसन्तपुर नजिकैको मन्दिर परिसर पनि जान सकेनन् । 'भावनात्मक रुपले पनि जान सकिनँ । मैले थिएटरमा संघर्ष गर्दा ३/४ दिन बिताएको ठाउँ थियो त्यो । अहिले पनि त्यहाँ जाँदा भर्‍याङका खुट्किला हेरिरहन मन लाग्छ,'नाजिर सुनाउँछन् ।

भूकम्पले नेदरल्यान्डकी निर्देशकलाई घर फर्कायो । नाजिरले उक्त नाटक कहिल्यै देखाउन पाएनन् । नाटक मण्डलामा मञ्चन गर्ने तयारी थियो । नाटकमा धेरै संवाद थिएन । मृत्युपछिको एक व्यक्तिको यात्रामाथि बनेको नाटकलाई लिएर उनी निकै उत्साहित थिए । निर्णायक हुन भक्तपुरमा उनलाई दरबार स्क्वायरको गेटमा आउन भनिएको थियो । भूकम्पले भत्किएको उक्त गेट सम्झँदा ठूलै दुर्घट्ना हुनबाट जोगिएको उनी बताउँछन् ।

'मेरो रिहर्सल चाँडै सकेर म त्यहाँ पुगेको भए मलाई केही हुन्थ्यो होला । या त अलि ढिलासम्म त्यो छैठौं तल्लामा रिहर्सल गरिरहेको हुन्थें भने केही हुन्थ्यो कि थाहा छैन । म भक्तपुर पनि पुगिन छैठौं तल्लामा पनि थिएन भन्ने कुराले लक्की अनुभव हुन्छ । फराकिलो बाटैमा थिएँ, 'भूकम्पको ७ वर्षपछि नाजिरले त्यो आघातपूर्ण समय सम्झिए ।

भूकम्पमा मानिसहरुबीच देखिएको ऐकेबद्धता अझै उनी सम्झन्छन् । 'वरिपरिका टेन्टकाहरुले खाना पाक्यो कि पाकेन भनेर सोध्नु हुन्थ्यो । मिठो पाक्दा दिनुहुन्थ्यो। त्यो बेला एक किसिमको ऐकेबद्धता अनुभव भएको थियो । चिन्दै नचिनेकाहरुले मिलनसार व्यवहार गर्नुभयो । उहाँहरुलाई चिन्ने मौका पाएँ । सामान्य समयमा त त्यति धेरै चिनाजानी हुने मौका जुरेको थिएन,' नोस्टाल्जिक हुँदै सुनाउँछन्, 'भूकम्पलाई सम्झँदा अझै पनि ट्रमाटाइज हुन्छु । सबैले एक अर्कालाई सहयोग गर्नुभयो । नेपालीहरुमा दु:ख पर्दा सहयोग गर्ने स्वभाव छ ।'

प्रकाशित : वैशाख १२, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?