‘नेताले ठूल्ठूला घर ठड्याए, हामी सधैं सडकछाप’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेताले ठूल्ठूला घर ठड्याए, हामी सधैं सडकछाप’

६५ वर्षीय रामबहादुरको शरीर जीर्ण बन्दै गएको छ तर हातमुख जोड्न उनलाई रिक्सा नकुदाई सुखै छैन
सीमा तामाङ, सुशीला तामा‌ङ

काठमाडौँ — ठमेल सञ्चयकोष भवनबाट उत्तरतर्फको छेउमा उनी यात्रु पर्खिरहेका थिए । ‘तपाईंहरू कहाँसम्म पुग्नुपर्ने हो ?’ हामीलाई देख्नेबित्तिकै निकै उत्साहका साथ उनले सोधे । हामी यात्रु नभएको बताएपछि नुवाकोट त्रिशूलीका रिक्साचालक रामबहादुर तामाङ निराश भए । ‘१५ दिनदेखि एक रुपैयाँ पनि कमाइ भएको छैन । साह्रै अप्ठ्यारो भएको छ,’ उनले भावुक हुँदै भने ।

रामबहादुरले २०३५ सालयता रिक्सा चलाएर नै जीविकोपार्जन गर्दै आएका छन् । उनले आफ्नो जोसिलो यौवनकाल काठमाडौंका गल्ली–गल्लीमा रिक्सा घुमाएर बिताए । यतै घरजम गरे, चार छोरीलाई हुर्काए । उनले हेर्दाहेर्दै ठमेलमा ठूल्ठूला सडक र भवन बने । सहरको रूपरंग नै फेरियो तर उनको दुःख फेरिएन । उनको आँखैअगाडि मुलुकमा थुप्रै जनआन्दोलन भए, सत्ता र व्यवस्था फेरिए । तर आफूजस्तै मजदुरका लागि काम गर्छु भन्नेले केही नगरेको उनको अनुभूति छ ।

६५ वर्षीय उनको शरीर रिक्सा जस्तै जीर्ण बन्दै गएको छ । तर पनि साँझबिहान हातमुख जोड्न उनलाई रिक्सा नकुदाई सुखै छैन । सात रुपैयाँमा बिहानबेलुकाको छाक टार्ने उनलाई अहिले कम्तीमा पनि दुईदेखि तीन सय रुपैयाँ चाहिन्छ । त्यसबेला घरभाडा ३ सय तिर्थे, अहिले ८ हजार पुगेको छ । रिक्सा चलाएबापत महानगरलाई कर पनि बुझाउनुपर्छ । ‘हामी सडकमा बसेका मान्छे, जहिले पनि सडकछाप नै हौं । हाम्रो दुःखलाई बुझ्ने नेता नै भएन । नेताहरू चुनाव जितेर कति कमाए, ठूल्ठूला घर बनाए, गाडी चढे तर हामीलाई दुःखले छोडेको छैन,’ उनले भने ।

कुनै बेला रिक्सा चलाएर उनी दैनिक एक हजारदेखि १५ सयसम्म आम्दानी गर्थे । पैसा बचाएर तीनवटा रिक्सासमेत किनेका थिए । दुईवटा हराए, एउटै मात्र बाँकी छ । रिक्साको कमाइ छोरीलाई सामान्य पढाइलेखाइमा लगाए । तीन छोरीको विवाह गरे । ४० वर्षदेखिको उनको कमाइ एउटा रिक्सा मात्र हो । त्यसबाट पनि कमाइ हुन छोडेपछि श्रीमती र छोरीहरूले जेनतेन घर चलाइरहेका छन् । ठमेल, असन, इन्द्रचोक, वसन्तपुर जस्ता भित्री सडकमा मात्र रिक्सा चलाउन पाउने भएपछि कमाइ घट्दै गयो । २०७२ सालको भूकम्पले शिथिल बनाएको यो पेसालाई कोरोना महामारीले थला नै पार्‍यो । ‘अब बूढो भएँ । गाउँमा गएर हलो जोत्न, कोदालो खन्न पनि सक्दिनँ । यतै बस्न पनि खर्च धान्न गाह्रो छ,’ उनले भने ।

रामबहादुर मात्र होइनन्, अहिले ठमेलमा पर्यटकको चहलपहल घटेसँगै अधिकांश रिक्सा चालकहरू मारमा परेका छन् । दिनभरि ठमेलदेखि वसन्तपुरसम्मका गल्लीहरू चहार्दा पनि उनीहरूलाई यात्रु पाउनै मुस्किल छ । कोरोना महामारीपछि कतिपय चालकहरू आफ्नै थातथलोतिर फर्किसकेका छन् भने भएकाहरू पनि अन्य पेसामा लाग्ने तरखरमा छन् । क्षेत्रपाटीस्थित इन्द्रायणी साइकल मर्मत सेन्टरमा अहिले एक सयभन्दा बढी रिक्साहरू थन्किएका छन् । लकडाउनअघि ३ सयको हारहारीमा रिक्सा चले पनि अहिले चालक नै नभएकाले रिक्सा थन्काउनुपरेको सञ्चालक राजु खड्गीले बताए ।

डेढ दशकदेखि उनी रिक्सा व्यवसायमा आबद्ध छन् । उनीसँग ४ सय ७२ वटा रिक्सा थिए । अहिले उनको ग्यारेजमा रिक्साको संख्या घट्दो क्रममा छ । रिक्सा नै विस्थापित हुन लाग्दा अरू नै पेसामा लाग्नुपर्ने उनले निधो गरेका छन् । निम्न आयस्रोत हुने व्यक्तिहरूलाई अहिले गाह्रो भएकाले चाँडै नै समाधान खोज्नुपर्ने उनको माग छ । ठमेल पर्यटन परिषद्का उपाध्यक्ष राजुमान डंगोल निश्चित मूल्यसूची नराख्ने, सरसफाइ नगर्ने तथा कुनै कानुनी प्रक्रिया नभएकाले रिक्सा व्यवसाय ओरालो लाग्दै गएको बताउँछन् । ‘रिक्साचालकमा आफूखुसी बार्गेनिङ गर्ने प्रवृत्ति छ,’ उनले भने ।

काठमाडौं महानगर मातहतभित्र हाल चार सय ७२ वटा रिक्सा छन् । २०४६ सालदेखि रिक्सा थपिएको छैन । महानगरलाई एउटा रिक्साको १०० रुपैयाँ वार्षिक कर तिर्नुपर्छ । रिक्सा दर्ता/नामसारी/नवीकरणमा ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ । कोरोनाका कारण रिक्सा व्यवसाय धराशायी बनेको रिक्सा व्यवसायी समिति उपाध्यक्ष राजेन्द्र मानन्धरले सुनाए । अन्य सवारीसाधनहरू भित्रिन थालेसँगै रिक्सालाई पनि नम्बर सिस्टम दिएको उनको भनाइ छ । पहिला वाग्मती अञ्चलअन्तर्गत यातायात व्यवस्था विभागमा रिक्सा दर्ता हुने गरे पनि पछि उपत्यका ट्राफिक प्रहरी महाशाखा, जिल्ला प्रशासन कार्यालय हुँदै अहिले महानगरमा आइपुगेको छ । दर्ता, नवीकरण तथा वार्षिक कर तिरे पनि कुनै पनि तहबाट रिक्सालाई माथि लैजाने काम नभएको मानन्धरले बताए ।

प्रकाशित : चैत्र १, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

सन् २०२० मा मारिए ६५ पत्रकार

एजेन्सी

ब्रसेल्स — सन् २०२० मा विश्वभर ६५ जना पत्रकार मारिएका छन् । कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा परी ती पत्रकार र मिडियाकर्मी मारिएका विश्वभरका पत्रकारको छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट (आईएफजे) ले जनाएको छ । 

आईएफजेले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार मारिनेमा १६ वटा मुलुकका पत्रकार छन् । सन् २०१९ को तुलनामा गत वर्ष १७ बढी पत्रकार मारिएका छन् । आईएफजेले सन् १९९० देखि विश्वभर मारिने पत्रकारबारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

तथ्यांक राख्न थालिएको उक्त वर्ष पनि ६५ जना पत्रकार नै मारिएका थिए । हालसम्मको तथ्यांक हेर्दा विश्वभर २ हजार ६ सय ८० जना पत्रकार मारिइसकेका छन् । ‘मेक्सिको, पाकिस्तान, अफगानिस्तान, सोमालिया, भारत, फिलिपिन्सलगायत मुलुकमा पत्रकार र मिडियाकर्मीमाथि ज्यानै जानेसम्मका घटना बढी भएको पाइएको छ,’ आईएफजे महासचिव एन्थोनी बेल्लंगरले भने । उनका अनुसार पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा मेक्सिको पत्रकारहरूका लागि सबैभन्दा असुरक्षित देखिएको छ । यस अवधिमा मेक्सिको चार पटकसम्म सबैभन्दा बढी पत्रकार हत्या हुने मुलुकको शीर्ष स्थानमा समेत रह्यो । गत वर्ष मात्रै त्यहाँ १४ जना पत्रकारको हत्या भएको छ । यहाँ धेरैजसो पत्रकार आपराधिक समूह र व्यक्तिको निसानामा पर्ने गरेको आईएफजेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष अफगानिस्तानमा १० जना, पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४/४ जना, नाइजेरिया र यमनमा ३/३ जना पत्रकार मारिएका छन् । यसैगरी, इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्विडेनमा पनि पत्रकारको हत्या भएको छ ।

प्रकाशित : चैत्र १, २०७७ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×