कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'एउटै कुरा भनिरहँदा र धेरै बोल्दा थकान हुन्छ'

अहिले भने कोरोना केस घटेसँगै अलि चाप कम छ । एउटै कुरा भनिरहँदा र धेरै समय बोल्दा थकान पनि महसुस हुन्छ ।
कोरोना संक्रमितको संख्या घटेसँगै फोनको संख्यामा कमी आएपनि कुराकानीको अवधि भने अहिले लामो छ ।
बोधकुमारी केसी थापा

काठमाडौँ — गुल्मीकी ४८ वर्षीया बोधकुमारी केसी थापा सिनियर अनमी हुन् । लामो सयम गुल्मीस्थित सिमिचौर स्वास्थ्यचौकीमा काम गरेकी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को टोल फ्रि नम्बर १११५ मा काम गर्छिन् । चैत १३ बाट सञ्चालनमा आएको यस नम्बरले कोरोनासम्बन्धी सूचना जनमानसमा पुर्‍याउने काम गर्दछ । 

'एउटै कुरा भनिरहँदा र धेरै बोल्दा थकान हुन्छ'

चैत ७ गतेदेखि गोंगबु बसपार्कको हेल्थ डेस्कमा रहेर काम गरें । त्यहाँ काम गरेपश्चात म ईडिसिडीमा आइपुगेकी हुँ । चैत १९ गते म कल सेन्टरमा काम गर्न थालें ।

पब्लिक हेल्थमा काम गरेको यो मेरो पहिलो र नौलो अनुभव थियो । नभेटी फोनमा बोलेको भरमा कसरी सन्देश प्रवाह गर्ने होला भन्ने लाग्थ्यो । ओरियिन्टेसन क्लास दिँदा पनि सकिँदैनझैं लागेको थियो । धेरै बोल्ने बानी नभएकोले डर लागिरहेको थियो । सबै सूचना थाहा भएपनि भन्न नआउने । पहिलो दिनमा अभ्यासका लागि जब कानमा हेडफोन लगाएँ कसरी कुराकानी गर्ने होला भनेर आत्तिएँ । तर, सहकर्मीहरुले हौस्याउनुभयो ।

स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएको मान्छे भएर पनि सूचना दिन नसक्ने कस्तो हुँला जस्तो लाग्यो । पछि गर्न सक्छु भन्ने आँट पलाउँदै गयो । तेस्रो दिनबाट भने बानी पर्दै गयो । देशभरिबाट फोन आउँछन् । लगातार बोलेर थाकिन्थ्यो पहिले त । अहिले भने केस घटेसँगै अलि चाप कम छ । एउटै कुरा भनिरहँदा र धेरै समय बोल्दा थकान पनि महसुस हुन्छ । तर, यो नै हाम्रो काम हो । थकाइ लागेपनि पछि हट्न पाइएन । नम्र भएर मिठो बोल्नुपर्छ । थकाइ लाग्दा पनि झर्को मानेर बोल्न भएन ।

सुरुआती दिनमा ८ घण्टाको दुई सिफ्ट थियो अहिले भने ३ सिफ्ट छ । बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म यो सेवा हामी दिन्छौं । फलोअप गर्ने स्टाफसँगै अहिले २८ जना छौं । कुनैबेला एकदम चापाचाप भएर कति कल छोड्नुपर्थ्यो, भ्याइनभ्याइ भएर । कोरोना आक्रमक रुपमा फैलिरहेको सुरुआती दिनमा यति धेरै फोन आउँथ्यो कि हामीले रिसिभ नै गर्न भ्याउँदैनथ्याैं । कुराकानी पनि छोट्याउनुपर्ने हुन्थ्यो । लगातार बोलेको बोल्यै गर्नुपर्थ्यो । मैले ८ घण्टाको ड्युटीमा ६ घण्टा कुराकानी गरेको रेकर्ड छ । अहिले कुराकानी लामो हुन्छ, कल संख्या थोरै हुन्छ । हामीले सकेसम्म कुरा छोट्याउनुपर्छ किनकी अरु पनि होल्डमा बसिरहेका हुन्छन् ।

कोरोना संक्रमितको संख्या घटेसँगै फोनको संख्यामा कमी आएपनि कुराकानीको अवधि भने अहिले लामो छ । हामीले मानिसहरुको जिज्ञासालाई सकेसम्म आफूले जानेको कुरा राम्ररी बुझाउने प्रयास गर्छौं ।

जिज्ञासाले भरिएका फोन देशभरिबाट आउँछन् । मानिसहरु फोनबाट यति धेरै जानकारी लिन चाहन्छन् होला भन्ने त सुरुमा हामीले अपेक्षा गरेकै थिएनौं । कोरोना के हो ? यसका लक्षण तथा बच्ने उपायलगायतका प्रश्न बढी आउँथे सुरुका दिनमा । पछि व्यवस्थापन सम्बन्धी आउन थाले ।

आईसीयु बेडका लागि पनि धेरै फोन आए । हामीले व्यवस्था मिलाइ दिनका लागि फोन नम्बर दिन्थ्याैं । कतिपयले नउठाइदिने, कसैको स्विच अफ हुने जस्ता विविध कारणले गाली पनि खाइन्थ्यो । ‘यति पनि व्यवस्था नगर्दिने ?, सहयोग नगरिदिने अनि हामीलाई भ्रममा पार्ने तपाईंहरुको काम छैन?’ भनेर निकै गाली पनि खाइयो । तर, उहाॅहरु रिसाए पनि हामी रिसाउनुभएन ।

गालीसँगै स्याबासी पनि पाइयो । तपाईंले दिएको जानकारी सहयोगी लाग्यो भनेर धन्यवाद भन्नुहन्छ । ‘समय दिएर जानकारी दिनुभयो, केही परे फोन गर्छु’ भनेर राम्ररी बोल्ने पनि छन् । सुरुआती दिनमा हामीले बिदा नबसी काम गर्‍यौं । अहिले कोरोनाको संख्यामा कमी आएपछि भने हप्ताको एक दिन मिलेसम्म बिदा पाइन्छ ।

काम गरेका थुप्रै सहकर्मी कोरोना संक्रमित बन्न पुगे । छेवैमा बस्ने साथीहरु संक्रमित बन्न पुगे । धेरैपटक कन्ट्याक्ट ट्रेसिङमा परें । तर, भाग्यवश अहिलेसम्म मलाई कोरोना पुष्टि भएको छैन ।

...

जनतालाई कोरोनासम्बन्धी तथ्यपरक सूचना दिनु नै हाम्रो कल सेन्टरको उद्देश्य थियो र सोही अनुसार गरिरहेका पनि छौं ।

कोरोना महामारी फैलिरहँदा विश्वमा विभिन्न भ्रामक समाचार पनि फैलिए । नेपालमा पनि कोरोनासम्बन्धी विभिन्न अफवाह फैलिए । महामारी त्यसमाथि त्यस्ता खबरले मानिसहरु आत्तिन पुग्थे । धेरैले त्यस्ता समाचार विश्वास गरेर आत्तिए पनि हामीले भ्रमहरु चिर्न सफल भएको जस्तो लाग्छ ।

देशभरबाट फोन आउने भएपनि कोरोना केस बढिरहेको सुरुआती दिनमा दुर्गम क्षेत्रबाट बढी फोन आउँथ्यो । जब काठमाडौंमा बढी केस भेटिए त्यसपछि काठमाडौंबाट पनि बढी फोन गर्न थाले । सुरुको दिनमा आउने प्रश्न भनेका त कोरोनासम्बन्धी सामान्य जानकारी लिने नै बढी थिए । त्यसपछि ‘कुनै कोभिड पोजेटिभलाई परबाट देख्दा सर्छ कि सर्दैन?, त्यो बाटो हिँड्ने कि नहिँड्ने ?, पसलमा गएर सामान किन्दा कोरोना सर्छ कि सर्दैन?’ लगायतका प्रश्न आउँथे ।

अहिले भने ‘आइसोलेसन कति दिन बस्ने?, के खाने/नखाने?’ लगायतका समस्यासहितका फोन आउँछन् । त्यसैगरी खोपका बारेमा बढी प्रश्न आउन गरेका छन् । खोप केन्द्रका बारेमा सोधखोज गर्ने फोन आउँछन् ।

धेरैले सूचना समाचार तथा समाजिक सञ्जाल हेरेर थाहा पाउँछन् । तर, नेपालको विभिन्न ठाउँ अझै सुविधायुक्त भइसकेका छैनन् । बैतडी, रुकुमजस्ता दुर्गम ठाउँका व्यक्तिले निःशुल्क डायल गरेर जानकारी पाउँदा पनि ठूलो राहत भयो होला भन्ने मलाई लाग्छ ।

आइसोलेसन तथा क्वारेन्टाइन बस्दा खान मन लागेन, केही गर्न मन लाग्दैन र डिप्रेसनका केस पनि आउँछन् । मानसिक समस्यासम्बन्धी थुप्रै केसलाई काउन्सिलिङ गर्‍यौं ।

...

केटीले फोन उठायो भनेर होला, केहीले जिस्काए पनि । फोन गर्ने अनि नबोलिकन काटिदिने धेरै छन् । यति मिठो नबोल्नु भनेर पनि जिस्काउने । कोहीले त तपाईंको नाम/नम्बर पनि दिनुस् भन्थे । यस्ता ‘प्र्यान्क कल’हरु सुरुका दिनमा एकदम बढी आउँथे अहिले भने घटेको छ । कसैले त फलफूल लिएर भेट्न आउँछु पनि भने । एकजना जुम्लाका व्यक्तिले ‘यहाँ टन्न स्याउ फलेको छ, लिएर भेट्न आउँछु,’ भने । फोन गर्नेमा धेरैजना पुरुष नै छन् ।

जिस्क्याउने, अपशब्द बोल्दै फोन गर्ने पनि छन् । घरीघरी फोन गर्ने अनि अपशब्द बोल्ने । सम्झाउँदा पनि नमान्ने । यस्ता फोन आउँदा सकेसम्म सम्झाईबुझाई गर्थें । लगातार घण्टौं कुरा गर्दा टाउको दुख्छ । तर, एक प्रकारकले खुशी तथा आनन्द पनि मिल्छ किनकी जानकारी दिन पाइन्छ ।

हामी आफैंलाई पनि सबै सूचना थाहा नहुन सक्छ । हुन त नयाँ निर्णय आउँदा हामीलाई जानकारी गराइन्छ । तर, कहिलेकाहीँ नयाँ किसिमका प्रश्न पनि सोधिने गर्छन् । हामीले थप जानकारीसहित कल ब्याक पनि गर्ने गरेका छौं । कहिलेकाँही भने कुनै सूचना तथा निर्णय ढिलो आउने हुँदा हामीलाई पनि जानकारी दिन गाह्रो हुन्छ ।

(बुनु थारुले गरेको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?