२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बुधनगरमा एक वर्षसम्म फर्केन कार्गो रेल

नाकाबाट आयात शून्यप्रायः रहेकाले पनि कार्गो रेलले निरन्तरता पाएन 

विराटनगर — गत वर्ष जेठ १८ गते उद्घाटनका अवसरमा एउटा कार्गो रेल आएयता विराटनगरको बुधनगरमा रेल फर्किएर आएको छैन । कोलकाता बन्दरगाहबाट आउने चार प्रकारको सामान मात्र कार्गो रेलबाट ल्याउन अनुमति छ । ती सामान विराटनगर नाकाबाट आयात शून्यप्रायः रहेकाले पनि कार्गो रेलले निरन्तरता नपाएको उद्योगीको भनाइ छ । 

बुधनगरमा एक वर्षसम्म फर्केन कार्गो रेल

सरकारले भारतसँग कोलकाता बन्दरगाहबाट आउने सिमेन्ट, क्लिंकर, रासायनिक मल र कोइला मात्र बुधनगर यार्डसम्म ल्याउन पाउने सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भएका औद्योगिक कच्चा पदार्थमा आधारित उद्योग सुनसरी मोरङ करिडोरमा नरहेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । त्यसैले पनि ती सामान उद्योगीले आयात नगर्दा कार्गो रेल आउन नसकेको हो । सिमेन्टमा आत्मनिर्भर भएका कारण आयात नै ठप्प छ ।

चुनढुंगामा आधारित ठूला सिमेन्ट उद्योग सञ्चालनमा आएपछि क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग प्रायः बन्द भइसकेका छन् । रासायनिक मल सरकारले नै आयात गर्छ । ‘ल्याउन पाउने अर्को समान कोइला मात्र हो,’ सुरानाले भने, ‘कोइला ज्यादै कम आउने र रेलवे यार्ड प्रयोग गरेबापत महँगो सेवा शुल्क बुझाउनुपर्ने भएकोले रेलबाट ल्याउन नसकिएको हो ।’

कोलकाता बन्दरगाहबाट आउने सबै खालका समान ल्याउन पाउने व्यवस्था र गोदाम, पार्किङलगायतको व्यवस्थापन गर्ने ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्राइभेट लिमिटेडले आफ्नो सेवा शुल्क नघटाएसम्म कार्गो रेल ल्याउन नसकिने उद्योगी व्यवसायीहरूको तर्क छ । उनीहरूका अनुसार भारतीय यार्डको तुलनामा ट्रान्स नेपाल फ्रेड सर्भिसेजले महँगो गोदाम र पार्किङ शुल्क तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गत वर्षको जेठ १८ मा भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल सेवा उद्घाटन गरेका थिए । त्यस दिन दुई हजार चार सय मेट्रिक टन औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल भारतको बथनाहाबाट बुधनगरस्थित भन्सारको एकीकृत जाँच चौकीसम्म आएको थियो । त्यसयता रेल फर्किएर आएको छैन ।

रेल सेवा सञ्चालन भएको अवस्थामा ढुवानी भाडा किलोको पाँच रुपैयाँ सस्तो पर्ने र समय पनि कम लाग्ने भएकाले औद्योगिक र व्यावसायिक क्षेत्रको विकासमा यो रेल सेवा कोसेढुंगा साबित हुने भन्दै उद्योगी व्यवसायीले रेल सञ्चालनको माग गर्दै आएका थिए । तर बथनाहाबाट ट्रकमा सामान ल्याउँदा भन्दा रेलबाट ल्याउँदा महँगो पर्ने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहको भनाइ छ ।

सरकारबीचको सम्झौता परिवर्तन गरेर अन्य सामान पनि कार्गो रेलबाट ल्याउने व्यवस्था गर्दै ट्रान्स नेपाल फ्रेड सर्भिसेजले पार्किङ र गोदाम भाडा घटाए मात्र कार्गो रेलले निरन्तरता पाउन सक्ने साहको तर्क छ । ‘सरकारले सीमित वस्तु मात्र ढुवानी गर्ने पाउने भनेर सम्झौता नै गलत गरेपछि समस्या भएको हो,’ उनले भने । सुनसरी मोरङ औद्योगिक करिडोरमा आउने ९० प्रतिशत कच्चापदार्थ भारतको कोलकाता बन्दरगाहबाट आउँछ । औद्योगिक र व्यावसायिक सामान लिएर विराटनगर नाकाबाट दैनिक सरदर तीन सय ट्रक नेपाल भित्रिन्छन् । त्यसमध्ये एक सय ५० भन्दा बढी ट्रकका सामग्री कार्गोका सामग्री हुन् । विशाखापट्टनम बन्दरगाहबाट आउने सबै समान ल्याउन पाउने भए पनि उक्त बन्दरगाहबाट खासै समान नआउने उद्योगी व्यवसायी बताउँछन् ।

प्रकाशित : असार १, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x