२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

माडीमा बढेन जिप सफारी

अयोध्यापुरीमा होमस्टे सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि बढे 

चितवन — माडी नगरपालिकाको उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतको जंगल छ । पूर्व र पश्चिममा निकुञ्ज र सोमेश्वर जंगल आपसमा मिलेका छन् । चारैतर्फ जंगलले घेरिएको उपत्यका माडीमा पर्यटकीय गतिविधि बिस्तारै बढ्दै छन् । जंगल भएको चितवन निकुञ्ज आडका गाउँगाउँमा जिप सफारी फस्टाएको छ । तर माडीमा जिप सफारी छैन भन्दा पनि हुन्छ । 

माडीमा बढेन जिप सफारी

‘छैन भनौं भने एउटा जिप छ । तर जंगल प्रशस्तै भएको, जंगली जनावर र हेर्न लायक दृश्य पनि भएको, निकुञ्जको मुख्यालय कसरा पनि आडैमा रहेको माडीमा जिप सफारीको सम्भावना प्रशस्तै भए पनि सेवा दिन सकेका छैनौं,’ माडी अयोध्यापुरीको मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष मोहनबहादुर पुनले भने । ०७२ पुसमा माडी अयोध्यापुरीमा १४ वटा घरमा होमस्टे सुरु भएको थियो ।

अयोध्यापुरीमा होमस्टे सञ्चालनमा आएसँगै माडीमा पर्यटकीय गतिविधि बढ्न सुरु भएको चितवन निकुञ्जको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताए । माडीमा अयोध्यापुरी शिवद्वारमा पुन मगर समुदायले, वनकट्टामा बोटे समुदायले, बघौडामा थारू समुदायले र बगइमा दुरा समुदायले होमस्टे चलाएका छन् । यी होमस्टेसहित माडीका अन्य ठाउँमा पनि गरेर सात गाउँमा होमस्टे सञ्चालन भइरहेका छन् । ‘हाम्रो होमस्टेमा ९० जना जति र अन्य सबै ठाउँका होमस्टेमा गरेर चार सयको हाराहारीमा पाहुना राख्न सकिन्छ । शुक्रबार र अन्य बिदाका दिन त बास पाउन पनि गाह्रो हुन्छ । सबै ठाउँका होमस्टे र होटलसमेत भरिन्छन्,’ मोहनबहादुर पुनले भने । पाहुनाको संख्या बढ्दै गए पनि निकुञ्जले पर्यटनको एउटा आकर्षण जिप सफारी चलाउन नसकेको उनको भनाइ छ ।

माडी क्षेत्रमा ६ वटा मध्यवर्ती सामुदायिक वन रहेको मध्यवर्ती उपभोक्ता समिति माडी बगई सेक्टरका संयोजक नारायण सापकोटा बासुले जनाए । ‘निकुञ्जभित्र माडी आडैआड बगई हुँदै कसरा निस्कने जिप सफारीको रुट छ । मध्यवर्ती वनमा पनि सफारी चलाउन मिल्छ । निकुञ्जभित्र वन्यजीव प्रशस्तै छन् । मध्यवर्ती वनमा पनि जीव/जनावर, तालतलैया, झर्ना र नयाँ/पुराना धार्मिक मठमन्दिर क्षेत्र छन्,’ सापकोटाले भने । जिप सफारी चलाइरहेको माडीमा निजी होटल सञ्चालक ‘शान्त घर’ का हरि अधिकारीको भनाइ छ । सात वर्षदेखि उनले माडीको पूर्वी नाका बगई हुँदै निकुञ्जभित्र कसरा र त्यहाँदेखि पश्चिमसम्म दिनभर सफारी सेवा चलाउँछन् । ‘मेरोमा आउने विदेशी सफारीमा जाने गरेका छन् । वर्षमा बढीमा ४०/५० ट्रिपसम्म सफारी चल्ने गरेको छ,’ अधिकारीले भने । माडी आउने नेपालीहरू सफारीप्रति खासै लालायित नभएको उनले जनाए ।

सबैभन्दा धेरै निकुञ्जभित्र सौराहादेखि ३२ वटा जिपले सफारी सेवा दिँदै आएका छन् । सफारीका लागि कसरामा २०, मेघौलीमा नौ र अमलटारीमा ६ जिप रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बताउँछन् । अमलटारी पनि माडी जस्तै होमस्टेका कारणले पर्यटन फस्टाएको गाउँ हो । तर माडीमा एउटा मात्रै जिपले जसोतसो सफारी सेवा दिँदै आएको छ । ‘माडीमा सफारीका लागि जिप सञ्चालन गर्न सक्ने सम्भावना प्रशस्तै छ । कोही स्वीकृति लिन आउँछन् भने हामी त्यहाँ दिन सक्छौं,’ संरक्षण अधिकृत तिवारीले भने । सफारीका लागि जिप खरिद गर्न सक्ने पुँजी नभएका कारण आँट्न नसकेको होमस्टेका अध्यक्ष मोहनबहादुर पुनको भनाइ छ । ‘तीन वर्षअघि सोध्दै गएको ३५/३६ लाख रुपैयाँ लाग्दो रहेछ सफारीको जिपलाई । हामीसँग त्यति पुँजी भएन,’ पुनले भने ।

माडी आदिवासी थारू समुदायको बाहुल्य रहेको चितवनको पुरानो बस्ती हो । यहाँ पुराना थारू गाउँ बस्ती अझै छन् । निकुञ्ज र सोमेश्वर जंगलमा दुर्लभ वन्यजन्तु गैंडा, बाघ, जंगली हात्ती छन् । सोमेश्वर कालिका, गोद्धक, पर्शुरामकुण्ड र वाल्मीकि आश्रम जस्ता धार्मिक क्षेत्र माडीमै पर्दछन् । वैकुण्ठ ताल, धनलक्ष्मी छहरो जस्ता प्राकृतिक तालतलैया पनि यहाँ छन् । त्यसैले माडी आकर्षक पर्यटकीय क्षेत्र भएको होमस्टेका अध्यक्ष पुन बताउँछन् ।

प्रकाशित : असार १, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x