कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

असारमा फेरि घट्यो निक्षेपको ब्याज

२० वाणिज्य बैंकमध्ये ११ ले असारका लागि एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाए, तीन वटाले सीमान्त दरमा बढाए भने ६ वटाले स्थिर राखे

काठमाडौँ — असारमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले शुक्रबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१२२ प्रतिशत बिन्दुले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटाले असारमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । तीन वटाले सीमान्त दरमा बढाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । 

असारमा फेरि घट्यो निक्षेपको ब्याज

साधारण बचतमा बैंकहरूको ब्याजदर औसतमा ०.०७५ प्रतिशत बिन्दुले घटेको छ । असारका लागि ९ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने दुई वटाले बढाएको र ९ वटाले स्थिर राखेका छन् । यससँगै असारमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.८७६ र साधारण निक्षेपको ४.९१६ प्रतिशत कायम भएको छ । जेठमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.९९८ र साधारणको ५.०१९ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार असारका लागि ब्याजदर सार्वजनिक गरेका हुन । अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा (एनपीए) बढ्नु रहेको वित्तीय क्षेत्रका जानकार बताउँछन् । अर्थतन्त्रमा रहेको सुस्तताले यी समस्या आएका हुन् । आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । यसको असरले कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उनीहरूको भनाइ छ ।

०८१ वैशाखमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.३४, विकास बैंकहरूको १०.१५ र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.२७ प्रतिशत थियो । पछिल्ला महिनामा अपेक्षित रूपमा कर्जा असुली हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको छ । खराब कर्जाबापतको नोक्सानी व्यवस्था गर्नुपर्दा बैंकहरूको पुँजी कोषमा चाप परेकाले उनीहरूको कर्जा प्रवाह क्षमतामा केही कमी आए पनि लगानीका लागि पर्याप्त तरलता रहेको जानकार बताउँछन् । कर्जा माग बढ्न नसक्नुको मुख्य कारण आर्थिक शिथिलता हो । बैंकको ब्याजदर, मूल्यवृद्धिलगायत समस्या छैन । बजार माग घट्नु, व्यावसायिक गतिविधिमा कमी आउनुलगायत कारण निजी क्षेत्र थप लगानी विस्तारका लागि तयार नहुनु रहेको उनीहरूको भनाइ छ ।

समग्र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि केही बैंक प्राथमिक पुँजी कोष र कुल पुँजी कोषको दबाबमा छन् । यसकारण उनीहरूले अपेक्षाअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । यद्यपि समग्र वित्तीय प्रणालीमा कर्जा प्रवाहका लागि पर्याप्त पुँजी रहेको जानकार बताउँछन् । यो समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले ‘पर्पेचुअल प्रिफरेन्स सेयर’ नामक वित्तीय औजार प्रयोगमा ल्याउने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिने तयारी गरेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने घोषणा राष्ट्र बैंकले गरेको थियो ।

वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले ठूलो रकम खर्चिनुपरेको मासिक प्रतिवेदनहरूले देखाएका छन् । गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५१ करोड गरी कुल ८ खर्ब ४ अर्ब ७१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । सोही अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत ७ खर्ब ४४ अर्ब २० करोड र स्थायी निक्षेप सुविधामार्फत १३ खर्ब ८७ अर्ब ८५ करोड गरी कुल २१ खर्ब ३२ अर्ब ५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

०८१ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.३५, विकास बैंकहरूको ७.३१ र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत छ । ०८० वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत थियो । कर्जाको भारित औसत ब्याजदर ०८१ वैशाखमा वाणिज्य बैंकहरूको १०.३४, विकास बैंकहरूको ११.८९ र वित्त कम्पनीहरूको १३.११ प्रतिशत छ ।

०८० वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत थियो ।

गत वर्षको साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोडले बढेको छ । यो ७.८ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ सय ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।

गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : असार १, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×