२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाल्पामा ड्रागनफ्रुट खेती फस्टाउँदै

‘परीक्षणका लागि लगाएका थियौं तर सफल नै भयो । हुन्छ कि हुन्न भन्ने थियो, अब राम्रो हुने रहेछ भन्ने लागेको छ ।’
माधव अर्याल

पाल्पा — भारतीय सेनाबाट अवकाशप्राप्त माथागढी गाउँपालिका–१, चिदीपानी माडीफेदीका सोमबहादुर आलेको दिनचर्या ड्रागनफ्रुटको रेखदेखमै बित्छ । छोरा मनु आलेले सामाजिक सञ्जाल र युट्युबबाट बुबा सोमबहादुरलाई खेती गर्ने तरिका सिकाउँछन् । ‘मैले भारतीय सेनामा पच्चीस वर्ष बिताएँ,’ उनले भने, ‘अहिले मलाई घरमा बसेर नयाँ जातको खेती गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई झन् फुर्ती आएको छ ।’ 

पाल्पामा ड्रागनफ्रुट खेती फस्टाउँदै

छोरा मनु दक्षिण अफ्रिकाको केन्या पुगेर ड्रागनफ्रुटका विषयमा जानकारी लिए । उनैको सहयोगमा काठमाडौंलगायत अन्य स्थानबाट बिरुवा ल्याएका हुन् । ५ सय बोट लगाएको ड्रागनफ्रुटले पहिलो लटमा ३ लाख रुपैयाँभन्दा बढी आम्दानी दिएको छ । पुनः लगाएका बोट पनि राम्रै हुर्किएको छ । ‘परीक्षणका लागि लगाएका थियौं तर सफल नै भयो,’ उनले भने, ‘हुन्छ कि हुन्न भन्ने थियो । अब राम्रो हुने रहेछ भन्ने लागेको छ ।’ प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँमा बजारमा पठाएको उनले बताए ।

डेढ वर्षअघि खेती सुरु गरेका आलेले राम्रो धान फल्ने खेतमा ६ सय बिरुवा लगाएका छन् । उत्पादनका हिसाबले धानबालीको तुलनामा यसबाट चार गुणा बढी फाइदा लिन सकिन्छ । उत्पादित फल स्थानीय बजार साथै अलवा तानसेन, आर्यभञ्ज्याङ, दमकडा, कसेनीलगायतका बजारमा बिक्री भएको उनले बताए । पहिलो लटमा तीन टनभन्दा बढी नै फल बिक्री गरेको उनले बताए । बजारमा यस फलको माग धेरै बढेकाले तीन रोपनी जग्गामा खेती गरेका छन् । आगमी दिनमा खेती विस्तार गर्ने योजना रहेको बताए । ‘यसबाट राम्रो कमाइ गर्न सकिने रहेछ,’ उनले भने, ‘फुर्सदको समय सदुपयोग भएकाले पनि व्यवसायप्रति आकर्षित छु ।’

यो खेती नयाँ र स्वास्थ्यका लागि राम्रो भएको बुझाउन सक्नुपर्ने उनको सुझाव छ । एक पिल्लरमा चारैतिर लगाइएको चारवटा बोट हुन्छ । एक बोटमा कम्तीमा ३० वटासम्म फल लाग्छ । बिरुवा लगाएको एक वर्षमै फल तयार हुन्छ । आले मात्र होइन, कचल, तानसेन र ठिमुरेमा गरी ३ हजार ५ सयभन्दा बढी ड्रागनफ्रुटका बोटले फल दिन थालेको छ । पहिलो लट सफल भएको र दोस्रो लटमा पनि उत्तिकै आम्दानी गर्ने योजना रहेको किसानले बताएका छन् । लटलटमा फुल्ने र फल्ने भएकाले बिरुवा हुर्कने र फूल फुल्ने क्रम जारी छ ।

बजारमा रातो महँगोमा बिक्री हुने गरे पनि सेतो ड्रागन धेरै फल्ने र बोट पनि छिटो हुर्कन्छ । तानसेन काजीपौवाका सन्दीप अधिकारी, ठिमुरेका भरत जीसी, कचलका टेकबहादुर रास्कोटी, रुप्सेका तारा पाण्डेय, रामपुरका हिरण्यराज रेग्मीले पनि ड्रागनफ्रुटको खेती गरेका छन् । अधिकांशले इन्टरनेट र सामाजिक सञ्जालबाट खेती गर्ने तरिका सिकेर गरिएको ड्रागनफ्रुट बजारमा बिक्री गर्न कुनै समस्या नभएको किसान बताउँछन् । आलेले पहिलो लटमा सेतो ड्रागनफ्रुट ५ सय र रातो ६ सय रुपैयाँमा बिक्री गरेका थिए । यसपटक ४ सय र ५ सयमा पठाउने योजना बनाएका छन् ।

सिउँडीजस्तो देखेर अचम्म परेका गाउँलेलाई पाकेको फल चखाएपछि गाउँमै ड्रागनफ्रुट खाने उपभोक्ता बढेको कचलका रास्कोटीले बताए । माथागढी गाउँपालिका–१, चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले गाउँपालिकामा कार्यविधि बनाएर उत्पादनमा आधारित अनुदान दिनेगरी काम गर्न लागेको बताए । पहाडी जिल्लामा ड्रागनफ्रुट फल खेती नयाँ भएकाले यसमा आकर्षण र बजार माग बढ्दो छ ।

केही किसानले व्यावसायिक खेती सुरु गरेको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना भट्टराई अधिकारीले बताइन् । नयाँ खेती भएकाले ड्रागन डिपार्टमेन्टल स्टोर, फलफूल पसल, भाटभटेनीलगायतका सुपरमार्केटमा बिक्री गर्न सहज रहेको उनले बताइन् । दक्षिण अमेरिकाको मेक्सिकोमा सुरु भएको यो फल सिउँडी प्रजातिमा पर्छ । गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनफ्रुटको जिब्रो जस्तै हुन्छ । फलको स्वाद गुलियो र अमिलोपनाको मिश्रण भएको हुन्छ ।


प्रकाशित : श्रावण ३०, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?