कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलका लागि भौंतारिँदै किसान

बजारमा कृषि औजार, इन्धन तथा बीउबिजन नपाइएका बेला डीएपी र युरिया मल अभावले थपियो चिन्ता

तिलोत्तमा,परासी,दाङ र भैरहवा — मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । रोपाइँ सुरु गर्ने बेलामा रासायनिक मलका लागि भौंतारिन बाध्य छन् । बजारमा कृषि औजार, इन्धन तथा बीउबिजन नपाइएका बेला डीएपी र युरिया मल अभावले उनीहरूलाई थप चिन्तित तुल्याएको छ ।

मलका लागि भौंतारिँदै किसान

प्रदेश ५ अन्तर्गत तराईका रूपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बाँके र बर्दियामा धान खेती गरिन्छ । धानको बीउ राखेर किसान मल खोज्दै छन् । तराईका जिल्लामा ७० देखि ८० प्रतिशतले धानको बीउ राखिसकिएको कृषक संघर्ष समिति नेपालका अध्यक्ष देव धवलले बताए । तर रोप्नुअघि मल राख्न नपाए उब्जनी कम हुने र उचित मूल्य नपाइने उनको भनाइ छ ।

‘कहीँकहीँ रोपाइँ नै सुरु भइसक्यो,’ उनले भने, ‘यस्तो बेला मल अभाव हुनु भनेको किसानलाई सीधै घाटा हुनु हो ।’ कृषकले मल पाएका स्थानमा विभिन्न कृषि सहकारी तथा सरकारी निकायले कोटा प्रणालीबाट मल वितरण गर्दा पर्याप्त मात्रामा नपाउने गरेको उनले गुनासो गरे । सहकारीमा सदस्य नभएका तथा पहुँच नभएका साना किसानका लागि पनि मल पाउन समस्या हुने गरेको उनले जनाए ।

सीमा जोडिएका जिल्लामा कृषकले विगतमा भारतीय बजारबाट सस्तोमा मल ल्याई खेती गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण गरिएको लकडाउनले ठूलो समस्यामा परेको रूपन्देहीको रोहिणीका किसान सागर यादवले बताए । ‘रोपाइँ सुरु गरिसकेको थिएँ,’ उनले भने, ‘मल नपाएपछि यत्तिकै रोपियो, उत्पादन त घट्छ नै, अर्को बालीलाई उर्बर बनाउनुपर्ने माटो पनि उस्तै रहने भयो ।’ दुई बिघा क्षेत्रफलमा धान रोप्न थालेका उनले मल अभाव कृषकका लागि रोग जस्तै भएको गुनासो गरे ।

प्रदेश ५ का सबै जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा समेत मलखाद वितरण गर्ने भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले यस वर्ष रूपन्देहीका लागि ११ हजार २ सय ५१ टन युरिया मल वितरण गरिएको जनाएको छ । जिल्लामा आठ हजार टन युरिया मल वितरण गर्ने लक्ष्य राखिएको थियो । त्यस्तै सात हजार टन डीएपी मल वितरणको लक्ष्य थियो । यस वर्ष रूपन्देहीमा ५ हजार ७ सय ४० टन डीएपी वितरण गरिएको कार्यालयका सूचना अधिकारी गणेश घिमिरेले बताए । मागभन्दा तीन लाख टन मल कम आयात हुनाले अभाव देखिएको उनको भनाइ छ । बजारमा अहिले युरिया पर्याप्त भए पनि डीएपीको अभाव देखिएको हो । असार अन्तिम सातादेखि भदौसम्म युरिया मलको माग बढ्ने उनले बताए ।

पश्चिम नवलपरासीअन्तर्गत सीमावर्ती गाउँलेले कोरोनाको डरले भारतीय बजारमा गएर मल खरिद गर्न सकेका छैनन् । मल अभावमा रोपाइँ गर्न पाएका छैनन् । सहज रूपमा मल नपाएपछि भारतीय बजारमा गएर लुकीछिपी ल्याउने क्रममा गत जेठ २५ गते प्रतापपुर गाउँपालिका–५ मा सशस्त्र प्रहरी र स्थानीयबीच झडप नै भयो ।

कृषि सामग्री केन्द्रमार्फत विभिन्न सहकारीलाई सहुलियत दरमा रासायनिक मल बिक्री गर्ने जिम्मा दिइएको छ । तर सहकारी र गाउँसम्म मल नपुग्दा किसान समस्यामा छन् । यसपालि लकडाउनको बहाना बनाउँदै बजारमा अभाव भएको छ । घन्टौं लाइनमा बसे पनि किसानले आवश्यक मल भने पाइरहेका छैनन् । हरेक वर्ष मल अभाव हुँदै आए पनि कृषि सामग्री केन्द्रले व्यवस्थापन गर्न नसक्दा समस्या भोग्नुपरेको रामग्राम नगरपालिका–२ का अनिल हलुवाईले बताए ।

दिनहँु सहकारीको बिक्री डिपोमा लाइन बस्दा कोरोना संक्रमणको उच्च जोखिम छ । तर किसान रोगले भन्दा भोकले मरिने भन्दै जोखिम मोलेरै घन्टौं लाइनमा बस्न बाध्य छन् । जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले सबै किसानले एकैपटक खरिद गरेर राख्न खोजेकाले मल अभाव देखिएको दाबी गरे । उनका अनुसार ढिलोचाँडो सबै किसानले आफूले खोजेअनुसार मल पाउँछन् । जिल्लामा अहिले धानमा राख्न ९ हजार ८ सय ४८ मेट्रिक टन युरिया, ६ हजार ६ सय ३ मेट्रिक टन डीएपी र ३ हजार ३ सय ७३ मेट्रिक टन पोटासको माग छ ।

दाङमा अहिलेसम्म ८० प्रतिशत रासायनिक मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । गत वर्षभन्दा दोब्बर परिमाणमा मल प्राप्त भएकाले अहिले सहज भइरहेको लिमिटेडका घोराही शाखा प्रबन्धक विष्णुप्रसाद केसीले बताए । ‘अहिले गत वर्षजस्तो हाहाकार छैन । आवश्यकताअनुसार मल आइरहेको छ । लकडाउनमा पनि मल आउन रोकिएन,’ उनले भने, ‘८० प्रतिशत मल आपूर्ति भइसकेको छ । अब २० प्रतिशत आउन बाँकी छ ।’

अहिलेसम्म जिल्लामा १२ हजार मेट्रिक टन मल वितरण भइसकेको उनको भनाइ छ । जिल्लाभर दुई सयभन्दा बढी सहकारीमार्फत मल वितरण भइरहेको उनले जनाए । सात हजार टन युरिया, पाँच हजार टन डीएपी र १ सय ५० टन पोटास वितरण भएको केसीले बताए । त्यसमध्ये घोराही र तुलसीपुरमा तीन हजार टन युरिया, २ हजार २ सय डीएपी र ३० टन पोटासका दरले वितरण भएको छ । दाङबाहिरका पहाडी जिल्लामा पनि मल पठाइरहेको उनको दाबी छ । तर किसानले चाहेअनुसार मल पाउन नसकेको गुनासो गरेका छन् ।

‘मल पाउन सकेका छैनौं । सबैले सोर्स लगाएर पाइरहेका छन्,’ तुलसीपुर–१८ का किसान रामचन्द्र चौधरीले भने, ‘खेती गर्ने बेला भइसक्यो । भनेको बेलामा मल नै पाइँदैन ।’ घोराही–९ का किसान दिनेश नेपालीले पनि मल पाउन नसकेको गुनासो गरे । ‘मल लिन जाँदा सबैले छैन भन्छन् । कसरी पाउनु ?,’ उनले भने, ‘पाए पनि मागेअनुसार पाइएको छैन ।’

वीरगन्जसम्म आयो

लामो समयपछि वीरगन्ज भन्सारमा आइपुगेको रासायनिक मलको ढुवानी हुनासाथ आपूर्ति गर्ने भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको तयारी गरेको छ । कोलकाता बन्दरगाहमा साढे दुई महिनाअघि आइपुगेको ५० हजार मेट्रिक टन डीएपी मलमध्ये आधा मंगलबार राति वीरगन्ज भन्सारमा आइपुगेको कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवले जानकारी दिए ।

‘२५ हजार मेट्रिक टन डीएपी मल मंगलबार राति वीरगन्ज भन्सारमा आइपुगेको छ । प्रक्रिया पूरा हुनासाथ कोटाअनुरूपको मल केही दिनमै आइपुग्नेछ,’ उनले भने, ‘मातहतका स्थानमा तत्काल आपूर्ति व्यवस्था मिलाएका छौं ।’ मल आइपुग्नासाथ आपूर्तिका लागि आन्तरिक ठेकेदार नियुक्त भइसकेको उनले बताए । उक्त मलमध्ये प्रदेश ५ कार्यालयलाई २ हजार ५ सय मेट्रिक टन कोटामा प्राप्त हुने र केही दिनपछि पुन: कोलकाता बन्दरगाहबाट बाँकी मल पनि आउने भएकाले रासायनिक मलको हाहाकार नहुने उनको भनाइ छ ।

कार्यालयले रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटीमा आफ्नो शाखा रहेका जिल्लामा शाखाबाट र नरहेकामा कृषि ज्ञान केन्द्र वा कृषि परियोजना कार्यालयबाट सिफारिस कम्पनी लिमिटेडको विक्रेता सहकारीलाई उपलब्ध गराउँछ । प्रादेशिक कम्पनी लिमिटेडमा हाल मौज्दात ३ हजार ६ सय २६ मेट्रिक टन युरिया, ५ सय ५९ मेट्रिक टन डीएपी र १ हजार ४ सय १ मेट्रिक टन पोटास पनि आपूर्ति भइरहेको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : जेष्ठ ३१, २०७७ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?