कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

दिल्ली–काठमाडौं रुटमा अकासियो हवाई भाडा

बिरामी र विद्यार्थीलाई बढी मार
काठमाडौं हुँदै साउदी जाने भारतीयका कारण बढ्यो टिकटको माग
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक अकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली–काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजारसम्म (४८ हजार रुपैयाँ) तिर्न बाध्य भएका छन् । जब कि समान्य अवस्थामा भारु करिब ६ हजार (साढे ९ हजार रुपैयाँ) मा पनि टिकट पाइने गरेको थियो ।

दिल्ली–काठमाडौं रुटमा अकासियो हवाई भाडा

हाल भारत र नेपालबीच ‘एअर–बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौं दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुने गरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाका दुई, इन्डिगोका तीन, स्पाइस जेटका दुई र भिस्ताराको एक उडान हुने गरेका थिए । भुटानको ड्र्युक एयरले पनि दिल्ली–काठमाडौं–पारो उडान गर्दै आएको थियो । यसबाहेक निगमले नै बैंगलोर र मुम्बईमा समेत उडान गर्ने गरेको थियो ।

कोरोना महामारीका कारण २२ मार्च २०२० देखि १६ डिसेम्बर २०२० सम्म सबै उडान बन्द गरियो । करिब नौ महिनापछि गत १७ डिसेम्बर २०२० देखि उडान सुरु गरिएको हो । नेपाल–भारत एयर बबल सम्झौताअन्तर्गत हाल दैनिक दुई उडानमा सञ्चालनमा छन् । जसअनुसार निगम र एयर इन्डियाले दैनिक उडान गर्दै आएका छन् । हाल नेपाल वायुसेवा निगमले एयरबस ३२० बाट दैनिक एक उडान गर्दै आएको छ । पर्याप्त सिट नहुँदा विगत दुई सातादेखि यो उडानका आठ बिजनेस क्लास र १५८ इकोनोमिक क्लास सिटको अकुपेन्सी औसतमा ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ । त्यस्तै अवस्था एयर इन्डियाको पनि छ ।

निगमले बिजनेस क्लासका लागि न्यूनतम २१ हजार ५ सय र अधिकतम सीमा २२ हजार ५ सय भारु तय गरेको छ । त्यसैगरी इकोनोमी क्लासका लागि न्यूनतम न्यूनतम ५ हजार ९ सय र अधिकतम १९ हजार भारु निर्धारण गरिएको छ । तर उच्च मागका कारण यात्रुहरूले माथिको दरमा टिकट पाउन मुस्किल छ । एयर इन्डियाले हवाई भाडा बजारमै खुला छाडेको छ । जसले गर्दा टिकटको माग अत्यधिक हुँदा एअर इन्डियाको हवाई भाडा ३० हजार भारु नाघ्ने गरेको छ । माग बढी हुँदा आगामी दुई सातासम्म नेपाल वायुसेवा निगम र एयर इन्डिया दुवैका अधिकांश टिकट बिक्री भइसकेका छन् ।

टिकट महँगो हुँदा विशेषगरी उपचार र अध्ययनका लागि आउने नेपालीलाई बढी समस्या परेको छ । बर्सेनि ठूलो संख्यामा नेपाली बिरामी उपचारका लागि भारतका दिल्लीलगायत विभिन्न सहर आउँछन् । भारतका विश्वविद्यालय र कलेजमा पनि नेपालीको बाक्लै उपस्थिति छ । ती बिरामी र विद्यार्थीले नेपाल जान प्रायः दिल्ली–काठमाडौं हवाई रुट प्रयोग गर्ने गरेका थिए । अहिले भाडा दर अकासिएकाले उनीहरू बढी समस्यामा परेका हुन् । दिल्लीको रोहिणीस्थित एनबी ट्राभलका सञ्चालक विष्णु शाही पनि टिकट अभावका कारण विशेषगरी बिरामी र तिनका आफन्तले बढी सास्ती खेप्नुपरेको स्विकार्छन् । ‘खै कसलाई भन्ने हो, टिकट नै छैन । भएको टिकट पनि कम्तीमा २० हजार भारु भन्छन् । बिरामीले कसरी त्यत्रो तिरुन्,’ उनले भने । टिकट अभावकै कारण पछिल्लो समय धेरै नेपाली बिरामीहरू बागडोगरा, गोरखपुर भएर काठमाडौं जान बाध्य भइरहेको समेत उनले बताए ।

यद्यपि यात्रुको चाप बढेकाले दिल्ली–काठमाडौं रुटमा वाइडबडी उडाउन निगमले गृहकार्यसमेत सुरु गरेको छ । ‘वाइडबडीका लागि छलफल भइरहेको छ । अहिलेकै जस्तो माग लामो समय रहने देखियो भने वाइडबडीबाट उडान गर्छौं,’ दिल्लीस्थित निगम कार्यालयका म्यानेजर नारायण पौडेलले भने । निगमसँग रहेका दुईवटा एयरबस ३३० (वाइडबडी) मध्ये एउटा भने ग्राउन्डेड छ । यो विमानले १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लास गरी २७३ यात्रु बोक्न सक्छ । निगमका लागि दिल्ली–काठमाडौं रुट नाफाको गन्तव्यका रूपमा चिनिँदै आएको छ ।

दिल्ली–काठमाडौं रुटमा चाप बढ्नुमा काठमाडौं हुँदै खाडी मुलुक साउदी अरेबिया जाने भारतीय यात्रुहरू पनि भएको बताइएको छ । साउदी अरेबियाले कोरोना संक्रमण बढ्दै गएपछि गत २१ माघदेखि भारतलगायत २० मुलुकबाट हुने उडानमा रोक लगाएको छ । साथै पछिल्ला १४ दिनमा ती २० मुलुकको भ्रमण हिस्ट्री भएका यात्रुलाई समेत भ्रमण अनुमति नदिने निर्णय साउदी सरकारले गरेको थियो । उक्त निर्णयका कारण भारतीय यात्रु सिधै साउदी अरेबिया जान रोक लागेको छ । तर नेपालबाट हुने उडानमा रोक नलागेको र १४ दिनको भ्रमण सूचीमा नेपाल नरहेका कारण पनि भारतीय पर्यटकले साउदी जान काठमाडौंको रुट रोज्ने गरेको पर्यटन व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार दुबई भएर साउदी जान पाइने भए पनि दुबईमा १४ दिनको क्वरेन्टिन बस्नुपर्ने, त्योभन्दा काठमाडौंमा १४ दिन बस्दा खर्च पनि कम लाग्ने र घुम्न पनि पाइने भएकाले काठमाडौंको रुट भारतीय पर्यटकहरूको रोजाइमा परेको छ । यसकारण पनि दिल्ली–काठमाडौंको हवाई उडानमा यात्रुहरूको चाप बढेको उनीहरू बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?