कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या

काठमाडौँ — बुधबार नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या देखिएको छ । कहिले अर्डर गरेको कारोबार नदेखाउने त कहिले धेरै देखाउने समस्या आएको हो । प्रणालीमा समस्याका कारण लगानीकर्ताले एक घण्टा कारोबार गर्न पाएनन् ।

नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या

पछि समस्या समाधान भएको भन्दै नेप्सेले कारोबार सुरु गरेको थियो । क्षतिपूर्तिस्वरूप नेप्सेले उक्त दिन एक घण्टा कारोबार समय बढाएर ४ बजेसम्म बजार खुलाएको थियो । नेप्सेको कारोबार प्रणालीमा समस्या आउनु नयाँ होइन । ०७५ कात्तिक २० देखि नेप्सेले पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेयता सिस्टममा समस्या आएकै कारण पटक–पटक कारोबार अवरुद्ध हुँदै आएको छ । बुधबार पनि सोही अवस्था दोहोरिएको धितोपत्र ब्रोकरले बताएका छन् ।

नेप्सेले भने यो सामान्य समस्या भएको दाबी गरेको छ । एकैपटक एनआईसी एसिया लघुवित्तको सेयर कारोबारका लागि करिब ३२ हजार वटा अर्डर परेपछि सिस्टममा समस्या देखिएको स्रोतले बताएको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ४३ अंकले बढेर २ हजार ६ सय १९.०२ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.६८ प्रतिशतले बढेको हो । उक्त दिन कारोबारमा आएका मध्ये ट्रेडिङबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा उच्च वृद्धि भएको हो । ६७ हजार १ सय ४८ कारोबारबाट २ सय ९ वटा कम्पनीका १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम केही कम हो । मंगलबार ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.६४ प्रतिशतले बढ्यो । व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.९ प्रतिशतले बढेको छ । नेप्से परिसूचक बढेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३६ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन कारोबारमा आएका मध्ये व्यापार उपसमूहबाहेक सबै समूहका परिसूचक बढे । व्यापार समूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ । सेयर मूल्य बढ्ने उपसमूहमध्ये निर्जीवन बिमाको परिसूचक सबैभन्दा धेरै २.६२ प्रतिशतले उकालो लागेको छ ।

यस्तै, बैंकिङ समूहको परिसूचक २.३१, होटल एन्ड टुरिजमको १.६, विकास बैंकको १.६८, जलविद्युत्को १.३९, वित्त कम्पनीको ०.८, उत्पादन तथा प्रशोधन उपसमूहको ०.५८, अन्यको १.३३ र लघुवित्त उपसमूहको ०.५७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । सो दिन जीवन बिमा उपसमूहको परिसूचक ०.९८, सामूहिक लगानी कोषको ०.८९ र लगानी उपसमूहको परिसूचक १.७२ प्रतिशतले बढेको छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?