काभ्रे र सिन्धुपाल्चोकका ‘उत्कृष्ट कृषक’लाई राष्ट्रपति पुरस्कार

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रे र सिन्धुपाल्चोकका ७ ‘उत्कृष्ट कृषक’लाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र काभ्रेले काभ्रेका ४ र सिन्धुपाल्चोकका ३ उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको हो । 

कृषक सम्मान कार्यक्रमका लागि आवेदन दिएका काभ्रेका २८, सिन्धुपाल्चोकका १० गरी ३८ जना मध्येबाट ७ जना छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । पुरस्कृत हुनेमा काभ्रेका दिपेशचन्द्र लामा, कमला लामा, अप्सरा घिमिरे तिमल्सिना, राजेन्द्र ढकाल र सिन्धुपाल्चोकका भीमप्रसाद दुलाल, डिन्डुप तामाङ र न्यूरच्र्यूङ तामाङ छन् ।

वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय प्रमुख रविन्द्रबहादुर प्रधानले उनीहरुलाई जनही १५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लाले सम्मान गरे । पुरस्कृत कृषकले कृषि तथा पशुपालनमार्फत उत्पादनसँगै अर्थतन्त्रमा जोड दिएका छन् ।

हेलम्बु–२ क्युलमा युवा सिर्जनशील कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका डिन्डुप २०७२ सालमा भूकम्प गएपछि मलेसियाबाट स्वदेश फर्केका थिए । स्थानीय एक संस्थाले दिएको ५० बोट किबीबाट खेती सुरु गरेका डिन्डुपले विरे तामाङ, सुवास तामाङ र निमा सिन्की लामासमेतको सहयोगमा ७० रोपनी क्षेत्रफमा किबी खेती, टर्की ओखर खेती गरिरहेका छन् । रोपेको २ वर्षबाट फल दिन थालेपछि उनी त्यसको आम्दानीबाट उत्साहित छन् ।

बनेपा –१३ स्थित झ्याम्मल कृषि फार्म सञ्चालक कमला लामा लोपोन्मुख र रैथाने बालीको संरक्षण र प्रशोधनमा जुटेकी छन् । २ हजार रुपैयाँबाट सुरु गरेको उनको व्यवसायमा अहिले लगानी मात्रै २५ लाख पुगिसकेको छ । सिजनअनुसारको तरकारी उत्पादन, फलफूलको क्यान्डी बनाउँदै आएका उनीहरुले हर्बल चिया पनि उत्पादन गर्दै आएका छन् । दैनिक ५ जनाले रोजगारी पाएको उनको फर्ममा सिजनको बेलामा बढीले रोजगारी पाउने गरेका छन् ।

पहिला घरमा एक/दुई भंैसी मात्रै पाल्दै आएका मेलम्ची–१० का भीमप्रसाद दुलाल सञ्चालक रहेको इन्द्रावती पशुपालन तथा कृषि फार्ममा अहिले ५५ वटा भैंसी र पाडापाडी ५५ वटा छन् । स्थानीय सहदेव नेपाल,फडिन्द्र आचार्य, मुक्ति पराजुली, वालकृष्ण दाहालसमेतको साझेदारीमा रहेको फार्ममा संरचनासमेत गरी ३ करोड २५ लाख लगानी भइसकेको छ । ५ साझेदारका अतिरिक्त ४ जना कर्मचारीले दैनिक काम गर्छन् । दैनिक ४ सय लिटर दूध बिक्री गर्दै आएका उनले सबै खर्च कटाएर मासिक डेढ लाख बचत हुने बताए ।

नमोबुद्ध–८ का दीपेशचन्द्र लामाले पच्चीस हजारबाट सुरु गरेको व्यवसायमा अहिले १ करोडभन्दा माथि लगानी भइसकेको छ । एलिस्का कृषि फार्ममार्फत १ सय २ वटा टनेलमा तरकारी, १० वटा भंैसी र २ गाई र ८० वटा बाख्रा, खसीबोकासहितको कृषि व्यवसायमा उनको सफलतापछि धेरैले गाउँमा नै तरकारी खेती सुरु गरेका छन् । १२ महिना नै गोलभेडा फलाइरहेका उनी दसैंको समयमा निकाल्ने गरी काउली रोप्ने तयारीमा छन् । १० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

बनेपा–४ भण्डारी गाउँकी अप्सरा तिमल्सिना भण्डारी पनि तरकारी खेती र पशुपालनमा संलग्न छिन् । १४ वटा भैंसी, एउटा गाई र ९ वटा टनेलमा तरकारी खेती गरेकी भण्डारीले मल्चिङ प्रविधिमा काँक्रो र खुर्सानी रोपेकी छन् । २० रोपनी जग्गा लिजमा लिएर कृषि कर्ममा होमिएकी उनी घर–घरमा दूध पुर्‍याउन जान्छिन् । तरकारी पनि बजार लगेर आफै बिक्री गर्छिन् । अप्सरालाई ससुरा, श्रीमान् र देवरले सघाएका छन् ।

मण्डनदेउपुर–६ मा न्यू महाकांल कृषि फर्म दर्ता गरेर ३ वर्षअघि कृषि कर्ममा होमिएका राजेन्द्र ढकालले १६ वटा गाई पालेका छन् । १७ वटा टनेलमा अर्गानिक तरकारी खेती गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत लागत साझेदारीमा २ पटक गरी २५ लाख अनुदान लिएका उनले करोडभन्दा बढी लगानी गरेको दाबी गर्छन् । करिब ३ सय भन्दा बढी किसानबाट दैनिक ४ हजार लिटर दूध संकलन गर्ने ढकालले फार्ममार्फत पनिर उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

निर्देशनालयका प्रमुख प्रधानले कृषकलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रम गरिएको उल्लेख गर्दै अब अनुदान वितरण रोकेर कृषकलाई बीउ पुँजी दिने तयारीमा सरकार रहेको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा हत्या आरोपमा दुई किशोर पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना किशोर छन् । लम्जेलको शव जेठ १२ गते धरान–५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती नजिकको सेउती खोलामा फेला परेको थियो ।

पक्राउ पर्नेहरुमा धनकुटाको सांगुरी गढी–८ घर भई धरान–१५ बगरकोटको एक सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र धरान १५ बगरकोट बस्ने १३ वर्षीय किशोरहरु छन् । किशोर रहेकाले प्रहरीले उनीहरुको नाम खुलाएको छैन । एक जनालाई धनकुटाको छिन्ताङबाट र अर्कोलाई बगरकोटबाटै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार किशोरहरुलाई सन्दिपले फोन गरेर शारीरिक सम्बन्ध राख्ने युवती खोजी देउ भन्दै धम्की र गालीगलौज गरेका थिए । दुवै जनाले केटी भेटिएको भनेर बोलाएपछि लम्जेल को २८ प २५६८ नम्बरका केटिएम ड्युक मोटरसाइकलमा आएका थिए । दुवै जनाले लम्जेललाई केटी भेटाउने ठाउँ भन्दै सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाएका थिए । उनीहरुले हतियार र ढुंगा प्रहार गरी सन्दिपको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दुवै किशोरलाई सुनसरी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×