बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दुको रूपमा आएको छ : चौधरी


काठमाडौँ — नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दुको रूपमा रहेको बताएका छन् ।


मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रूपमा चित्रण गरेका हुन् । उनले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा प्रस्टसँग स्वीकारेको बताए ।
उनले ‘मेक इन नेपाल’ले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्त्वपूर्ण चरण भएको उल्लेख गरे । उनले भने,‘यो पटक अर्थमन्त्रीजीले निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनका रूपमा प्रस्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाई लाग्छ कि यो सुधारतर्फको पहिलो महत्त्वपूर्ण चरण हो ।’
उनले स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानीय भएको बताए । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उनको भनाई छ ।
‘स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था । रोजगार, स्वरोजगारको नाममा राजनीतिक कार्यकर्तालाई पैसा बाड्नुको सट्टा प्रदेशलाई जिम्मेवार बनाइकन ती युवाको सपनालाई योजनाको रुप दिने जुन साहस यो बजेटले गरेको छ, त्यो सह्रानीय छ,’ उनले भने ।
उनले प्रविधिकेन्द्रित बजेट भएको पनि बताए । शिक्षा र पूर्वाधारका क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको भन्दै उनले बजेटको प्रशंसा गरे ।
प्रकाशित : जेष्ठ १७, २०७९ १५:२८