कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

युवा कानुन व्यवसायीको भूमिका र चुनौती

परितोष घिमिरे

काठमाडौँ — नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भइरहेको परिवर्तनलाई नियालेर हेर्दा युवा सहभागिता तथा युवा नेतृत्वको लहर नै चलेको देखिन्छ । नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई 'युवा' भनि परिभाषित गरिएको छ । नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले युवाहरुलाई राष्ट्रको अमूल्य सम्पत्तिको रुपमा परिभाषित गरेको छ ।

युवा कानुन व्यवसायीको भूमिका र चुनौती

सोही नीतिमा युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् भनि उल्लेख भएबाट नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको जिम्मेवारी नेपालको युवाहरूले नै बहन गर्नु अत्यावश्यक देखिन्छ । यसका लागि युवा कानुन व्यवसायीहरूको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।

दिगो विकासको लक्ष्य र युवा कानुन व्यवसायी
युवा कानुन व्यवसायीको भूमिका अरु कुनै पनि क्षेत्रमा आवद्ध युवाहरूको भन्दा निकै पृथक रहेको छ । सर्वप्रथमतः नेपालको संविधानले आत्मसात गरेको राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानव अधिकारका रक्षा गर्नु युवा कानुन व्यवसायीको कर्तव्य हो । नेपाल जस्तो विकास उन्मुख राष्ट्रमा विधिको शासन कायम राख्नका लागि आवश्यक निति बनाउन र सम्पूर्ण सरोकारवालाहरूलाई राष्ट्रको दिगो विकासमा कानुनको परिपालनाको महत्वको बारेमा अवगत गराउन पनि युवा कानुन व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्छन्।

नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले सन् २०३० सम्म दिगो विकास लक्ष्यहरू हासिल गर्नको लागि लिएको लक्ष्यहरू मध्य शान्ति, न्याय र सक्षम निकायहरू भन्ने शीर्षक अन्तरगर्त रहेको दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने जस्ता लक्ष्य हासिल गर्नपनि युवा कानुन व्यवसायीले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।

दिगो विकास लक्ष्यहरू अन्तर्गत नै रहेको अविभेदकारी कानून तथा नीतिको प्रवर्द्धन गर्न, सबै तहमा उत्तरदायी, समावेशी, सहभागितामूलक र प्रतिनिधिमूलक नीति निर्माण सुनिश्चित गराउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कानूनी शासन प्रवर्द्धन गराउन, सबैको न्यायमा समान पहुँच सुनिश्चित गराउन, दुरुपयोग, शोषण, मानव तस्करी र बालबालिका माथिको यातना तथा सबै प्रकारका हिंसा समाप्त गराउन युवा कानुन व्यवसायीहरूले महत्वपुर्ण योगदान गर्न सक्छन् । दिगो विकासको लक्षहरूको प्राप्तिको सन्दर्भमा समाज तथा राष्ट्रसँग जोडिएको विभिन्न समस्या पहिचान गर्न, जटिल कानुनी परिस्थितिलाई सहजीकरण गर्न पनि युवा कानुन व्यवसायीले योगदान पुर्‍याउन सक्छन् ।

समाजमा बसोबास गर्ने मानिसहरूलाई आफ्ना हक तथा अधिकारको बारेमा अवगत गराउन र कानुनको अज्ञानताको कारण आफ्ना हक अधिकारबाट वञ्चित हुन नदिनु पनि युवा कानुन व्यवसायीको दायित्व हो । नोभेम्बर २०२३ मा विश्व बैँकले 'विश्व बैंक आवाजहरू'मा 'विकासको लागि कानुन र कानुन व्यवसायीको भूमिका' शिर्षक राखी प्रकाशित लेखमा पनि पर्यावरण र जैविक विविधता संरक्षण तथा सामाजिक सुरक्षा र लैंगिक समानताको क्षेत्रमा नमुना कानूनहरू निर्माण गर्न परामर्श गर्ने, दिगो विकासको लक्ष्य हासिल गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निजि क्षेत्रसँग सहकार्य गर्न र वित्तिय र व्यवसायीक कारोबारलाई सहज बनाउनको लागि सरकार, कानुन व्यवसायी एवं अन्य सरोकारवाला निकायहरूको क्षमता अभिवृद्दि गर्न आवश्यक प्रशिक्षण दिने, राष्ट्रिय निकायहरूप्रति जनताको विश्वास अभिवृद्दि गर्ने लक्ष्य लिएको प्रभावकारी न्यायिक कार्यक्रमहरूलाई समर्थन गर्ने लगायतको कार्यहरूमा पनि युवा कानुन व्यवसायीको प्रमुख भूमिका रहन्छ भनि उल्लेख भएको छ।

कानुन व्यवसाय र युवा कानुन व्यवसायी
नेपालको कानुन व्यवसायको क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्दो छ। समयक्रममा नेपालको कानुन व्यवसायको क्षेत्रमा युवा कानुन व्यवसायीहरूकै वर्चस्व हुने निश्चित छ । अन्तर्राष्ट्रिय बार एसोसिएसनका अध्यक्ष स्ट्रेनफर्ड मोयोले २०२२ मा प्रकाशन गरेको युवा कानुन व्यवसायी प्रतिवेदनमा कानुन व्यवसायमा भर्खर प्रवेश गर्दै गरेको र भविष्यमा प्रवेश गर्नेहरू यस पेशाको लागि नविन छन् तर नव प्रवेशी कानुन व्यवसायीहरूको क्षमता नियमित रुपमा विकास हुँदै गएका कुरा उल्लेख गरेका छन्।आजको युवा कानुन व्यवसायीहरू भोलि नेतृत्व गर्ने तहमा रहनेछन् । त्यसकारण युवा कानुन व्यवसायीहरूको आजको आवश्यकता सम्बोधन गर्ने कार्यले भविष्यमा कानुन व्यवसायी क्षेत्रले कस्तो स्वरुप ग्रहण गर्नेछ भन्ने दिशा निर्देशित गर्दछ ।

युवा कानुन व्यवसायीहरूको समग्र विकासले भविष्यमा कानुनी व्यवसायको क्षेत्रलाई नै फाइदा गर्छ। अन्तर्राष्ट्रिय बार एसोसिएसनले २०२२ मा प्रकाशन गरेको युवा कानुन व्यवसायी प्रतिवेदनमा जेन गुडवालले के कस्ता कुराहरूले युवा कानुन व्यवसायीहरूलाई यस पेशा प्रति अभिप्रेरित गर्दछ, युवा कानुन व्यवसायीहरूले के चाहन्छन्, कानुन व्यवसायमा युवा कानुन व्यवसायीहरूले के कस्ता चुनौतिको सामना गरिरहेका छन्, युवा कानुन व्यवसायीहरूले आफू आबद्द रहेको क्षेत्रबाट के कस्ता अपेक्षा राखेका छन् र यस क्षेत्रमा आफ्नो भविष्य देखेका छन् वा छैनन्, वरिष्ठ अधिवक्ताहरू तथा अग्रज कानुन व्यवसायीहरूको बारेमा युवा कानुन व्यवसायीहरूको धारणा र वरिष्ठ अधिवक्ताहरू तथा अग्रज कानुन व्यवसायी र युवा कानुन व्यवसायीहरूको बीचको सम्बन्धका बारेमा विश्व भरिकै युवा कानुन व्यवसायीहरूले चासो राख्ने गर्दछन् भनि उल्लेख गरेका छन्।नेपालमा पनि युवा कानुन व्यवसायीहरूले सोही प्रश्नहरूको सटिक उत्तर खजिरहेका छन्।

युवा कानुन व्यवसायीहरूलाई चुनौती
नेपालको कानुन व्यवसायी परिषद् ऐन, २०५० को प्रस्तावनाले नै समाज प्रति बढि जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्ने दायित्व कानुन व्यवसायीलाई प्रदान गरेको छ। समाज प्रति जिम्मेवार रहेर सेवा सञ्चालन गर्ने दायित्व कानुन व्यवसायीहरूलाई सुम्पिए पनि नेपाल कानुन व्यवसायी परिषद्, नेपाल बार एसोसिएसन र नेपाल भरि छरिएर रहेका विभिन्न बार इकाइहरूले कानुन व्यवसायको क्षेत्रमा युवा कानुन व्यवसायीहरूको भविष्य सुनिश्चित गर्ने दायित्व प्रभावकारी रुपमा बहन गर्न नसकेको भनि युवा कानुन व्यवसायीहरूले गुनासो गर्ने गरेका छन्।युवा कानुन व्यवसायीहरूले कानुन व्यवसाय को क्षेत्रमा आबद्ध भएपश्चात आफ्नो भविष्य सुनिश्चित हुन्छ वा हुँदैन भन्ने अन्योलमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

युवा कानुन व्यवसायीको समग्र विकासले कानुन व्यवसाय क्षेत्रको समृद्द भविष्यको प्रचुर सम्भाव बोके पनि युवा कानुन व्यवसायीहरूले व्यवसायीक रुपमा सामना गर्नु पर्ने समस्या र समाधानको लागि पर्याप्त प्रयास भएको पाइँदैन । युवा कानुन व्यवसायीहरूमा कानुन व्यवसायीको लागि आवश्यक क्षमता भएतापनि अझैपनि युवा कानुन व्यवसायीहरू आफ्नो सिपलाई थप विकसित एवं परिपक्क गर्न अवसरकै खोजिमा वर्षौँ रुमल्लिरहनु पर्ने बाध्यता छ ।

हाल, नेपाल कानुन व्यवसायी परिषद्ले नवोदित कानुन व्यवसायीहरूको लागि निश्चित समयको लागि व्यवसायीक आबद्धता सुनिश्चित गराउने कुरा नवोदित कानुन व्यवसायी लक्षित कार्यक्रमहरूमा उल्लेख गर्दै आएको छ । त्यस्तै, नेपाल बार एशोसिएशनले पनि छुट्टै युवा कानुन व्यवसायी सरोकार समिति गठन गरेको छ । सो समितिले युवा कानुन व्यवसायीहरूको मुद्दाहरूलाई गम्भीर रुपमा अध्ययन गर्ने, युवा कानुन व्यवसायिहरूको व्यवसायीक समस्या समाधान गर्न अग्रसर हुने र युवा कानुन व्यवसायीको हितमा वकालत गर्ने कुरामा युवा कानुन व्यवसायीहरू आशावादी भएका छन् ।

नेपालभर छरिएर रहेका विभिन्न बार इकाइहरूले पनि निरन्तर युवा कानुन व्यवसायी लक्षीत कार्यक्रमहरू गरिरेहेको अवस्थामा विगत को स्थितिमा परिवर्तन आउने शुभ संकेत देखिन्छ । अतः युवा कानुन व्यवसायीको भूमिका र सम्भावनाको सन्दर्भमा सबै सरोकारवालाहरू गम्भीर हुनेछन् र यथासिघ्र युवा कानुन व्यवसायीहरूको व्यवसायीक समस्या समाधान गर्न ठोस कदम चाल्ने छन् भन्ने आशासहित इमान्दार एवं कर्तव्यनिष्ठ भई व्यवसायीक जिवन संचालन गर्नुको विकल्प युवा कानुन व्यवसायीहरूसँग छैन ।

लेखक कानुन व्यवसायी हुन् ।

प्रकाशित : वैशाख २८, २०८१ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×