२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

शान्ति भूमिको साहित्य

लुम्बिनी सर्किटका तीर्थस्थलबारे धेरथोर पुरातात्त्विक उत्खनन भए पनि अब अभियानकै रूपमा त्यसको महत्त्‍वलाई समातेर साहित्यिक शिराबाट अध्ययन गर्न आवश्यक छ

गौतम बुद्ध जन्मिएको लुम्बिनी केवल यहाँको अशोक स्तम्भ वा मायादेवी मन्दिरमात्रै होइन । पूर्वमा अस्तुधातु रहेको रामग्राम, पश्चिममा तिलौराकोट, उत्तरमा शिष्यहरूलाई प्रवचन दिएको सामगाम वा उत्तर पूर्वमा रहेको मावली देवदहजस्ता ‘बुद्ध सर्किट’का अन्य कैयौं बौद्ध तीर्थस्थलले यस क्षेत्रलाई नै पवित्र बनाएका छन् ।

शान्ति भूमिको साहित्य

इतिहासले आफ्नो भावसमेत पुस्तौँपुस्तासँगै बोकिरहेको हुन्छ । त्यसैले पुण्यभूमिका मानिसहरूसमेत ती ऐतिहासिक साख बोकेका जीवन्त धरोहर हुन् । शान्ति भूमिमा लेखिने, शान्ति भाव अभिव्यक्त गर्ने साहित्य त्यसका झल्को हुन्, हुनुपर्छ ।

साहित्य त्यस्तो माध्यम हो, जसले ऐतिहासिक अनुभूतिलाई जीवन्तता, नवीनता र ताजगी राख्न सघाउँछ । साहित्यभित्रको विहङ्गम दृष्टि र विचारशक्तिको अद्वितीयताले अचेतन मनलाई जागृत तुल्याउन बल प्रदान गर्छ । खासगरी जब बौद्ध विचारको कुरा आउँछ, त्यहाँ वस्तुवादी कुराभन्दा मन र मस्तिष्क बढ्ता जोडिन्छ, जसलाई शान्ति साहित्यले जोड्न सक्छ ।

बौद्ध भूमिमा पुग्दा जो कोहीको मनमा शान्ति भाव जाग्न सकोस् । आत्मशान्ति वा परोपकारका लागि जीवनमा गरिएका प्रयासबारे फर्केर सोच्ने माहोल बनोस् । बुद्ध धर्मले भनेझैँ शान्ति– मानवीयता, नैतिकता, सदाचार, ध्यान, एकाग्रता, परिवर्तनशीलता, विवेकमाझ भेटिन्छ, जुन हरेक मानिसका दैनिक व्यवहारमा जोडिने कुरा हुन् । के बुद्ध सर्किटमा यात्रा गर्ने सबै तीर्थालुमा त्यो भाव जागृत हुन सकेको छ त ?

के गर्न सकिन्छ ?

शान्ति भूमिको भाव बोक्ने साहित्य नै यहीँका लेखकले कति लेखेका छन् ? साहित्यको कुनै सीमा हुँदैन तर बुद्धको जन्मभूमि आसपासमा हुर्किएका लेखकले शान्ति साहित्य लेख्नु उसका लागि जन्मसिद्ध लाभको विषय बनेको हुन्छ । अन्तर्राष्ट्रिय दृष्टिबाट हेरौँ– के रोमका लेखकले लेख्ने क्याथोलिक मूल्य–मान्यता बोकेका साहित्यलाई हामीले पहिलो प्राथमिकतामा राख्दैनौं ? मक्का वा मदिना सहरका लेखकका इस्लामिक साहित्यको मापन अलग्गै रूपमा विशेष मानिन्छ । अयोध्या, बनारस वा काठमाडौंबाट प्रकाशित हुने हिन्दु धर्मका साहित्य सबैभन्दा अगाडि रोजाइमा पर्दैनन् त ? लुम्बिनीले त्यो लाभ किन उठाउन सकिरहेको छैन भनेर हामीले सोच्नुपर्ने बेला आएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्ति साहित्य प्राथमिकतामा रहने गरी एउटा व्यवस्थित पुस्तकालय राखिनु जरुरी छ । त्यसमा दर्शन, आख्यान, गैरआख्यान काव्यदेखि अनकन् स्वरूपमा साहित्य रहन सक्छन् । त्यसका श्रव्य संस्करणहरू बनाउन सकिन्छ, जसले लुम्बिनी सर्किटमा यात्रा गरिरहँदा ‘अडियो टुर’को झल्को दिन सकोस् ।

लुम्बिनी सर्किटका हरेक चिज निकै मूल्यवान् छन् । समय–समयमा धेरैतिर उत्खनन गरिँदा धेरै नयाँ कुरा थाहा लागेका छन् । गौतम बुद्धको तिलौराकोटको घरदेखि देवदहको मावली र ससुरालीबीचको यात्रासँग धेरै तथ्य र मिथक जोडिएका छन् । त्यहाँका रूख र नदीसँग ती इतिहास जोडिन्छन् । अहिले सुनसान भेग वा नयाँ बस्तीको बीचमा उतिबेलाका राज्यका अवशेष भेटिएका छन् । घर र मावलीबीचका तत्कालीन दुई शाक्य र कोलीय गणराज्यका आफ्नै इतिहास र सभ्यताका कथा छन् । हालको तिनाउ नदीभन्दा केही पश्चिमतर्फ पर्ने दानव नदीदेखि पूर्वतर्फ र नारायणी नदीभन्दा पश्चिमपट्टि कोलीय गणराज्यअन्तर्गतको दुई राज्य क्रमशः देवदह र रामग्राम उल्लेख छ । बौद्ध ग्रन्थमा यसबारे उल्लेख गरिएको सुनिएको छ । जीवनमा एक पटक लुम्बिनी आउन चाहने बौद्धमार्गीहरूका लागि त्यससँग जोडिएका साहित्य तिनै परिवेशमा पढ्दै सुन्दै हिँड्नुको मज्जा कति अनुपम हुन सक्ला ?

बाल साहित्य र अनुसन्धान मिश्रित आख्यानमा त्यसको सम्भावना अझ विशेष छ । तर, इतिहासलाई स्वच्छन्द तरिकाले तोडमोड गर्ने छुट साहित्यमा हुँदैन । इतिहास जोडिने साहित्यले केही सिर्जनशील लाभ लिन सक्छ तर त्यसको आधार तथ्य–प्रमाणमै टेकिनुपर्छ । लुम्बिनी बौद्ध विश्वविद्यालय संस्थागत हिसाबले बने तापनि संगठनात्मक हिसाबले धेरै लगानी हुन आवश्यक छ ।

रूपन्देही जिल्ला र समग्रमा लुम्बिनी प्रदेश नै क्रियाशील रूपमा सर्जकहरूले सिर्जना गर्दै आइरहेको ठाउँ हो । यहाँ लेखनवृत्तिमार्फत शान्ति साहित्यको माहोल विस्तारमा लगानी हुनु जरुरी छ । विदेशी भाषाका साहित्यलाई नेपालीमा र नेपाली साहित्यलाई विदेशी भाषामा अनुवाद गर्ने परियोजनाहरू तयार हुन आवश्यक छ । साहित्य केन्द्रित त्यस्ता कार्यक्रममार्फत अन्तर्राष्ट्रिय लेखकलाई लुम्बिनीमा ल्याउँदै स्थानीय साहित्यकारहरूसँग सहकार्य गरेर उम्दा साहित्य तयार पार्ने अवसर जुटाउन पनि पहल गर्नुपर्छ ।

लुम्बिनी सर्किट आसपास डुलिरहँदा त्यहाँ अस्तव्यस्त तरिकाले ती विशेष ठाउँको गरिमा ओझेलमा पर्ने गरी ठूल्ठूला होर्डिङ बोर्ड र तुलहरू झुन्ड्याइएका पाइन्छन् । शान्ति भूमिमा यात्रा गर्नुको अर्थ ती भौतिकवादी कुराबाट एकछिन भए पनि पर रहँदै स्थिर मनले शान्तिको आभास लिन सक्ने हुनुपर्छ । बरू ठाउँठाउँमा बुद्ध वचनका अतिरिक्त स्थानीय कविले स्वागत गरेका वा शान्ति महिमा गाइएका कविता, मुक्तक वा हाइकुका अंश प्रदर्शन गर्न सकिन्छ । त्यसलाई विभिन्न भाषामा अनुवाद गर्दै ती देशका बौद्ध धर्मावलम्बीलाई आत्मीय भावले जोड्न सकिन्छ ।

साहित्यको सम्बन्ध

लुम्बिनी दर्शन संसारको जुनसुकै कुनाका बौद्धमार्गीका लागि विशेष छ । तर, त्यो धेरैका लागि बारम्बार भइरहन सक्दैन । शान्ति भूमिको साहित्यले उनीहरूलाई लुम्बिनीको समीपमा रहेको आभास दिलाइरहन सक्छ । कुनै ठाउँ पवित्र स्थल त्यत्तिकै बनेको हुँदैन । त्यसको विकासक्रममा इतिहासमा रोचक घटना भएका हुन्छन् । ती इतिहास लेखनमार्फत पुरानै समयमा फर्काउने माध्यम हुन सक्छन् । गीतिकथा वा वृत्तचित्र र चलचित्रमै अभिव्यक्त हुन सक्छन् । लुम्बिनी सर्किटका तीर्थस्थलबारे धेरथोर पुरातात्त्विक उत्खनन भए पनि अब अभियानकै रूपमा त्यसको महत्त्वलाई समातेर साहित्यिक शिराबाट अध्ययन गर्न आवश्यक छ ।

त्यस क्षेत्रका स्कुले वा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई आफू आसपासका शान्ति धरोहरलाई बोकेर सिर्जना तयार पार्ने माहोल बनाउन आवश्यक छ । त्यस क्रममा चुनिएका केही सिर्जनालाई बौद्ध अनुसन्धानकर्ताहरू र वाङमयका अग्रजहरूले सम्पादन गर्दै विशाल पाठकमाझ पुर्‍याउन सकिन्छ । शान्ति भूमिमा यो क्रम निरन्तर चल्न सक्छ । यहाँ कथाको कमी छैन । कमी छ त त्यसलाई अभिव्यक्त गराउने प्रयासको मात्रै छ । बालबालिकामार्फत जोडिने साहित्यको आयु दिगो हुन्छ । त्यसमा जिज्ञासा, उत्साह र सिर्जनशीलताको उच्चतम स्वरूप पाइन्छ ।

लुम्बिनीका पूर्वाधारमा क्रमबद्ध फड्को देखा परिरहे तापनि साहित्यलाई एउटा पाटोका रूपमा नहेरिँदा त्यो कतै भावशून्य त भइरहेको छैन भन्ने आभास हुन्छ । संसारभर हरेक ठाउँमा साहित्यका वार्षिक जमघट भइरहन्छन् । त्यस्ता जमघटको शृंखलाले विभिन्न सहरले आफ्नो बेग्लै पहिचानसमेत पाइरहेका छन् । लुम्बिनी त आफैंमा विशेष छ । त्यहाँ वार्षिक रूपमा किन अन्तर्राष्ट्रिय शान्ति साहित्य सम्मेलन नगर्ने ? त्यसले शान्ति साहित्यको एउटा सुन्दर मञ्च त प्रदान गर्ने छ नै, पर्यटकीय रूपमा समेत लुम्बिनीलाई योगदान गर्नेछ ।

शान्ति साहित्यको दायरा विशाल छ र संसारका प्रसिद्ध लेखक तथा साहित्यकारहरू त्यसमा आफूलाई जोड्दै साहित्य सम्मेलनमा आउन लालायित हुनेछन् । त्यसले अन्ततः गौतम बुद्धले फैलाउन खोजेकै शान्ति मार्गको बाटोलाई व्यापक बनाउनेछ ।

(बस्याल राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष हुन् ।)

प्रकाशित : चैत्र १८, २०८० ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?