२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

व्यवसायी पलायन हुने स्थितिमा छन्

ज्योत्स्ना श्रेष्ठ

काठमाडौँ — नेपालको अर्थतन्त्रमा वाहृय सूचकहरु ६ महिनादेखि सुधार भएको देखिन्छ । सुधार देखिएपनि यसले व्यवसायमा परिवर्तन गर्न सकेको छैन । सुधार तथ्यांकमा मात्रै देखिएको छ । तर व्यवसायहरु धरापमा छन् र पलायनको अवस्थामा पुगेका छन् । उद्योगीको मनोबल घटेको छ । उद्योग व्यवसाय जीवित राख्न र यसलाई चलायमान कसरी बनाउने भन्नेमा नै व्यवसायीहरु चिन्तित छन् । व्यवसायीलाई बैंकले ऋण लिन आउ त भन्छन् त्यो पनि उच्च ब्याजदर भएको बेला । 

व्यवसायी पलायन हुने स्थितिमा छन्

उच्च ब्याजदर भएका बेला व्यवसायीहरु ऋण लिन सक्ने अवस्थामा छैनन् । कतिपय त पहिला लिएको ऋणमा अहिलेको ब्याज पनि तिर्न सक्ने अवस्थामा छैनन् । हामी ब्याजदर सधै एकल अंकमा हुनुपर्छ भन्दै आएका छौं । ब्याजदर उच्च हुँदा व्यवसायीले कसरी ब्याज तिर्ने यसमा सम्बन्धित निकायले सोच्नुपर्छ ।

बैंकमा पैसा थुप्रिएको छ तर ब्याजदर उच्च छ । उच्च ब्याजदरमा ऋण लिएर व्यवसाय कसरी धान्ने ? कोभिडको ठूलो समस्यापछि भर्खरै व्यवसाय बामे सर्न लागको अवस्था छ । अर्को विपत् आउँदैन भनेर भन्न सकिँदैन । व्यवसायीहरु पर्ख र हेरको अवस्थामा छन् । बेलाबेला राष्ट्र बैंकका नीति परिवर्तन भइरहेको हुन्छ । व्यवासयीहरुमा कर्जा लिएपछि थप अप्ठ्यारो पर्ने हो कि भन्ने आशंकाले आत्मबल घटेको अवस्था छ । हालै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी निर्देशिका ल्यायो, जसले गर्दा पनि व्यवसायीलाई अप्ठ्यारो पारेको छ ।

केही हदसम्म बैंकबाट व्यवसायका लागि भनेर लिएको पैसा बाहिरी क्षेत्रमा लगानी भएको हुन सक्छ, त्यसमा बैंकहरुले पनि राम्रोसँग अनुगमन गर्नुपर्छ । कतिपय व्यवसायीको सही ठाउँमा ऋण लगानी गरे पनि कसैले अन्य स्थानमा लगानी गरेका हुन सक्छन् । तर १० प्रतिशतले काम बिगार्दा ९० प्रतिशत व्यवसायीलाई एकै थलोमा हाल्नु गलत हो । हाल व्यवसाय निकै शिथिल अवस्थामा छ । सरकार, राष्ट्र बैंक लगायतले व्यवसायीलाई बचाउने बेला आएको छ । यदि व्यवसाय गर्ने वातावरण नै बनेन र व्यवसायीको मनोबल उच्च हुन सकेन भने यसले अर्थतन्त्रको अवस्था कल्पना बाहिर जान सक्छ ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान सबैलाई थाहा भएकै विषय हो । केही समयअघि नेपाल उद्योग वाणिज्य महासंघको बैठकमा व्यवसायीहरुको कुरा सुन्यौं । साना, मझौलादेखि ठूला व्यवसायी समेत व्यवसाय धान्न सक्ने अवस्थामा छैनन् । कतिपय साना व्यवसायी पलायन भइसकेका छन् । यसकारण सरकार, व्यवसायी र बैंक तीनै क्षेत्र मिलेर व्यवसाय माथि उकास्नु पर्‍यो । राष्ट्र बैंकले केही नीति भोलिको दिनलाई भनेर ल्याएको होला तर आज हामी कसरी बाँच्ने ? त्यसको चिन्ता लिनुपर्‍यो । आर्थिक क्षेत्रको सुधारका लागि सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्छ । सरकारले अहिले बजारमा कसरी नगद प्रवाह बढाउने भन्ने विषय सोचेको, उपयुक्त कार्यक्रम ल्याएको पाइँदैन ।

दैनिक सुनको माग ४० देखि ४५ किलो भएको अवस्थामा पनि राष्ट्र बैंकको १० किलो कोटाबाट काम चलाउनुपर्ने अवस्था छ । सुनचाँदीका व्यवसायी बढेका छन् तर, हाम्रो कोटा घटेको छ । सुनचाँदी भनेको सम्पत्ति हो । नेपालीले पैसा भएका बेला सुन किन्ने र दुःख परेका बेला बेच्ने गरेका छन् । अफ सिजनमा समेत सुनचाँदी बजारमा चहलपहल देखिन्छ । बिक्री गर्नेको चहलपहल पनि यहीं बजारमा हुन्छ ।

(नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले कान्तिपुर इकोनोमिक समिटमा राखेका मन्तव्यको सम्पादित अंश)


प्रकाशित : वैशाख १७, २०८० १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?