काठमाडौँ — मानव अधिकारकर्मी मोहना अन्सारीले पूर्वाग्रही ढंगले राज्य शक्तिको दुरुपयोग गरेर विरोधीलाई तह लगाउने लोकतान्त्रिक राज्यमा स्वीकार्य नहुने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध लिएर पुष्पकमल दाहाल नेतृत्वको सरकारले समातेर लगेको छ । सिरोहियाको पक्राउ बारेमा सामाजिक सञ्जाल एक्समा अन्सारीले लेखेकी छन्, ‘कानुन सबैको लागि हुन्छ । सिरोहियामात्र होइन जो कसैले पनि गैरकानुनी ढंगले नागरिकता लिएको प्रमाणित भए सजायको भागीदार बन्नु पर्छ । तर पुर्वाग्राही ढंगले राज्य शक्तिको दुरुपयोग गरेर विरोधीलाई तह लगाउने, आलोचकलाई तर्साउने, प्रतिशोध लिने र प्रेस जगतलाई कुन्ठित पार्ने कदम लोकतान्त्रिक राज्यमा स्वीकार्य हुँदैन ।’
अन्सारीले सरकारले सिरोहियालाई पक्राउ गरेर उनी नेपाली हुन कि होइनन् भन्ने अनुसन्धान गर्ने भएकोमा आश्चर्य प्रकट गरिन् । ‘विगत ३२ वर्षदेखि नेपाली संचार जगतमा अग्रणी भूमिका खेलेको, सयौं भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरी नागरिकलाई सुचित गरेको, राजतन्त्रदेखि गणतन्त्रसम्म राष्ट्रिय महत्वको हरेक विषयमा गहन रिपोर्टिङ गरेको कान्तिपुरको संचालकमाथि एकाएक नागरिकताको अनुसन्धान हुनु, पक्राउ गर्नु महज संयोग मात्र हो भन्न सकिन्न,’ उनको भनाइ छ ।
