साइबर सुरक्षाको एकीकृत नीति तयार गर्न जुटिरहेका छौं- विविधा - कान्तिपुर समाचार

साइबर सुरक्षाको एकीकृत नीति तयार गर्न जुटिरहेका छौं

बैकुण्ठ अर्याल

साइबर सुरक्षाको सम्बन्धमा हामीसँग एकीकृत नीति र ऐन नभएकै हो । यसो भन्न लाज मान्नु पर्ने अवस्था छैन । हामीसँग रहेको पूर्वाधारको अभावले साइबर सुरक्षामा पनि ढुक्क हुने अवस्था छैन । यही कारण सरोकारवालाहरुसँग समन्वय गरेर साइबर सुरक्षा सम्बन्धी एकीकृत नीति तयार गर्नका लागि जुटिरहेका छौं । यो अन्तिम चरणमा रहेकाले छिट्टै जारी हुन्छ । यो नीतिले साइबर सुरक्षा सम्बन्धी प्रक्रियाको मात्र कुरा गर्छ ।

कसैलाई कानुनको दायरामा ल्याउने काम गर्दैन । यसकारण नीतिसँगसँगै साइबर सुरक्षा सम्बन्धी ऐनको पनि मस्यौदा तयार पारेका छौं । ऐनका विषयहरुमा घनिभूत रुपमा छलफल गर्न बाँकी नै छ । पछिल्ला समयमा साइबर अपराध सम्बन्धमा भएका पछिल्ला घटनाहरुले ती विषयमा थप छलफल गर्नु पर्ने देखाएको छ । नीति र ऐन नहुँदा साइबर सुरक्षा सम्बन्धमा कतिपय ठाउँमा निर्वाध रुपमा अघि बढ्न सकिएन भन्ने सत्य हो । तर कानुन बाहेक पनि साइबर सुरक्षाका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन, लगानी लगायतमा हामी कुन स्तरमा छौं भन्ने कुरा पनि मुख्य हो ।

केही साताअघि मात्र सरकारी वेबसाइट ह्याकका प्रयासहरु भएका छन् । यसले पनि साइबर सुरक्षाका लागि पर्याप्त लगानी भएको छ/छैन भन्ने पनि छ । विगतका तुलनामा यो क्षेत्रमा लगानी धेरै बढेको देखिन्छ । तर त्यो कम्प्युटर, ल्यापटपलगायत सामाग्रीमा बढी लगानी भएको छ । त्यसको सफ्टवेयर, हार्डवेयर, अपरेटिङ सिस्टम लगायतको गुणस्तर अभिवृद्धिमा निकै कम मात्र लगानी भएको छ । समग्रमा सूचना प्रविधिमा लगानी बढेको छ तर कहाँ भन्ने अहिलेको ज्वलन्त प्रश्न हो ।

जनशक्ति पनि अर्को एक महत्त्वपूर्ण पक्ष हो । साइबर सुरक्षामै काम गर्ने जनशक्ति हामीसँग निकै कम छन् । त्यसो त समग्र सूचना प्रविधि क्षेत्रमै पनि पर्याप्त जनशक्ति छैन । यो क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापनका लागि धेरै मिहिनेत गर्नुपर्नेछ । नियमनको पाटो कसरी बलियो बनाउने भन्ने सवाल पनि छ । यी समस्याहरु समाधान गर्नकै लागि छिट्टै एकीकृत नीति जारी हुनेछ ।

सूचना प्रविधि क्षेत्रमा समयसापेक्ष नीति बनाउन जरुरी भइसकेको छ । हामीसँग अहिले पनि ८/९ वर्ष पुरानो सूचना प्रविधि नीति र ०५३ सालको दुरसञ्चार ऐन छ । प्रविधिको विकास तीव्र रुपमा अघि बढेको छ । तर हाम्रा गतिविधि पुरानै नीति र ऐनमा टेकेर सञ्चालन भइरहेका छन् । दूरसञ्चार ऐन ०५३ जारी हुँदा तत्कालीन नेपाल दूरसञ्चार संस्थान मात्र थियो भने त्यसले ‘ल्यान्डलाइन’ टेलिफोन सेवा मात्र उपलब्ध गराउँथ्यो । अहिले सूचना प्रविधिमा यति धेरै विकास भएको छ । तर हामी अझै पनि ०५३ सालकै ऐनको भरमा काम गरिरहेका छौं । यही कारण ऐनलाई समय सापेक्ष बनाउन हामीले दुरसञ्चार ऐनमा धेरै परिवर्तन गरेर संशोधन गरेका छौं ।

नयाँ सांसद र मन्त्रीहरुलाई सूचना प्रविधिसम्बन्धमा जानकारी दिने प्रचलन नेपालमा पनि छ । मन्त्रिपरिषद्का सबै कामहरु अहिले अनलाइनबाटै हुने हो । साइबर सुरक्षा र तथ्यांक व्यवस्थापन सम्बन्धमा पनि उहाँहरुलाई जानकारी दिने गरिएको छ । सरकारी कार्यालयहरुमा पनि डिजिटल काम नै धेरै हुने गरेका छन् । हाम्रो मन्त्रालयको सवालमा कुरा गर्दा कागजमा टिप्पणी उठाएर फाइल अघि बढाउने प्रचलनमा धेरै कमी भएको छ । नेपालमा सरकारले मात्र होइन निजी क्षेत्रले प्रयोग गरिरहेको सफ्टवेयरको गुणस्तर कस्तो छ भनेर मूल्यांकन गर्नुपर्नेछ । सरकारी र निजी क्षेत्र दुवैले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिएको सत्य हो । यसका लागि सरकार र निजी क्षेत्र मिलेर सुरक्षाको प्रवन्ध बलियो बनाउन जरुरी छ ।

केही साताअघि राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी) को वेबसाइट चलेन । त्यसलाई ह्याक भयो भन्ने हल्ला चलाइयो । त्यहाँ ह्याकको प्रयास मात्र भएको थियो । यसकारण हाम्रा कुनै तथ्यांक चोरी भएका छैनन् । हाम्रो साइबर सुरक्षा बलियो भएकाले ह्याकरहरुले सिस्टम ह्याक गर्न सकेनन् । यो कुरा हामीले नागरिकलाई समयमै सुसूचित गर्नुपर्थ्यो । त्यसमा हामी चुकेकै हो । यद्यपि त्यस विषयमा धेरै चरणमा अनुसन्धान भइरहेको छ ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग छ । कुनै सरकारी वा निजी संस्थाको वेबसाइट अस्वभाविक रुपमा हिट भयो वा तथ्यांक चोरीको प्रयास भयो भने पनि तत्काल विभागमा जानकारी आइहाल्छ । नेपालमा प्रविधिको विकाससँगै नीति निर्माण र पूर्वाधारको क्षेत्रमा धेरै काम भएका छन् । ती पर्याप्त नभएको सत्य हो ।

(सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालले फागुन ११ मा आयोजित कान्तिपुर साइबर सेक्युरिटी डाइलगको दोस्रो सत्र 'बलियो पूर्वाधार र नीतिगत सुधार' मा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित : फाल्गुन १४, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

साइबर सुरक्षामा सरकार गम्भीर छैन

साइबर सुरक्षा सम्बन्धमा म त्यो बेलासम्म सरकार गम्भीर छ भनेर विश्वास गर्दिनँ जबसम्म सरकारका तीनै वटा निकाय संघ, प्रदेश र स्थानीय तहले हामीले प्रयोग गरेका सफ्टवेयर वैध (लेजिटिमेट) छन् भनेर दाबी गर्न सक्दैनन् ।
सतीशकृष्ण खरेल

हामीसँग अहिले पनि सूचना र प्रविधि सम्बन्धी नीति र व्यवहारमा ठूलो अन्तर छ । कानुनसँगै अनुसन्धानको पाटोमा पनि धेरै समस्या छ ।केही वर्षअघि यातायात कार्यालयका करिब ५० जना कर्मचारीलाई जागिरबाट निलम्बन गरियो । सवारी लाइसेन्स दिने क्रममा ट्रायलमा फेल भएका मानिसलाई कम्प्युटर सिस्टमबाट पास गराइयो भन्ने अभियोगमा उनीहरुलाई निलम्बित गरेर मुद्दा चलाइएको थियो । उक्त कार्यालयमा आउटसोर्सिङ गरिएको सूचना प्रविधि विज्ञसँग अख्तियारले उजुरी बारेमा प्रतिवेदन मागेको रहेछ । प्रतिवेदनमा सम्बन्धित कर्मचारीहरुको ‘लगइन’मार्फत नै कम्प्युटरबाट फेललाई पनि पास गराएको भन्ने थियो । त्यसकै आधारमा मुद्दा चलेको थियो ।

पछि अनुसन्धान गर्दा थाहा भयो सर्भरमा हस्तक्षेप गरेर फेललाई पास गराइएको रहेछ र प्रतिवेदनमा गलत जानकारी दिइएको रहेछ । त्यस विषयमा अनुसन्धान चल्न थालेपछि प्रतिवेदन दिने मानिस नेपाल छोडेर अस्ट्रेलियामा बसोबास गर्न थालिसकेका थिए ।

यस्तै, अर्को एउटा मुद्दामा (०६८/६९ सालतिर) प्रमाणका रुपमा अदालतमा कम्प्युटर हार्डडिस्क आएको थियो । त्यो कसरी हेर्ने भन्ने प्रश्न उठ्यो । अनि अदालतको स्वीकृतिमा मैले मेरो कार्यालयबाट सीपीयु लिएर आए । त्यसपछि न्यायाधीशले अदालतको एक जना सूचना–प्रविधि हेर्ने कर्मचारीलाई बोलाएर हार्डडिस्क कम्प्युटरमा जोड्न भन्नु भयो । ती कर्मचारीले जबर्जस्ती सीपीयूको गलत प्लगमा हार्डडिस्क जोडे । यही कारण हार्डडिस्क पड्कियो । अब के गर्ने भनेर न्यायाधीशले मलाई सोध्दा यो हार्डडिस्कलाई सिंगापुर पठायाैं भने उनीहरुले यो भित्रको डाटा निकाल्न सक्छन् भनेर सुझाए । तर न्यायाधीशले त्यो प्रक्रिया जटिल हुन्छ, मैले त्यत्तिकै फैसला गर्छु भन्नु भयो । त्यसपछि हार्डडिस्क हेर्दा केही फेला परेन भन्ने आधारमा फैसला गर्नुभयो । यो हो नेपालको सूचना प्रविधिको क्षेत्रमा पूर्वाधारको वास्तविक अवस्था । यस्ता धेरै उदाहरण छन् । साइबर सुरक्षा सम्बन्धमा म त्यो बेलासम्म सरकार गम्भीर छ भनेर विश्वास गर्दिनँ जबसम्म सरकारका तीनै वटा निकाय संघ, प्रदेश र स्थानीय तहले हामीले प्रयोग गरेका सफ्टवेयर वैध (लेजिटिमेट) छन् भनेर दाबी गर्न सक्दैन ।

नेपालमा सुरक्षाका हिसाबले सबैभन्दा भरपर्दो बैंकिङ क्षेत्र रहेछ । यद्यपि बैंकमा पनि कर्मचारी र अन्य स्रोतबाट पनि रकम हिनामिना भएका घटनाहरु छन् । तर तुलनात्मक रुपमा यस्ता गतिविधि निगरानीमा राष्ट्र बैंक बढी सचेत र जिम्मेवार देखिन्छ । तुलना गरेर हेर्ने हो भने बैंकमा भएको तथ्यांक, नेपाली सेना, नेपाल प्रहरी, अस्पताललगायत विभिन्न क्षेत्रको तथ्यांकको सुरक्षामध्ये कसलाई प्राथमिकता दिने हो । मेरो विचारमा भन्नु हुन्छ भने म बैंकको भन्दा अस्पतालको तथ्यांक व्यवस्थापन बढी महत्त्वपूर्ण हुन्छ भन्छु । यसकारण सरकारले सेनाका निम्ति तथ्यांक सुरक्षा नीति यस्तो हो, प्रहरीका लागि यस्तो हो, भनेर विभिन्न क्षेत्रगत रुपमा तथ्यांक सुरक्षाको नीति बनाउनुपर्छ ।

राष्ट्रिय सुरक्षा र व्यक्तिको गोपनीयताका लागि पनि तथ्यांक सुरक्षा आवश्यक छ । अहिले चलेका ठगीका मुद्दाहरुमा जुन मान्छे कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेकै छैन उसकै नाममा कम्पनी दर्ता भएर बैंक खाता खोलेर निर्वाध रुपमा कारोबार गरिरहेका छन् । तीमध्ये धेरै वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीले लिएको पासपोर्ट र नागरिताका आधारमा अरु कसैले कम्पनी दर्ता गरेर र बैंक खाता खोलेर त्यही खाताबाट कारोबार गरिरहेका छन् । नागरिकले कुनै पनि सरकारी निकायमा बुझाएको व्यक्तिगत विवरणमा सुरक्षाको प्रत्याभूति कानुनले दिनुपर्छ । व्यक्तिगत गोपनीयताको हक सम्बन्धी ऐनले सरकारी र सार्वजनिक निकायमात्र जिम्मेवार हुन्छ भनेको छ । मलाई मेरा ग्राहकले विश्वास गरेर उसको व्यक्तिगत गोपनीयताका तथ्यांक बतायो । अब मैले ती सूचनाहरुको राम्रोसँग व्यवस्थापन गर्न मलाई फौजदारी मुद्दा लाग्नु पर्ने व्यवस्था नेपालको कानुनमा छैन । यसकारण साइबर सुरक्षासँगै व्यक्तिगत तथ्यांक गोपनीयताका लागि पनि कानुनले अधिकार प्रत्याभूत गर्न सक्नुपर्छ ।

(वरिष्ठ अधिवक्ता तथा सूचना प्रविधि कानुन विज्ञ खरेलले फागुन ११ मा आयोजित कान्तिपुर साइबर सेक्युरिटी डाइलगको दोस्रो सत्र 'बलियो पूर्वाधार र नीतिगत सुधार' मा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित : फाल्गुन १४, २०७९ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×