१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
सुदूरको सान

दूर परेका मुद्दा

समस्याका हिसाबले वाग्मती र सुदूरपश्चिम प्रदेशका समस्या उस्तै छैनन्, वाग्मतीकै नागरिकको तहमा सुदूरपश्चिम, कर्णाली र मधेसका नागरिकले पनि बाँच्न पाउनुपर्छ, उनीहरुको मानवीय विकासमा पनि सरकारले खर्च गर्नुपर्छ
सागर ढकाल

जति बेला म चुनाव लड्ने मानसिकतामा नेपाल फर्किंदै थिएँ, त्यो बेला सुदूरपश्चिमप्रति मेरो बुझाइ अलग थियो । जब म डडेलधुरा पुगें, त्यहाँको वस्तुस्थिति फरक पाएँ । विकासकै हिसाबले मैले डडेलधुरा अलिक धेरै विकसित होला भन्ने सोचेको थिएँ । किनभने देशको पाँच पटक प्रधानमन्त्री भइसकेको नेताको गृहजिल्ला, उनले धेरै काम गरेका होलान् भन्ठानेको थिएँ । मलाई त्यहाँ स्वीकार नगरिएला, सहयोग नमिल्ला भन्ने लागेको थियो ।तर अवस्था त्यसको ठीक उल्टो रहेछ ।

दूर परेका मुद्दा

मान्छे जति धनी भयो, त्यति स्वार्थी र असहयोगी हुँदो रहेछ । अनि जति गरिब हुन्छ, समस्यै समस्यामा बाँचेको हुन्छ, ऊचाहिँ सहयोगी हुँदो रहेछ । मैले यहाँ मात्रै होइन, विदेशमा पनि यस्तो देखेको छु । म जब बेलायत पुगें, युरोपतिर पुगें । त्यहाँको मानवीय स्वभाव एकदमै स्वार्थले भरिपूर्ण छ । तर अफ्रिका पुग्दा त्यहाँ फेरि दयालु समाज छ । सुदूरपश्चिममा मैले त्यस्तै सहयोग पाएँ, त्यस्तै माया पाएँ । सुदूरपश्चिमलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ । देशको पाँच पटक प्रधानमन्त्री भइसकेको नेताको जिल्ला मैले मेरो जिल्ला जत्तिको पाइनँ ।

मलाई लाग्यो, बजेट नभएर होला । हामी अभियानका क्रममा गाउँ गयौं । तर बजेट नभएर होइन, काम नभएरचाहिँ रहेछ । राज्यकोषको व्यापक दुरुपयोग भएको रहेछ । दुई वर्षका लागि बनेको योजनाले छ महिना पनि काम गर्दैन । सडक प्रधानमन्त्री आउने भनेपछि हतारहतार मर्मत हुन्छ, प्रधानमन्त्री फर्किन्छन्, फेरि उही हाल । टालटुले विकास धेरै भएको छ । अझै पनि धेरै ठाउँमा सडक पुगेको छैन । सञ्चारको सुविधा छैन । झन्डै २० प्रतिशत मान्छे टेलिफोन सेवाको समेत पहुँचमा छैनन् । काम हेर्‍यो भने लाग्छ, उपभोक्ता र ठेकेदारले २० प्रतिशत काम गरेर ८० प्रतिशत बजेट झ्वाम पारेका हुन् ।

देशको पाँच पटक प्रधानमन्त्री भएको नेताको जिल्ला यस्तै हुने हो त ? यति धेरै अवसर पाउँदा उनले देशलाई त गर्नैपर्छ, आफ्नै जिल्लाका लागि पनि धेरै काम गर्न सक्थे होलान् । उनले आफ्नो जिल्लालाई के कुरामा चाहिँ अब्बल बनाए त ? डडेलधुराका नाममा त दर्जनौं रेकर्ड हुनुपर्ने हो । तर, न शिक्षामा अब्बल, न स्वास्थ्य सेवा राम्रो । न सडक राम्रो छ, न सञ्चार सुविधा सबैतिर पुगेको छ । मान्छेले पानीसमेत सहज रूपले खान पाएका छैनन् । यो साह्रै दुःखलाग्दो भएन र ? वास्तवमा त्यहाँका जनताले उनीसँग धेरै अपेक्षा गरेका छन् । तर, उनले आफ्नै जिल्लाका लागि केही गर्न सकेका रहेनछन् । एउटा कुरामा पनि उनको जिल्ला अन्यभन्दा फरक छैन । कुनै एउटा कुरामा त उनको जिल्ला अगाडि हुनुपर्ने हो नि ?

म नेपाल आउनुभन्दा अघि अफ्रिका थिएँ, त्यहाँ मैले सुडान र किर्गिस्तान घुम्ने मौका पाएँ । सुडानमा चाहिँ जनजीवन एकदमै कष्टकर रहेछ । किर्गिस्तानको भने अलि सामान्य थियो । मलाई किर्गिस्तानचाहिँ नेपालजस्तै लागेको थियो । तर नेपाल फर्केर जब म सुदूरपश्चिमको डडेलधुरा पुगें, तब मलाई महसुस भयो— यहाँ त सुडानकै हालत रहेछ । मान्छेहरू घण्टौं लगाएर पानी भर्न जानुपर्ने, लाइन लाग्नुपर्ने, बोकेर लिएर आउनुपर्ने अवस्था रहेछ । त्यस्तो त मैले सुडानमा मात्रै देखेको थिएँ ।

नेपाललाई हामी जलस्रोतमा धनी देश भनेर चिन्छौं । हाम्रै देशमा त्यो खालको संकट नहोला भन्ने लागेको थियो । त्यसकारण डडेलधुरा र आसपासका क्षेत्रका खानेपानीको ठूलो समस्या छ । पानी भनेको एकदमै आधारभूत आवश्यकता हो । हामीले त्यो गाउँमा बस्ने नागरिकलाई पानी मात्रै पनि उपलब्ध गराउन सक्दैनौं भने त्यो त ठूलो समस्या हो ।

मैले गाउँ–गाउँ पुगेपछि यो पनि थाहा पाएँ— त्यहाँ खानेपानी योजना पनि सञ्चालित छन् । करोडौंका योजना त्यहाँ बनेका रहेछन् । तर ती योजनाबाट स्थानीयलाई लाभ भएको छैन । ती योजनामा अनियमितताको ठूलो समस्या देखें । कमसल सामग्री राखेर निर्माण गर्ने र बनेको दुई वर्ष पनि आयोजना नटिक्ने अवस्था रहेछ । त्यसले गर्दा मान्छेहरू पिठ्युँमा पानी बोक्न बाध्य छन् । घण्टौं लाइन बसेर भर्नुपर्ने अवस्था छ ।

यसमा त्यहाँको नेतृत्वले ठेकेदारलाई बोलाएर एक पटक मात्रै प्रश्न सोध्ने र किन योजनाको काम भएको छैन भनेर सोधिदिए हुन्थ्यो भन्ने नागरिकको अपेक्षा छ । नेतृत्वले त्यति पनि भूमिका निभाएको छैन । सुदूरपश्चिममा यस्तै आधारभूत आवश्यकताकै मुद्दा धेरै रहेको पाएँ ।

अर्को मुख्य समस्या भनेको रोजगारी हो । युवाहरूमा यति ठूलो बेरोजगारी छ कि काम गर्न सक्ने जनशक्तिले आधा वर्ष घरमै आलटाल गरेर बिताउँछ । एउटा ऊर्जाशील युवा दिनभरि डुल्छ र बेलुका जाँडरक्सी सेवन गरेर आउँछ । श्रीमती अनि आमासँग झगडा गर्न थाल्छ । बाँकी छ महिना भारत गएर काम गरेर ल्याएको रुपैयाँले घर चलाउनुपर्ने स्थिति छ । जबकि यहाँबाट भारत जस्तो त्यति ठूलो देशको राजधानी, त्यति ठूलो आवादी र आर्थिक गतिविधिको केन्द्र दिल्ली ८/९ घण्टाको दूरीमा छ । यो भनेको सुदूरपश्चिममा एकदमै ठूलो सम्भावना छ भन्ने हो । तर, यहाँको नेतृत्वले आफूलाई त्यो कुरामा मनन गरेर आर्थिक गतिविधि बढाउन सकेको छैन ।

भारतसँग जोडिएका नाकाको राम्रो व्यवस्थापन भएको छैन । मान्छेहरूले हामी पिछडिएको ठाउँमा बस्छौं, हामीकहाँ कुनै सम्भावना नै छैन भनेर बुझेको अवस्था छ । त्योचाहिँ यहाँको विकासका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो । यहाँको चेतनालाई त्यहाँबाट माथि उठाउनुपर्ने आवश्यकता छ । जब मानसिक रूपमै कमजोर भइन्छ, कुनै कन्फिडेन्स हुँदैन, त्यसपछि केही पनि हुँदैन । त्यसैले सुदूरको युवा जनशक्तिमा अहिले स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने कुराको चेतना भर्नुपर्छ । त्यसैले जनचेतनाका हिसाबले यहाँ एकदमै धेरै काम गर्न बाँकी रहेको देख्छु ।

मान्छेहरूले जागिर पाए गर्ने, तर आफैं कुनै पनि व्यवसाय गर्छु, खेती गर्छु भनेर सोच्न सकेको देखिँदैन । बेरोजगारीका कारण समाजमा झैझगडा हुने, घरझगडा हुने, हिंसाजन्य घटना हुने पनि रहेछ । त्यो अलिक धेरै नै छ । महिलाहरू साँझ परेपछि घरबाहिर निस्किन डराउनुपर्ने अवस्था रहेछ ।

अर्को कुरा, सुदूरपश्चिमको समाज संस्कार, संस्कृति र परम्पराको खानी नै हो । त्यहाँ यति धेरै संस्कृति छन्, यस्तो लाग्छ, नेपालमै यस्तो सांस्कृतिक केन्द्र भनेको यहीं मात्रै हो । कतिपय सामाजिक पक्षमा रूपान्तरण आवश्यक छ । तर सुदूरपश्चिमका कला, संस्कृति र चाडपर्वलाई मात्रै हामीले जोगाएर राख्ने हो भने त्यो भविष्यका लागि निकै महत्त्वपूर्ण हुन्छ । नेपालको मौलिक परिचय भनेकै यहाँका भाषा, कला, संस्कृति र चाडपर्व हुन् । तर अन्यत्र त्यस्तो संस्कृतिको जगेर्ना हुन सकेको छैन । सुदूरपश्चिममा देउडा नाच छ । त्यस्तो नाच अन्यत्र कहीं पनि नाचिँदैन । मलाईचाहिँ त्यो नाच नाच्दै गर्दा महसुस भएको के हो भने त्यो नाचले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ । एकले अर्कोसँग हात जोडेर नाच्ने जुन चलन छ, त्यसले सामाजिक एकतालाई बलियो गरी कस्ने काम गरेको छ ।

म सुदूरपश्चिममा कात्तिक र मंसिरमा धेरै समय बसें । त्यही बेला मात्रै यति धेरै चाडपर्व रहेछन्, हामीले हरेक दिनजस्तो चाडपर्व मनायौं । गाउँमा एउटा गाउँले मेला आयोजना गर्छ, मान्छेहरू चार गाउँ परबाट पैदल हिँडेर आई मेला भर्छन् । नेपालको मौलिकता भनेकै यही हो । त्यहाँ केवल मनोरन्जन मात्रै छैन, त्यहाँ सामाजिक एकता छ, भाइचारा छ । त्यसैले सांस्कृतिक रूपमा हाम्रो जुन विविधता छ, त्यसलाई बचाएर राख्न यहाँको कला संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ ।

तपाईं बेलायतलाई हेर्नुहोस्, देश त धेरै विकसित हो । तर त्यहाँ जता हेरे पनि उस्तै छ । एकै प्रकृतिको विकास, एकै प्रकृतिको बसोबास, भाषा, कला र संस्कृति पनि उस्तै छ । नेपाल त्योभन्दा धेरै विविधतायुक्त देश हो । तर हामीले त्यो विविधतालाई बचाएर राख्न कति मिहिनेत गरेका छौं भन्ने प्रश्न महत्त्वपूर्ण हो । हाम्रा कला संस्कृति लोप हुँदै छन् । त्यसैले सुदूरपश्चिममा रहेको विविधतालाई बचाएर राख्न हामीले त्यसलाई महत्त्व दिनु आवश्यक छ । तपाईंले भौतिक विकास पछि गरे पनि हुन्छ, तर संस्कार र संस्कृतिको संरक्षण गर्न सक्नुभएन भने त्यो एक पटक हराएपछि सकियो, फेरि जोगाउन सकिन्न ।

यति समस्या हुँदाहुँदै पनि सुदूरपश्चिममा मैले अथाह सम्भावना देखेको छु । त्यो पनि डडेलधुराकै चाहिँ धेरै सम्भावना देख्छु । पश्चिम तराईमा त्यति धेरै गर्मी छ, जब कि त्यहाँबाट २० किमिमाथि उक्लिनेबित्तिकै डडेलधुराका गाउँ, डाँडा यति आनन्दलाग्दा छन्, त्यहाँको मौसम र हावापानी नै लोभलाग्दो छ । पर्यटन र बस्ती विकासका हिसाबले पनि परशुरामबाट आलितालतिर जाने बाटो मात्रै राम्रोसँग व्यवस्थापन गरिदिने हो भने त्यो ठाउँमा पर्यटकीय हिसाबले एकदमै ठूलो सम्भावना छ ।

अहिले धनगढीमा आवादी थपिएको थपियै छ । तराईमै त्यस्तो लहर छ । तर जब त्यो ठाउँको सम्भावनालाई देखाइदिने हो भने डडेलधुराका गाउँमा पनि मानव बस्ती विस्तार हुन्छ । तर त्यसका लागि त्यहाँ हामीले पूर्वाधार विकास गर्नुपर्छ । त्यहाँ मान्छेलाई आवश्यक आधारभूत विकास त पहिले पुर्‍याउनुपर्‍यो । भौगोलिक हिसाबले पनि डडेलधुरालाई साथ दिएको छ, डडेलधुरा प्रदेशकै केन्द्र बन्न सक्छ ।

पर्यटकीय हिसाबले हेर्ने हो भने पनि पश्चिममा अब डडेलधुरा नै माथिको पहाडी र हिमाली क्षेत्रको पर्यटनको प्रवेशद्वार बन्न सक्छ । अहिले जसरी खप्तड बाबा चर्चित छ, त्यहाँको रुटलाई ट्रेकिङ रुट बनाउनुपर्छ । खप्तडदेखि माथि अपी हिमालसम्म पुगेर फर्किने रुट बनाइदिने हो र दिल्लीसम्म त्यसको मार्केटिङ गर्ने हो भने खप्तड क्षेत्रको पर्यटनलाई उजागर गर्न सकिन्छ ।

सुदूरपश्चिममा हाइड्रोपावरहरूको राम्रो सम्भावना छ । जति सम्भावना छ, त्यसअनुसार लगानीको वातावरण बनेको छैन ।

वास्तवमा सरकारले बजेट विनियोजन गर्दा नै दुर्गमका जनतालाई हेप्ने गरेको रहेछ । बजेट विनियोजन गर्दा जहाँ समस्या छ, त्यहाँ लगानी गर्नुपर्ने हो । तर अहिले त्यस्तो भइरहेको छैन । नेतृत्वले आफूलाई जहाँ पायक पर्छ, जहाँ स्वार्थ मिल्छ, त्यहाँ मात्रै राज्यकोष लगानी गरिरहेको देखिन्छ । मानौं, नेपाललाई हाम्रो शरीर मान्ने हो भने दायाँ हात दुखेको छ भने बायाँ हातको उपचार गरेर त हुँदैन नि । जहाँ दुखेको छ, त्यहाँ उपचार गर्नुपर्छ । बजेट बनाउँदा नेतृत्वले त्यही सोचेर लगानी गर्नुपर्‍यो । जहाँ विकास भएको छैन, जहाँ नागरिकले आधारभूत सुविधाकै लागि संघर्ष गर्नुपर्छ, उनीहरूको मानवीय विकास कसरी हुन्छ ? सामाजिक विकास कसरी हुन्छ ? जब मान्छेको विकास हुँदैन, भौतिक विकास मात्रै भएर पनि त हुँदैन । त्यसैले मूलतः सुदूरपश्चिमका मुद्दालाई सम्बोधन गर्नुपर्ने भनेको राज्यले बजेटमार्फत हो ।

समस्याका हिसाबले वाग्मती र सुदूरपश्चिम प्रदेशका समस्या उस्तै छैनन् । सरकारले वाग्मतीकै नागरिकको तहमा सुदूरपश्चिमका, कर्णाली र मधेसका नागरिकले पनि बाँच्न पाउनुपर्छ । उनीहरूको मानवीय विकासमा पनि खर्च गर्नुपर्छ भनेर त्यहाँ लगानी गर्नुपर्छ । कुनै ठाउँ दुर्गम छ, पछाडि छ भनेर त्यसलाई सधैं त्यसैगरी हेरियो भने ऊ सधैं पछि पर्छ । पछाडि पारिएको क्षेत्रबाट छु, पछाडि परेको समुदायबाट छु भन्ने मानसिकता लिएर हिँडेको मान्छेले अर्को मान्छेसँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्दैन । अनि समान विकास कसरी हुन्छ र ?

यी समग्र समस्याको समाधान गर्ने दायित्व राज्यकै हो । त्यसमा पनि अहिले तीन तहका सरकार छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारले फरक–फरक भूमिका निर्बाह गर्ने हो भने मात्रै यी समस्याको समाधान सम्भव छ । यहाँका धेरै समस्या स्थानीय तहको पहुँचमा छैनन् । कतिपय सामाजिक विषय स्थानीय सरकारसँग जोडिन्छन् । तर पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारसँग जोडिने कुरामा स्थानीय सरकारले काम गर्न सक्ने अवस्था छैन ।

हुन त बजेट अहिले स्थानीय तहसँग पनि छ । तर बजेट मात्रै भएर हुँदैन, स्थानीय तहसँग त्यसलाई परिचालन गर्न सक्ने जनशक्ति नै छैन । स्थानीय तहले कार्यकर्ता परिचालन र भरपोषण गर्ने प्रकृतिका कार्यक्रम मात्रै सञ्चालन गरिरहेको देखेको छु । नागरिकलाई उद्यमी बनाउने, आयआर्जन गर्न सिकाउने, बचत गर्न सिकाउने, विकास निर्माणलाई कसरी दिगो बनाउनेभन्दा पनि त्यस्ता कार्यक्रमका नाउँमा कार्यकर्तालाई पोस्ने काम मात्रै भइरहेको छ । त्यसैले प्रदेश र संघीय सरकारकै भूमिका महत्त्वपूर्ण हुने देखेको छु । सुदूरपश्चिम प्रदेशले थप वैज्ञानिक ढंगबाट बजेट र नीति नियम निर्माण गर्नु आवश्यक छ । जसले गर्दा स्थानीय तहलाई एउटै नीतिमा हिँड्न र काम गर्न सहज होस्, लगानी गर्न सहज होस् । प्रदेशले स्थानीय तहहरूलाई समन्वय गर्ने भूमिका पनि निर्बाह गर्नुपर्छ ।

संघीय सरकारले भने ठूला आयोजनामा काम गर्नुपर्छ । सुदूरपश्चिम र काठमाडौंको जीवनस्तर एउटै बनाउँछु, यी दुवै ठाउँमा बस्ने मान्छे मेरै देशका नागरिक हुन् भनेर राज्यले सोच्नुपर्छ । अहिले बुढीगण्डकी आयोजनाको चर्चा छ । तर बूढीगण्डकीमा सरकारले लगानी गर्ने बजेट कर्णालीमा लगेर लगानी गर्ने हो भने त्यहाँको जीवनस्तर माथि उकास्न मद्दत पुग्छ । कसरी एकै पटक धेरै नागरिकलाई लाभ पुर्‍याउन सकिन्छ ? सरकारले त्यहाँबाट सोच्नुपर्छ । कर्णालीमा पनि हजारौं मेगावाटको हाइड्रोपावरको सम्भावना छ । त्यो बनाइदिने हो भने सिंगो कर्णाली र सुदूरपश्चिमकै आर्थिकस्तर माथि उठाउन सहयोग पुग्छ ।

प्रकाशित : माघ ९, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?