कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
टिप्पणी

एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन

एमाले वा बाहिरबाट पनि सौराहा महाधिवेशनमा ओलीको गर्जन वा जनसागर मात्रै देखिएको छैन । त्यहाँ त लोकतान्त्रिक विधिको पनि हत्या भएको देखिएको छ । प्रतिनिधिहरुकाे विचार र विवेकलाई नारायणीमा सेलाइरहँदा युवा नेताहरू हाँसिरहेका देखिएका छन् ।
रमन पौडेल

नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् ।

एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन

केपी ओली र उनी निकट नेताहरू सर्वसम्मत गराउन विभिन्न नेताहरूसँग भेटेर छलफल गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा ओली पक्षकै नेताहरूबीच मतभेद भएपछि सर्वसम्मत बनाउन थप कठिन देखिएको छ ।

यद्यपि शनिबार रातिको बन्दसत्रको प्रस्ताव अनुसार ओलीले आइतबार सहमतिको नामावली घोषणा गर्ने र प्रतिनिधिहरूले अनुमोदन गर्ने भनिएको थियो । विष्णु पौडेलको उक्त प्रस्तावसँगै भीम रावल र घनश्याम भूसालले भने आपत्ति जनाउँदै विरोध गरेका थिए ।

विरोधपछि चित्त नबुझे चुनावमा उठ्न पाउने अधिकार सबैमा रहने भन्दै हलबाट भनियो । ओलीले भीम रावललाई लक्षित गर्दै चित्त नबुझे चुनाव उठ्ने अधिकार यथावत रहेको भनेका थिए ।

भीम रावलले भने लोकतान्त्रिक पद्धतिमा जानका लागि नेतृत्व डराएको भन्दै यस्तो प्रवृत्तिले एमाले महाधिवेशनको गरिमा घट्ने बताउँदै आएका छन् । 'मलाई अध्यक्षमा उम्मेदवारी दिनबाट रोकिरहँदा अहिले के महसुस भइरहेको छ भने मेरो पक्षमा झन् धेरै जनमत पो रहेछ जस्तो लाग्दैछ । नत्र मलाई अध्यक्षमा उठ्न दिनलाई किन डराउनुपर्‍यो त ?' रावलले शनिबारको बन्दसत्रपछि भनेका थिए ।

ओली र उनी निकट नेताहरू भने भीम रावलसँग यसबारे संवाद गरेका छैनन् । बरु ओली समूहभित्रै पदका आकांक्षीहरूबीच पदीय व्यवस्थापनमा केन्द्रित भएका छन् । आइतबार बिहानैदेखिको उनीहरूको छलफल ओली समूहभित्रै कसलाई कहाँ व्यवस्थापन गर्ने भन्नेतर्फ केन्द्रित छ । विष्णु पौडेल, ईश्वर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरू शनिबारको बन्दसत्रपछि नै आपसी पद व्यवस्थापनमा केन्द्रित भएका छन् ।

सर्वसम्मत नभए 'पेलेरै जाने' पक्षमा ओली

१०औं महाधिवेशन अध्यक्ष ओलीका लागि प्रतिष्ठाको महाधिवेशन पनि हो । नेकपा विघटन र माधव नेपालको विभाजनपछि उनलाई जसरी पनि एमालेको प्रभाव नघटेको देखाउनु थियो । यस हिसाबमा उनको केही मिहेनत उद्घाटनसत्रले पनि देखायो ।

उनी निकट नेताहरू के भन्छन् भने उद्घाटनसत्रमा उपस्थित आमसभाले ओलीमा थप आत्मबल बढेको छ । त्यसो त ओलीले यसबारे प्रतिक्रिया पनि दिइसकेका छन् ।

यद्यपि भीम रावल र घनश्याम भूसालले चुनावको कुरा गरिरहँदा उनीहरूलाई खासै महत्त्व दिएका छैनन् । ओलीका लागि यस महाधिवेशनमा एउटै चुनौती असन्तुष्ट १० नेताहरू भन्दा पनि रावल र भूसाल मात्रै देखिएका छन् ।

ओलीले यसअघि नै १० बुँदेको औचित्य सकिएको घोषणा गरे । १० नेताहरूले कुनै प्रतिक्रिया कडा रुपमा दिन सकेनन् । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्यलगायत नेताहरू त ओलीको विरुद्धमा केही टिप्पणी पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

भूसालले भने आफ्नो फेस सेभिङ गर्न पनि फाट्टफुट्ट प्रतिक्रिया दिँदै आएका छन् । तैपनि ओली उनीहरूलाई जसरी पनि पन्छाएरै अगाडि बढ्ने मनस्थितिमा देखिएका छन् । उनी असन्तुष्ट व्यक्तिहरूलाई खासमा नजरअन्दाज गरिरहेका छन् । जसका लागि ओली निकट नेताहरूले ओलीलाई थप बल दिइरहेका छन् ।

१० नेताको विघटित विचार समूह

यसपटक महाधिवेशनमा लोकतान्त्रिक रुपमा नेतृत्व चयन गर्ने मुद्दामा कम्तीमा १० नेताहरू एक ठाउँमा उभिनुपर्ने हो । तर, उनीहरूसँग यतिबेला ओलीका घोषणामा ताली बजाउने भन्दा बढी केही सामार्थ्य बाँकी देखिएको छैन ।

ओलीका सामु युवा भनिएका नेताहरूको मौनता भने अनौठो र उदेकलाग्दो छ । १० नेताहरु थप निरिह देखिइरहेका छन् ।

जर्मनीका तत्कालीन शासक हिटलरको शासन ढलेपछि उनीबारे विश्वभर नै एउटा मिथ बनेको थियो । त्यसको मजबुन यस्तो थियो- हिटलरले ९९ जना मानिसलाई लाइनमा उभ्याएर पालैपालो टाउको काट्थे । तर त्यो लाइनमा उभिएको १००औं व्यक्ति अर्थात् अन्तिम शिकार पनि हिटलरविरुद्ध केही गर्न सक्दैनथ्यो ।

यदि आफू सिद्धिँदैछु भन्ने थाहा पाउँदा पनि वा आफ्नो विवेक समाप्त हुँदैछ भन्ने थाहा पाउँदा पनि एमालेका १० नेताहरू अहिले चुनावमा उम्मेदवारी दिन्छुसमेत भन्न सकिरहेका छैनन् ।

व्यक्तिगत इगो वा आवेग जे कारण भए पनि नेता भीम रावलले जबजको औचित्यका लागि भए पनि आफूले उम्मेदवारी दिन लागेको भन्दै आएका छन् । वास्तवमा यतिबेला ओलीलाई हराउने वा कसले जित्ने भन्ने सवाल हैन । कम्तीमा ओलीको विपक्षमा वा उनीभन्दा फरक मत राख्ने नेता कार्यकर्ताहरू पनि एमालेमा छन् भन्ने पुष्टि गर्नुपर्ने बेला हो ।

एमाले वा बाहिरबाट पनि एमालेको सौराहा महाधिवेशनमा ओलीको गर्जन वा जनसागर मात्रै देखिएको छैन । त्यहाँ त लोकतान्त्रिक विधिको पनि हत्या भएको देखिएको छ । प्रतिनिधिहरुकाे विचार र विवेकलाई नारायणीमा सेलाइरहँदा युवा नेताहरू हाँसिरहेका देखिएका छन् ।

ओली निकट मानिने विशाल भट्टराईले हिजो मात्रै भनेका थिए, 'अध्यक्षले नाम पढेर सुनाउनुहुन्छ हामी ताली पिट्ने हो ।' विशाल भट्टराई, महेश बस्नेत वा गोकुल बाँस्कोटाले यसो भन्नु अनौठो पनि थिएन । बरु एमालेका १० जनासहित अरु युवा नेताहरूको विवेक किन थुनिएको छ ?

महाधिवेशनकाे याे अन्तिम घडीमा युवा नेताको रुपमा आफूलाई चिनाउने एमालेजनहरुका सामु दुईवटा इतिहास बनाउने अवसर पनि छ । एक ओलीसँग बिलय । दोस्रो ओलीभन्दा फरक । कुनचाहिँ चयन त्यो प्रतिनिधिहरूको आआफ्नै अधिकार हो ।

प्रकाशित : मंसिर १२, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?