कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विविधा भाषा

भाषाको कुरामा ‘यो वा त्यो’ भन्नु संकीर्णता हो, मैथिलभाषीले भोजपुरीलाई थोरै दबाउन खोज्नु वा हिन्दीबारे नकारात्मक बन्नु त्यस्तै संकीर्णता हो ।
‘बसाइँ’ थारू भाषामा वा ‘शिरीषको फूल’ भोजपुरीमा अनूदित भएर आउने अवस्था भनेको यस्तै सर्वस्वीकार्य र सहअस्तित्वगत विषय हुन्
उषा ठाकुर

भाषा–संस्कृति र लवजको कुरा गर्दा यो जन्म–कर्मसँग जोडिएको नासो हो भन्ने मलाई लाग्छ । म भारतको पटनामा जन्मे–हुर्केकी हुँ । सन् १९७९ मा पटना विश्वविद्यालयबाट ‘सुमित्रानन्दन पन्त काव्यकी सामाजिक भूमिका’ विषयमा विद्यावारिधि गरिन्जेल म पूरै हिन्दीभाषी थिएँ— पढाइ र घर व्यवहारमा ।

विविधा भाषा

विगतमा मेरा बुबाआमा दिल्लीवासी भएकाले हिन्दीमा राम्रो पकड थियो नै । पछि व्यापार क्रममा पटना आएपछि र स्थानीय प्रभावमा भोजपुरी भाषामा व्यवहार अघि बढ्यो । संयोगले मेरो बिहे भने वीरगन्जमा भयो— कूटनीतिक सेवामा रहनुभएका रामभक्त पीबी ठाकुरसँग । वीरगन्जमा केही समय बसेर म काठमाडौं आएँ । काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित हिन्दी विभागमा प्राध्यापनमा लागें ।

यसरी मेरो माइतीको पुरानो चलनमा मगही (मागधी)) भाषा चल्तीमा थियो, हिन्दी पनि साथै थियो नै । यता वीरगन्जमा श्रीमान्को भाषा भोजपुरी थियो । तर भोजपुरी भाषाभन्दा बढी संवाद हिन्दीमै हुन्थ्यो । काठमाडौं आएपछि हिन्दी विभागका कारण हिन्दीको पकड रहिरह्यो । वीरगन्जमा सासू आमासँग कुरा गर्दा भोजपुरी चल्थ्यो, आफ्नो घरमा बाआमासँग कुरा गर्दा भने हिन्दी ।

मैले त्रिभुवन विश्वविद्यालयमा आएपछि र विशेषतः २०३६ पछि भने हिन्दी तथा नेपालीमा समानान्तर रूपमा लेख्न थालें । विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागमा सुरुमा तराईका धेरै विद्यार्थी थिए । पछि गएर नेपालीमा एमए गरिसक्नेहरू पनि डबल एमए गर्न भनेर हिन्दीमा आउने गर्थे । सुरुका दिनमा हिन्दीप्रति त्यति राम्रो सोच र सकारात्मक धारणा थिएन, यो भाषा अलिक बहिष्कृत जस्तो थियो । म केही समय ‘हिमालिनी’ पत्रिकाको प्रमुख सम्पादक थिएँ, १९९९ तिर । यो नेपालबाट प्रकाशन हुने हिन्दी मासिक पत्रिका थियो । यसमार्फत पनि हिन्दी भाषामा नेपाली साहित्यबारे निकै लेख्ने काम भयो, अनुवाद कार्य पनि उत्तिकै भयो । प्रमुखतः हिन्दीसँग नेपाली साहित्यको तुलनात्मक अध्ययन गर्ने काम गरिरहें । कविवर माधव घिमिरेको ‘अश्वत्थामा’ र धर्मवीर भारतीको ‘अन्धायुग’ मा समान धरातल छ भनेर लेखेपछि कवि घिमिरेबाटै स्याबासी पाएकी थिएँ ।

हिन्दी भाषाको प्रभाव र पहुँचलाई लिएर सन् १९९९ मा काठमाडौंमा तीन दिनको गोष्ठी आयोजना भएको थियो, त्यो बेला इलाहाबादबाट विद्वान् श्रीधर शास्त्री आउनुभएको थियो । ७५ जना भारत र ७५ जना नेपालबाट हिन्दीमा लेख्ने वा सरोकार राख्ने साहित्यकारको सहभागिता थियो । त्यो बेलासम्मै हिन्दी भाषा, साहित्यप्रति नेपालमा त्यति सकारात्मक माहोल थिएन । त्यही सम्मेलनपछि भारतीय लेखकहरूबाट ‘नेपालीको हिन्दीमा अनुवाद आइदिए हुन्थ्यो’ भनेर सरोकार बढेको थियो ।

मेरो बुझाइमा सम्पर्क भाषा हिन्दी नै हो, मधेस अथवा काठमाडौंका लागि । एउटै कुरा ‘हिन्दी–हिन्दी’ भनेर नारा लगाउनुको अर्थ छैन, म लगाउँदिनँ पनि । तर व्यवहारमा काम देखिनुपर्‍यो । नेपाली–हिन्दी तुलनात्मक काम वा अनुवाद कार्य भइदिए यसभित्र अर्कै विशिष्टता उब्जिहाल्छ ।

मेरो आफ्नै अनुभव छ— प्रज्ञा–प्रतिष्ठानमा कवि माधव घिमिरे उपकुलपति हुँदा मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका छानिएका कविताको हिन्दी अनुवाद गर्ने प्रस्ताव लिएर गएकी थिएँ । तर, स्वीकृति मिलेन । सम्पादक नगेन्द्रराज शर्माको ‘अभिव्यक्ति’ पत्रिकामा भारतीय कवि पन्त र हाम्रा देवकोटाबीचको तुलनात्मक अध्ययन गरेर लेख पठाएकी थिएँ, त्यो पनि अन्तिममा छापिएन । कारण केही थिएन । मेरा बुझाइमा हरेक भाषाको ज्ञान हुनुपर्छ । ज्ञान विस्तार गर्ने माध्यम हो भाषा । हिन्दी वा मैथिल वा भोजपुरी भनेर ‘यो वा त्यो’ भनिरहनै पर्दैन । सञ्चारमाध्यम होस् वा कुनै प्राज्ञिक निकाय, अब भने भाषाका कुरालाई लिएर संकीर्णता निकै कम भएको छ ।

भाषाको कुरामा ‘यो वा त्यो’ भन्नु संकीर्णता हो । मैथिलभाषीले भोजपुरीलाई थोरै दबाउन खोज्नु वा हिन्दीका बारेमा नकारात्मक बन्नु पनि त्यस्तै संकीर्णता हो । नेपाली साहित्य, भाषाका विद्वान्ले पनि हिन्दी भनेपछि नाक उचाल्ने प्रवृत्ति थियो । यथार्थतः सबै भाषा–साहित्यको प्रवर्द्धन हुनु भनेको समाजकै लागि हो, देशकै लागि हो । अहिले प्रज्ञा–प्रतिष्ठानबाट सबै जातजातिका भाषा, लोपोन्मुख भाषा वा हिन्दी–नेपालीका परिपूरक अनुवाद पनि निकै अघि बढिसकेको छ । ‘बसाइँ’ थारू भाषामा वा ‘शिरीषको फूल’ भोजपुरीमा अनूदित भएर आउने अवस्था भनेको यस्तै सर्वस्वीकार्य र सहअस्तित्वगत विषय हुन् ।

अहिले मधेसको सम्पर्क भाषा मैथिली बनेको छ, यो सकारात्मक कुरा हो । यसो भन्दैमा यहाँका भोजपुरी, बज्जिका, थारू, उर्दू वा अन्य भाषाको गरिमा वा अस्तित्वलाई नकार्न पनि मिल्दैन । मैले भाषागत विविधताका अर्थमा मैथिल भाषाका विद्यापति पढेकी छु, यी शृङ्गारिक स्रष्टाको सिर्जना अतुलनीय छ । भोजपुरीका जनक भनिने कवीर पढेकी छु । अवधीका हकमा तुलसीदास पढेकी छु । हिन्दीका निराला, पन्त, महादेवी बर्मा, जयशंकर प्रसादको प्रभाव मसँग छ । नेपालीकै कुरा गर्दा कवि केदारमान व्यथित, धुस्वाँ सायमी, ढुण्डीराज भण्डारीहरूका हिन्दीमा उत्तिकै बलशाली लेखरचना र कृति छन् । पछिल्लोमा दुर्गाप्रसाद श्रेष्ठका कृति हिन्दीमै भेटिन्छन् । यो विविधतालाई स्विकार्दै यो भाषिक सम्पन्नतालाई हाम्रो गरिमाका रूपमा लिन सक्नुपर्छ ।

विश्वविद्यालयकै कुरा गर्दा हिन्दी विभागमा मुस्किलले ५/७ जना विद्यार्थी मात्रै अध्ययनरत छन् । हिन्दी भाषाबाट लोक सेवा जाँचमा सहभागी हुन नपाइने नियमले गर्दा पनि केही कठिनाइ आएको हुन सक्छ, हिन्दी भाषाकै भरमा जागिर पाउन समस्या छ । झट्ट हेर्दा सामान्य देखिने तर सूक्ष्म रूपमा गहन हुन सक्ने यी कारणले पनि थप भाषागत अस्तित्वको समस्या देखिन्छ नै ।

एउटा यथार्थ के हो भने हामीकहाँ सम्पर्क सेतु र सूत्रका रूपमा हिन्दीको प्रभाव बढी छ, म यो मान्छु । कसैले माने पनि नमाने पनि, भारतीय गोर्खा लाहुरेदेखि घरघरका गृहिणीको प्रभाव बढी हिन्दीमा छ । यसलाई स्विकार्नैपर्छ । हो, हिन्दीलाई लिएर विगतमा भारतीय दूतावासको प्रशासनका केही उच्च पदस्थमा केही घमण्ड वा अलिक हेपाहा प्रवृत्ति छ कि भन्ने बोध हुन्थ्यो । अलिक दबाउन खोजिएको जस्तो अनुभूत हुन्थ्यो । अब भने सबै भाषाको अस्तित्वलाई सबैले स्वीकार्न थालेको भान पर्न थालेको छ ।

-(नेपाल प्रज्ञा–प्रतिष्ठानमा आठ वर्षयता साहित्य अनुवाद विभाग प्रमुख रहेकी ठाकुरसँग गरिएको कुराकानी आधारित)

प्रकाशित : वैशाख ७, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?