कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातो मत्स्येन्द्रनाथको कथा र इतिहासबीचको अन्योल

रातो मत्स्येन्द्रनाथको विषयमा कथा र इतिहास एकै ठाउँमा गोलमटोल गरेर मिसाइदिएका छन् । जसलाई कथा सुन्नमा रुचि छ‚ उसले कथामात्र छुट्याएर श्रवण गर्नुपर्ला । तर‚ इतिहासको कुरा गर्दा त्यसमा कथाको जिकीर र गुन्जाइस ल्याउनु भएन ।

काठमाडौँ — वर्षा, सहकाल एवं अन्नका देवता बुंगमलोकेश्वर हुन् । यसलाई बौद्धमार्गीहरूले श्रीमदार्यावलोकितेश्वर, लोकनाथ, करुणामय ,पद्मपाणि, लसवद्यः, बुंगद्यः आदि पनि मानेर पूजा गर्दै आए । वैष्णवहरूले यसलाई भगवान् विष्णुको मत्स्यावतार एवं मत्स्य नारायणको मानव रुप  अर्थात् विरिञ्चीनारायण हो भनेर पनि मान्दै आए । रक्तवर्ण अवलोकितेश्वर भएकाले हिन्दूहरूले यसलाई उदाउन लागेको सूर्यनारायणको रुपमा पनि पूजा गर्दै आए ।

रातो मत्स्येन्द्रनाथको कथा र इतिहासबीचको अन्योल

संस्कारको दृष्टिले नामकर्म, अन्नप्राशन, उपनयन, इही, गुफा राख्नेजस्ता छोरा र छोरी दुवैलाई गरिने संस्कार हुने हुँदा यो अर्धनारेश्वरको अवतार हो भनी मानेर आए । नाथ सम्प्रदायहरूले चौरासी सिद्धहरूमध्ये मत्स्येन्द्रनाथ, गोरखनाथलाई विख्यात सिद्ध भनेर मानेका छन् भने मत्स्येन्द्रनाथलाई गोरखनाथका गुरु भनेर पनि मानेका छन् ।

यसरी सम्प्रदायपिच्छे फरक ढंगले मानी आएको कारण यसको उत्पत्तिका विषयमा पनि कथा रचना पनि फरक देखिएका छन् । त्यसकारण आर्यावलोकितेश्वर र मत्स्येन्द्रनाथ एउटै भगवान् होइनन् भन्नेहरू पनि देखिएका छन् । उत्पत्तिका कथाहरू हेर्दा पनि एकरुपता अवश्य छैन । यही सन्दर्भमा कथालाई प्राथमिकता दिने कि इतिहासलाई भन्नेमै अन्योल भइरहेको देखिन्छ ।

उत्पत्तिका कथाहरू

१. मीननाथ भारतको आसाममा पर्ने कामरुपका मछुवा जातिका राजा हुन् र मत्स्येन्द्रनाथ मीननाथका छोरा हुन् भनिएका छन् । मीन भने पनि मत्स्य भने पनि एउटै अर्थ लाग्ने भएकाले यिनीहरू मछुवा जाति भनिएको छ ।

२. स्कन्दपुराणको एक अध्यायमा महादेवले माछाको पेटबाट निकालेको हुनाले मत्स्येन्द्रनाथ कहलिएको र यिनलाई योग विद्याको प्रचार गरेर मानव कल्याणको काम गर्नेछौं भनी वरदान दिएको कुरा छ । अतः मत्स्येन्द्रनाथले योग शिक्षाको प्रचार गरे, गाईको गोबरदेखि उत्पत्ति भएका गोरखनाथले मत्स्येन्द्रनाथको शिष्य बनी सघाएको कुरा उल्लेख छ ।

३. मणिरत्नमाला वंशावलीमा सत्ययुगमा अमिताभ बुद्धले पद्मपाणि बोधिसत्त्वलाई लोकेश्वर नामकरण गरेको प्रसंग उल्लेख छ । कुनैबेला उनै पद्मपाणि बोधिसत्त्वले समुद्रमा माछाको रुप लिएर जलकृडा गरिसकेपछि आरामसँग सुतिरहेका थिए । पछि माछाको रुप छाडी आफ्नै रुपमा आएपछि यिनको नाम मत्स्येन्द्रनाथ कहलियो भनिएको छ ।

कालान्तरमा उनै मत्स्येन्द्रनाथ सुखावती भुवनबाट मानव जगतलाई उद्धार गर्न पद्मपाणि लोकेश्वरको अंश लिई भारतको आसाम राज्यको कामारुकामाख्यमा राक्षसहरूका राजा शशिकी महारानी मायाको कोखबाट जन्मिएका ५०० राजकुमारहरूमध्ये सबैभन्दा कान्छा छोरा भएर जन्म लिएको पनि उल्लेख गरिएको छ ।

४. कुनै वंशावलीमा मत्स्येन्द्रनाथलाई नेपालमा ल्याएको कथामा गुणकामदेव नामक राजाका ३२ लक्षणले युक्त गुणलक्ष्मी नाम गरेकी छोरी थिइन् । यिनको विवाह स्यालसँग भयो । वास्तवमा त्यो स्याल भगवान् नारायणले गुणलक्ष्मीलाई विवाह गर्नका लागि रुप धारण गरेका रहेछन् । भगवान् नारायण पो आफ्ना ज्वाइँ रहेछन् भनी थाहा भएपछि भगवान्‌सँग राजाले धानको गेडाभित्र चामलको गेडा होस् भनी मागे । तब भगवानले यसका लागि आर्यावलोकितेश्वरले मात्र गर्न सक्छ‚ अतः उनको आह्वान गर्नुपर्दछ भनी सल्लाह दिए बताइन्छ ।

करुणामयलाई नेपाल ल्याउन राजाले अष्टमी व्रत गर्दा व्रतका प्रभावले गुणकामदेवले नरेन्द्रदेव छोरा पाए । उनै नरेन्द्रदेवको पालामा १२ वर्षसम्म अनावृष्टि भएकाले राजाले अनेक शान्तिस्वस्ति गर्दा पनि पानी पर्न सकेनन् । यो कथामा शान्तिकर आचार्यले आफ्ना शिष्य बन्धुदत्त आचार्यको नेतृत्वमा राजा नरेन्द्रदेव, ललित ज्यापूलाई मत्स्येन्द्रनाथ नेपालमा ल्याउन कामारु कामाख्या पठाए । बाटोमा कर्कट नाग पनि भेटेपछि उनै नागलाई पनि लिएर गए भन्ने कहानी बनाइएको छ । मत्स्येन्द्रनाथलाई नेपालमा ल्याइपुर्‍याएपछि गोरखनाथ उठ्नुपर्‍यो र नागहरू मुक्त भएपछि पानी पर्‍यो । फलस्वरुप बालीनाली सप्रिन थाले भनिएको छ ।

५. कुनै वंशावलीको कथामा पौराणिककालमा भगवान् विष्णुको मोहिनी नारी रुप देखेर भगवान् शिवलाई कामवासनाले अत्यन्त पीडा हुन पुगेछ । तब विष्णुले शिवको लिंगबाट वीर्यपात हुन लागेको देखी हत्तपत्त हातमा वीर्य थापिलिए । त्यो वीर्य बाँदरनी अन्जनालाई खुवाइदिँदा अन्जनाबाट अन्जनीकुमार हनुमान पैदा भए । भगवान् विष्णुले शिवको वीर्य लागेको हात समुद्रमा धुँदा त्यो वीर्यको बीज माछाले खाए । त्यस माछाको पेटबाट मत्स्येन्द्रनाथको उत्पत्ति भयो । शिवको वीर्य लागेको हात अझै सफा भएन भनी भगवान् विष्णुले गाईको गोबरले पुछेर धोएपछि त्यस गोबरदेखि गोरखनाथ उत्पत्ति भए भन्ने अत्यन्त अनौठो कथा रचिएको छ ।

कलिगत संवत् ३६७६ मा हिमवत्खण्डका अनुसार नेपालमा अनावृष्टि भई अनिकाल भएर ठूलो हाहाकार मच्चियो । राज्यभरिका ज्यौतिषी‚ तान्त्रिक र विद्वान् पण्डितहरू जम्मा गरी उक्त अनिकाल हटाउन शान्तिस्वस्ति गर्न लगाए पनि पानी पार्न सकेनन् । त्यतिबेला नेपालमा राजा नरेन्द्रदेवले शासन गरिरहेका थिए भनिएको छ ।

त्यसबेला रचित कथाअनुसार एक दिन राजा नरेन्द्रदेव जलवृष्टि गराउने उपाय खोजीका लागि रातिराति गुप्त भेषमा सहरको कुनाकुना घुम्दै जाँदा बन्धुदत्त आचार्यको घरको बाहिर पुगे । त्यहाँ गुनगुन कुरा गरिरहेको कुरा कान थापेर सुन्दा बन्धुदत्त आचार्य र उनका पत्निबीच अनावृष्टि हुनाका कारणबारे कुरा भइरहेको सुने । भोलिपल्ट राजाको दरबारमा बन्धुदत्त आचार्यलाई बोलाउन पठाइयो । राजा र आचार्यबीच अनावृष्टिबारे कुराकानी भए । आचार्यले आफ्नो तान्त्रिक ज्ञान अनुभवको आधारमा गोरखनाथले भिक्षु भई सहरमा भिक्षा माग्न आउँदा कसैले भिक्षा नदिएकाले उनी रिसाई सम्पूर्ण नागलाई आफ्नो आसनमा दबाई राखेको हुनाले अनावृष्टि भएको भनी बताएछन् । अनावृष्टि रोक्न गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपालमा ल्याएमात्र भने गोरखनाथ उठ्नैपर्ने‚ त्यसपछि नाग मुक्त भई आ-आफ्नो ठाँउमा जान पाएपछि मात्र पुनः वर्षा सुरु हुने उपाय सुझाएको उल्लेख छ ।

कथामा दिइएको वर्णनअनुसार बन्धुदत्त आचार्यको नेतृत्वमा राजा नरेन्द्रदेव, ललित ज्यापूलाई मत्स्येन्द्रनाथ ल्याउन कामारु कामाख्या गए । बाटोमा कर्कट नाग पनि भेटेपछि उनै नागलाई पनि लिएर गए भन्ने कहानी बनाइएको छ ।

कलिगत ३६९६ मा श्री मत्स्येन्द्रनाथ बुंगमतीमा मन्दिर बनाई स्थापना गराइयो र वर्षैपिच्छे सूर्य उत्तरायणभरि पाटनमा राख्ने र दक्षिणायनभरि बुंगमतीमा लगेर राख्न रथारोहण गरी ल्याउने जात्राको चलन चलाए । कलिगत ४२०८ मा लगनखेलको स्नानमण्डपमा न्हवँ गरिरहेको बेलामा पाल्पाका राजा मुकुन्दसेनले फौजसहित आई मत्स्येन्द्रनाथ लुटेर लग्ने मनसायले पाटनमा आए । भगवान् मत्स्येन्द्रनाथको अद्भूत एवं अलौकिक शक्ति देखेपछि आफ्नो गलामा लाएको सुनको सिक्री भगवान्‌लाई लाइदिई ज्यान जोगाएर भागेको घटना पनि वंशावलीमा उल्लेख छ ।

यी सबै सुन्नका लागि रचना गरिएको काल्पनिक कथामात्रै हुन् । किनकि कथाको यी घटनासँग इतिहासबीच कुनै तालमेल छैन । प्रायः पौराणिक कालमा उत्पत्ति भएका देवीदेवतालगायत कुनै पात्रबारे केही विवरण खुलेन भने अनेक काल्पनिक कथा रचना गर्ने चलन छ । त्यस्तै चलन मत्स्येन्द्रनाथको उत्पत्तिबारे पनि छन् । तर‚ यस्तो कथालाई इतिहासले ग्राह्यता दिएको पाइँदैन ।

ऐतिहासिक पक्ष

भूतकालीन घटनाहरूको उल्लेख नै इतिहास भए पनि मानवजीवनसँग सम्बन्धित घटनाहरूमात्र समावेश हुनेलाई इतिहास भन्छ । त्यसकारण देवतालाई कलशमा थुनिएका आख्यानलाई इतिहास भनिँदैन ।

त्यतिमात्र होइन भूतकालीन घटना भनाउनका लागि कलिगत ३६००, कलिगत ३६७६ कलिगत ३६९६, कलिगत ३८२५ र कलिगत ४२०८ भनेर वंशावलीहरूमा उल्लेख गरिँदैमा इतिहासका घटना भनी सिद्ध हुने होइन । फेरि मानवजीवनसँग सम्बन्धित भनेर देखाउन नरेन्द्रदेव, गुणकामदेव, वरदेव, बन्धुदत्त आचार्य अथवा बज्राचार्यको उल्लेख गरिँदैमा त्यसलाई इतिहास भनिँदैन । किनभने पुस्तकैपिच्छे दिइएका भूतकालीन घटना र मानवजीवनसँग सम्बन्धित भनिएका चिनारीहरूमा एकरुपता छैन ।

गोपालराज वंशावलीमा

नरेन्द्रदेव वर्ष ३५ र आचार्य बन्धुदत्त दुई जनाले बुंगमलोकेश्वरको जात्रा चलाएमात्र भनिएको छ । त्यसमा कामारुकामाख्या गएको कुरा उल्लेख छैन ।

देवमाला वंशावलीमा

गोरखनाथले नवनाग आसन गरेकाले अनावृष्टि भएको, बन्धुदत्त आचार्यको सल्लाहअनुसार योगी भेष बनाई राजा नरेन्द्रदेव बन्धुदत्तसहित कामारुकामाख्या गई मत्स्येन्द्रनाथ लिन गएको, स्त्री र पुरुष दुवैलाई गरिने दशकर्म मत्स्येन्द्रनाथलाई गर्नुपर्ने, शैव र बौद्ध दुवै मार्गीले मान्नुपर्ने देवता भनी वर्णन गरिएको छ । यी घटना कलिगत ३६७६ मा घटेको घटना भनी समेत उल्लेख गरिएको छ । ३६७६ भनेको नरेन्द्रदेवको पालाको समय नै होइन ।

भाषा वंशावलीमा

यसमा पनि गोरखनाथ र मत्सेन्द्रनाथको कथा माथि चर्चा गरिएबमोजिमकै छन् । अलिकति फरक भनेको बन्धुदत्तलाई शिवमार्ग र बौद्धमार्ग दुवै मार्गका ज्ञाता एक थिए भनिएको छ । यसमा पनि कलिगत ३६७६ मा घटेको घटना भनी दिइएको छ । बन्धुदत्त आचार्यले रचना गरेको मत्स्येन्द्रनाथको स्तुतिलाई करुणास्तव र राजा नरेन्द्रदेवले रचना गरेको स्तुतिलाई रुपस्तम्व भनिन्छ भनी दिइएको छ ।

लीलाभक्त मुनंकर्मीको पुस्तकमा

यसमा कलिगत ३६७६ र राजा नरेन्द्रदेव र बन्धुदत्त आचाजू भनी उल्लेख छ । तर कलिगत ३६७६ मा नरेन्द्रदेवको शासनकाल होइन भनी विचार गरिएको छैन । यसमा बन्धुदत्तलाई आचाजू भनेर उल्लेख छ । आचाजू भनेर अहिलेसम्म पनि कर्माचार्यहरूलाई मात्र भन्ने चलन छ ।

वंशावलीमा यो कथा धेरै वर्षपछि लेखेको हुनाले त्योबेला आजभन्दा १५ सय वर्षअघि मच्छिन्द्रनाथ नेपाल ल्याएको र १३ सय वर्षअघि भोटोजात्रा सुरु भयो भन्ने भनाइलाई कलिगत संवत्‌मा अनुमान गरेर कपोलकल्पित ढंगले साल/मिति बनाएको देखिन्छ । इतिहासमा ३८२५ कलिगतमा राजा जयदेव द्वितीय अथवा गुणकामदेव कसले राज्य गर्दथे भन्नेबारे स्पष्ट उल्लेख छैन ।

कुलचन्द्र कोइरालाको पुस्तकमा

गोरखनाथ शैवप्रधान सिद्ध थिए भने मत्स्येन्द्रनाथ बौद्धप्रधान सिद्ध थिए भन्नु‚ राजा नरेन्द्रदेवले बन्धुदत्त आचार्यको सहयोग मागेको नभनी शान्तिकर बज्राचार्यको सहयोग मागेको भन्नु, बज्राचार्य‚ शाक्य‚ पानेजुहरू बन्धुदत्त आचार्यका सन्तान भन्नु, गुरू शान्तिकर बज्राचार्यको आदेशलाई हिन्दुशिष्य बन्धुदत्त आचार्यले शिरोधार्य गरेको भन्नु‚ जयदेवका छोरा वरदेव उनै वरदेवका छोरा नरेन्द्रदेव भनेर व्याख्या गरेको हुनु, लिच्छविकालमा प्रारम्भ भएको ललितपुरको मत्स्येन्द्रनाथ रथजात्रा पनि भन्ने फेरि नरेन्द्रदेव भने १२औँ शताब्दीका हुन् भन्नु‚ अंशुवर्मापछि नरेन्द्रदेवलाई दोस्रो नरेन्द्रदेव भन्नुलगायत यावत् ऐतिहासिकता अपत्यारिला किसिमको व्याख्या गरिएका छन् ।

बुद्धाचार्य शाक्यको पुस्तकमा

विसं. ७०० देखि ७३६ सम्म राज्य गर्ने राजा नरेन्द्रदेवको पालामा राजाको आदेश, बन्धुदत्तको तन्त्रमन्त्र र रथचक्र ज्यापूको मेहनतबाट मत्स्येन्द्रनाथलाई ल्याउन सफल भएको, बन्धुदत्तलाई बौद्ध आचार्य भनेर उल्लेख गरेको र मत्स्येन्द्रनाथको कलशलाई मूर्तिमा प्रकाश पारेको समय नरेन्द्रदेवका पनाति वरदेवको पालामा भएको र रथजात्रा पनि उनै वरदेवको पालामा सुरु भएको भनी उल्लेख गरिएको छ । यसले इतिहासलाई मनगढन्ते पारामा परिणत गरेको छ ।

ज्योतिरत्न शाक्यको पुस्तकमा

यसमा भएको कथा, केवल सुन्नका लागि उपयोगी हुने तर ऐतिहासिक उपयोगिताको दृष्टिले यसमा चर्चा भएको कुराहरू ग्रहणीय विल्कुल छैन । किनकि नरेन्द्रदेवलाई गुणकामदेवको छोरा भनिएको छ र भक्तपुरमा नरेन्द्रदेव हुँदा पाटनमा वरदेव राजा थिए जस्ता मनगढन्ते कहानी रचिएको चर्चा छ । यो नरेन्द्रदेवले एक वर्षमात्र राज्य गरेको देखिने तर यिनको पालामा १२ वर्ष अनावृष्टि भएको घटनाको चर्चा मिल्दैन । अर्को भोटो जात्रा गुणकामदेवको पालामा हुने मत्स्येन्द्रनाथ भने उनको छोराको पालामा ल्याएको हुने कुरै मिलेन ।

सत्यमोहन जोशीको पुस्तकमा

राजा नरेन्द्रदेवको पालामा अनावृष्टि भएकाले त्यसबेला राजा नरेन्द्रदेव तन्त्रविद् बन्धुदत्त आचार्य र रथचक्र भरियासहित कामाक्षपीठमा गई मत्स्येन्द्रनाथ ल्याएको र रथजात्रा पनि नरेन्द्रदेवले चलाएको भोटोजात्रा चाहीँ राजा गुणकामदेवको पालामा कलिगत ३८२५ देखि चलेको भनी चर्चा गरेका छन् । कलिगत ३८२५ भनेको गुणकामदेवको समय होइन भन्ने कुरा विचार गरिएन ।

बद्रीरत्न वज्राचार्यको पुस्तकमा

बन्धुदत्तका गुरु शान्तिकर बज्राचार्य राजा गुणकामदेव समकालीन र शान्तिकर बज्राचार्यका शिष्य बन्धुदत्त आचार्य (बज्राचार्य ) भने लिच्छविकालको सातौँ शताब्दीको नरेन्द्रदेव समकालीन भनेर गरिएको विवरणलाई मनगढन्ते भन्न सकिन्छ । टेवहालको बज्राचार्यको संलग्नता मत्स्येन्द्रनाथको कुनै क्रियाकलापसँग जोडिएको प्रमाणहरू देखाइएको छैन ।

इतिहास परीक्षण

इतिहासलाई विश्वसनीय तथा वास्तविकतामा आधारित तथ्यहरूको विज्ञान भनेर इतिहासकारहरू मान्दछन् । यसमा काल्पनिकता तथा अविश्वसनीयता र अवैज्ञानिक कुरालाई कुनै प्रश्रय दिइँदैन । यसमा समय, स्थान र कारणको सिद्धान्तका बीचमा समन्वय कायम गरिएको हुन्छ ।

इतिहासको सिद्धान्तअनुसार हेर्दा माथि उल्लेख वर्णन वास्तविकता र विश्वसनीयता छैन भन्ने प्रमाणित हुन्छ । अहिले कलिगत ५१२४ भएको हुनाले आजभन्दा १५२४ वर्ष अघि नेपालमा राजा नरेन्द्रदेव नामक राजा थिए भन्ने पुष्टि खोइ । त्यस्तै गरी १४४८ वर्षअघि पनि नरेन्द्रदेव नामका राजा थिए भन्ने पुष्टि कहाँ खोज्ने । त्यतिमात्र होइन‚ १४२८ वर्षअघि पनि नरेन्द्रदेव नामको राजा थियो भन्ने पुष्टि छैन । त्यसकारण ३६००, कलिगत ३६७६ र कलिगत ३६९६ भनेर वंशावलीहरूमा उल्लेख गरिँदैमा ती समय स्थान र कारणको सिद्धान्तसँग समन्वय भएको मान्ने ठाउँ छैन ।

अहिले कलिगत ५१२४ भएको हुनाले १२९९ वर्षअघि नेपालमा राजा गुणकामदेव नामक राजा थियो भन्नका लागि तथ्य जुटाउने साधन छैन । ९१६ वर्षअघि काठमाडौं उपत्यकामा पश्चिमका जितारी मल्लले हमला गरेको घटनालाई पुष्टि गर्ने साधन छैन । वंशावलीकारहरूले मनगढन्ते ढंगले अन्दाजीको भरमा लेखियो भन्दैमा इतिहास भनेर पत्याउनु बुद्धिमानी होइन ।

माथि पुस्तकहरूमा उल्लेख भएका कुरामा कोही मत्स्येन्द्रनाथ नरेन्द्रदेवको पालामा कामाख्याबाट ल्याए भोटोजात्राचाहिँ गुणकामदेवले चलाए भन्ने कुरा स्थापित गर्न खोजेको पाइन्छ । कोही नरेन्द्रदेवलाई गुणकामदेवका छोरा र भक्तपुरमा नरेन्द्रदेव हुँदा पाटनमा वरदेव राजा थिए । कोही भने कलशलाई मूर्तिमा प्रकाश पार्ने काम नरेन्द्रदेवका पनाति वरदेवको पालामा भएको र रथजात्रा पनि उनै वरदेवकै पालामा सुरु भएको जस्ता मनगढन्ते कुरालाई पछ्याउँदै आएको देखिन्छ । इतिहासमा गुणकामदेव नामका राजा दुई जना‚ वरदेव नामका राजा दुई जना र नरेन्द्रदेव नामका राजा चार जना देखिन्छन् ।

कोही भने जयदेव नामका राजाका छोरा वरदेव हुन् । उनै वरदेवका छोरा नरेन्द्रदेव हुन् भनिएको छ । लिच्छविकालमा मत्स्येन्द्रनाथ प्रथम नरेन्द्रदेवले ल्याए यसको जात्राचाहिँ दोस्रो नरेन्द्रदेवको पालामा सम्पन्न भएजस्ता अत्यन्त मनगढन्त कुरा लेख्न पुगेका छन् । कोही भने १५ सय वर्षअघि मत्स्येन्द्रनाथ नेपाल ल्याइयो र १३ सय वर्षअघि भोटोजात्रा सुरु भयो । ३८२५ कलिगतमा राजा गुणकामदेवको समयमा भयो भनी यसरी जे मन लाग्यो त्यही लेख्ने गरेको पाइन्छ ।

गोपालराज वंशावलीले बन्धुदत्तलाई केवल आचार्य भनेरमात्र संकेत गरेको छ । उनी बज्राचार्य थिए कि कर्माचार्य थिए प्रस्ट बोलेको छैन । नरेन्द्रदेवबारे चाहिँ ३५ वर्ष शासन गरेका भनेर संकेत गरिएको छ ।अभिलेख प्रमाणअनुसार ई.सं. ६४३ देखि ६७९ (सं ६७ देखि १०३) सम्म शासन गर्ने लिच्छविकालको प्रथम नरेन्द्रदेवलाई संकेत गरेको देखिन्छ । परन्तु यसमा कामारुकामाख्याको कुनै जिकीर गरिएको छैन; नरेन्द्रदेव र बन्धुदत्तको प्रयासले मत्स्येन्द्रनाथको जात्रा चलाएको कुरा मात्र संकेत गरेको पाइन्छ ।

निष्कर्ष

रातो मत्स्येन्द्रनाथको विषयमा कथा र इतिहास एकै ठाउँमा गोलमटोल गरेर मिसाइदिएका छन् । जसलाई कथा सुन्नमा रुचि छ‚ उसले कथा मात्र छुट्याएर श्रवण गर्नुपर्ला । तर‚ इतिहासको कुरा गर्दा त्यसमा कथाको जिकीर र गुन्जाइस ल्याउनुभएन । प्रायः लेखकहरूले यही त्रुटि गर्दै आएको पाइन्छ । इतिहास प्रमाणको धरातलबिना उभिन सक्दैन; कथाका लागि भने कुनै प्रमाणको आवश्यकता पर्दैन । तसर्थ रातो मत्स्येन्द्रनाथबारे कथिएका कथालाई इतिहासजस्तो देखाउन साल‚ मिति र राजाको नाम र बन्धुदत्तबारे उल्लेख गरिएका छन् । यदि साँच्चै इतिहासको पक्ष लिएर बोल्ने हो भने त्यसमा जोडिएका कथा सबै पन्छाएर हेर्नु जरुरी हुन्छ भन्नु नै यो लेखको मूल आशय हो ।

(लेखक राजवंशी लिपिविद् हुन्)

प्रकाशित : असार ४, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?