१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

छोरीमान्छेको शरीरले थेगेको समाज

विगतमा आमाहरू मातृत्वका नाममा रजस्वला नसुक्दासम्मै बच्चा बोक्न विवश भएका थिए । अबका छोरीका लागि मातृत्व छनोटको विषय हुनुपर्छ, न कि परिवार र आफन्तको दबाबरूपी पासो ।
सृष्टि कार्की

हरेक व्यक्तिको शरीर निजी हुने भएकाले त्यसको प्रयोग स्वअधिकारको विषय हुने गर्छ । तर अधिकांश समुदायका महिलाको हकमा भने उनीहरूको शरीरको स्वामित्व पुरुष, परिवार र समाजले लिने गरेको छ । छोरीहरू बुझ्ने हुन थालेदेखि नै तिमीले (आसय शरीर नै हो) यसो गर्नु हुन्न भनेर मानसिक तालिम दिन थालिन्छ ।

छोरीमान्छेको शरीरले थेगेको समाज

ठूलो स्वरले हाँस्नु, गोडा फट्याएर बस्नु, मनमा लागेको कुरा बोल्नु हुन्न भनेर सिकाइन्छ । सदियौंदेखि महिलाको शरीर पुरुष, परिवार र समाजको शक्ति अभ्यास गर्ने थलो भएको छ । थलो बनाउनका लागि आफू अनुकूलका वा पुरुषकेन्द्रित धर्म, रीतिरिवाज, परम्परा र संस्कृतिको नाममा शासन गर्ने नियमहरू बनाइएका छन् ।

भारतको राजस्थानकी अध्येता कञ्चन माथुरको भनाइ सान्दर्भिक छ । विकासमा महिलाको भूमिका विषयमा लामो समय अध्यापन गरेकी उनी भन्छिन्, ‘महिलाको पहिचान उसको शरीर र मुख्यतः शरीरले गर्ने कामसँग जोडिएको हुन्छ । ती काम, पुरुषको यौन सन्तुष्टि पूरा गर्ने माध्यम बन्नु, बच्चा जन्माउनु र त्यही बच्चालाई पालन पोषण गर्नु आदि हुन् । महिलाको सम्पूर्ण जीवन, उनको भूमिका, समाजमा उनको अस्तित्व र हैसियत यसै शरीरको प्रारम्भिक कामबाट परिभाषित हुन्छ ।’ नेपाली समाज खासगरी खसआर्य समुदायमा धर्मका नाममा माथुरले भनेझैं महिलाको शरीर पुरुषको सत्तालाई अगाडि बढाउने यन्त्र मात्र बनाइएको छ ।

अर्को कानुनी कसीमा हेर्ने हो भने पनि नेपाल राज्यले नै महिलाको शरीर नियन्त्रण गर्न खोजेको देखिन्छ । जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनले मान्छेको जात र लिंग हेरेर सजाय तोक्ने गर्थ्यो । पञ्चायतकालमा सोही ऐनलाई संशोधन गरेर लागू गरियो । राजा महेन्द्र शाहले लागू गरेको ऐनलाई त्यतिबेला दुइटा पक्षले गर्दा प्रगतिशील भनियो । पहिलो, कानुनको अगाडि सबै (जाति र लिंग) समान छन् । दोस्रो, महिलाका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । पञ्चायतकालमा मुलुकी ऐन आठ पटक संशोधन गरिए पनि सारमा कुरा एउटै रह्यो ।

नेपालको कानुनले कसरी महिलालाई संरचनागत रूपमै विभेद गरेको छ भन्ने बुझ्न अनुसन्धाता सेरा तामाङको लेख ‘लिगलाइजिङ स्टेट प्याट्रिआर्की इन नेपाल’ उपयोगी छ । उनले सो लेखमा निष्कर्ष निकालेकी छन्, ‘पञ्चायतकालमा भएका कानुनी संशोधन महिलाको हक अधिकारका लागि समस्यारहित थिएनन् । केही क्षेत्रमा औपचारिक समानता ल्याए पनि, महिलालाई शरीरमा सीमित गरेर श्रीमती र आमाको भूमिकालाई ‘प्राकृतिक’ बनाइदिएको थियो ।’

नेपाली विशेष गरी हिन्दु समुदायको सामाजिक र पारिवारिक व्यवस्थामा महिलाको उपस्थिति कहाँ छ भनेर बुझ्न सघाउने कृति हो– अभियन्ता अमृता लम्सालको, ‘हजुरआमाको कथा’ । यो किताबले कथेको हजुरआमाको कथाले तीन पुस्ता अगाडिको समाज महिलाका लागि कति कहालीलाग्दो थियो भन्ने उजागर गर्छ । जस्तो, श्रीमतीको २–३ वर्षसम्म बच्चा नभएमा त्यसबेलाका अधिकांश पुरुषले दोस्रो विवाह गर्ने प्रचलन थियो । श्रीमान्ले दोस्रो विवाह गरेपछि ती महिलाको मानसिक अवस्था कस्तो रुग्ण हुन्थ्यो होला, त्यसको कल्पनासम्म पनि गर्न सकिँदैन । बच्चा पाउने प्रारम्भिक काम गर्न असमर्थ ती महिलाको शरीर पुरुष सत्ताका लागि फाल्तुको हुन गयो । हजुरआमाहरूको सत्त्व सस्तो घरायसी मजदुरमा परिणत भयो ।

खसआर्य समुदायमा यस्तो परम्पराको जरा झनै गहिरो छ । अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट विद्यावारिधि गरेकी लिन बेनेटले खसआर्य महिलामै केन्द्रित भएर सन् १९७२ देखि काठमाडौं नजिकको पहाडी बस्ती नारीकोटमा दशकभन्दा लामो समय अनुसन्धान गरेकी थिइन् । मुख्यतः कृषिमा निर्भर त्यो समाजमा महिला साक्षरता दर निकै कम थियो । धर्मको अवधारणाले खसआर्य समुदायका महिलाको दैनन्दिन जीवनलाई कसरी निर्देश गरेको र आकार दिएको छ भन्ने फेहरिस्त आफ्नो किताब ‘डेन्जरस वाइभ्स एन्ड सेकरेड सिस्टर्स’ मा राखेकी छन् । बेनेटले अध्ययन गरेको समयमा मेरो हजुरआमाले भर्खर मेरो बुबालाई जन्म दिनुभएको थियो । मेरो हजुरआमा, हजुरबाबाको दोस्रो श्रीमती । आजको आँखाले हेर्‍यो भने, पहिलो श्रीमती जिउँदै र उनीतर्फका छोराछोरी हुँदाहुँदै अर्की श्रीमती किन चाहियो होला भन्ने लाग्न सक्छ । यसको जवाफ भूमि, कृषि व्यवस्था र श्रमसँग जोडिन्छ । भित्री मधेशमा हजुरबुबाको प्रशस्त जमिन थियो । खेतीपातीका लागि उत्तिकै मजदुर चाहिन्थ्यो । आम्दानीको मुख्य स्रोत अन्न हुने गर्थ्यो । जति श्रीमती थप्दै गयो, त्यति नै श्रम र सन्तानहरू पाइन्थ्यो अर्थात् दोहोरो फाइदा हुन्थ्यो ।

आजका नातिनी पुस्ताका अधिकांश छोरीले विद्यालय शिक्षा पाएका छन्, प्रविधिको भरपूर प्रयोग गर्ने वातावरण पनि छ । अनेक आर्थिक उपार्जनको बाटो खुलेको छ । तैपनि धर्म, परम्पराको नाममा हजुरआमाको पालामा जसरी महिला शरीरलाई प्रयोग गरिन्थ्यो, हेरिन्थ्यो, त्यस्तो सोच भने बदलिन सकेको छैन । सामान्यतया २५ नाघेपछि परिवार र आफन्त मिलेर ‘बायोलोजिकल क्लक’ को हरदम याद दिलाइन्छ । अहिलेको समाजमा पनि महिला शरीरको एकमात्र काम बच्चा जन्माउनु हो भन्ने ठानिन्छ । छोरी मान्छे, विवाह गरेर पुग्ने घरको वंश अगाडि बढाउने साधनका रूपमा हेरिन्छ । महिलाको करिअर र पढाइ प्राथमिकताको विषय होइनन् भन्ने समाजको आम मानसिकतालाई परिवर्तन गर्न सकिएको छैन ।

मेरो बाल्यकालदेखिको साथीले काठमाडौंमै स्नातकोत्तर पढ्दापढ्दै प्रेमविवाह गरिन् । विवाह गरेको एक वर्ष नहुँदै, ‘बुहारीको शरीरको जाँच गर्नुपर्छ कि क्या हो, कुनै चालचुल छैन त !’ भनेर घुमाउरो पारामा ससुराले भनेको तितो अनुभव उनले मलाई सुनाएकी थिइन् । मेरो साथीको शरीर स्वस्थ भएको भए त एक वर्षसम्म उनी गर्भवती भइसक्नुपर्ने थियो । सो नभएकाले नै उनलाई ‘होलबडी चेकअप’ गर्ने सल्लाह ससुरबाले दिएका थिए । कुरा घुमाउरो तरिकाले आए पनि आसय प्रस्ट थियो, १ वर्षमै बच्चा जन्माउनुपर्ने निर्णय ससुराले सुनाएका थिए । साथीलाई अझै स्नातकोत्तरको पढाइ गर्दै लोक सेवाको तयारी गर्नु थियो । तर, यसलाई थाती राखेर परिवारको दबाब झेल्न नसकेर अर्को वर्ष उनले बच्चाको योजना गर्नैपर्‍यो ।

मेरो हकमा त झन् एक वर्ष पनि पर्खनु परेन । विवाह गरेको छ महिना नबित्दै होलीको रमाइलो माहोलमा बुबाले भन्नुभयो, ‘एक वर्ष पुग्नै लाग्दा, आमाबाबुलाई त आस पो हुन थाल्छ हौ ।’ उहाँको प्रश्नको आसय पनि प्रस्ट थियो । रमाइलो माहोलमा, जतिखेर पनि जे भन्दा पनि हुन्छ भन्ने उहाँलाई लाग्छ । यो प्रश्नले छोरीको मुड बिग्रन्छ भन्ने थाहा नभएको पनि होइन । फेरि म केही वर्षयता सक्रिय रूपमा महिला अधिकार र समानताका लागि बोलिरहेको पनि उहाँलाई थाहा थियो । तैपनि पारिवारिक जमघटमा सबैका सामु एकदमै निजी सवाल गर्न मेरो बुबालाई कसरी हिम्मत भएको होला ? यस्तो वैयक्तिक प्रश्न गर्नु उहाँलाई सामान्य नै लागेको थियो ।

यो समाजले नै पुरुषलाई यस्तो सोध्ने ‘लाइसेन्स’ दिएको छ भन्ने उहाँ ठान्नुहुन्छ र बुबा पुस्ताका अरू बुबाहरूलाई पनि यो प्रश्न स्वाभाविक लाग्छ । बुबा पुस्ताको यो साझा बुझाइमा असाध्यै समस्या छ भनेर सम्झाउन, बुझाउन अझै कति नातिनी पुस्ताले संघर्ष गर्नुपर्ने हो ? आफैंले जन्माएकी छोरी नै भए पनि केही सवाल वैयक्तिक हुन्छन् र यस्ता सवालहरू गर्न मिल्दैन वा हुँदैन भन्ने संवेदनशीलता कहिले आउने ? कुनै पनि महिलाको शरीर, यससँग जोडिएर आउने भावनात्मक पक्ष, निर्णयको अधिकारबारे कसरी बुझाउने ?

बुबाको प्रश्नले मलाई एक महिना अगाडिको घटनाको गहिराइमा पुर्‍यायो । प्रसूति गृहमा भएको बच्चा चोरीको घटनाले समाजलाई नै त्यतिबेला सोचमग्न बनाएको थियो । पत्रपत्रिकामा सार्वजनिक भएका विवरणअनुसार, बिहे भएको ३ वर्षसम्म ती महिलाले चाहे पनि कोखमा बच्चा अडिएन । यी तीन वर्षमा, मेरो बुबा र साथीको ससुराबुबाले जस्तै गरी उनका आफन्त वा परिवारले कति मानसिक हिंसा गरे होलान् ? के कस्तो मानसिक अवस्थितिले उनलाई बच्चा चोर्ने जोखिम उठाउने निन्दनीय निर्णयसम्म पुर्‍यायो होला ? उनले जे गरिन्, कानुनतः त्यो गलत हो तर समाजले घटनाको पछाडिको कारणलाई बेवास्ता गरिदिन्छ । उनको मानसिक प्रताडना र भावनात्मक पक्षलाई महसुस गर्दैन ।

महिलाको सत्त्व बच्चा पाउने साधनमा सीमित गर्नु नेपालजस्तो पितृसत्तात्मक समाजको चलिआएको चलन हो । यसमा मेरो आमा, फुपू, हजुरआमाहरू पिल्सनुभयो । विगतमा आमाहरू मातृत्वका नाममा रजस्वला नसुक्दासम्मै बच्चा बोक्न विवश भएका थिए । अबका छोरीका लागि मातृत्व छनोटको विषय हुनुपर्छ, न कि परिवार र आफन्तको दबाबरूपी पासो । बिहे कहिले गर्ने वा गर्दै नगर्ने र बच्चा कहिले जन्माउने वा जन्माउँदै नजन्माउने भन्ने कुरा नितान्त निजी सवाल हो । महिलाको शरीरसँग जोडिएको विषयमा कसैले प्रश्न उठाइदिँदा त्यसले पार्ने मानसिक आघात बेहिसाब हुन्छ । निजी सवाल तेर्स्याउँदा परिवारका सदस्य वा आफन्तलाई एकैछिनको सन्तुष्टि मिल्ला तर यस्तो सामान्यकरण गरिएको तर पेचिलो प्रश्नले कसैलाई बच्चा चोर्नका लागि निरीह बनाइदिन सक्छ । महिलाहरू विक्षिप्त हुन सक्छन् ।

आफ्नो शरीर र जीवन सधैंका लागि परिवर्तन गर्ने निर्णय महिलाको छनोट हुन नपाउनु वा अरूकै हातमा हुन्जेल महिलाले वास्तविक स्वतन्त्रता महसुस गर्न पाउँदैनन् । त्यसैले महिलालाई बच्चा पाउने कोखमा सीमित गरेर उसको निजत्व, भावनात्मक र संवेदनात्मक अस्तित्वलाई अस्वीकार गर्ने पितृसत्तात्मक सोचलाई अहिलेका छोरीले चुनौती दिन सक्नुपर्छ ।

प्रकाशित : वैशाख १०, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?