कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

जापानी विदेशमन्त्री भोलि आउँदै

काठमाडौँ — जापानी विदेशमन्त्री योको कामीकावा एकदिने भ्रमणमा आइतबार नेपाल आउने भएकी छन् । सद्भावना भ्रमण भनिएकाले द्विपक्षीय हस्ताक्षर हुने वा नयाँ एजेन्डा केही छैनन् । तर बदलिँदो भूराजनीतिक पृष्ठभूमिमा उनको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ । उनले नेपालसँगै दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाको समेत भ्रमण गर्ने कार्यतालिका छ ।

जापानी विदेशमन्त्री भोलि आउँदै

भ्रमणका क्रममा योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलको तहमा भेटवार्ता गर्नेछिन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता हुनेछ । ‘द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ । आगामी सहकार्यका विषयमा पनि कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईले भने । सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ समारोह आयोजनाबारे पनि भेटघाटका क्रममा छलफल गर्ने तयारी रहेको उनले बताए ।

जापानी विदेशमन्त्रीको भ्रमण दुई मुलुकको विकास साझेदारीको दृष्टिले महत्त्वपूर्ण रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बताउँछन् । ‘हाम्रो विकास साझेदारमध्ये जापान महत्त्वपूर्ण मित्रराष्ट्र हो,’ उनले भने, ‘यस भ्रमणले दुई मुलुकको सम्बन्धलाई थप बलियो बनाउने आशा गरेका छौं ।’

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्की अहिलेको विश्व परिवेशमा जापानी विदेशमन्त्री योकोको भ्रमण अर्थपूर्ण रहेको बताउँछन् । ‘दक्षिण एसियाली देशको भ्रमण राजनीतिक रूपमा प्रभाव पार्न हो भन्ने देखिन्छ,’ उनले भने, ‘नेपालमा भारत, चीन तथा अमेरिकाको प्रभाव छ । जापानले ‘हामी पनि नेपालको स्पेसमा सक्रिय छौं’ भन्ने सन्देश दिन यो भ्रमण हुन लागेको जस्तो देखिन्छ ।’

पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई जापानसँगको विकास सहयोगबारे समीक्षा गर्नुपर्ने बताउँछन् । ‘जापानले कुलेखानी, कालीगण्डकी जलविद्युत् आयोजनालगायत निर्माणमा सहयोग गरेको छ,’ जापानका लागि पूर्वराजदूतसमेत रहेका उनले भने, ‘सहरी विकास, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जापानको सहयोग छ । अब नेपालले जापानसँग काम गर्दा प्रभावकारी योजना अघि बढाउनुपर्छ ।’

योको अहिले दक्षिण एसियाका ६ राष्ट्रको भ्रमणमा छन् । वैशाख १४ देखि सुरु भएको उनको भ्रमण २४ सम्म चल्नेछ । उनी अफ्रिकी मुलुक माडागास्कर, आइभोरीकोस्ट र नाइजेरिया हुँदै युरोपेली देश फ्रान्स पुगेर श्रीलंका र नेपाल आउन लागेकी हुन् । पछिल्लो पटक जापानबाट विदेश राज्यमन्त्री ताकेई सुन्सुके संघीय संसद् र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न २०७९ मंसिरमा नेपाल आएका थिए ।

जापनिज युनिभर्सिटी अलुम्नी–नेपाल (जुआन) का अध्यक्ष सुनीलबाबु श्रेष्ठ जापानी विदेशमन्त्रीको आसन्न नेपाल भ्रमणको उच्च महत्त्व रहेको बताउँछन् । ‘जापानमा अहिले १ लाख ४० हजारको हाराहारीमा नेपाली समुदाय रहेको बताइन्छ । चिनियाँ समुदायपछि सबैभन्दा बढी नेपाली छन्,’ उनले भने, ‘जापानमा वृद्धवृद्धाको जनसंख्या बढी छ, नेपालमा युवा जनसंख्या छ । दुई मुलुकबीच समन्वय गरेर यसलाई कसरी उपयोग गर्ने भन्ने विषय महत्त्वपूर्ण हुन सक्छ ।’

प्रकाशित : वैशाख २२, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?