२५ सय वर्षदेखि म्याराथन दौडिरहेको विश्व
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — म्याराथन भन्नेबित्तिकै कुरा आउँछ, अपार मिहिनेत, अदम्य साहस र बहादुरी । अनि त्यसलाई आयोजना गर्ने सहर भन्नेबित्तिकै कुरा आउँछ, त्यसको सभ्यता, रहनसहन र संस्कृति । कुनै खेल सहरको आम मान्छे र प्रत्येक गल्ली तथा कुनासँग जोडिन्छ भने त्यो म्याराथन नै हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![२५ सय वर्षदेखि म्याराथन दौडिरहेको विश्व](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/first-olympic-marathon-1852024031636-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
फेरि यो जत्तिको पुरानो खेल पनि विरलै होला, लगातार अहिलेसम्म पनि आयोजना हुँदै आएको । म्याराथन कसरी सुरु भयो त ? यसको इतिहास बताउँदा त्यो कथा पनि कहिल्यै कम रोमाञ्चक हुँदैन । ईशापूर्व ४९० तिरको कुरा हो, युद्धमा जितेको समाचार सुनाउन एक ग्रिक सिपाईले दौडेर लामो दूरी तय गरे । उनी कतै रोकिएनन् । अनि गन्तव्य पुग्नेबित्तिकै उनले सुनाएका थिए, ‘हामीले जित्यौं ।’
आधुनिक म्याराथनमा कोही हार्दैनन् । सबै जित्छन् मात्रै । अब त यो लामो दूरीको दौड खालि दौडमै मात्र सीमित रहेन । यो त अब जुन सहरले आयोजना गर्छ, त्यसको परिचय बन्ने गर्छ । नेपालमै कुनै एक खास खेल धेरै ठाउँमा नियमित आयोजना भइरहेको छ भने त्यो म्याराथन हो ।
अनि यसमा जत्तिको आम जनताकै धेरैभन्दा धेरै सहभागिता अरूमा सम्भव हुँदैन नै । अचेल त हाफ म्याराथनको चलन सुरु भएको पनि धेरै भइसक्यो । दौडको दूरी पक्कै पनि यसमा आधा छोटिएको हुन्छ । तर यसलाई चाहिने मिहिनेत, साहस र बहादुरी कम हुन्न । न त यसले सहरको सभ्यता, रहनसहन र संस्कृतिलाई कम प्रतिनिधित्व गर्छ । आजै शनिबार कान्तिपुर हाफ म्याराथनको आयोजना हुँदै छ र यसको १२ औं संस्करणसम्म आइपुग्दा यसले ती सबै विशेषतालाई छोएको छ, जसका लागि यो दौड आफैंमा प्रसिद्ध छ ।
ठ्याक्कै भन्ने हो भने नेपाली खेलकुद कुनै एक विधामा असाध्यै धनी छ र यसको इतिहास पनि समृद्ध छ भने यो म्याराथन तथा हाफ म्याराथन नै हुन् । ‘पछिल्लो समय म्याराथन होस अथवा हाफ म्याराथन, जुन सहरले आयोजना गर्छ, त्यसले अपनत्व ग्रहण गर्न सुरु गरेको छ । यो नै सबैभन्दा ठूलो हो,’ नेपालगन्ज म्याराथन आयोजना गर्दै आएका टीएस ठकुरी मान्छन् । उनकै सक्रियतामा पछिल्लो साता सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन आयोजना गरियो ।
नेपालगन्ज म्याराथनको दसौं संस्करण छुन लागेको अवसरमा वीरेन्द्रनगरमा हाफ म्याराथनको आयोजना गरिएको थियो । ‘पहिलो प्रयासमै कर्णालीबाट जुन प्रकारको प्रतिक्रिया पायौं, त्यो निकै उत्साहबर्द्धक रह्यो,’ ठकुरी भन्छन्, ‘दौडमा कम्तीमा एक हजार दुई सयभन्दा बढीको सहभागिता थियो ।’ नेपालगन्ज म्याराथन आयोजना गर्ने क्रममा उनले महसुस गरेका छन्, बिस्तारै नै सही सबै नेपालगन्जवासीले यो मेरो पनि हो भनेर अनुभव गर्न थालेका छन् ।
कुनै समय थियो, नेपालगन्ज नेपाली खेलकुदको पर्याय थियो । त्यहाँको घरबारी टोलमा जानुपर्छ, प्रत्येक घरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी पाइन्थ्यो । त्यो पनि ओलम्पिकसम्मै खेलेका । पछि यो खेल संस्कृति के सेलाउन थालेको थियो, अब फेरि बढेको छ । कारण ? यही नेपालगन्ज म्याराथन । जुन दिन नेपालगन्जमा यो दौड हुन्छ, सारा सहर ब्युँझिन्छ, दौडिन्छ र अलिकति भए पनि निरोगी भएको महसुस गर्छ । यही त हो, म्याराथनले दिने भनेको ‘पोजिटिभ भाइब्स’ ।
अनि ‘सिटी म्याराथन’ को वास्तविक रूप पनि । काठमाडौंमै पनि काठमाडौं म्याराथनका नाममा दौड हुन थालेको धेरै भयो । पोखरामा पनि पोखरा म्याराथन हुन्छ । अचेल लुम्बिनीमा पिस म्याराथन पनि हुन्छ । धरान म्याराथनको आफ्नै ब्रान्ड छ । धनगढी म्याराथनले पनि गति लिन लागेको छ । यी सबै अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारिक दौड भए । यिनै दौड सँगसँगै हाफ म्याराथन र अन्य केही दौड पनि हुने गर्छ । पूर्ण म्याराथनसम्म पुग्नका लागि बाटो भनेकै हाफ म्याराथन हो । निश्चित छ, पूरा म्याराथनभन्दा हाफ म्याराथनमा आम जनताको पहुँच बढी हुने गर्छ ।
यस्ता दौडहरू साँच्चै बहुआयामिक हुन्छन् । नेपाली एथलेटिक्ससँग लामो समयदेखि जोडिएका एक खेलकर्मी हुन्, निलेन्द्रराज श्रेष्ठ । उनी नेपाल ओलम्पिक कमिटीका महासचिव पनि हुन् । उनी आफैं काठमाडौं म्याराथनका आयोजक हुन् । भन्छन्, ‘म्याराथन होस् अथवा हाफ म्याराथन, यसको आर्थिक, सांस्कृतिक, स्वास्थ्यदेखि धेरै क्षेत्रमा प्रभाव हुन्छ । खेल स्वयंमा हुने भयो नै ।’ दक्षिण एसियामै पनि नेपाल म्याराथनमा सबैभन्दा बढी समृद्ध छ ।
नेपाल सहभागी भएको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता एथलेटिक्सको म्याराथन नै हो । नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक म्याराथनबाट हो । नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण म्याराथनबाटै हो । अनि नेपालले सबैभन्दा बढी अन्तर्राष्ट्रिय सफलता हात पारेको पनि म्याराथनमै हो । दक्षिण एसियाको कीर्तिमान समय पनि नेपाली खेलाडीकै नाममा छ । नेपालमा दौडको परम्परा सुरु भएको पनि धेरै अगाडिदेखि हो भन्ने धारणा छ ।
‘दौडिनु स्वास्थ्यका दृष्टिकोणबाट सबैभन्दा उत्तम उपाय हो,’ श्रेष्ठ भन्छन्, ‘दौडले स्वास्थ्यलाई लिएर जागरुकता ल्याउँछ ।’ उनी म्याराथनलाई अर्थसँग पनि जोड्न चाहन्छन् । ‘म्याराथन पछिल्लो समय अर्थसँग सबैभन्दा नजिकले जोडिएको छ । म्याराथनको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ । म्याराथनका लागि स्वदेश र विदेशबाट सहभागिता आउँछ । यसका लागि एकभन्दा बढी दिनको भ्रमण हुन्छ । एक जना मात्र होइन, पूरा परिवार यस भ्रमणमा जोडिने गर्छ ।’
उनी थप्छन्, ‘फेरि म्याराथन नै एक मात्र यस्तो खेल विधा हो, जसमा हजारौं हजारको सहभागिता सम्भव हुन्छ । ठूला म्याराथनमा ५० हजारदेखि एक लाखसम्मको हाराहारीमा सहभागिता हुन्छ ।’ महासचिव श्रेष्ठले नेपालमा म्याराथन अथवा हाफ म्याराथनको आयोजना गर्दा ट्राफिक व्यवस्थापनलाई भने सबैभन्दा ठूलो चुनौती मान्छन् । उनले प्रायः भन्ने गरेका छन्, सहरले आफू सभ्य र सुसंस्कृत छ भनेर देखाउन खोज्ने भनेकै म्याराथन आयोजनाका बेला हो ।
लामो दूरीको दौड आयोजना भएका बेला सहरका प्रत्येक नागरिक जागरुक हुनुपर्छ । दौडलाई सफल बनाउन आफैं अगाडि आउनुपर्छ । कान्तिपुर हाफ म्याराथनले पनि आयोजनाका बेला यस्तै अपेक्षा गर्छ । अनि यसको प्रभाव सबै क्षेत्रमा परोस् भन्न चाहन्छ । कान्तिपुर म्याराथनको एउटा उद्देश्य हो, सांस्कृतिक जागरण । त्यसैले यसपल्टको नारा नै रहेको छ, ‘रन टु इन्सपायर योङ’ । आखिरमा युवाकै त जिम्मेवारी हो, दौडको माध्यमबाट आफ्नो सहरलाई सभ्य र सुसंस्कृत बनाउने ।
फाइल तस्बिर ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)