तल्लो वरुण हिमताल : पहिले र अहिले- विविधा - कान्तिपुर समाचार

तल्लो वरुण हिमताल : पहिले र अहिले

सन् १९७९ मा ०.३ वर्ग किलोमिटर मात्रै रहेको तल्लो मकालु वरुण हिमतालको क्षेत्रफल अहिले बढेर २.१ वर्ग किलोमिटर पुगेको छ । यसको क्षेत्रफल हरेक वर्ष बढिरहेको छ ।
सुदीप ठकुरी

संखुवासभा जिल्लामा अवस्थित मकालु वरुण राष्ट्रिय निकुञ्जको तल्लो वरुण हिमनदी क्षेत्रमा अवस्थित तल्लो वरुण हिमताल हिमालय क्षेत्रकै जोखिमपूर्ण तालको रुपमा चिनिन्छ ।

गत वर्ष मसहित त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नारायण घिमिरे, राजु चौहान र नविन गुरुङसहितको टोली त्यहाँ गएका थियौं । हाम्रो भ्रमणको मुख्य उद्देश्य हिमतालको वस्तुस्थिति र त्यसको गहिराइ मापन थियो । त्यसका लागि लागि हामीले दुई हप्ता त्यहाँ बितायौं ।


तल्लो मकालु वरुण हिमताल ।

हामीले गरेको अनुसन्धानको निष्कर्ष केही महिनाअघि प्रकाशितसमेत भएको छ । ५० वर्षअघि तल्लो वरुण हिमनदीमा यो तालको कुनै अस्तित्व थिएन । तर‚ पछिल्ला वर्षहरूमा यो तालको क्षेत्रफल बढ्दो अवस्थामा छ । यसअघि हाम्रै अध्ययनले पछिल्लो ३ दशकमा नेपालमा हिमतालको संख्या ५११ वटा थपिएको देखाएको थियो । त्यसमा हामीले ०.३६ हेक्टरभन्दा ठूला क्षेत्रफल भएका हिमताललाई अनुसन्धानमा समावेश गरेका थियौं ।


गतवर्ष प्रकाशित एक अनुसन्धान अनुसार महा लंगुर हिमाल (सोलुखुम्बु र संखुवासभा जिल्ला) क्षेत्रमा रहेका ३४५ तालहरूमध्ये तल्लो वरुण हिमतालसहित ७ तालहरू उच्च जोखिमपूर्ण देखिन्छ ।

अहिले लम्बाई २.८ किलोमिटर र चैडाई ०.७ मिटर रहेको मकालु वरुण हिमतालको क्षेत्रफल २.० वर्ग किलोमिटर पुगेको छ । जबकि यो सन् १९७९ मा ०.३ वर्ग किलोमिटरमात्रै थियो । त्यो सन् १९९० मा बढेर ०.६ वर्ग किलोमिटर भयो । त्यसपछि बढ्दै अहिले २.१ वर्ग किलोमिटर पुगेको हो ।

यो ताल हरेक वर्ष औसतमा बढ्दो अवस्थामा छ । योबीचमा मकालु वरुण हिमनदी(ग्लेसियर) पग्लिएर घट्दो अवस्थामा छ । सन् १९७९मा २४.६ वर्ग किलोमिटर रहेको हिमनदी अहिले घटेर २२.६ वर्ग किलोमिटरमा झरेको छ । यस तालको गहिराइ अहिले करिब १६५ मिटर र १०४ मिलियन मिटर क्युब पानी रहेको अनुमान गरिएको छ ।


सन् १९७३ र २०१८ मा भू-उपग्रहबाट लिइएको तल्लो वरुण हिमताल क्षेत्र ।

यसरी हिमनदी पग्लदै जानु र हिमतालको क्षेत्रफल बढ्दै जाँदा जुनसुकै अवस्थामा विस्फोटन हुने खतरा बढी हुन्छ । हरेक वर्ष नेपालमा वार्षिक रुपमा औसत तापक्रम वृद्धि ०.०३४ डिग्री सेल्सियस रहेको देखिन्छ भने अधिकतम तापक्रम ०.०४५ डिग्री सेल्सियस देखिन्छ । तापक्रम वृद्धिले हिमनदी पग्लने दर बढाउँछ ।


हिमतालको गहिराई मापनका गरिँदै ।

हिमताललाई मोराइन बाँधले वरिपरी घेरेर सुरक्षित राखेको हुन्छ । तल्लो वरुण हिमतालको उत्तरपट्टि रहेको पार्श्व मोराइन बाँध (मोराइन- ड्याम) वरुण नदीले काटिरहेको देखिन्छ र बाँधको मोटाइ पनि घट्दो अवस्थामा छ । त्यसैगरी तालको अगाडिको मोराइन बाँधको मोटाइ लगभग ६ सय मिटर र उच्च (२५%) ढलान रहेको छ ।

कमजोर बाँधका कारण कुनै पनि समय मोराइन बाँध फुटेर वरुण नदीमा पुग्‍ने र ठूलो भेलबाढी आउने सम्भावना छ । यी मोराइन बाँधको उचाइ लगभग ८० मिटर छ । हिमतालको क्षेत्रफल द्रूत रूपमा बढ्दो अवस्था देखिएकाले जोखिम ल्याएको हो ।

हिमतालको क्षेत्रफल बढ्दै जाँदा जोखिम बढ्ने भएकाले तल्लो तटीय क्षेत्रमा रहेको बस्ती र भौतिक संरचनामा क्षति हुने देखिन्छ । सन् २०१७ मा लाङ्माले हिमताल विस्फोटन हुँदा ठूलो क्षति भएको थियो । केही घर र पुलसमेत बगाएको थियो ।

लाङ्माले हिमताल तल्लो वरुण हिमतालभन्दा धेरै सानो ताल थियो तर यसको क्षति धेरै देखिएको थियो । एउटा सानो ताल विस्फोटन हुँदा यति धेरै क्षति हुन्छ भने ठूलो ताल विस्फोट हुँदा हुने क्षति धेरै नै हुन्छ ।

लाङ्गमाले हिमताल विस्फोटन (२० अप्रिल, २०१७) पहिले र पछिको भू-उपग्रहबाट लिइएको तस्बिर ।

तसर्थ हिमतालको जोखिम अध्ययन, नियमित अनुगमन र पूर्वसूचना प्रणाली जडान गरेर क्षति कम गराउन सकिन्छ भने हिमाली क्षेत्रमा निर्माण कार्य गर्दा हिमनदी र हिमताल विस्फोटनको विश्लेषण गरेर मात्रै संरचना निर्माण गर्न सकिन्छ ।

(जलवायु विज्ञ सह-प्राध्यापक ठकुरी मध्यपश्चिम विश्वविद्यालयको विज्ञान, प्रविधि र ईन्जिनियरिङ संकायका डिन हुन् ।)

प्रकाशित : वैशाख २९, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ । 

बिहीबार उनलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।

राजापाक्षेले राजीनामा दिएपछि विपक्षी दलका शीर्ष नेताहरूले राष्ट्रपतिले राजीनामा नदिएसम्म नबन्ने घोषणा गरेपछि विक्रमासिंघे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी योसहित पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन् ।

प्रकाशित : वैशाख २९, २०७९ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×