कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपोखरीको बालगोपालेश्वरमा कहिलेदेखि भाइटीकामा पूजा गर्न थालियो ? 

तिहारको भाइटीकाको दिन दाजुभाइ नहुने दिदीबहिनीहरू टीका लगाउन रानीपोखरीको बीचमा रहेको मन्दिर जाने गरे पनि त्यो प्रचलन कहिले, कसले, किन चलायो भन्ने प्रमाण अहिलेसम्म पाइएको छैन । त्यस्तो मैले वंशावलीमा पनि देखेको छैन, अभिलेखहरूमा पनि भेटेको छैन ।’
काशीनाथ तमोट

रानीपोखरी प्रताप मल्लको पालामा बनेको हो । र, बीचमा मन्दिर पनि त्यसैबेलै बनाइएको हो । यो त अभिलेखमै उल्लेख छ । रानीपोखरी बनाइसकेपछि प्रताप मल्लले पोखरीको कुरा पनि लेखाएका छन् ।

रानीपोखरीको बालगोपालेश्वरमा कहिलेदेखि भाइटीकामा पूजा गर्न थालियो ? 

वि. सं. १६८० मा जन्मेका प्रताप मल्लले १८ वर्षको उमेरदेखि शासन गरेको पाइन्छ । उनले वि. सं. १६९८–१७३१ सम्म राज्य गरेको देखिन्छ । त्यसैबखत उनले यो पोखरी बनाउन लगाएको हुनुपर्छ । त्यसबेलाको शिलापत्रमा २ थरी मिति उल्लेख भए पनि वि. सं. १७२७ आश्विन शुक्लपूर्णिमामा नै यो मन्दिर बनाइएको हुनुपर्छ भनी धनबज्र बज्राचार्यले इतिहास संशोधनको ‘प्रमाण–प्रमेय’ मा उल्लेख गरेका छन् ।

रानीपोखरी प्रताप मल्लको छोरा मर्नासाथ रातारात निर्माण गरिएको होइन । पाँच वर्ष लगाएर बनाइएको हो ।

किन बनाएको हो ?

चलनचल्तीमा प्रताप मल्लको छोराको मृत्यु भएपछि पुत्र वियोगले रानी निकै विहृवल भएपछि उनलाई सान्त्वना दिन बनाउन लगाएको भन्ने छ । त्यसैले यसको नामै रानीपोखरी राखिएको भन्ने छ । तर इतिहासमा चाहिँ त्यस्तो देखिँदैन ।

प्रताप मल्लको छोरा बिरामी भएपछि उसको स्वास्थ्यलाभको लागि यो पोखरी बनाएको जस्तो देखिन्छ । पोखरी बनाइसकेपछि त्यसको उद्घाटनका बेला पाटनका तत्कालीन राजा श्रीनिवास मल्ल पनि आएका थिए ।

रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर पनि त्यसैबेला बनाइएको हो त ?

होइन ।

त्यो पछि बनाइएको जस्तो देखिन्छ । किनभने त्यतिबेलाका अभिलेखहरूमा बालगोपालेश्वरको मन्दिरमा तिहारको भाइटीकाको दिन आफ्ना दाजुभाइहरू नभएका दिदीबहिनीहरू टीका लगाउन जाने गरेको कुरा कतै पनि अभिलेखमा उल्लेख भएको पाइँदैन । कुन बेलादेखि यस्तो चलन चल्यो अहिलेसम्म त्यसको तथ्यपरक इतिहास पाइएको छैन । त्यतिबेलैदेखि यो प्रचलन चलेको पनि हुनसक्छ । पछिबाट चलेको पनि हुनसक्छ ।

मन्दिरको बीचमा शिव लिङ्ग छ । भित्तामा हरिशङ्करीको मूर्ति छ । हरि भनेको विष्णु हुन् र उनको श्रीमती लक्ष्मी भइन् । अनि शङ्करी भनेको महादेव शङ्करको श्रीमती पार्वती भइन् । लक्ष्मी र पार्वतीको आधी–आधी मूर्ति छ त्यहाँ ।

तर पछिपछिकाले गौरीशङ्कर नाम राखे । कालक्रममा यमलेश्वर पनि भनियो । अहिले फेरि बालगोपालेश्वर भनिन्छ । जसले जे नाम राखे पनि त्यहाँ भएको मूर्तिचाहिँ हरिशङ्करीकै हो । हरिशङ्करीको त्यही मूर्तिलाई नचिनेर राणाकालमा लेखिएका सबै अभिलेखमा हरिशङ्कर भनेर लेखियो । अहिले बालगोपालको मूर्ति राखेर बालगोपालेश्वर भन्न थालियो ।

हुन त बालगोपालको मूर्ति प्रताप मल्लकै पालादेखि हनुमानढोकामा छ । कृष्णको बच्चा अवस्थाको मूर्ति नै हो बालगोपालेश्वर । मूर्ति विज्ञानको कुरा थाहा नपाएर मानिसहरूले समय–समयमा अन्दाजमा नाम दिँदै जाँदा अहिले बालगोपालेश्वर भन्ने नाम चल्तीमा आएको हुनु पर्छ ।

भाइटीकाको दिन दाजुभाइ नहुने दिदीबहिनीहरू त्यहाँ जान्छन् नि त ?

यो प्रचलन कहिलेदेखि चल्यो अहिलेसम्म कुनै पनि अभिलेख पाइएको छैन । यो प्रचलन चल्नु पछाडि पक्कै केही कारण त हुनुपर्छ । तर, हामीले अहिलेसम्म पाउन सकेका छैनौँ । मल्लकाल, राणाकाल वा शाहकाल कुन समयदेखि यो प्रचलन चल्न थाल्यो त्यसको अभिलेख अहिलेसम्म फेला पारिएको छैन । पछिपछि पनि थपिन्छ नि । त्यो सिलसिलामा तिहारको भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरमा गएर पूजा गर्ने चलन चलेको हुन सक्छ ।

अहिले बालगोपालेश्वर जुन नाम दिइएको छ नि पछिल्लो समय त्यहाँ बालगोपाल भन्ने मूर्ति पनि छ । अनि शिव लिङ्ग पनि छ । शिव लिङ्ग भएका ठाउँलाई ईश्वर रहेको मानेर पूजा गर्न थालिहालिन्छ । बालगोपाल र शिव लिङ्ग भएको ठाउँ भन्ने मूल अर्थमा बालगोपालेश्वर भन्न थालिएको हुनुपर्छ । धेरै मानिसले भन्न थालेपछि सबैल मान्ने त हो नि ।

एउटा उदाहरण हेरौँ । हनुमानढोकामा अश्लिल चित्रैचित्र भएको एउटा मन्दिर छ-जगान्नाथ मन्दिर । तर त्यहाँ मूल मूर्तिचाहिँ विष्णुव्यूहको छ । अर्थात् विष्णुको चारमुख चारतिर लेखिएको छ । तर विष्णुव्यूह मूर्ति कसैले पनि भन्दैन । पछि त्यहाँ प्रताप मल्लले गरे कि अन्य कुनै राजाले गरे, भित्तामा जगन्नाथको मूर्ति स्थापना गरियो । अनि त्यही नाम चलनचल्तीमा आयो । यसरी नामहरू चल्ती भइरहन्छ, मूर्तिहरू नचिन्ने खालका तान्त्रिक पनि हुन्छन् ।

हामीले त उमा–महेश्वर भनेर महादेव र पार्वती आधी–आधी भएको मूर्ति देखेका छौँ । लक्ष्मी–नारायण भनेर लक्ष्मी र नारायणको आधी–आधी मूर्ति पनि देखेका छौँ । पुरुष र नारीका अर्ध नारिश्वर मूर्तिहरू थुप्रै देख्न सक्छौँ । तर नारी–नारीको आधी–आधी मूर्ति भएको यो एउटा विचित्रको मूर्तिचाहिँ रानीपोखरीमा मात्रै पाइएको छ । हरिशङ्करी भनेको नारी–नारीको आधी–आधी मूर्ति हो । हरि भनेर विष्णु भन्ने बुझे पनि विष्णुको श्रीमती लक्ष्मी भन्ने बुझ्नु पर्छ । किनभने शङ्करी भन्ने इकार पछाडि आयो नि, त्यसबाट नारी–नारीको मूर्ति भन्ने बुझ्नु पर्छ । त्यसकारण रानीपोखरीको बीच भागको मन्दिर भएको मूल देवताचाहिँ हरिशङ्करीकै हो । समय कालक्रममा नाम फेरिएको हुनसक्छ । अहिले त्यसैले मानिसहरू बालगोपालेश्वर भन्छन् । यस्तै छ ।

तिहारको भाइटीकाको दिन दाजुभाइ नहुने दिदीबहिनीहरू टीका लगाउन त्यहाँ जाने गरे पनि त्यो प्रचलन कहिलेदेखि कसले, किन चलायो भन्ने प्रमाण अहिलेसम्म पाइएको छैन । त्यस्तो मैले वंशावलीमा पनि देखेको छैन, अभिलेखहरूमा पनि भेटेको छैन ।

रानीपोखरीको चारैतिर राखिएका अभिलेहरूमध्ये अहिलेचाहिँ नाचघरमा मात्र छ । त्यस्ता अभिलेखहरू अरू कहाँकहाँ छन्, थाहा छैन । रत्नपार्कको आकाशेपुल राखेको ठाउँ पनि अभिलेख हुनुपर्ने हो । तर त्यो पनि कहाँ पुग्यो पत्तो छैन । रानीपोखरीमा बालगोपालेश्वरको मूर्ति कहिले राखियो र भाइटीकाको दिन त्यो मन्दिर खोलेर पूजा गर्ने प्रचलन चल्यो वंशावली वा अभिलेखहरूमा नभेटिएसम्म म यसबारे केही भन्न सक्दिनँ ।

(संस्कृतिविद् तमोटसित इकान्तिपुरका ध्रुव सिम्खडाले गरेको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक २०, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?