राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बीपी जन्मजयन्ती

राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व

राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् ।
विपिन अधिकारी

विश्व कारागार साहित्यमा बीपी कोइरालाको जेल जर्नलको विशेष महत्त्व छ । नेपाली भाषामा २०५४ मा जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीको आत्म संवादको रूपमा लिपिबद्ध कृति जेल–जर्नल विश्वजेल साहित्यमा एउटा उल्लेखनीय कृति हो । उनको अंग्रेजीमा लेखिएको २०३३–३४ को पछिल्लो जेल डायरीको नेपाली अनुवाद फेरि सुन्दरीजलले पहिलो प्रयासलाई अझ सार्थक बनाएको छ ।

उपरोक्त दुवै जेल डायरीलाई दुई वर्षअघि प्रकाशित ‘बीपी कोइरालाको डायरी (२००८–२०१३) ले पूर्वाधारको काम गर्दछ । २००७ सालको नेपाली क्रान्तिको वास्तविक सूत्राधारका रूपमा सक्रिय राजनीतिमा रहँदा लेखिएको यो पछिल्लो डायरीले क्रान्ति पछिको राजनीतिक विकासमा बीपीको संघर्षशील सक्रियता, सत्ता अन्तर्द्वन्द्व, योग्यता, धैर्य, आक्रोश र कमिकमजोरीलाई विविधरूपमा व्यक्त गरेको छ । यसमा बीपी भन्छन्, ‘जब म मेरो व्यक्तिगत खुसी र सन्तोषको कुरा सोच्छु, मलाई मेरो नैतिक अस्तित्वमा केही अभावको बोध हुन्छ ।’

वास्तवमा, बीपीको बारेमा बीपी आफैभन्दा अरूले लेखेका विषय नै मूल प्रवाहमा रहेको नेपालको लामो इतिहास छ । यो इतिहास विद्वेषपूर्ण वा आग्रह र पूर्वाग्रहहरूको रूपमा बीपीप्रति लक्षित भएको बुझ्न सकिन्छ ।पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।

त्यसबेला लेखिएका सन् १९६६ को भुवनलाल जोशी तथा लिओई. रोजको ‘डिमोक्रेटिक इन्नोभेसन्स इन नेपालः अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन’ जस्तो सीमित पुस्तक तथा विश्लेषणहरू बाहेक धेरैले बीपीलाई न्याय गर्न नसकेको स्पष्ट परिस्थितिमा यी प्रकाशित डायरीहरूले बीपीलाई बुझ्न ठूलो भूमिका निर्वाह गरेका छन् ।

बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ ।

धेरै महत्त्वपूर्ण व्यक्तिहरूले कारागारमा छँदा आ–आफ्नो डायरी लेखेर समयको सदुपयोग गरेको पाइन्छ ।ज्याक अब्बोट्ट, जेफ्री आर्चरका कारागारका डायरीहरू प्रसिद्ध छन् । ज्याक अब्बोट अमेरिकी अपराधी तथा लेखक थिए । उनको सन् २००२ मा मृत्यु भयो । आर्चर पूर्व राजनीतिज्ञ तथा अंग्रेजी उपन्यासकार हुन् । उनी सन् १९६९–१९७४ को अवधिमा बेलायतका संसद सदस्य थिए ।

एउटा वित्तीय जालझेलका कारण उनी दामासाहीमा परे । यी दुवै लेखकहरूको जेल डायरी आज अत्यधिक चर्चामा रहेको मानिन्छ । अमेरिकी उपन्यासकार नर्मन मेलरले ज्याक अब्बोटको जेल डायरीलाई धेरै प्रशंसा गरेको पाइन्छ ।

यी लेखकहरू बीपी कोइरालाजस्तो ठूलो विषद् राजनीतिक संघर्ष भएको बहुआयामिक व्यक्तित्व होइनन् । बीपीका डायरीहरूले कसैको डायरी वा कारागार पत्राचारबाट प्रभावित भएर आफूले डायरी लेखन गरेको उल्लेख गरेको पनि देखिँदैन । तथापि यस क्षेत्रमा धेरै स्थापित नाउँहरू पनि छन् ।

हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ ।

एउटा राजनीतिज्ञका रूपमा कम्युनिष्ट पार्टीको शासनलाई देशमा अनन्तकालका लागि संस्थागत गर्ने हो ची मीन्ह राजनीतिक स्वतन्त्रताको अर्थमा महत्त्व राख्दैनन् तर चीनका माओ त्से तुङजस्तै बलिया राष्ट्रवादी मानिन्छन् । उनको चिनियाँ भाषामा लेखिएको ‘जेल डायरी’ कारागारभित्रको परिस्थिति, कूप्रशासन, शोषण र दमन तथा भियतनामको विविध विषयसँग सम्बन्धित छ ।

तुलनात्मक रूपमा बीपीका दृष्टिकोणहरू धेरै उदार धरातलमा आधारित छन् र बलिया तथा सिद्धान्त प्रेरित पाइन्छन् । हो ची मीन्हले कविताको माध्यमबाट आफूलाई व्यक्त गरे । बीपीले इतिहास, साहित्य, दर्शनशास्त्र तथा प्रजातान्त्रिक चिन्तनका आधारमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

त्यस्तै नवमार्क्सवादका चिन्तक एन्टोनियो ग्राम्शीको ‘जेल डायरी’ पनि धेरै प्रसिद्ध छ । उनी इटलीका कम्युनिस्ट पार्टीको संस्थापक, मार्क्सवादको सिद्धान्तकार तथा प्रचारक थिए । एन्टोनियो ग्राम्शीलाई मुसोलिनीले ६ वर्ष थुनामा राखे । यसैबेला उनले आफ्ना नोटबुकहरू लेखेका थिए । मुसोलिनीको राज्यलाई एउटा फासिष्ट राज्यको रूपमा लिइन्छ । नेता अधिनायकवादी तथा राज्य फासिष्ट भएपछि के बाँकी रहन्थ्यो? थुनिएका ग्राम्शीले जेलमा रहुञ्जेल पुँजीवादी राज्यको वितन्डाका बारेमा डायरी लेखे ।

बुद्धिजीवीदेखि सांस्कृतिक आधिपत्यसम्मका कुरा उनले लेखेका छन् । बीसौं शताब्दीका प्रारम्भिक चार दशकको अवधि दक्षिणपन्थी फासिष्ट विचारधारासँग जुध्ने तथा साम्यवादको पक्षधरताको प्रयासका लागि प्रसिद्ध छ । ग्राम्शीले कारागारमा छँदा ३० वटा नोटबुक र तीनहजार पृष्ठ जति इतिहास विश्लेषण तथा आफ्नो दृष्टिकोण लेखेका थिए ।

दर्शनको क्षेत्रमा ग्राम्शीले ऐतिहासिक भौतिकवादका समस्याहरूलाई सम्बोधन गरेको देखिन्छ । कारावासका समयमा लेखिएको नोटबुक ग्राम्शीको विचारधारा र सैद्धान्तिक लेखनको प्रतिनिधि दस्तावेज हो । यसमा उनले ‘बेस एण्ड सुपरस्ट्रक्चर’ (आधार तथा विशिष्ट संरचना) सिद्धान्त समाजको तल रहेका सर्वहारा वर्ग र बुद्धिजीवी समुदायको पारस्परिक सम्बन्धहरूको विश्लेषण गरेका छन् । विचारधारा (दर्शन, कला, नीति, इत्यादि) को सापेक्षिक स्वतन्त्रताको गहिरो अध्ययन र विश्लेषण त्यसमा छ ।

इटालियन संस्कृतिको अध्ययन, क्याथोलिक धर्म, बेनेदेतो क्रसको अभिव्यञ्जनावादी दर्शन र समाजशास्त्रमा प्रत्ययवादी (चेतनामूलक) सिद्धान्तको आलोचनाकोमार्क्सवादी चिन्तनशैलीमा धेरै महत्त्व राख्दछन् । अति प्रभावकारी हुँदाहुँदै पनि प्रजातान्त्रिक मान्यताहरूमा ग्राम्शीले समय खर्च गरेनन् । उनको बाटो त्यो थिएन ।उनले छोएका अधिकांश विषयहरूमा बीपीका आफ्ना दृष्टिकोण छन् । तर बीपीको मूल आधार प्रजातान्त्रिक समाजवाद रहेको थियो ।

नेल्सन मण्डेला थुनामा रहँदा लेखिएका विभिन्न दैनिकी, संक्षिप्त लेख तथा चिठीहरू त्यतिकै प्रसिद्ध छन् । उनले आफ्नो जीवन तथा अनुभवको बारेमा तिनमा लेखेका थिए । नेल्सन मण्डेलाको 'अ लंग वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मण्डेला' एउटा स्तरीय पुस्तक हो । कन्भर्सेसन्स विथ माइसेल्फ त्यतिकै महत्वपूर्ण छ । उनको प्रिजन लेटर्स सन् २०१९ मा प्रकाशित भए ।

रङ्गभेद विरोधी क्रान्तिकारी राजनेता तथा परोपकारी व्यक्ति मण्डेलाका डायरीमा उनको राजनीतिक प्रतिबद्धतामात्र नभएर मानवतामुखी व्यक्तित्व पनि झल्किन्छ । रङ्गभेदविरुद्ध तथा राजनीतिक समानताको लडाइँमा मण्डेला अद्वितीय मानिन्छन् । बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् ।

मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । लुथरलाई बर्मिङ्घममा जातीय विभेदविरुद्ध गरिएको एउटा अहिंसात्मक विरोधका लागि थुनिएको थियो । त्यसै जेलबाट लेखिएका उनका चिठीहरू निकै प्रसिद्ध भए ।

‘इन्जस्टिस एनिहृवेयर इज अ थ्रेट टु जस्टिज एभ्रिहृवेयर’ अर्थात् कहीँ पनि भएको अन्याय सबैतिरको न्यायका लागि एउटा खतरा हो भन्ने उनको महानवाणी त्यस्तै चिठीबाट सार्वजनिक भएको हो । बीपीका डायरीहरूमा पनि यस्तै सयौं महत्त्वपूर्ण भनाइहरू भेटिन्छन् ।

झ्यालखानामा लेखिएका कतिपय पुस्तकहरू धेरै प्रसिद्ध छन् । वास्तवमा डायरी लेख्नेभन्दा पुस्तक लेख्ने धेरै पाइन्छन् । आजकै मितिमा पनि नाजी पार्टीका नेताका रूपमा हिटलरको सन् १९२५ र १९२६ मा लेखिएको उनको आत्मअभिव्यक्तिका रूपमा रहेको घोषणापत्र ‘मेन क्याम्फ’ राम्रो पुस्तक मानिँदैन यद्यपि यो अत्यधिक प्रसिद्ध छ ।

‘मेन क्याम्फ’ले विश्व नेतृत्वमा स्थापित हुन यहुदी जनताले गरेको कथित् षडयन्त्रलाई उल्लेख गर्दछ । यसको मूल विषय यहुदी विपत्ति हो । हिटलरको भनाइमा जर्मन जातिको पवित्र उद्देश्य आफ्नो जातिगत तत्वहरूलाई कायम राख्दै आफूलाई प्रभावशाली रूपमा स्थापित गर्ने हो ।

हिटलरको भनाइमा जो राम्रा जातिका छैनन् उनीहरू भुस हुन् । जर्मन जातिले कुकुर, घोडा र बिरालाको मात्र प्रजनन् गराएर बस्ने होइन आफ्नो रगतको विशुद्धता पनि सुरक्षित राख्ने हो । बीपीले आफ्नो उपन्यास ‘हिटलर र यहुदी’मा यस विषयलाई विस्तारका साथ विवेचना गरेका छन् ।

बीपीको राष्ट्रवादको कुनै चेतना हिटलरलगायत कुनै नाजी नेतृत्व वा समर्थकमा थिएन । यो पुस्तकले हिटलर कस्तो प्रक्रियाबाट क्रमशः यहुदी विरोधी तथा सैन्यवादी हुँदै गए भन्ने बुझ्न मद्दत गर्दछ । वास्तवमा जेलभित्र बसी युरोपको सत्यानाश गर्ने जुक्ति सिर्जनामा मात्र यो पुस्तक सहायक हुन सक्यो ।

अलेक्सान्द्र सोल्झेनित्सिन स्टालिनलाई खिसी गरेको कारणले जेलमा परे । उनी दार्शनिक तथा इतिहासकार पनि थिए । उनलाई सोभियत संघको सबैभन्दा प्रसिद्ध प्रतिपक्षी मत पनि मानिन्छ । कम्युनिस्ट प्रणाली तथा राजनीतिक दमनको उनले विरोध गरेका थिए ।

१९४५ तिरको कुरा हो, उनले लेखेकोद गुलाग आर्किपेलागो १९८९ मा छापियो । सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो ।

यसलाई राजनीतिक फरक दृष्टिकोण राख्नेलाई दमन गर्न प्रयोग गरियो । सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो । राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ ।

बीपीका डायरीहरू राजनीतिक अर्थमा अत्यन्त प्रभावशाली छन् ।बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्‍यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु, तर उनको निरंकुश शैलीको मैले सधैं र सबैभन्दा बढी विरोध गरेको छु ।

मैले हिन्दुस्तान बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरो गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ ।’ उनको भनाइ छ, ‘नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्श र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो र मलाई लाग्छ, यस मुलुकको उज्जवल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराको निरन्तरता रहनु पर्दछ ।

जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ आफ्ना यी अडानहरूका बारेमा कसैले भ्रमित नगरून् भन्ने बीपीको अपेक्षा छ ।

आफ्नै कलमद्वारा अभिव्यक्त बीपीका मौलिक विचारहरूले गर्दा दुवै जेल डायरीले उनका बारेमा भ्रमित नहुने अवस्थाको सिर्जना गरेका छन् । यसैगरी ८ जेठ २०३९ मा क्यान्सरको इलाज गर्न दिल्ली जानुअघि गरेको टेप वार्तामा बीपीले फर्किएर आइएला, नआइएला भन्ने त्रासबीच दिएको अन्तिम सन्देशलाई यहाँ उल्लेख गर्नु जरूरी छ । २०६३ मा प्रकाशित राजा, राष्ट्रियता र राजनीतिमा बीपीले आफ्नो कुरालाई यसरी बिट मारेका छन् :

१. हामी बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ । ... त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्दछन्, तीसँग हामीले वैमनष्यताको सम्बन्ध राख्नु हुँदैन । जस्तो, राजतन्त्रको बारेमा ।

मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताको लागि, अहिले जो विपत्ति परेको छ । बाहिरियाबाट त्यसलाई बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजक भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ ।

२. आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौँ भने त्यो गाउँको विकास हो ।... गाउँको विकास भनेको मतलव के हो भनेदेखि ठूल्ठूला उद्योगधन्दाको विकासमात्र गर्ने होइन । गाउँलाई चाहिने आवश्यकताको कुरा गाउँमा नै उपलब्ध हुन सकोस् ।

३. जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन ।

४. हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन ।

५. कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।... मेरो अगर देन केही छ भने यो देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।

उपरोक्त पृष्ठभूमिमा एउटा मयार्दित आस्थाको बन्दीको रूपमा लेखिएका पछिल्ला दुवै डायरीहरू हजारौं प्रति बिक्री भइसकेको छ । तथापि यी सामग्रीहरूको समग्र प्राज्ञिक अध्ययन नहुञ्जेलसम्म नेपालको राष्ट्रनीतिमा बीपीको योगदान अन्तर्राष्ट्रिय जगत्‌ले बुझ्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय साहित्यमा जेल पर्दा लेखिएका उपन्यास, नाटक, कविता तथा राजनीतिक विषयहरूको कमी छैन । राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ ।

बन्दी जीवनको यथार्थ एउटा कुरा भयो । तर समग्रमा नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीहरूसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणीहरू यसमा परेका छन् ।

व्यक्तिहरूले झ्यालखाना बस्दा कलम चलाएको देखिन्छ । बीपीको उपस्थिति यो हूलमा अलि फरक हो । मूलतः बीपी राजनीतिमा सक्रिय व्यक्ति तथा चिन्तक थिए । जनताबाट अनुमोदित भइसकेपछि उनलाई जेल हालिएको थियो । प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गर्दै मुलुकको प्रधानमन्त्री तथा सबैभन्दा सिद्धान्तनिष्ठ प्रतिपक्षका नेताका रूपमा यसरी साहित्य सिर्जना गर्ने अवसर कमैले पाएका छन् ।

विश्व राजनीतिमा धेरै नेताहरू जेल गएका छन् । तर आफ्नो युगको आदर्श, नैतिकता र मान्यताहरूका लागि आफूले गरेको संघर्षलाई लेखबद्ध गर्ने तथा आफूलाई समग्र समालोचनाका लागि खुला राख्ने नेताहरू कमै हुन्छन् ।

प्रजातन्त्र तथा राष्ट्रवादप्रति समर्पित बीपीका दुवै जेल डायरीहरूले बीपीको आदर्श, नैतिकता र मान्यताहरूका लागि गरिएको महान् संघर्षलाई शब्द चित्रमा उतारेका छन् ।

३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा पहिलोजस्तै सम्पूर्ण मानवीय आवेग, उद्विग्नता, उत्तेजना र उदासीहरूको नितान्त निजी व्यक्तित्वसम्मको अवलोकन र अनुभूत यस डायरीका पानाहरूबाट गर्न सकिन्छ । वास्तवमा यी दुवै डायरीमा बीपीको वास्तविक योग्यता र औकात छर्लङ्ग देखिन्छन् ।

त्योभन्दा पनि बीपीको चिन्तनमा रहेको मौलिकता तथा आफ्नो मुलुकप्रतिको समर्पणको यी दुवै डायरीहरू उत्खननमा पाइएका गाडधन नै हुन् । ठूलठूला उद्भव भएका धेरै नेताहरू जस्तो जर्मनीका एडल्फ हिटलर वा भियतनामका हो ची मीन्हजस्ता कुनै बेलाका एकदमै महान् व्यक्तिहरू पनि अन्ततः प्रजातान्त्रिक निष्ठामा कमजोर सावित भएको विश्वइतिहास छ । बीपी यी डायरीबाट अझै कञ्चन देखिएका छन् ।

अतः बीपीका सबै डायरी विश्वजेल साहित्यमा धेरै महत्त्व राख्दछन् । तर यिनले भाषागत कारणले विश्व पाठकमञ्च प्राप्त गर्न सकेका छैनन् ।

प्रकाशित : भाद्र २४, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली वास्तुकला र नवनिर्माण

सन् १९५०–५१ पछिको खुला नेपालले सम्पदामा रहेको आफ्नोपन बुझ्न सकेन । जिम्मेवारी पाएका मान्छेहरुले निर्माणमा परम्परागत शैली प्रवर्द्धन गरेनन् । आधुनिक भनिएका ज्ञान र विज्ञानले परम्परागत विषयवस्तुलाई आधुनिकीकरण गर्नुको साटो बहिष्करण गरे ।
विपिन अधिकारी

‘सौन्दर्य मान्छेको जीवनमा नाश हुन्छ, रारा कलमा अमर रहन्छ’ भनेका छन् पुनर्जागरणकालीन प्रख्यात इटालियन कलाकार लियोनार्दो दा भिन्चीले । धेरै गहिरो छ यो कुरा । तर नेपाली वास्तुकला, कलाकारिता र लोक परम्पराको कुरा केवल सौन्दर्यको होइन । यो सरल जनजीवन, हाम्रो समाज र यसको औकातसँग सम्बन्धित कुरा पनि हो ।

काठमाडौं विश्वविद्यालयस्थित स्कुल अफ लको निमन्त्रणामा भारत दिल्लीबाट भिजिटिङ प्रोफेसरका रूपमा आउनुभएका मेरा पूर्वप्राध्यापक भीके दीक्षितलाई लिन म त्रिभुवन विमानस्थल गएको थिएँ । उहाँलाई मोटरमा धुलिखेल पठाउनुअघि म बानेश्वर थापागाउँमा ओर्लन चाहन्थेँ । बडो पुलकित भएर प्लेनबाट ओर्लिंदै एयरपोर्ट बाहिर निस्केका प्रा. दीक्षितको अनुहारको उल्लास एयरपोर्ट गेटबाट दाहिने गौशालातर्फ लाग्नेबित्तिकै हराइसकेको थियो । थापागाउँमा म झर्नुभन्दा पहिले उनले भने, ‘नेपालबारे मेरो बेग्लै तस्बिर थियो । तर कुनै साधारण भारतीय सहरभन्दा फरक लागेन । कता हरायो नेपालको ऐतिहासिक तस्बिर ? पर्सी ब्राउनले वर्णन गरेजस्तो, सिल्भाँ लेभीले लेखेजस्तो !’ कुरा साँचो हो । नेपाल र नेपाली मन पराउने पाको उमेरका ती प्राध्यापकलाई पनि आफ्नो ‘होस्ट’ का अगाडि तटस्थ हुन गाह्रो भयो । नेपालले त्यो पहिचान अब लगभग बिसाइसकेको देखिन्छ ।

चार दशकअघिको कुरा हो । म मधेसबाट पहिलोपल्ट काठमाडौं आउँदा बसबाट ओर्लिएको ठाउँ हो गौशाला । बेलुकी हुनै लागेको थियो । त्यो बस लहानबाट हाई स्कुलका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर आएको थियो । थानकोटबाट छिरेदेखि नै बाटोबाट देखिएको काठमाडौं मलाई ‘सेन्सेसनल’ लाग्यो । त्रिभुवन राजपथको वाक्वाकी हराएको थियो । सँगै साथी ललिता श्रेठ (मैथिली गायिका) पनि थिइन् । अहिलेको स्तरमा सोच्ने हो भने हामी दुवै मधेसकालाई सिरहाका दुई अलगअलग गाउँबाट एकैपटक न्युयोर्कको म्यानहटन पुगेजस्तै भएको थियो । निश्चित रुपम म्यानहटनका विशेषता फरक छन् काठमाडौंका भन्दा । तर दुवै सहर एकअर्काको मापदण्डमा नमिल्ने, मनमा खलबली मच्चाउने खालका । सोध्दैसोध्दै म दिदी भए ठाउँं मित्रपार्कतिर लागेँ । दिदीले खाजा दिनुभयो । पेट टम्म भएपछि म दिदीको आँखा छलेर मिलिक्क गौशालातिर फर्कें । कारण थियो– बाटोमा पर्ने जय बागेश्वरीको मन्दिर । काठमाडौंको पहिलो संवेदनात्मक परिचय यसैले दिएको हो ।

अघि आउँदा देख्नेबित्तिकै मलाई त्यो मन्दिर नहेरी नहुने भएको थियो । दुई/तीन फन्का लगाएपछि म फर्कें । यताउति चहार्दा दिदीको घर छेउकै चारुमती विहारतिर ठोक्किन पुगेँ । मन्दिरपछि दोस्रो परिचय यो बिहारले दिएको हो । अर्को खजाना हात लागेजस्तो । त्यसपछि छेउमै कसैलाई पनि सम्मोहित गर्ने चन्द्र विनायक मन्दिर (गणेस्थान) रहेछ । काठमाडौंको एउटा नमुना दुई घण्टामै छर्लङ्ग भएको थियो । त्यो नमुना थियो– घरबुना कपडाजस्तो कस्सिएर सिएको नेपाली वास्तुकला, कलाकारिता र लोकपरम्पराको । वास्तुकलाभित्र केके छन् ? त्यो त सोह्र सत्र वर्षको ठिटोले बुझ्न सक्ने कुरा थिएन । तर वास्तुकलाको बाहिरी स्वरूप अद्वितीय मात्रै थिएन, त्यसले एउटा सभ्यताको परिचय दिन्थ्यो । त्यस्तो सभ्यता जुन संसारमा कतै छैन, थिएन । यो चार दशकमा नेपाल कति ओरालो लागेछ, प्रा. दीक्षितको निर्दोष टिप्पणीबाट थाहा हुन्छ ।

हिमालको काखमा रहेको पहाड, उपत्यका तथा तराई एसिया महादेशका दुई ठूला भारतीय तथा चिनियाँ सभ्यताको बीचमा फरक परिचय लिई हुर्केबढेको थियो । सम्पूर्ण मुलुक विविधतायुक्त विशाल प्राकृतिक बगैँचा देखिन्थ्यो । सानाठूला जंगल, शीतल हावापानी, खोलानाला, रमणीय हरियोपरियो खेतबारी, तिनका बीचमा रहेका टुँडाल हालेका नेपाली शैलीका घरहरू, छेउछाउमै कतै तलैतला भएका पिरामिड आकारका मन्दिर, तिनलाई सुहाउने सुनौलो गजुर लय हालेर उपस्थित देखिन्थे । गाउँसहरले आफ्नो परिचय आफैं दिन्थे । यिनैको बीचमा रहेको काठमाडौं उपत्यका, यहाँको प्यागोडा शैलीका मन्दिर, शिखरशैलीका देवालय र स्तूप, गुम्बा वा चैत्यशैलीसँगै ठूला दरबार तथा घर अड्डाको वास्तुकलाका साथै सामान्य नागरिक आवास, धारा, कुवा, चौतारा, पाटीपौवा वा फाल्चा नेपाली वास्तुकलाका नमुना थिए । कुनै पनि सहर एक झल्कोमा यति सम्पन्न देख्न सकिँदैन । त्यो वैभव आफैमा नचिताएको प्राप्तिजस्तो देखिएको थियो ।

निश्चय पनि उपत्यकाका घरहरूको आँखीझ्याल र पुराना मौलिक शैलीका झिँगटी रंगरोगन, काठको भुइँ, दैलो, चुक्कुल, दलिन वा थामको प्रयोग नयाँ आउने सबैको चासोमा पर्छन् । भित्र–बाहिर भित्तामा प्रयोग गरिएको सुर्खीचुन र घर सिँगार्न प्रयोग गरिएका झल्लरीमल्लरी, छानो थेग्न बनाइएका काठका टुँडालमा कुदिएका देवता, युवकयुवती वा जनावरका आकर्षक मूर्तिहरूले कसलाई मोहित नगरेको होला ? झन् त्यसमा पनि उपत्यकाभित्रका बुङ्मती, खोकना र साँखु एवं उपत्यकाबाहिरका नुवाकोट दरबार क्षेत्र गोर्खा दरबार क्षेत्र वा दोलखा भीमेश्वर मन्दिर क्षेत्रका सम्पदाको के कुरा गर्नु ! बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड । निजी हुन या सार्वजनिक, सरकारी हुन् वा आम जनताको, यी सबै संरचनाले धार्मिक, सामाजिक, सांस्कृतिक तथा भाषिक परिचय स्थापित गरेका थिए । काठमाडौंलाई शताब्दियौंदेखि हिमवत् खण्डको सांस्कृतिक राजधानी त्यसै भनिएको रहेनछ ।

नेपाली वास्तुकला, ललितकलाका दृष्टिले मुलुक राष्ट्रिय संकटकाल लगाउनुपर्ने अवस्थामा पुगेको छ । बालबालिकालाई देखाउन सकिने केही ठाउँ छन् तर संस्कृतिसहित बाँच्न सिकाउने आधार अब लगभग छैन ।

नेपालीको सम्पदा चेतनाको इतिहास कति पुरानो छ ? विज्ञले भन्न सक्लान् । वास्तुकलाले आकार र प्रकार लिनुभन्दा पहिले कला–शिल्प र प्रविधिका परम्परा सुरु भए होलान् । भनिन्छ, सम्राट् अशोकले २५० इसापूर्वमा स्थापना गरेका स्तूपहरूभन्दा पहिलेका कुरा इतिहासमा पाउन गाह्रो छ । तराईको रुपन्देही र तिलौराकोट छेउछाउका क्षेत्रलाई आफैं राम्रो गरी उत्खनन् गर्दा प्रारम्भिक बौद्ध निर्माणका पुराना चिह्न पाउन सकिन्छ होला । स्वयम्भूनाथ र बौद्धनाथका विद्यमान तीर्थक्षेत्रबाट पनि धेरै कुरा थाहा हुन सकेको छैन । तर त्यसको पनि अझ अध्ययन अन्वेषण चाहिएको छ । चिनियाँ ताङ वंशका समयमा करिब ६५७ तिर घुम्न आएका यात्री वाङ ह्वेन–त्सेले पहिलोपल्ट नेपाली वास्तुकलाको गौरव गाथाको परिचय गराएका हुन् । उनका लेखोटहरूले नेपालमा रहेका ठूला तथा सुन्दर दरबारहरू, यहाँ भइरहेको बहुमूल्य ढुंगाको प्रयोग, काठका सुन्दर घरहरू तथा भित्तामा कोरिएका बेजोड चित्रहरू उल्लेख गरेका छन् । धेरै छाना भएका प्यागोडा शैलीका भवनहरू तथा तिनमा व्यापक रूपमा देखिएका शिल्पकला वर्णन गरिएको छ ।

लिच्छविकालका ती कलाकृति मल्लकालमा जनस्तरमा पुगेको देखिन्छ । ती शाह, राणाकालमा क्रमश: देशभरि छरिन गए । काठमाडौंको तलेजु, पाटनको मत्स्येन्द्रनाथको मन्दिर, भक्तपुरको चाँगुनारायणको मन्दिर र त्यहाँको न्यातपोल वा पाँचतले मन्दिर सबैका लागि नमुना भए । न्यातपोल देवललाई धार्मिक वास्तुकलाको सामान्य संरचना रूपमा लिन सकिन्छ । यसको प्रयोग धेरै ठाउँमा गरिएको छ । सबैभन्दा विशिष्ट छैटौं शताब्दीमा बनेको चाँगुनारायाणको मन्दिर नै हो । न्यातपोल देवल चाँगुनारायणजत्तिकै राम्ररी कुदिएको छैन । मन्दिरहरूबाहेक विहार वा मठहरूले पनि एउटा यस्तो शैली प्रदर्शन गर्छन्, जुन सधैं नै विशिष्ट छ । यी सबै वास्तुकला हिमाली राज्यको आवश्यकता तथा सम्भाव्यताका आधारमा निर्माण गरिएका हुन् । पर्सिवल लन्डनले लेखेका छन्– नेपालको घरेलु वास्तुकला अरू कुनै मुलुकको भन्दा चित्रमय (पिक्चरेस्क) छ । यो वनक्षेत्र भएको, धेरै पानी पर्ने र सूर्यको उज्यालो पाएको हिमाली राज्यको सम्भावना तथा आवश्यकतामा आधारित भएर गरिएको एउटा विशिष्ट प्रयोग हो । युरोपले यस्तो गर्न सकेको छैन ।

पाटन नेपालको सबैभन्दा पुरानो सहर मानिन्छ । काठमाडौंले पाटनबाटै सिक्यो । तीन सहरबीचको प्रतिस्पर्धाका आधारहरू सैन्यबलभन्दा भाषा, धर्म, संस्कृति, तिनलाई निर्वाह गर्ने वास्तुकला र कृषि तथा पशुपालनलाई निरन्तर कायम राखी अपनाइएको अन्तर्राष्ट्रिय व्यापार हुन गए । सिक्ने सिकाउने त्यो प्रवृत्तिलाई राष्ट्रिय एकीकरणले मलजल गर्‍यो । राज्यको स्पष्ट नीतिले गर्दा काठमाडौंको बौद्धिक, सांस्कृतिक सम्पत्ति सम्पूर्ण मुलुकमा फैलिँदै गयो । आज पनि देख्न सकिन्छ, धनकुटाको पुरानो बजार र सिलगढी डोटीको बजारमा केही फरक छैन । उस्तै डाँडो, भीर छाडेर बनेका पुराना नमुनाका घरहरू, उस्तै ढुंगाका भर्‍याङ, पसल–कवल, मन्दिर तथा देवलहरू । काठमाडौं छिर्ने पुरानो सहर भीमफेदी होस् वा व्यापारिक सहरहरू बन्दीपुर, बाग्लुङ वा पुराना किलाजस्ता गोर्खा वा धार्मिक महत्त्वका रिडी, यी सबै राष्ट्रिय कलापुञ्जका रूपमा विकसित भए ।

पोखरा र पाल्पामा झनै सघन उपस्थिति थियो । पर्सिवल लन्डनले आफ्नो पुस्तकमा रिडीको बयान गरेका छन् । नेपाली वनारस तीर्थ जान थाल्नुभन्दा पहिले रिडी जान्थे रे । कहाँ प्राचीन वाणारसी र कहाँ मध्यकालमा विकसित रिडी तर यसले प्रतिस्पर्धा गर्दो रहेछ । बाटोको कठिनाइ र वनारस जाने सहजता बढ्दै गएपछि रिडी सुक्यो वनारस फुक्यो । यसैको प्रमाण हो महारानी साम्राज्यलक्ष्मी देवीद्वारा आफ्नो नाममा बनारसमा नेपाली शैलीको शिव मन्दिरको निर्माण । बेलामा ध्यान नपुर्‍याउँदा आजको पिँढीलाई कालीगण्डकी वा मुक्तिनाथ थाहा होला तर रिडीबारे थाहा हुँदैन । राष्ट्रको सामूहिक विवेक यसरी नै क्षीण हुँदै जान्छ ।

कुरा पहाडको मात्र होइन । नेपाली वास्तुकला राणा शासनकै बेला क्रमश: निर्माण हुँदै गएका मधेसका सहरहरूमा पनि फैलिँदै गयो । पुरानो बुटवल बजार अब किताबको पानामा मात्र देखिन्छ तर नेपाली वास्तुकला त्यहाँ पनि झलझली देखिन्छ । वीर शमशेरले वीरगन्जमा बजार अड्डा राख्दा वा पं. कृष्णप्रसाद कोइरालाले घोग्राहाको नाउँ फेरि विराटनगर राखेपछि सहर निर्माणका लागि यही शैलीलाई पछ्याए । जनकपुरमा जानकी मन्दिर बनाउनुभन्दा पहिले राममन्दिर पनि यही शैलीमा बनाइएको हो । पश्चिमतर नेपालगन्ज नाका सञ्चालनमा आएपछि यही नेपाली मौलिक वास्तुकला प्रयोगमा आयो । त्यसैले कुनै पनि नाकाबाट नेपाल छिर्नेबित्तिकै यात्रीहरूले बृहत्तर भारत वर्षभन्दा नेपालमा नितान्त नौलो मौलिकता देख्थे । यी सबै प्रयोग मौलिक मात्र थिएनन्, स्थानीय हावापानी, भौगोलिकता, निर्माण सामग्री र अर्थ व्यवस्था सुहाउँदा थिए ।

पाटनमा जन्मेका अरनिको (सन् १२४५–१३०६) ले भोट र चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । उनी भेनिसका घुमक्कड व्यापारी मार्को पोलोका समकालीन थिए । उनले पनि सिल्क रोड हुँदै तत्कालीन मंगोलियन साम्राज्य, चीनलगायत विभिन्न मुलुक घुमेका थिए । तर अरनिको प्यागोडा शैलीका मन्दिरहरू निर्माण गर्ने दक्ष कलाकार थिए । उनले बनाएको श्वेत चैत्यलाई मित्रताको प्रतीक मानिएको छ । उनले नेपाली वास्तुकलालाई चीन हुँदै कोरिया र क्योटोसम्म फैलाए ।

तत्कालीन नेपालमा धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेक रासायनिक विधिको उच्चतम प्राविधिक क्षमता देखाइ प्रयोग गरिसकेका थिए । अरनिकोले बनाएको श्वेत चैत्य जाने बाटोको काठको द्वार, ढुंगाको सिँढी, चैत्यभित्रका तिकिझ्या, दीपंकर, शाक्यमुनि, मैत्रेय बुद्ध मूर्तिहरू अद्वितीय मानिन्छन् । महांकाल, श्वेत तारा, हरित तारा, अवलोकितेश्वर, पौभा चित्रहरू र मुख्यत: श्वेत चैत्यको गजुर नेपाली कलाकारिताका उदाहरण हुन् । अरनिकोले बौद्ध दर्शन र प्रतीकसहितको वास्तुकला चीनमा लगे । सिद्धान्तसमेत छिरेकाले उनको कलाकृति फैलिँदै गएको हो । यी सबैको धेरै महत्त्व छ । युरोपमा औद्योगिक क्रान्ति सुरु भएकै थिएन । नेपाल यस क्षेत्रमा चर्चित भइसकेको थियो ।

सन् १९५०–५१ पछिको खुला नेपालले सम्पदामा रहेको आफ्नोपन बुझ्न सकेन । जिम्मेवारी पाएका मान्छेहरूले निर्माण कार्यमा परम्परागत शैलीको प्रवद्र्धनमा केही गरेनन् । आधुनिक भनिएका ज्ञान र विज्ञानले परम्परागत विषयवस्तुलाई आधुनिकीकरण गर्नुको साटो बहिष्करण गरे । स्वदेशी वास्तुकला, कलाकारिता र त्यसको जगमा हुर्केको संगीत, वाद्यवादनलगायतका लोक परम्पराबारे राज्यका तर्फबाट प्राविधिक सहयोग, श्रृण वा अनुदान भनेर कुनै कार्यक्रम आउन सकेन । करको दर घटबढ मात्र गर्दा पनि परम्परागत शैलीहरू पुनर्निर्माणमा आफैं देखा पर्ने थिए । तर त्यस्तो भएन । निर्माण कार्यमा सबैभन्दा धेरै सरकारले खर्च गर्छ । तर सरकारको सोचमा यस्ता कुरा कहिल्यै आएनन् ।

उदाहरणका लागि बितेका केही वर्षमा सिंहदरबारभित्रका सबै खुला क्षेत्र भवनहरूले भरिए । तर मूलत: ‘पर्सियन’ तथा बेलायती शैलीको जुन रुप राणाहरूले नेपालमा समायोजन गरे त्यस रुपमा सिंहदरबारको विस्तार भएन । मूल पाटोलाई छाडिदिने हो भने राष्ट्रिय लज्जाका रूपमा देखिन्छ सिंहदरबार । डाँडाकाँडा, उपत्यका र समथरबाट खारिएर सिंहदरबारसम्म पुगेका नीति निर्माता वा प्रशासकहरूले आफू जन्मेको देस कति चिनेका रहेछन्, त्यो पनि थाहा हुन्छ । त्यसैले त भुइँचालोपछि अर्बौं रुपैयाँ खर्च हुँदै गरेको पुनर्निर्माणमा पनि नेपाली वास्तुकलाले ठाउँ पाएन । राज्यले खर्च गर्दा साझास्तरको निर्माण हुन सक्दैन भने अरू मापदण्ड के काम लाग्लान् ?

जे अपनाइएको छ, त्यसको स्तर छैन आधुनिक नेपालमा । लोकभाकामा भनिन्छ, ‘टाढाको जोगी सिद्ध, गाउँको जोगी गिद्ध ।’ नेपाली वास्तुकला, कलाकारिता र लोक परम्परा त गिद्ध नै बनाइएको छ आज । यसलाई जोगाउने हो भने पहिले संरक्षण दिनुपर्ने हुन्छ । पुराना बाँकी रहेका जेजस्ता छन्, तिनको संरक्षण मात्र नभएर नवनिर्माणबाट पनि पुनरुत्थान गर्ने प्रयास हुनुपर्छ । ग्रिसको एथेन्स, हंगेरीको बुडापेस्ट, रोमको इटाली, बेलायतको अक्सफोर्ड र मोरक्कोका पुराना सहरहरू यस्तै फरकपन लिएर विकसित भएका थिए । उनीहरूले आज पनि त्यो पहिचानलाई जोगाएकै छन् । तर गत चार दशकमा नेपाल यस अर्थमा स्वाहा हुने अवस्थामा पुगेको छ । केही कसर बाँकी थिए– तिनलाई भुइँचालोले चुनौती दिएको छ । राज्य अघि लाग्ने हो भने आज पनि हामीसँग त्यस्ता कलाकार तथा शिल्पी छन् जसले यो प्रयासलाई सफल बनाउन सक्छन् । अहिले नेपाल वास्तुकला, ललितकला इत्यादिको दृष्टिले राष्ट्रिय संकटकाल लगाउनुपर्ने अवस्थामा पुगेको छ । बालबालिकालाई देखाउन सकिने केही ठाउँ छन् तर संंस्कृतिसहित बाँच्न सिकाउने आधार अब लगभग छैन भन्दा हुन्छ । कसले गर्ने त ?

आफ्नो कुरा आफैले जोगाउनुपर्छ । साझा नेपाली पहिचानसँगै हामीसँग आ–आफ्ना क्षेत्र, जाति र संस्कृतिका ढल्दै गएका धरोहर पनि छन् तिनलाई पनि उकास्नु छ । सानोतिनो स्वार्थका लागि राष्ट्रिय सम्पदालाई उछितो गर्नु हुँदैन । आजसम्म जेजति हामीले पायौं, काठमाडौंका रैथाने नेवार जातिबाट पायौं, अब यस सम्बन्धमा सबै लाग्नुपर्छ । मुलुकले अहिले ७ सय ५३ वटा स्थानीय सरकार पाएको छ । चाहना गर्ने हो भने मुलुकभित्र चुर्नासरी व्याप्त कंक्रिटका जंगलहरू क्रमश: व्यवस्थापन गरी युगसापेक्ष परम्परागत वास्तुकलामा आधारित नवनिर्माण सुरु गर्न सकिन्छ । अठोट हुनुपर्छ । कवि धर्मराज थापाले कतै लेखेका छन्, ‘परेवाको भाले घुर्‍यो हिँउको टाकुरीमा, सुन फलाउने मेरै बल छ मेरै पाखुरीमा ।’

प्रकाशित : असार ६, २०७७ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×