कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ज्ञान र सीपको सदुपयोगमा पैसै पैसा

महाप्रसाद अधिकारी

काठमाडौँ — राष्ट्र बैंकले भर्खरै २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट प्रताडित अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ ? कसरी पुनरुत्थान गर्न सकिन्छ ? भन्ने कुरालाई दिमागमा राखेर नीति ल्याएका छौं । त्यसभित्र पनि साना, घरेलु उद्यमलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? भन्ने सोचका साथ ठूलो र लामो छलफलपछि ल्याएका छौं ।

ज्ञान र सीपको सदुपयोगमा पैसै पैसा

पैसा कहाँ छ ? घरमा बच्चालाई सोध्यौं भने पैसा डेडी/मम्मीको पर्सतिर देखाउँछन् । सर्वसाधारणलाई सोध्यो भने होइन पैसा त बैंकमा छ नि भनेर बैंकतिर देखाउनुहोला । बैंकर्स साथीहरू हुनुहुन्छ, उहाँहरूलाई सोध्नुभयो भने कहाँ हामीसँग हुनु, पैसा त राष्ट्र बैंकसँग छ भन्नुहुन्छ । हामी बिहान राष्ट्र बैंकबाट ल्याउँछौं, बेलुका लगेर राख्ने पनि त्यहीं हो । यहाँहरू सबैको बुझाइ त्यो हुन सक्छ । त्यो सबै गलत हो । पैसा बैंकसँग पनि छैन, राष्ट्र बैंकसँग पनि छैन । तपाईंहरूले भौतिक रूपमा देख्नुभएको मात्र हो । हामी ती सबैका संरक्षक हौं । यी सबै पैसा यहाँहरूसँग छ । पैसा व्यवसायमा छ, पैसा उद्यममा छ, पैसा यहाँहरूको दिमागमा छ, पैसा यहाँहरूको सीप, पाउनु भएको सूचनालाई सही किसिमले लगानी गर्ने ठाउँमा छ ।

हामीले तपाईंहरूले गरिरहनुभएको कारोबार छ, व्यवसाय छ, त्यसलाई सहजीकरण गर्ने माध्यम मात्रै बनाएदिएका हौं, चाहे मैले हस्ताक्षर गरेका नोट होस् वा पूर्वगभर्नरले गरेका होस् । तपाईंहरूले काम गरेको मूल्यलाई एक ठाउँ लगेर स्टोर मात्र गरेका हौं । त्यसले गर्दा पैसा, जसले व्यवसाय गरिरहेका छन्, जसले उद्यमशीलता गरिरहेका छन्, त्यहाँ छ । प्रत्येक व्यक्तिले आफूले कमाइरहेको कुरालाई केही हदसम्म बचत गरेर, फोर्सफुल्ली पनि बचत गरेर, गाँस पनि काटेर बचत गरिरहनुभएको छ । पैसा ज्ञान र सीपको सदुपयोगमा छ । ज्ञान र सोच भन्नेबित्तिकै स्टार्टअपको कुरा आउँछ ।

स्टार्टअप भन्नेबित्तिकै विश्वमा विभिन्न किसिमका जार्गन हो भन्ने आउँछ । हामीले पहिले सहकारी, माइक्रोफाइनान्स, साना व्यवसाय भनिरहेका छौं त्यसलाई नै अर्काे नाम दिइएको हो । यसको मोडालिटी अलिक फरक छ । यसमा व्यक्ति विशेषले आफ्नो आइडिया ल्याउँछ, आफ्नो भिजन ल्याउँछ । त्यसमा कसैले मेन्टरसिप गर्छ । राज्य र यसका अंगहरूले एनएब्लरको रूपमा काम गर्छ । यति विषयको संयोजनबाट एउटा आइडियाले व्यवसायको रूप लिन्छ । त्यो सही अर्थमा मेटलाइज भयो भने धेरै राम्रो काम गर्छ । नयाँ इनोभेटिभ व्यवसायको सुरुवात हुन्छ । त्यो आइडिया बीचमै तुषारापात हुन सक्छ । बित्न पनि सक्छ । अघि भन्नुभएको ९९.५ प्रतिशत बीचमै ड्रपआउट हुन्छ । यसको रेसियो अनुभवले देखाउँछ । यसमा भूमिका कसको भन्दा आइडिया ल्याउने एउटा भयो, सिनियर बिजनेस लिडरहरूले मेन्टरसिप दिने हो । मेन्टरहरूले कैयौं अवस्थामा बीउ पुँजी पनि दिने हो । एनएब्लिङ वातावरण बनाइदिने नेब्लरको काम राज्य केन्द्रीय बैंकजस्ताको हो । यसकै कम्बिनेसनबाट स्टार्टअप अघि बढ्छ वा मर्छ ।

यसमा धेरै कुराहरूमा राज्य, सरकारलाई मात्र दोष दिन्न । निजी क्षेत्र, बिजनेस लिडरहरूको पनि सक्रिय भूमिका आउन सकेको छैन । पूर्ण रूपमा यसलाई कसरी लैजान्छौं ? मेन्टरिङ गर्छाैं भन्ने कुरा आउन सकेको छैन । त्यसले गर्दा हामीले यसमा गर्नुपर्ने कुराहरू धेरै छन् ।

त्यसैले म भन्ने गर्छु यदि कसैले स्टार्टअपको सोचाइ राख्नुहुन्छ भने तपाईं देशले कानुन ल्याइदिएला, नीति बनाइदिएला, प्रक्रियागत कुराहरू गाइडेन्स ल्याइदिएला अनि म गर्छु भनेर पर्खनु थाल्नुभयो भने पर्खिन्जेल तपाईंको आइडिया मरिसक्छ । तपाईं टुटिसक्नुहुन्छ त्यसले गर्दा सरकारले गर्ने व्यवस्थाहरू नपर्खनुहोस् । यसमा सरकारले पछ्याउने हो, सरकारले अगाडि कहिले पनि ल्याउँदैन । राज्यले अगाडि कुनै विषयवस्तु होला कि भनेर पोलिसी ल्याइदिएको हुँदैन । आइडिया व्यक्ति, बिजनेस ग्रुपले नै ल्याउने हो । यसलाई नियमन गर्न यो चिज चाहियो भनेपछि सरकारले ल्याइदिने हो । राज्यले गरिदिनुपर्ने धेरै कुराहरू छन् । बिनाधितो कर्जा, सुविधाहरू भनौं हामीले बैंकहरूलाई पनि प्रोत्साहन गरिरहेका छौं । बैंकमा पुग्नेबित्तिकै यसमा जोखिम त रैछ नि । किनभने ९९.५ प्रतिशत डुब्दो रैछ । बिजनेस लिडर, मेन्टरको सँगसँगै भूमिका छ । जसले त्यो बीउ पुँजी सपोर्ट गरिरहेका छन्, मेन्टरसिप गर्दिरहेका छन्, परिआए म पछाडि छु है भनिरहेका छन् । यी सबै कुराहरूको कम्बिनेसन अझै हामीले बनाउन सकिरहेका छैनौं । यो क्षेत्रमा निजी क्षेत्रहरूसँग मिलेर धेरै काम हुन सक्छन् । राष्ट्र बैंक र बजेटमा पनि यी विषयहरू राख्दै आएका छन् । तर सही अर्थमा अनुभव हुने गरी काम हुन बाँकी छ । त्यसमा हामी लाग्नुपर्छ ।

धितोपत्र बजारको सम्बन्धमा यहाँ जानुपर्‍यो, त्यसो गर्नुपर्‍यो भनेर बारम्बार गुनासो गरिरहनुहुन्छ । मेरो अनुभवमा चाहिँ राष्ट्र बैंकमा नआउनुहोस् । राष्ट्र बैंक धितोपत्रको नियामक निकाय होइन । राष्ट्र बैंकले कहिले पनि धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न चाहँदैन । हामी त्यो एउटा अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो यो फस्टाओस्, अगाडि बढोस् भन्ने चाहना हो । हाम्रो चाहना भनेको त्यहाँको कारणले सर्वसाधारणलाई असर नपरोस्, वित्तीय प्रणालीलाई खलबल नबनाओस्, बैंक वित्तीय संस्थाहरूलाई जोखिम नबढाओस् भन्ने हाम्रो चाहना हो । हामी यो धारणाबाट मात्र हेर्छौं । हाम्रो उद्देश्य त्यहाँ हस्तक्षेप गर्ने कहिले हुँदैन । स्वार्थको लडाइँ जहाँ पनि हुन्छ । बिजनेसमा स्वार्थ हुन्छ, त्यस कारणले हामीले लिएको त्यो पोलिसीहरू त्यो स्वार्थमा गासिएला यहाँहरूले उठाउनु होला । राष्ट्र बैंकको सोचाइ जुनसुकै नेतृत्व आए पनि धितोपत्र बोर्डको रेगुलेटर होइन, हाम्रो त्यो चाहना नि छैन, त्यो बोर्डले गर्ने हो । यसमा तपाईंहरू स्पष्ट रूपले अगाडि बढ्दा हुन्छ ।

हामीसँग क, ख र ग वर्गका बैंकहरूले दिने ऋणमध्ये करिब १७ लाख ऋणीहरू छन् । ती ऋणीहरूमध्ये तीनको ३ प्रतिशत ऋणी करिब ४७ हजार ऋणीले चाहिँ समग्र ऋणको ५० प्रतिशत प्रयोग गरिरहेका छन् । बाँकी ९७ प्रतिशत ऋणी उनीहरूको ऋणको साइज एक करोडभन्दा कम छ । यो स्थिति नेपालको मात्रै होइन । नेपालले जापानको जस्तो ऋण पाउन सक्दैन । हाम्रो क्षमता छैन । त्यसरी ऋण पाउने एउटा क्षमता व्यवसायले नै वहन गर्न सक्ने पाउँदै जाने अवस्था रहन्छ । भारतमा पनि २० जना ऋणीहरूले कुल ऋणको साढे १६ प्रतिशत ऋण प्रयोग गरिरहेका छन् । यो सबैतिर रहन्छ । किनभने ठूला ऋणी, ठूला व्यवसायीहरूले एक किसिमले रोजगारी पनि प्रशस्त दिइरहेका हुन्छन्, अर्थतन्त्रमा उत्पादन पनि त्यसैगरी बढाइरहेका हुन्छन् । यसले अर्थतन्त्रमा ठूलो योगदान हुन्छ । यस विषयमा ठूलाले बेसी ऋण लिए भनेर रिस गर्नुभन्दा पनि हाम्रो उद्देश्य के हुनुपर्‍यो भने व्यवसाय गर्न चाहनेले बैंकिङ स्रोत र सुविधाहरू प्राप्त हुन सकिरहेको छ कि छैन ? त्यो कुरा महत्त्वपूर्ण हो । ठूलाले धेरै र सानाले थोरै पाउनु स्वाभाविक हो, यसलाई ठूलो मुद्दाको विषय नबनाउँ । सर्वसाधारण, जो उद्यम गर्न खोज्छ उसलाई वित्तीय प्रणालीको पहुँच छ कि छैन ? यो महत्त्वपूर्ण हो । यस विषयमा धेरै काम भएका छन् । गत वर्ष सरकारले सहुलियतपूर्ण कर्जा यो वर्ष पनि ल्याएको छ । त्यसमा गत वर्ष डेढ खर्बको ऋण र ६५ हजार ऋणीहरू थपिएका छन् । जसको आशय सानो आकारको ऋण हो, उनीहरूको पहुँचमा छ र हामीहरू त्यो नीतिलाई अझ ग्रास रुटसम्म लान पाइयोस् भन्ने हिसाबले बैंकका प्रत्येक शाखाले कम्तीमा १० वटा ऋण दिऊन् भनेर नीति बनाएका छौं । यो ताप्लेजुङ, झापा, कञ्चनपुर, दार्चुला जहाँसुकैका होऊन् सबै ऋणीहरूलाई पहुँच भएको छ । यो वित्तीय पहुँच राष्ट्र बैंकको महत्त्वपूर्ण एजेन्डा रहेको छ ।

हाम्रो आकांक्षा र हाम्रो आवश्यकता हेर्ने हो भने हामीलाई धेरै ठूला पूर्वाधारहरूको आवश्यकता छ । सबै पूर्वाधारहरू बनाउनलाई हाम्रो वित्तीय स्रोतले पुग्दैन । चाहिने पूर्वाधारमध्ये प्याराटाइज गरेर १/२ वटा पूर्वाधार बनाउन खोज्छौं भने त्यसका लागि हामीसँग वित्तीय स्रोतको समस्या हुँदैन । कतिले उदाहरण दिनुहोला एउटा सेयर आह्वान गर्दा ३०/४० टाइम्स हुन्छ किन पुग्दैन भनेर भन्नुहुन्छ तर त्यो सबै पैसा कहाँको भन्दा बैंकमा भएको हो ।

त्यसकारण धेरै ठूला पूर्वाधारहरूमा हामीलाई बाह्य पुँजी चाहिन्छ । केही पूर्वाधारहरू जस्तै माथिल्लो तामाकोसी बन्यो, स्वदेशी पुँजीबाटै । त्यस्तैगरी कतिपय पूर्वाधारहरू आन्तरिक रूपमा बनाउन सकिन्छ । नसकिने होइन । तर, माथिल्लो तामाकोसी आफैंले बनाउँदा ३५ अर्बको आयोजना ८० अर्ब पुग्यो । ठूला पूर्वाधारहरूमा पुँजी मात्रै ठूलो कुरा होइन । पूर्वाधारसँग जोडिएको प्रविधि हामीसँग छैन । बाहिरसँग भर पर्नुपर्ने हुन्छ । सँगसँगै त्यो बनिसकेपछि कतिपय आयोजनाहरूको मार्केट आन्तरिक रूपमा पर्याप्त नहुन सक्छ, बाहिर खोज्नुपर्ने हुन्छ । जुन हामी आफैंले पहल गर्नुभन्दा बाहिरको हुँदा सहज हुन्छ । यस्ता कैयौं आयोजना निर्माणमा असजिलो अवस्था आउन सक्छन् । त्यसलाई समाधान गर्ने अनुभव बाहिरसँग हुन्छ, हामीसँग हुँदैन । यी सबै कारणले बाहिरको पुँजी र स्वदेशी पुँजीलाई सम्मिश्रण गरेर पैसा जुटाएर बनाउन सके अझै राम्रो हुन्छ ।

(कान्तिपुर इकोनमिक समिट,२०२१ मा राष्ट्र बैंकका गभर्नर अधिकारीले राखेको धारणा)

प्रकाशित : भाद्र ५, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?