कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय बजारमा हाम्रो सीप, ज्ञान र क्षमता

अमृत खड्का

काठमाडौँ — ट्रान्जिट निर्यात अनैतिक होइन । यो संसारमा चल्छ । यसलाई नराम्रो मानिँदैन । भारतमा आफ्नो खालको एउटा राष्ट्रियताको भावना छ । उनीहरूले त्यहाँ उत्पादनसँग जोड्छन् । भारत भनेको एउटा राष्ट्र हो, जसले अधिकतम बिक्री मूल्य अनिवार्य गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हाम्रो सीप, ज्ञान र क्षमता

भारतले आफ्नो उत्पादनलाई अत्यधिक जोड दिन्छ । संरक्षण गर्छ । त्यहाँ एकदमै संरक्षणवादी बजार छ । कहिले कुनै सामानलाई प्रतिबन्ध गरिदिन्छ । अहिले भर्खरै कुचो आयात बन्द गरिदियो । किनभने नरिवलको उत्पादन कुचोमा प्रवद्र्धन गर्नुपर्‍यो रे । त्यहाँ यस्ता खालका नीति आइरहन्छन् । यसबीचमा नेपालको खुला सिमानाका कारण इन्डोनेसियाबाट त्यो सामान नेपाल आउने, नेपालबाट चुहिएर जाने भइरहेको छ । तथ्यांकमा पनि देखिँदैन । अन्य क्षेत्रका निर्यातका कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा हाम्रो सीप, ज्ञान र क्षमता कमजोर थियो । अब हामी विकास गर्दै छौं । अहिले ट्रान्जिट तथ्यांकलाई हेरेर धेरै मन दुखाउनु पनि हुँदैन । यो अझै बढ्ने छ । किनभने समय परिवर्तन भइरहेको छ ।

२०६४ सालपछि हाम्रो नेपालको आन्तरिक बजारमा परिवर्तन देखेका थियौं । धेरै उत्पादनका क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा थिएन । त्यसपछि सरकारले ऊर्जा र सिमेन्टको क्षेत्रमा गयो । अहिले २०७८ मा आइसकेपछि, खासगरी कोभिड पछाडि व्यापारको परिभाषा नै बदलियो भन्ने छ । यसमा हामीलाई फाइदा हुने गरी बदलियो । जुन नयाँ समय आयो, त्यो नेपालीलाई फाइदा हुने गरी आयो ।

हिजो हाम्रो कार्पेट बनाउने हाम्रो ‘इन्डिजिनिएस’ नलेज हो । राडीपाखी बनाउने गरिन्थ्यो । अहिले हिमालमा भेडाको ऊन काटेर गोल्डेन कलरको घुम बनाइन्छ । त्यो वर्षौं टिक्छ । हामीसँग यस्ता धेरै ‘इन्डिजिनिएस’ सोच थिए । बीचमा हामी हरायौं । विदेशी विभिन्न नामका संस्था आए । कहीं न कहीं हामीलाई ‘मिस गाइडेड’ गरे जस्तो लाग्छ । विकासको क्षेत्रमा सरकारले संगठनसँग मिलेर काम गरेकोमा अधिकांश आफ्नो उद्देश्यमा असफल भए । कतिसम्म छ भने पशुपालनका लागि कार्यक्रम सञ्चालन यूएन संगठनसँग मिलेर गर्‍यौं । २०/२५ वर्षअघि हिमालमा भेडा कति थिए ? चौंरी कति थिए ? घट्यो । यस्ता धेरै क्षेत्रमा हामी ‘मिस गाइडेड’ भएका छौं ।

अब हाम्रो सोच परिवर्तन गर्ने उपयुक्त समय आएको छ । अब पनि सोचलाई सच्याएर अघि बढेनौं भने फेरि हामीलाई अर्को जिन्दगी त आउँदैन । हामीले एकदमै नयाँ क्रिएटिभ उत्पादन बनायौं । त्यसको एचएस कोड विकास भएको छैन । पहिला देशले नै पहल लिइदिनुपर्‍यो । भन्सारहरूको संस्था जेनेभामा छ । त्यसले ‘एचएस कोड’ नयाँ राख्ने हो । त्यसमा नेपाल सरकारले हाम्रो वस्तुको नयाँ एचएस कोड विकास गर्नुपर्छ । गत वर्षसम्म हाम्रो अलैंचीको एचएस कोड थिएन । यो वर्ष बनाइयो । हामीसँग फिल्डका विविध वस्तुमा कार्पेटमा कहाँकहाँ तथ्यांक देखिन्थ्यो । त्यो तथ्यांक हेरेर नीति बनाइन्थ्यो ।

अहिले हामीसँग १ सयभन्दा बढी उद्योग छन् । हामी त अनुमान मात्र गर्न सक्छौं । यो वर्ष सरकारले निकालेको तथ्यांकमा ४ अर्ब देखियो । हाम्रो अनुमानमा ६ अर्बदेखि ७ अर्ब छ । हामी कार्पेटको उत्पादन र निर्यात बढाइरहेका छौं । कार्पेटको कुरा गर्दा संसारको सबैभन्दा महँगो र सबैभन्दा महत्त्वपूर्ण ठाउँमा नेपाली कार्पेट हुन्छ । मात्र सोचाइमा परिवर्तन गरौं । हामीसँग हीन भावना नराखौं । हामीसँग उच्च कोटिका सामान छन्, जुन अरू देशसँग छैनन् । म के अनुरोध गर्न चाहन्छु भने एनजीओहरू हामीलाई डिस्टर्ब गर्न नआऊन् । सरकारले हामीलाई डिस्टर्ब गर्न नआओस् । सरकारले भूमिका खेल्ने ठाउँ पूर्वाधार विकासमा छ । अहिलेको हाम्रो विद्यमान संरचनामा आमूल परिवर्तन गर्नुपर्छ । नत्र विदेशी संस्थालाई साथ लिएर जाँदा रिजल्ट त्यस्तै नेगेटिभ आउने हो ।

हाम्रो उत्पादनमा सामथ्र्य छ । पहिलो सेवा क्षेत्र हो । दोस्रो ऊर्जा, त्यसपछि खानीजन्य वस्तु, उत्पादन र कृषि हो । हरेक क्षेत्रमा हाम्रो प्रशस्त उत्पादन सामथ्र्य छ । विश्व बजारमा जान सक्छौं । यो सबैलाई विश्लेषण गर्दा हामीसँग उच्च गुणस्तरका वस्तु छन् । हामी अत्यन्त अघि बढ्न सक्छौं । जुन हाम्रो संरचना छ । पोलिसी निर्माणको चरित्र छ । त्यसमा परिवर्तन भएन भने त अझै पनि गाह्रो हुन्छ ।

हामी कोट नलगाई सिहंदरबार छिर्‍यौं भने बुद्धि नभएका मान्छेमा पर्छांै, हाम्रा कुरा सुनिँदैन । नयाँ पुस्तालाई पोलिसी निर्माणमा सहभागी गराइँदैन । रिसर्च र डिजाइन डेभलपमेन्ट, रिसर्च गर्ने कुराहरूमा हामी एकदमै पछाडि छौं । हामी त कस्तो भयौं भने उपभोक्तावादी चरित्रबाट प्रभावित भयौं । हाम्रो सिंगो समाज त्यस्तै भयो । हाम्रो प्राथमिकता कसरी उत्पादन राम्रो बनाउने, कसरी सस्तो बनाउने भन्ने हो । हामीले रिसर्चमा काम गरेनौं भने अलैंची ५ वर्षपछि बिक्री गर्न सक्दैनौं । अलैंचीका नयाँ जात विकास गर्नुपर्‍यो । कसरी सस्तो बनाउने भन्नुपर्‍यो । हामीले त रिसर्चमा डेभलपमेन्टमा, प्रडक्सनमा कसरी पूर्वाधारको विकास गर्ने, कसरी ढुवानी लागत कम गर्ने, यसमा हामीले फोकस गर्न छाडिरहेका छौं । हामी गलत बाटोमा छौं ।

(कान्तिपुर इकोनमिक समिट,२०२१ मा निर्यात व्यवसायी महासंघ नेपालका महासचिव खड्काले राखेको धारणा)

प्रकाशित : भाद्र ३, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?