कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय सरकार र मिथ्यांक 

तथ्यांक गडबडियो भने त्यसले धेरै कुरामा असर गर्दछ । केही नगरपालिकाका वेबसाइट र ती नगरपालिकाहरुले प्रकाशित गरेका पाश्र्वचित्र, संक्षिप्त परिचय आदि शीर्षकमा दिइएका दिग्भ्रमित पार्ने तथ्यांकहरुको हेर्दा कुनलाई ठीक मान्ने र कुनलाई बेठीक ? भ्रमपूर्ण छन् । 
शिशिर वैद्य

के नेपालमा अझै विकासक्षेत्र र अञ्चलको अवधारणा बाँकी छ ? केही नगरपालिकाको वेबसाइट खोलेर हेरेपछि मनमा यस्तो जिज्ञासा उठ्यो । स्थानीय निकायहरुले आफ्नो बारेमा परिचय दिन पाश्र्वचित्र र केही परिचयात्मक पुस्तिकाहरु प्रकाशित गरेका छन् । सम्बन्धित नगरपालिकाहरुका वेबसाइटमा यी जानकारी सहजै पाइन्छन् ।

स्थानीय सरकार र मिथ्यांक 

२०७२ को संविधानले नेपाललाई संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ । यी नयाँ संरचना स्थापना भएको ६ वर्ष बितिसकेको छ । जसअनुसार ७ प्रदेश, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६,७४३ वडाहरु राज्य सञ्चालनमा सक्रिय रहेका छन् । यस अघिका विकास क्षेत्र, अञ्चलहरुको अस्तित्व संविधान जारी भएसँगै खारेज भए ।

कुराको सुरुवात कन्काई नगरपालिकाबाट गर्छु । कन्काई नगरपालिकाले प्रकाशन गरेको नगर पाश्र्वचित्रमा मेची अञ्चल, झापा जिल्लामा रहेको नगरपालिका भनी आफ्नो परिचय दिएको छ । त्यस्तै, मादी नगरपालिकाले पनि वेबसाइटमा राखेको आफ्नो परिचयमा ‘नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गतको कोसी अञ्चलमा पर्ने संखुवासभा जिल्लामा अवस्थित एक नगरपालिका हो’, लेखेको छ । विकास क्षेत्र प्रतिको मोह यी दुई नगरपालिकामा मात्र सीमित छैन । बेलबारी नगरपालिकाको नगरविकास योजना (२०७७/७८) पुस्तकमा पूर्वाञ्चल विकास क्षेत्र, कोसी अञ्चल, मोरङ जिल्ला भनी उल्लेख गरेको छ । गौरादह, त्रियुगा, धर्मदेवी नगरपालिका आदि आदि थुप्रै उदाहरणहरु छन् जसले अझै विकास क्षेत्र र अञ्चललाई अस्तित्वमा राखेका छन् । यी स्थानीय निकायका जनप्रतिनिधिहरु, पदाधिकारीहरु, कर्मचारीहरु शक्ति बाँडफाँडको पुराना संरचनाहरु प्रति मोह अत्यधिक रहेको माथिका उदाहरणहरुले बुझाउँदछ । नगरपालिकाहरुले सम्प्रेषण गरेका यी जानकारीले स्वदेशी विदेशी जोकोहीलाई पनि दिग्भ्रमित पार्न सक्छ ।

भनिन्छ, तथ्यांक झुटो बोल्दैन । तर गलत तथ्यांकले झूट मात्रै हैन सम्पूर्ण विकास प्रक्रिया र सोच नै डामाडोल पार्न सक्छ । विद्यमान प्रदेश र स्थानीय सरकारका तथ्यांक संघीय सरकारका तथ्यांकसँग मेल खाएन भने के होला ? नयाँ नगरपालिकाहरुको अध्ययन गर्ने क्रममा सबैभन्दा बढी त्रुटि ती निकायको क्षेत्रफलमा रहेको छ । कन्काई नगरपालिको क्षेत्रफल नगरपालिका पाश्र्वचित्रअनुसार ७९.६३ वर्ग किमी छ । पाश्र्वचित्रमा नगरपालिकाको नक्सासहित देखाइएको क्षेत्रफलमा ७०.१ वर्ग किमी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त नगरपालिकाको क्षेत्रफल ८०.९८ वर्ग किमी छ । लेटाङ नगरपालिकाले प्रकाशित गरेको पाश्र्वचित्रमा उक्त नगरपालिकाको क्षेत्रफल २१९.२३ लेखिएको छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उक्त नगरपालिकाको क्षेत्रफल ११९.२३ वर्ग किमी छ । बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले प्रस्तुत गरेको वार्षिक समीक्षा विवरणमा नगरपालिकाको क्षेत्रफल ७०.३८ वर्ग किमी लेखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उक्त नगरपालिकाको क्षेत्रफल १३२.७९ वर्ग किमी छ ।

बेलका नगरपालिकाको क्षेत्रफल संघीय मन्त्रालयको वेबसाइटमा ३४४.७३ वर्ग किमी लेखिएको छ । तर नगरपालिकाको वेबसाइटमा नगरपरिचय शीर्षकमा क्षेत्रफल ३०८.८ वर्ग किमी लेखिएको छ । त्यस्तै उदयपुर जिल्ला पाश्र्वचित्रमा त्रियुगा नगरपालिकाको क्षेत्रफल ४९०.५ वर्ग किमी छ । संघीय मामिला मन्त्रालयको वेबसाइटमा ५४७.४३ । कटारी (३८१.८ र ४२४.८९), चौदण्डीगढी (२८३.७८ र २५३.७), बाग्लुङ (९८.०१ र ९७.२१), दमक (७५.८५ र ७०.८६) । नगरपालिकाहरुमा जस्तै मोरङ जिल्ला समन्वय समितिले प्रकाशित गरेको तग्थ्यांकमा जिल्लाको क्षेत्रफल १८५५ वर्ग किमी छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा जिल्लाको क्षेत्रफल १७२८ वर्ग किमी छ । नगर र जिल्लाका क्षेत्रफलमा देखिएका यस्ता फरक फरक तथ्यांकले सर्वसाधारण र अध्येताहरुलाई दिग्भ्रमित पार्दछ ।

सुन्दरहरैंचा नगरपालिकाले निकै विवरणात्मक नगर पाश्र्वचित्र तयार पारेको छ । पाश्र्वचित्र, उद्देश्य, विधि, औचित्य, प्रस्तुतीकरण र अध्ययनको क्षेत्र र सीमा, राजनीतिक पृष्ठभूमि, ऐतिहासिक र पर्यटकीय महत्वका साथमा विभिन्न शीर्षकका तथ्यांक समेत समेटेर तयार पारिएको छ । नगरपालिकाले तयार पारेको पाश्र्वचित्रमा २०६८ सालको जनगणनाअनुसार भनी प्रस्तुत गरिएको जनसंख्या एवं घरधुरीको तथ्यांक, केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको तथ्यांकसाग मेल खाँदैन । नगरपालिकाले ८०,५६२ जनसंख्या र १९,००५ घरधुरी देखाएको छ । जसमा ४२,३३६ महिला र ३८,२४६ पुरुष छन् । तर केन्द्रिय तथ्यांक विभागको स्थानीय निकायहरुको तथ्यांक विवरणमा सुन्दरहरैंचा नगरपालिकाको २०६८ सालको जनगणना अनुसारको कूल जनसंख्या ८०,५१८ र घरधुरी १८,६१० रहेको छ । कूल घरधुरी संख्या र जनसंख्या फरक पर्ने बित्तिकै घरधुरी अनुसारका सम्पूर्ण विवरण फरक पर्ने नै भए । नगर पाश्र्वचित्रअनुसार वडागत रुपमा विभाजित घरधुरी तथ्यांकले धारा जडित घरधुरी २,९०९, बिजुलीका लागि बत्ती जडित घर १६,५५२, खाना पकाउन प्रयोग गरिने मुख्य स्रोतमा दाउरा प्रयोग गर्ने घरधुरीको संख्या १०,४३९ देखिन्छ । तर तथ्यांक विभाग जनगणना २०६८ अनुसार क्रमश: ती तथ्यांक १,७८६, १५,९१६, ११,२२५ रहेका छन् ।

संखुवासभा जिल्लामा रहेको चैनपुर नगरपालिकाको वेबसाइट हेर्नेहरु झनै अलमलिने छन् । वेबसाइटको अंग्रेजी संस्करणमा नगरपालिकाको जनसंख्या २४,७३५ छ । वेबसाइटकै नेपाली संस्करणमा २८,०७४ । निर्वाचन आयोग स्थानीय तह निर्वाचन एक झलक २०७४ पुस्तिकामा जनगणना २०६८ अनुसार चैनपुर नगरपालिकाको जनसंख्या २७,४६२ दिइएको छ । केन्द्रीय तथ्यांक विभाग ०६८ को जनगणनाअनुसार नगरपालिकाको जनसंख्या २७,३०८ रहेको छ । जिल्ला निर्वाचन कार्यालय बाग्लुङको प्रकाशन, स्थानीय निर्वाचन २०७४ एक झलक (पृष्ठ ८), मा जनगणना २०६८ अनुसारको जनसंख्या विवरण तालिकामा बाग्लुङ नगरपालिकाको जनसंख्या ५९,१९२ लेखिएको छ । तर केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको स्थानीय तहहरुको जनसंख्या सम्बन्धी विवरणमा ५७,८२३ जनसंख्या भेटिन्छ ।

उल्लेख गरिएका बाहेकका थुप्रै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका तथ्यांकहरुले हामीलाई दिग्भ्रमित पार्दछ । जस्तो कि धर्मदेवी नगरपालिकाले आफ्नो नगरपालिकाको जनस्वास्थको अवस्था विश्लेषण गर्दै लेखेको छ–यस नगरपालिकाको १९८५९ जनसंख्यामध्ये १८६५६ जना स्वस्थ रहेका छन् । जुन नगरपालिकामा एक सुविधासम्पन्न अस्पताल छैन । मात्र एक शहरी स्वास्थ केन्द्र र तीन स्वास्थ चौकी छन् । त्यहाँका नब्बे प्रतिशतभन्दा बढी जनसंख्या स्वस्थ छन् भन्ने विवरण स्वास्थका हिसाबले सुखद् भए पनि अपत्यारिलो लाग्दछ ।

तथ्यांक गडबडियो भने त्यसले धेरै कुरामा असर गर्दछ । माथि केही नगरपालिकाका वेबसाइट र ती नगरपालिकाहरुले प्रकाशित गरेका पाश्र्वचित्र, संक्षिप्त परिचय आदि शीर्षकमा दिइएका दिग्भ्रमित पार्ने तथ्यांकहरुको चर्चा गरियो । उल्लेख गरिएका तथ्यांकहरुमा कुनलाई ठीक मान्ने र कुनलाई बेठिक ? ती नगरपालिकाहरुका विषयमा केही अध्ययन, अनुसन्धान वा रिपोर्ट तयार पार्नु परेमा कुन तथ्यांकलाई सही र आधिकारिक मान्ने ? केन्द्रीय तथ्यांक विभागले वर्षौंको तयारीका साथ जनगणना गर्ने गर्दछ ।

जनगणनाबाट आएका तथ्यांक थुप्रै विशेषज्ञहरुको टोलीले केलाएपछि बल्ल प्रकाशित हुने गर्दछ । जनगणनालाई स्रोत देखाएर प्रस्तुत गरिएका गलत तथ्यांकहरु मिथ्यांक हुन् । परिचय र पाश्र्वचित्र तयार पार्न थुप्रै नगरपालिकाहरुले घरधुरी सर्वेक्षण गरेका छन् । सोहीअनुसार तथ्यांकहरु संप्रेषित गरेका छन् । जस्तो, दमक नगरपालिकाले घरधुरी सर्वेक्षण २०७५ लाई तथ्यांक स्रोत मानेर नगरपालिकाका विवरण तयार पारेको छ । धर्मदेवी नगरपालिकाले घरधुरी सर्वेक्षण २०७४ लाई । उर्लाबारी नगरपालिकाले घरधुरी सर्वेक्षण २०७६, नगर वस्तुगत विवरण कार्यविधि २०७५ का आधारमा रही गरिएको जनाएको छ । स्थानीय तहमा नै हुने यस्ता सर्वेक्षणले केन्द्रीयस्तरमा गरिने सर्वेक्षणहरुलाई पक्कै पनि सजिलो बनाउनेछ ।

प्रकाशित : श्रावण ७, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?